कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ओलीको दाबी : ४ सय नक्कली शरणार्थी अमेरिका छिरिसके

माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियारले खुट्टा कमाएको र बहिर्गमित लडाकुहरूलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको आरोप
बबिता शर्मा

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन जारी रहेका बेला पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब ४ सय मान्छे नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिरेको सूचना पाएको दाबी गरेका छन् । बिहीबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यो प्रकरण २०१२ देखि सुरु भएको र त्यतिबेला नै गिरोहले करिब ४ सय मान्छेलाई घुसाएर पठाएको सूचना आफूसँग भएको दाबी गरेका हुन् ।

ओलीको दाबी : ४ सय नक्कली शरणार्थी अमेरिका छिरिसके

अध्यक्ष ओलीले यसबारे थप कुरा आगामी जेठ ४ को संसद् बैठकमा राख्ने बताए । ‘एक लाख तेह्र हजारमध्ये करिब साढे तीन/चार सय मान्छेलाई २०१३ भन्दा अगाडि नै विभिन्न गिरोहले त्यहाँ घुसाएर पठाएको सूचना छ, सम्भवतः आगामी ४ गते संसद्मा बोल्दा तथ्यसहित भन्छु भन्नुभएको छ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘अहिले बाँकी ६ हजार ६ सयमध्ये करिब १ हजार ४ सयजति संख्या खाली छ । खालीको मतलब कोही नेपालीसँगै बिहे गरेर रूपान्तरण भए । उनीहरूको हैसियत शरणार्थी रहेन । कोहीको निधन पनि भयो । त्यस्तो खाली ठाउँमा ९ सय ४९ मान्छेको नाम भरेको छ गिरोहले । ती सबै कुरा छन्, म राख्छु भन्नुभएको छ ।’

पूर्वप्रधानमन्त्री ओलीको दाबीले यो प्रकरणमा अझै ठूलो ठगी भएको र अरू धेरै पात्र जोडिनसक्ने संकेत दिएको छ । ओली प्रधानमन्त्री रहेका बेला भुटानी शरणार्थी समस्या समाधानका लागि कार्यदल गठन भएकाले पनि उनको भनाइ अर्थपूर्ण देखिन्छ । २००८ देखि नै भुटानी शरणार्थीको पुनर्वास प्रक्रिया सुरु भएको र २०१२ देखि यसमा विभिन्न गिरोह सक्रिय रहेको दाबी ओलीको छ । ‘२०१२ मा पुनः वर्गीकरण टिम बनेर काम गर्‍यो, त्यतिबेला बढी चलखेल भएको देखिन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै उपमहासचिव ज्ञवालीले भने ।

उनले एमालेसँग प्रतिशोधपूर्ण ढंगले वैमनस्य साधेको अवस्थाबारे भने आफूहरू सजग हुनुपर्ने बताए । ‘दोषीलाई समातेर कठघरामा ल्याउनुपर्छ तर कसैलाई फसाउनका लागि अनुसन्धानलाई कतातिर लैजाने भनेर चलखेल भयो, षड्यन्त्र भयो भने त्यो स्वीकार्य हुँदैन,’ उनले भने, ‘पूर्वाग्रहपूर्ण ढंगले, निराधार ढंगले आरोप लगाउने र फसाउने, एमालेविरुद्ध लगातार वैमनस्यता प्रकट हुँदै आएको छ । यस्ता कुरामा हामी सजग हुनुपर्छ ।’

भ्रष्टाचारको आरोपमा निर्दोषलाई फसाउने षड्यन्त्र भए आन्दोलनमा उत्रिने चेतावनी ओलीले दिए । तर, यो प्रकरणमा पीडितबाट गत जेठ ३० मा निवेदन परेपछि गिरोहका केही सदस्य पक्राउ परे पनि सरकारले नै मिलापत्र गरेर छुटाएको आरोप ओलीको छ । ‘नेपालीलाई राज्यविहीन, शरणार्थी बनाएर विदेश पठाउन पैसा तिराउने काम देशद्रोही हो, यस्ता काम गर्ने अपराधीहरूलाई राज्य वा सरकारले पीडितका निवेदन कुल्चिएर पैसा फिर्ता गर्ने र मुद्दा मिलाउने काम किन गर्‍यो ?’ ओलीले भने, ‘जेठ ३० मा निवेदन पर्‍यो, असारको सुरुमा मान्छे पक्राउ परे होलान्, पक्राउ परेको दुई घण्टामा उसले सत्य कुरा भन्न थालेपछि चुप लाग, नभन भनी कागज थन्क्याएर मिलापत्र गराउन पर्‍यो । यो काम त सरकारले गरेको छ ।’

पीडित धेरै भएको र प्रहरीले थाम्न नसकेका कारण यो प्रकरणमा अहिले कारबाही अघि बढेको बताए । ‘९ सय ७५ जनाबाट पैसा लिएको छ भने एउटा प्वाल टालेर भएन, जतासुकैबाट बाढी आउँछ,’ उनले भने, ‘थाम्नै नसकेपछि के गर्ने ? त्यो अवस्थामा पुगेपछि प्रहरीले कारबाही अगाडि बढाउनुपर्‍यो ।’ यो घटना अनुसन्धानमा प्रधानमन्त्री र गृहमन्त्रीको कुनै भूमिका नहुने भन्दै ओलीले प्रहरीलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने बताए ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका पार्टी नेता टोपबहादुर रायमाझी त्यसमा संलग्न भएको करार अहिल्यै गर्न नसक्ने ओलीको भनाइ छ । ‘भ्रष्टाचार प्रकरणमा हाम्रै पार्टी र सरकारमा रहेका साथीहरूको नाम आएको छ, जसको नाम आओस्, यदि दोषी छ भने कारबाही हुनुपर्छ,’ ओलीले भने, ‘जबसम्म दोषी ठहरिँदैन, दोषी नै हो भनेर करार गर्न सक्दैनौं । त्यसको अदालती प्रक्रिया बाँकी हुन्छ ।’

पूर्वउपप्रधानमन्त्री रायमाझी ८ दिनदेखि फरार छन् । उनले बुधबार संसद्लाई पत्राचार गरेर आफू बिरामी रहेको जानकारी दिएका थिए । उक्त प्रकरणमा मुछिएपछि पार्टीले बुधबारै उनलाई सचिव पदबाट निलम्बन गरेको थियो । पार्टीको निर्णयपछि रायमाझीनिकट व्यक्तिबाट आफूलाई फोन आएको ओलीले बताएका छन् । प्रहरीले अभद्र व्यवहार गर्न खोजेका कारण सिधै अदालत जाने भन्ने सुनेको उनको दाबी छ । ‘उहाँ निकटका मान्छेले मलाई फोन गरेर के गर्ने हो भनेर सोधे, मैले पार्टीको निर्णय जानकारी गराएँ,’ ओलीले भने, ‘हाम्रो नीति यस्तो छ । उहाँले प्रहरीसमक्ष उपस्थित हुनु राम्रो हो, यो कुरा उहाँलाई सुनाइदिनुस् भनें ।’ ओलीका अनुसार रायमाझी बुधबार प्रहरीसमक्ष उपस्थित हुने सूचना सरकारी संयन्त्रबाटै आफूले पाएको तर उनी उपस्थित नभएको बताए ।

अर्को प्रसंगमा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुट्टा कमाएको आरोप लगाए । क्यान्टोनमेन्टमा नभएका मानिसहरूको पैसा बुझिएको छ, राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार हो, जोसुकैले गरेको होस्, त्यसका बारेमा कोही पनि बोल्न तयार छैनन् । राज्यको ढुकुटी रित्याएर अर्बौं पैसा कुम्ल्याउन मिल्छ ? यी कुराहरू भएका छन्, आज होइन, पहिलादेखि नै हो । अख्तियारले होल्ड गरेर बसेको छ । म भन्न चाहन्छु, राज्यको यत्रो अर्बौंको हिनामिनाको छानबिन गर्नुस् । खुट्टा नकमाउनुस् । किन खुट्टा कमाएर बस्नुहुन्छ ? यस्ता संस्थाहरूलाई राजनीतिक प्रतिशोधका अस्त्र बनाउने ?’

बहिर्गमित लडाकुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको ओलीको आरोप छ । अर्थतन्त्र संकटमा रहेका बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचारबाहेक अरू हुनै नसक्ने उनले दाबी गरे । बिहीबार सुरु बैठकमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित : वैशाख २९, २०८० ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?