कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिवा खाजा खुवाउन ल्याइएको ५४ हजार किलो चामल अखाद्य

विश्व खाद्य कार्यक्रमको मुख्यालय इटलीबाट भारतीय बन्दरगाह हुँदै नेपाल ल्याइएको चामल भिजेर मक्किएको, गन्ध आएको र खान अयोग्य भएको पाइएपछि नेपालगन्जस्थित सीमा नाकामै रोकियो
जे पाण्डे

नेपालगन्ज — कर्णाली र सुदूरपश्चिमका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउन विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले ल्याएको ५४ हजार किलो चामल गुणस्तरहीन फेला परेको छ । परीक्षण गर्दा चामल कुहिएको भेटिएपछि नेपालगन्ज भन्सार कार्यालयले रोकिदिएको छ ।

दिवा खाजा खुवाउन ल्याइएको ५४ हजार किलो चामल अखाद्य

इटलीबाट समुद्र हुँदै भारतीय मार्गबाट नेपालगन्ज नाका ल्याइपुर्‍याइएको चामल खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा गुणस्तरहीन भेटिएको हो । चामलसहितका तीनवटा कन्टेनर भन्सारमै रोकिएका छन् ।

खाद्य कार्यक्रमले अनलाइन भन्सार स्वघोषणा गरेपछि परीक्षणबिनै भन्सार जाँचपास हुँदा विगतमा कुहिएको चामल बस्तीसम्म पनि पुग्ने गरेको थियो । शंका लागेर यसपालि नाकामै चामलको गुणस्तर परीक्षण गरिएको हो ।

१५ माघमा जमुनाह रुपैडिहा नाका हुँदै आइपुगेका कन्टेनरको चामल नेपालगन्ज भन्सार कार्यालयले गुणस्तर प्रमाणीकरण कार्यालयमा पठाएको थियो । कार्यालयले परीक्षण तथा जाँच गर्ने क्रममा चामल भिजेको र गन्धसमेत आएकाले अखाद्य रहेको प्रतिवेदन दिएको थियो । ‘चामलबाट गन्ध आएको थियो । निरीक्षण गर्दा भिजेको पाइयो,’ खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका प्राविधिक सहायक नेत्रा बोगटीले भनिन्, ‘आयात गर्न उपयुक्त नदेखिएको भनेर भन्सारलाई पत्राचार गरिएको हो ।’

प्रज्ञापनपत्र नम्बर २२१५ बाट नेपालगन्ज ल्याइएको चामल आयातयोग्य नभएको गुणस्तर प्रमाणीकरण कार्यालय प्रमुख सन्तोष दाहालले बताए । ‘भन्सारले परीक्षणका लागि पठाएको चामलमा अस्वाभाविक गन्ध आएको पाइयो,’ उनले भने, ‘त्यस्तो चामल आयातयोग्य हुँदैन ।’

विश्व खाद्यजस्तो जिम्मेवार संस्थाले पठाएको चामलसमेत आयातयोग्य नभएको फेला परेपछि भन्सारले आयातमा रोक लगाएको छ । ‘विदेशबाट नेपाल आयात हुने जुनसुकै वस्तुको पनि परीक्षण गर्नुपर्ने हुँदा विश्व खाद्यको चामलको गुणस्तर जाँच तथा परीक्षण गरिएको हो,’ नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकृत डिल्लुप्रसाद शर्माले भने, ‘चामल आयात गर्न र जाँचपास गरेर छोड्न नमिल्ने देखिएको हुँदा रोक्नुपरेको हो ।’ विश्व खाद्य कार्यक्रमको मुख्यालय इटलीबाट पठाइएको ५४ हजार किलो चामल समुद्री

मार्ग हुँदै भारतीय बन्दरगाहसम्म ल्याइएको थियो । त्यहाँबाट चामल लिएर आएका डब्लूबी ०३ डीओ १०७, डब्लूबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका तीनवटा भारतीय कन्टेनर माघ १५ गते जमुनाह नाकाबाट नेपाल आएका थिए ।

चामल पानीले भिजेर मक्किएको र खानसमेत योग्य नभएको प्रतिवेदनका आधारमा कन्टेनर रोक्नुपरेको प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले बताए । गुणस्तर प्रमाणित हुन नसक्दा तीन कन्टनेर चामलसँगै त्यसका चालकसमेत माघ १५ देखि भन्सारमा अलपत्र छन् । चालकहरू कन्टेनरमै खान र बस्न बाध्य भएको बताउँछन् ।

विश्व खाद्यका अधिकारी बिनारोकटोक निर्बाध रूपमा चामल ल्याउन पाउनुपर्ने अडान लिँदै आएका मात्र छैनन्, नेपाली पक्षले गरेको गुणस्तर परीक्षणप्रति समेत असन्तुष्ट छन् । उनीहरूले भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा समेत चामल छाड्न दबाब दिएको स्रोतको भनाइ छ । तर, चाँज गर्ने निकाय र भन्सार दुवैले गुणस्तरहीन चामलसहितका कन्टेनर छाड्न मानेका छैनन् । विश्व खाद्यका अधिकारीहरू उक्त चामल कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पठाउने योजनामा छन् । कान्तिपुरले प्रयास गर्दा कार्यक्रमका अधिकारीसँग सम्पर्क हुन सकेन ।

२०६६ जेठ, असार र साउनमा पनि विश्व खाद्यले जाजरकोटसहितका पहाडी जिल्लामा कुहिएको चामल वितरण गरेको भन्दै त्यतिबेला एक दर्जनभन्दा बढी अधिकारवादी संघसंस्थाले सरकारसँग छनबिनको माग गरेका थिए ।

झाडापखालाका कारण जाजरकोटसहित पहाडी जिल्लामा ३ सय जनाको मृत्यु भएको थियो । अधिकारवादीले झाडापखालाका कारणमध्ये विश्व खाद्यको चामल पनि मुख्य कारक भएको आरोप लगाएका थिए । त्यतिबेला सरकारले विश्व खाद्यको बचाउ गरेको थियो ।

प्रकाशित : फाल्गुन २०, २०७९ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?