कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरुष र खसआर्य उपराष्ट्रपति उम्मेदवार बन्न पाउँदैनन् : प्रमुख निर्वाचन आयुक्त थपलिया

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषभन्दा फरक लिंग र खसआर्यभन्दा फरक समुदायको मात्र उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छ । आयोगले खस आर्य समुदायको पुरुष व्यक्ति रामचन्द्र पौडेल राष्ट्रपति चयन भएकाले अब यो समुदाय र लिंग भन्दा फरक व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने निर्णय गरेको हो । 

पुरुष र खसआर्य उपराष्ट्रपति उम्मेदवार बन्न पाउँदैनन् : प्रमुख निर्वाचन आयुक्त थपलिया

'अहिले पुरुष व्यक्ति राष्ट्रपति चयन भएकाले लिंगका हिसाबले यो भन्दा फरक लिंगको उम्मेदवार हुनुपर्छ । त्यस्तै समुदायको हिसाबले राष्ट्रपतिमा खसआर्य समुदायबाट निर्वाचित हुनुभएकाले यो भन्दा फरक समुदायको हुनपर्छ भन्ने आयोगको निर्णय हो,' प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इकान्तिपुरसँग भने । उनले लिंग वा समुदाय भन्ने संविधान र कानुनको प्रावधानको अर्थ नै जुन लिंगबाट राष्ट्रपति बनेको छ, त्यो भन्दा फरक हुनपर्ने र जुन समुदायबाट राष्ट्रपति बनेको छ, त्यो पनि फरक हुनुपर्ने भन्ने हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा यस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक-फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा 'यस दफाबमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सो भन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्नेछ‚’ भन्ने व्यवस्था छ ।

'२०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस-आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिंग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिंग (महिला वा अन्य) वा फरक समुदाय दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ‚' आयोगका प्रवक्ता शालिग्राम पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रकाशित : फाल्गुन २६, २०७९ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?