नेपाल प्रहरीको एआईजीमा ४ जना बढुवा सिफारिस

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा चार जनालाई बढुवा सिफारिस गरेको छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ सिफारिस भएका हुन् ।

भण्डारी प्रहरी प्रधान कार्यालय कार्यविभाग, कार्य निर्देशनालय, गिरी विशेष ब्युरो नक्साल, चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय र तामाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा हाल कार्यरत छन् ।

उनीहरुको नाम अब मन्त्रिपरिषद्ले प्रस्तावको रुपमा जान्छ । त्यसपछि मन्त्रिपरिषद्ले निर्णय गर्छ ।



प्रकाशित : चैत्र १३, २०७९ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले २२ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् २२ अर्ब १० करोड रुपैयाँ उठाउन लागेको हो । जसअनुसार १७ अर्ब १० करोड रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ भने बाँकी ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ ।

ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । सरकारले गत बुधबार पनि ट्रेजरी बिलमार्फत पौने २४ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गरेको थियो । पछिल्लो पटकको बोलकबोलमा ९.५९ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंकले सबैभन्दा बढी १०.७४ प्रतिशत र सबैभन्दा कम ९ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म)मा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ । यो आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाउन लागेको हो । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । उक्त लक्ष्यलाई तीन चरणमा गरेर उठाउन लागेको हो । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । दोस्रो त्रैमासबाट मात्र आन्तरिक ऋण उठाउन लागेको हो । जसअनुसार चौथो त्रैमासमा सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना राखेको छ ।

तेस्रो त्रैमासमा ट्रेजरी विलमार्फत् ६० अर्ब, विकास ऋणपत्र मार्फत् २५ अर्ब, नागरिक बचतपत्र मार्फत् २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्र मार्फत ५० करोड गरेर कुल ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो । ट्रेजरी विल र विकास ऋणपत्रको ब्याजदर बोलकबोलका आधारमा तय हुने राष्ट्र बैंकले बताएको छ ।

प्रकाशित : चैत्र १३, २०७९ १२:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×