कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले सचेतकको नियमापत्तिपछि कांग्रेस उपसभापतिले मागे क्षमा

काठमाडौँ — प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद बलराम अधिकारी विशेष समयमा आफ्ना धारणा राखिरहेका थिए । सांसद अधिकारीले आफ्ना कुरा राखिरहेका बेला सत्तारुढ कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खड्का बैठक हलमा प्रवेश गरेका थिए । सांसद खड्का अर्को सांसद अधिकारी बोलिरहेका बेला अगाडिबाट आफ्नो सिटमा गएर बसेका थिए । 

एमाले सचेतकको नियमापत्तिपछि कांग्रेस उपसभापतिले मागे क्षमा

प्रतिनिधिसभा नियमावलीमा कुनै सांसद बोलिरहेको बेला अगाडिबाट हिँड्न नहुने प्रावधान छ । सभामुख र बोलिरहेको सांसदको बीचबाट हिँड्न नहुने नियमावलीको नियम खड्काबाट उल्लंघन भएको थियो ।

सांसद अधिकारीले बोलिसकेपछि एमालेका सचेतक महेश बर्तौलाले नियमापत्ति जनाए । उनले भविष्यमा अरु सांसदहरूलाई पनि काम लाग्ने तर्क गर्दै खड्काको सन्दर्भमा भने, 'पटक-पटक हाउसमा एउटा मर्यादाविपरीत काम भइरहेको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २० (६) बमोजिम सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन । पटक-पटक यो सदनको गरिमा र मर्यादालाई धज्जी उडाउँदै यसप्रकारको काम भइरहेको छ । सत्तापक्षको माननीयहरूबाट यस प्रकारको काम भइरहेको छ ।'

नियमावलीको उक्त व्यवस्था कडाइका साथ पालना गराउन सचेतक बर्तौलाले सभामुखको ध्यानाकर्षण गराए । सभामुख देवराज घिमिरेले नियमापत्तिको विषयमा ध्यान दिन सांसदहरूलाई आग्रह गर्दै भने, 'माननीय सदस्यहरू, उठेका कुराहरूलाई उचित ढंगबाट ध्यान पुर्‍याउँ ।'

एमाले सचेतक बर्तौलाको नियमापत्तिका आधारमा सभामुख घिमिरेबाट ध्यानाकर्षण भएपछि कांग्रेसका उपसभापति खड्काले आफूबाट नियम मिचिएको स्वीकार्दै क्षमा मागेका थिए । उनले भने, 'अनदेखाको कारणले माननीयले उल्लेख गर्नुभएअनुसार मैले नियमावलीको त्यो दफालाई उल्लंघन गरेँ, त्यसका लागि म क्षमा माग्न चाहन्छु ।'

प्रकाशित : चैत्र १२, २०७९ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?