कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकीकृत समाजवादीलाई हरिबिजोग पार्ने ओलीको षड्यन्त्र फेल : अध्यक्ष नेपाल

‘केपी ओलीका कारण एमाले बर्बादीको दिशातिर अग्रसर भइरहेको मैले सूचना पाएको छु । ओलीको व्यक्तिवादी र तानाशाही प्रवृत्तिले सिंगो पार्टी मक्किन सुरु भइसकेको छ ।’

झापा — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको ‘ललीपल’ देखाएर एमाले अध्यक्ष केपी ओलीले आफू र आफ्नो पार्टीलाई ‘हरिबिजोग’ पार्ने षड्यन्त्र रचे पनि आफूले फेल गराएको बताएका छन् ।

एकीकृत समाजवादीलाई हरिबिजोग पार्ने ओलीको षड्यन्त्र फेल : अध्यक्ष नेपाल

‘ओलीजीले राष्ट्रपतिको नाममा चास्नी चटाउन खोजेर हामीलाई घर न घाटको बनाउने षड्यन्त्रको तानाबुना बुनेका थिए ’, ओलीकै गृह जिल्ला झापाका अगुवा कार्यकर्तालाई शुक्रबार भद्रपुरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘धेरै प्रयत्न भएको थियो । तर, सकेनन् ।’

आफूलाई राष्ट्रपति बनाउने आश्वासन दिएका ओलीले सार्वजनिक कार्यक्रमहरुमा ‘माधव नेपाल राष्ट्रपति बनाइदिनुपर्‍यो भनी मसँग आए’ भनी गलत प्रचार गरेको आरोप लगाए । ‘माधव नेपाल पद माग्ने मान्छे हैन, चाहेमा खोस्ने मान्छे हो,’ नेपालको भनाइ थियो । झलनाथ खनाललाई राष्ट्रपति बनाउनेबारेमा ओलीले इन्कार गरेको अध्यक्ष नेपालले बताए ।

उनले झापामा नेकपा एसलाई एमालेभन्दा बलियो पार्टी बनाउने दाबी गरे । ‘यसपटक हामीलाई गठबन्धन गर्ने बाध्यता आइलाग्यो,’ नेपालले भने, ‘आगामी चुनावमा हामी तालमेल नगरी आफ्नै ताकतले चुनाव जित्ने योजनामा छौं ।’

पूर्वप्रधानमन्त्री नेपालले माओवादी, नेकपा एस र जनता समाजवादी पार्टीबीच चाँडै कार्यगत एकता भई वाममोर्चा गठन गरिने जनाए । उनले थपे, ‘विचार मिल्ने पार्टीहरुसँग कार्यगत एकता हुन्छ तर हामी विलय भएर जाँदैनौं ।’ उनले एमालेभित्र निराशाको ठूलो पहाड चुलिँदै गएको पनि बताए । ‘केपी ओलीका कारण एमाले बर्बादीको दिशातिर अग्रसर भइरहेको मैले सूचना पाएको छु,’ अध्यक्ष नेपालले थपे, ‘ओलीको व्यक्तिवादी र तानाशाही प्रवृत्तिले सिंगो पार्टी मक्किन सुरु भइसकेको छ ।’

राष्ट्रियता, संविधानको रक्षा, संघीयताजस्ता उपलब्धि जोगाउनका खातिर नेपाली कांग्रेससँग हातेमालो गरेर अघि बढिएको पनि उनले जनाए । राष्ट्रियता र सिंगो लोकतान्त्रिक व्यवस्थामामाथि चुनौती थपिँदै गएको जनाउँदै नेपालले थने, ‘यही उपलब्धिलाई गुम्न नदिन लोकतन्त्रका पक्षधरहरुसँग हातेमालो गरेका हौं ।’

प्रकाशित : चैत्र १७, २०७९ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?