१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

पदाधिकारी बैठकमा दाहालको ब्रिफिङ : एमालेलाई राष्ट्रपति दिँदा सबै उसैलाई जान्छ

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति उम्मेदवारका रूपमा वाग्मतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, स्थायी कमिटी सदस्य गुरु बराललगायत व्यक्तिको नाम लिएको दाहालले बैठकमा बताएका थिए ।
'राप्रपा र स्वतन्त्र पार्टीलगायतका शक्तिहरूसँग मिलेर एमालेले हामीमाथि घेराबन्दी गरिराखेको छ, परिस्थिति ठीक छैन । कांग्रेसलाई विश्वासमा लिनुपर्छ । तर अझै दुई-तीन दिन सोचौं ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति पदका लागि एमालेले अघि सारेका व्यक्तिमा सहमति हुन नसक्ने संकेत गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पदाधिकारी बैठकमा अध्यक्ष दाहालले एमाले अध्यक्षले राष्ट्रपति पदमा हल्का रूपमा सम्भावित उम्मेदवारहरूको नाम लिएको ब्रिफिङ गरेका हुन् । 

पदाधिकारी बैठकमा दाहालको ब्रिफिङ : एमालेलाई राष्ट्रपति दिँदा सबै उसैलाई जान्छ

बैठकमा कांग्रेस, एकीकृत समाजवादी र एमालेले राष्ट्रपति पद चाहेको भए पनि राष्ट्रिय सहमति हुनुपर्नेमा दाहालले जोड दिएका थिए । दाहालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, 'कांग्रेसले राष्ट्रपति चाहेको छ । माधव नेपालले राष्ट्रपति चाहनु भएको छ । एमालेको त हुने नै भयो । त्यकारण के गर्ने भन्ने अझै दुई दिन पर्खिन पर्ने भयो । परिस्थिति जटिल छ । यसबीचमा सोचौँ, १२ गते निर्णय गरौंला । एकातिर एमालेलाई दिदाँ सबै उसकोमा जान्छ । अर्कोतर्फ राप्रपा र स्वतन्त्र पार्टीलगायतका शक्तिहरुसँग मिलेर हामीमाथि घेराबन्दी गरिराखेको छ, परिस्थिति ठीक छैन । कांग्रेसलगायत माधव नेपालहरूलाई मिलाउन पर्‍यो । कांग्रेसलाई विश्वासमा लिनुपर्छ । तर अझै दुई-तीन दिन सोचौं ।'

सोमबार दाहालले पोखरामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिमा साझा व्यक्तित्व खोजेर पनि राष्ट्रिय सहमति हुन सक्ने बताएका थिए । उनले भनेका थिए, 'कुनै पार्टीको मान्छेमा सबैले सहमति गर्दा त्यो पनि राष्ट्रिय सहमति हुन सक्छ वा एउटा पार्टीले राष्ट्रपति, अर्कोले प्रधानमन्त्री, अर्कोले सभामुख लिएर पनि राष्ट्रिय सहमति बन्न सक्छ । केही सीप लागेन भने चुनाव गरेर पनि राष्ट्रिय सहमति हुन्छ हुन त । चुनाव गराउ भन्ने हो भने राष्ट्रिय सहमति त्यहीँबाट हुन्छ ।’

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानसभा र शान्ति सम्झौताका निम्ति काम गरेका दलहरू राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ भने एमालेले भने पुस १० गतेको सहमतिअनुसार आफैले पाउनुपर्नेमा जोड दिँदै आएको छ । कांग्रेसले भने राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघिकै गठबन्धन ब्युँतिने दाबी गर्दै आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले अनौपचारिक रूपमा रामचन्द्र पौडेलको नाम अघि सारेका छन् । तर सोमबारको पदाधिकारी बैठकमा अध्यक्ष दाहालले कांग्रेसले ठोस प्रस्ताव नल्याएको ब्रिफिङ गरेका छन् । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति उम्मेदवारका रूपमा वाग्मतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, स्थायी कमिटी सदस्य गुरु बराललगायत नाम लिएको दाहालले बैठकमा बताएका थिए ।

दाहालले एमाले अध्यक्ष ओलीले राष्ट्रपति निर्वाचनमा गम्भीर रूपमा कुरा नउठाएको बताएका थिए । दाहालको भनाइ उद्धृत गर्दै माओवादीका एक नेता भन्छन्, ' परिस्थिति जटिल छ । सानो कुराले पनि परिस्थिति बिग्रिन सक्छ । सबैसँग कुरा भइरहेकै छ । कांग्रेसले अघि सार्ने वा अन्य कुनै व्यक्तिमा पनि राष्ट्रिय सहमति हुन सक्छ ।'

सोमबारको बैठकले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको छ । पार्टीका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई दिने निर्णय भएको बताए ।

प्रकाशित : फाल्गुन ८, २०७९ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?