कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एआईले बनायो ट्रम्प गिरफ्तार भएको झुटो तस्बिर

ट्रम्पसम्बन्धी यी तस्बिरले फेक न्युज सिर्जना र वितरणमा एआईको दुरुप्रयोग कसरी हुनसक्छ भन्ने देखाएको छ ।
एजेन्सी

काठमाडौँ — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफूलाई गिरफ्तार गर्न आएका प्रहरीसँग भिड्दै गरेको, अदालतमा रोएको, कारागारमा बास्केटबल खेलेको लगायत विषयमा बनाइएका नक्कली तस्बिरसहितका विवरण अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सहायताले बनाइएका ती तस्बिरहरू असली ठानेर केहीले इन्टरनेटमा हंगामा मच्चाइरहेका छन् ।

एआईले बनायो ट्रम्प गिरफ्तार भएको झुटो तस्बिर

पोर्नस्टार अभिनेत्री स्टर्मी डेनियल्ससँग ट्रम्पको सम्बन्धलाई लिएर म्यानहटन जिल्ला अदालतको ग्र्यान्ड जुरीले अनुसन्धान पूरा गरी यसै साता सुनुवाइ हुने खबर आइरहेका छनन् । जुरीले उनलाई दोषी ठहर गर्ने प्रबल सम्भावना रहेको ट्रम्प आफैंले बताउने गरेका छन् । दोषी ठहर भएमा ७६ वर्ष ट्रम्प अमेरिकी इतिहासमा अपराधको आरोप लाग्ने पहिलो राष्ट्रपति हुनेछन् ।

सन् २०१६ को चुनावी अभियानका क्रममा ट्रम्पले आफूहरूको सम्बन्धबारे चुँइक्क नबोल्न डेनियल्सलाई १ लाख ३० हजार डलर घुस दिएको विषय प्रमाणित भए आगामी चुनावमा उनको उम्मेदवारीमा समेत ठूलो झट्का लाग्ने छ । यहीबीच ट्रम्पलाई प्रहरीले पक्राउ गर्दै गरेको एआई-जेनेरेटेड तस्बिरहरू भाइरल भइरहेका हुन् ।

ती तस्बिर अविश्वसनीय रूपमा वास्तविकजस्तै देखिन्छन् । एउटा तस्बिरमा ट्रम्प भाग्दै गरेको र प्रहरी पछिपछि कुदिरहेको देखिन्छ । एआईले बनाएको अर्को एक तस्बिरमा भने प्रहरी भेषमा रहेका राष्ट्रपति जो बाइडेन नै ट्रम्पलाई समातेर लग्दै गरेको देखिन्छन् । साथै, तस्बिरहरूमा ट्रम्प र प्रहरी टोलीबीचको तानाताना मात्र नभएर ट्रम्प पत्नी मेलानिया र ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरसमेत गिरफ्तारीको विरोधमा उत्रिएको देखिन्छ ।

ट्रम्पसम्बन्धी यी तस्बिरले फेक न्युज सिर्जना र वितरणमा एआईको दुरुप्रयोग कसरी हुनसक्छ भन्ने देखाएको छ । ट्रम्प गिरफ्तारीका झुटा तस्बिरहरू शेयर गर्दै इलुना डट एआई नामक एक इन्स्टाग्राम एकाउन्टले क्याप्सनमा लेखेको छ, 'एआई-जेनेरेट आर्ट अब फोटो-रियालिजमको युगमा आइपुगेको छ । ट्रम्प गिरफ्तारीका यी तस्बिरहरूलाई आज धेरै मानिसले असली ठाने । त्यसले गर्दा इन्टरनेटमा हंगामा मच्चिएको छ । के अब हामी कुन वास्तविक हो र कुन नक्कली, छुट्याउन सकौंला ?'

प्रकाशित : चैत्र ९, २०७९ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?