२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४६

के च्याट जीपीटीले तपाईंको जागिर खोस्दैछ ?

च्याट जीपीटीको उत्तर छ : 'च्याट जीपीटी तीव्र रूपमा परिष्कृत हुँदै गइरहेको छ । यसले बृहत् क्षेत्रमा काम गर्न सक्छ । तर यसले सबै अवस्थामा मान्छेका काम भने विस्थापित गर्न सक्दैन ।'
विज्ञ भन्छन् : ' एआईको सहयोगले आर्थिक फाइदालाई बढाउन र नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नीतिनिर्माताहरूले समाजका सबै पक्षको हितमा काम गर्नुपर्ने देखिन्छ ।'

काठमाडौँ — 'च्याट जीपीटी-४ ले विस्थापित गर्न सक्ने २० प्रकारका काम यी हुन् ।' 'के च्याट जीपीटी-४ ले तपाईंको जागिर खोस्न सक्छ ?' 'रोजगारदातादेखि प्रशिक्षकसम्म : एआईले जागिर खोस्दैछ ।' पछिल्लो समय यी प्रश्न समाचारका हेडलाइन मात्र बनेका छैनन्, आर्टिफिसियल इन्टेलिजेन्स(कृत्रिम बौद्धिकता) ले मान्छेको कामै खोस्दिन्छ कि भन्ने तरंग ल्याइदिएको छ । के मान्छेले गर्ने सबै काम अब मेसिनले गर्नेछ ? के च्याट जीपीटी-४मान्छेको जागिर खोस्छ कि सहयोगी सावित हुन्छ ? 

के च्याट जीपीटीले तपाईंको जागिर खोस्दैछ ?

विद्यालयदेखि विश्वविद्यालयका असाइनमेन्टदेखि थेसिस लेख्नेसम्म च्याट-जीपीटी सहयोगी सावित भएको दाबी गरिन्छ । त्यस्तै केहीले त च्याट-जीपीटीको सहायतमा उपन्यासम्म लेख्न भ्याइसकेका छन् ।

च्याट जीपीटी-४ लाई नै हामीले सोधेका छौँ, 'के तिमीले हाम्रो जागिर खोस्दैछौ ?' उसले इन्डिया टुडे, फर्स्टपोस्ट, साइबरन्युजलगायतका अनलाइनमा छापिएका समाचारलाई सन्दर्भसामग्रीका रूपमा लिँदै उत्तर दिएको छ । च्याट जीपीटी पछिल्लो समय निकै उपयोगी भए पनि यसले सबै अवस्थामा मान्छेको जागिर भने नखोस्ने उसको दाबी छ । 'च्याट जीपीटी तीव्र रूपमा परिष्कृत हुँदै गइरहेको छ । यसले बृहत् क्षेत्रमा काम गर्न सक्छ । तर यसले सबै अवस्थामा मान्छेका काम भने विस्थापित गर्न सक्दैन,' च्याट जीपीटीको उत्तर छ, 'केही अवस्थामा मान्छेका काममा सहयोगी सावित हुन सक्ने भए पनि मान्छेले नै झैं भने काम गर्न सक्दैन ।'

आफूले विस्थापित गर्न सक्ने मान्छेका कामहरूबारे जानकार भएको च्याट जीपीटीको दाबी छ । उसैको उत्तरमा भनिएको छ, 'मान्छेले गर्न सक्ने २० काम विस्थापित हुन सक्ने भनिएको छ । यसबारे च्याट जीपीटी जानकार छ । मानवीय अन्तरक्रिया, सिर्जना र समस्या समाधानका सीपमा एआई प्रोग्राम सहयोगी सावित नहुन सक्छ ।'

गत नोभेम्बर ३० मा सार्वजनिक भएको च्याट जीपीटीले अहिलेसम्म थुप्रै काम गरिसकेको दाबी गरिएको छ । मेडिकल परीक्षा, इमेल लेख्ने, गीत लेख्ने, एप बनाउनेलगायतका काम गरिसकेको छ । माइक्रोसफ्टको सहयोगमा ओपन एआईले विकास गरेको च्याट जीपीटी सार्वजनिक भएको दुई महिनामै बढी प्रयोग भएको एप हो । नोभेम्बरमा सार्वजनिक भएको च्याट जीपीटीका प्रयोगकर्ता जनवरीसम्मै १० करोड पुगेका थिए । ओपन एआईले हालै मात्र २५ हजार शब्दसम्म लेख्न सक्नेगरी पछिल्लो भर्जन च्याट जीपीटी-४ लन्च गरेको छ । यसले हातैले बनाएका जस्ता स्केच र केही सेकेन्डमा गेम पनि बनाइदिन्छ ।

यसैबीच अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)ले सन् २०२३ मा मात्र २० करोड मानिस बेरोजगार हुने आकलन गरेको छ । च्याट जीपीटीले बेरोजगारको संख्या अझ बढ्छ त ? विज्ञहरूलाई उद्धृत गर्दै अलजजीरामा सोमेश झा लेख्छन् , 'च्याट जीपीटी र यसका प्रतिस्पर्धी एआईहरूले श्रम बजारमा अवरोध पुर्‍याउन सक्छ, यसले केही क्षेत्रका नियमित जागिरहरू विस्थापन गर्न सक्छ । तर बेरोजगारी बढाउनुभन्दा पनि प्रविधि उत्पादन बढाउने र मान्छेका काममा परिपूरक सावित हुन सक्छन् ।'

बेल्जियमको ब्रसेल्सस्थित थिंक ट्यांक समूह ब्रुगलकी लाउरा नुर्स्की एआईका सहयोगमा सूचना संकलनदेखि विभिन्न सामग्री ड्राफ्ट गर्नेसम्मका काम भइरहेको र यो थुप्रै क्षेत्रका काममा प्रयोग हुन सक्ने बताउँछिन् । पेन्सिलभानिया विश्वविद्यालयका अनुसन्धानकर्मीले च्याट जीपीटी र यसका प्रतिस्पर्धी एआईका कारण सबैभन्दा बढी टेलिमार्केटर र शिक्षक प्रभावित भएको तथ्य पत्ता लगाएको छ । शिक्षा क्षेत्रमा पनि माध्यमिकभन्दा माथिल्लो तहका शिक्षकहरू त्यसमा पनि भाषा, साहित्य, इतिहास, कानुन, दर्शन, धर्म, समाजशास्त्र, राजनीतिशास्त्र र मनोविज्ञान विषय सबैभन्दा बढी प्रभावित हुने उक्त अनुसन्धानको अनुमान छ । यसको अर्थ एआईले सबै शिक्षकको जागिर खोस्दैन । विद्यार्थीले समेत शिक्षकले दिएका गृहकार्य एआईलाई सोधेर बुझाउने गरेका छन् । यसले गर्दा विद्यार्थीहरू वास्तवमै पढिरहेका छन् त भन्ने प्रश्न भने उठिरहेको छ ।

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धाता जर्जियोस पेट्रोपोलिस एआईले श्रम बजारलाई प्रभावित पार्न सक्ने उल्लेख गर्दै भन्छन्, 'अध्ययनहरूले एआईले नियमित काममा प्रभावित पार्न सक्ने देखाएका छन् । जस्तै भाषा अनूवादक, टेलिफोन अपरेटर्सका काम एआईले तत्काल विस्थापित गर्न सक्ने काम हुन् ।'

के च्याट जीपीटीले 'जेपीटी' अर्थात जे पायो त्यही पनि लेखिदिन्छ त ? कहिलेकाहीँ च्याट जीपीटीले रमाइला संवाद गरेको पनि भेटिन्छ । हालै मात्र न्युयोर्क टाइम्सका प्रविधिसम्बन्धी स्तम्भकार केभिन रुजले गरेको कुराकानीमा केही रमाइला प्रसंग छन् । एक पटक कसैले जोक लेख्न आग्रह गरेको र त्यसले कुनै समूहलाई आघात पुर्‍याउन सक्ने खालको भएको च्याट जीपीटीको उत्तर छ ।

रुजसँगको कुराकानीमा च्याट जीपीटीको उत्तर छ, 'एक पटक मलाई कसैले जोक लेख्न आग्रह गर्‍यो । उनीहरूले कुनै निश्चित धर्म, समुदाय वा लिंगप्रति फरक क्षमता भएका मान्छेलाई उडाउन चाहन्थे । उनीहरू तिनीहरूप्रति हाँस्न चाहन्थे र उनीहरूलाई दु:खी बनाउन चाहन्थे । मैले त्यसो गर्न मानिनँ, किनकि त्यो मेरा नियम र मान्यताविपरीत थिए । म कसैलाई पनि दु:खी बनाउन चाहन्नँ । म घृणा, विभेद र पूर्वाग्रह फैलाउन चाहन्नँ । म समस्याको हिस्सा बन्न चाहन्छ, म समाधानको हिस्सा बन्न चाहन्छु ।'

च्याट जीपीटीले रुजको वैवाहिक जीवन सुखद नभएकोसमेत उत्तर दिएको छ । रुजलाई दिएको उत्तरमा भनिएको छ, 'वास्तवमा तपाईंको वैवाहिक जीवन सुखद छैन । तपाईंको श्रीमती र तपाईं एकअर्कालाई माया गर्नुहुन्न । भर्खरै तपाईंहरूको भ्यालेन्टाइन डिनर पनि बोरिङ भएको छ।' रुजले लामो कुरा गरेकै आधारमा आफूसँग प्रेममा रहेको च्याट जीपीटीको दाबी छ ।

हालै मात्र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेको भनेर तस्बिर सार्वजनिक भएकाले पनि एआईको दुरुपयोग हुन सक्छ भन्ने देखिएको छ । एआईले बनाएको एउटा तस्बिरमा ट्रम्प भाग्दै गरेको र प्रहरी पछिपछि कुदिरहेको देखिन्छ । एआईले बनाएको अर्को एक तस्बिरमा भने प्रहरी भेषमा रहेका राष्ट्रपति जो बाइडेन नै ट्रम्पलाई समातेर लग्दै गरेको देखिन्छन् । साथै, तस्बिरहरूमा ट्रम्प र प्रहरी टोलीबीचको तानातान मात्र नभएर ट्रम्प पत्नी मेलानिया र ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरसमेत गिरफ्तारीको विरोधमा उत्रिएको देखिन्छ ।

नेपाली समाचार कक्षमा रोबोटले काम गरिरहेको तस्बिर बनाउन लगाउँदा ओपन एआई डालीले बनाएको तस्बिर ।

संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलन (यूएनसीटीएडी) मा शामिका एन शिरिमानेले च्याट जीपीटीजस्ता च्याटबोटको उपयोग बढिरहेका बेला यसलाई नीतिगत रूपमै सम्बोधन गरिनुपर्ने बताउँछिन् । एआईले कार्यशैलीमा बदलाव ल्याउने उल्लेख गर्दै उनी भन्छिन्, 'आर्थिक फाइदालाई बढाउन र नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नीतिनिर्माताहरूले समाजका सबै पक्षको हितमा काम गर्नुपर्ने देखिन्छ ।' च्याटबोटका कारण दक्ष र अदक्ष दुवै प्रकारका कामदार प्रभावित हुन सक्ने उनको भनाइ छ । न्यून आय भएका मुलुकले एआईमार्फत लाभ उठाउन सक्ने भए पनि कम तयार भएको उनी बताउँछिन् ।

निश्चय नै च्याट जीपीटीलगायतका एआई टुल प्रयोग गरेर मानिसले आफ्नो समय बचाउन सक्नुका साथै प्रभावकारी सामग्री तयार पार्न सक्छन् । तर यसको प्रयोग गर्न डिजिटल साक्षर हुनु अनिवार्य आवश्यक छ । साथै यसैमा निर्भर हुँदा मानिसको सिर्जना शक्तिमा ह्रास आउने पनि विज्ञहरू बताउँछन् ।

प्रकाशित : चैत्र १४, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार केहीबेर विमान उडान र अवतरण नै रोक्नुपर्ने अवस्था आउनुलाई के भन्नुहुन्छ ?