कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ लाखले आजदेखि एसईई दिँदै

दृष्टिविहीन र प्राविधिक धारका विद्यार्थीलाई घरपायक परीक्षा केन्द्र
जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ, राजधानी टोकियोस्थित केन्द्रबाट १४ जनाले एसईई दिँदै छन्
सुदीप कैनी

काठमाडौँ — यस वर्षको माध्यमिक शिक्षा परीक्षा शुक्रबारदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालन हुँदै छ । परीक्षामा सहभागी हुन ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिस्ट्रेसन फाराम बुझाएका छन् । 

५ लाखले आजदेखि एसईई दिँदै

प्रश्नपत्र, उत्तरपुस्तिका, प्रवेशपत्रलगायत परीक्षा सामग्री केन्द्रमा पुर्‍याइसकेको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जनाए । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक

तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । उनका अनुसार ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित हुँदै छन् । परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुने बोर्डले जनाएको छ ।

७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एसईई परीक्षा समिति गठन गरेर व्यवस्थित गरिएको हो । विद्यार्थीले पढेको भन्दा फरक विद्यालयको केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ । कोरोनाकालमा विद्यार्थीले होमसेन्टरबाटै परीक्षा दिएका थिए । यस पटक दृष्टिविहीन विद्यार्थी र प्राविधिक धारतर्फका विद्यार्थीका लागि घरपायक केन्द्र कायम गरिएको नियन्त्रक श्रेष्ठले जनाए ।

दृष्टिविहीन स्रोतकक्षामै उपकेन्द्र कायम गरिएको हो । स्रोतकक्षा नजिकको परीक्षा केन्द्रले ती विद्यार्थीको परीक्षा सञ्चालन गर्ने उनले बताए । ५५ जना दृष्टिविहीन विद्यार्थीले यसपालि एसईई दिँदै छन् । यसअघि दृष्टिविहीन विद्यार्थी पनि अभिभावकको सहारामा परीक्षा केन्द्रसम्म पुग्नुपर्ने बाध्यता थियो ।

त्यस्तै प्राविधिक धारतर्फ साढे १५ हजार विद्यार्थीले यस पटकदेखि घरपायक परीक्षा केन्द्रबाट परीक्षा दिँदै छन् । विगतका वर्षमा प्राविधिक धारका विद्यार्थीलाई जिल्ला सदरमुकामकेन्द्रित गरेर १/२ वटा परीक्षा केन्द्र तोक्ने गरिएको थियो । यस पटकदेखि साधारण धारका विद्यार्थीले परीक्षा दिने केन्द्रबाटै पनि

परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ । ५ सय ५ वटा सामुदायिक विद्यालयमा कक्षा ९ देखि प्राविधिक धारको पठनपाठन हुँदै आएको छ । ‘दृष्टिविहीनका लागि उपकेन्द्र र प्राविधिक धारका विद्यार्थीलाई घरपायक केन्द्र मिलाउँदा केही व्ययभार बढेको छ,’ उनले भने, ‘तर पनि विद्यार्थीको हितका लागि यस्तो व्यवस्था गरिएको हो ।’

बोर्डले जापानमा पनि एउटा परीक्षा केन्द्र तोकेको छ । जापानको राजधानी टोकियोस्थित केन्द्रबाट १४ जना विद्यार्थीले एसईई दिनेछन् । बोर्डका अनुसार नेपाली पाठ्यक्रम अध्यापन हुने जापानका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

प्रकाशित : चैत्र १७, २०७९ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?