२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

प्रकाशकीय : सही र सत्यका पक्षमा उभिने दायित्वमा कुनै सम्झौता गर्दैनौं

प्रकाशकीय

काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स् तीन दशक लामो यात्रा पूरा गरी आज एकतीसौं वर्षमा प्रवेश गरेको छ । हाम्रोजस्तो ढिलो गरी खुलापन सुरु भएको मुलुकमा निजी क्षेत्रको व्यावसायिक सञ्चार संस्था निरन्तर ३० वर्ष अग्रणी भूमिकामा रहनु आफैंमा एउटा उपलब्धि हो । यसका पछाडि कान्तिपुरमा विभिन्न कालखण्डमा विभिन्न भूमिकामा जोडिएका सबै सहकर्मी साथीहरूको अथक परिश्रम त छँदै छ, सँगै यो सफलता समाजका अनेक क्षेत्रको फराकिलो साथ र समर्थनको नतिजा पनि हो ।

प्रकाशकीय : सही र सत्यका पक्षमा उभिने दायित्वमा कुनै सम्झौता गर्दैनौं

निजी क्षेत्रबाट दिगो सञ्चार उद्योग चलाउने र व्यावसायिक पत्रकारिताको संस्थागत जग बसाल्ने हाम्रो संकल्प सामूहिक प्रयत्नबाट मात्र सम्भव भएको तथ्य हामी यो अवसरमा पुनःस्मरण गर्न चाहन्छौं । यस क्रममा महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने श्रद्धेय पाठक, सिर्जनशील पत्रकार, लगनशील कर्मचारी, उत्साही विक्रेता/वितरक, सहयोगी विज्ञापनदाता/एजेन्सीलगायत सबै शुभेच्छुकमा हार्दिक आभार प्रकट गर्दछौं ।

अहिले विश्व जगत्‌‌मा भ्रामक सूचना, मिथ्या समाचार र नियोजित प्रचारबाजीको जगमा लोकरिझ्याइँको राजनीति गर्ने परिपाटी मौलाइरहेको छ । यसका छिटपुट बाछिटा हाम्रो मुलुकमा पनि देखिन थालेका छन् । यो अवस्थामा कुनै पनि व्यावसायिक मिडिया विश्वसनीय समाचार र सर्वपक्षीय विचारको आफ्नो कर्तव्यबाट डग्मगाउनु हुन्न । सही र सत्यका पक्षमा उभिने यो दायित्व हामीले न बिर्सेका छौं, न यसमा कुनै किसिमको सम्झौता गर्नेछौं ।

कान्तिपुरले लोकतन्त्र, संघीयता र गणतन्त्रको राष्ट्रिय प्रतिबद्धतामा आफूलाई एकाकार गरेको छ । भर्खरै सम्पन्न दोस्रो आम निर्वाचन अघि र पछि हामीले सबैभन्दा व्यापक र विस्तारित ‘कभरेज’ गरेको सर्वविदितै छ । यसबीचमा हामीले संघीय अभ्यासलाई सबल तुल्याउने हेतुले प्रादेशिक तहमा बहस शृंखला अघि बढाएका छौं । काठमाडौंमा पनि विविध क्षेत्रगत संवादहरूलाई प्राथमिकता दिएका छौं । छापा र डिजिटल पत्रकारिताको दैनन्दिन जिम्मेवारीसँगै आम मुद्दालाई सोझै जनस्तरीय बहसमा लैजान हामीले यो पहल लिएका हौं ।

कोभिड महामारीपछि सुस्ताएको नेपाली अर्थतन्त्र अझै जुर्मुराउन सकेको छैन । यसको चौतर्फी असरबाट हामी पनि पक्कै मुक्त छैनौं । तर प्रतिकूलताको कालो बादलमा पनि चाँदीको घेरा देख्ने, नियाल्ने र अगाडि बढ्ने हाम्रो विशेषता नै हो । विगत तीन दशकमा अनेक उतारचढाव चिर्दै आएको हाम्रो आत्मविश्वासले पनि उज्यालो भविष्य नै देखिरहेको छ । निश्चय पनि मुलुक सानातिना धक्काधक्की खाँदै अन्ततः विकास, प्रगति र समृद्धिको पथमा लम्कनेमा हाम्रो दृढ विश्वास छ । आऊँ, हामी सबैले यसका निम्ति आ–आफ्नो क्षेत्रबाट हातेमालो गरौं ।

कान्तिपुर पब्लिकेशन्स्‌को तीसौं वार्षिकोत्सवका अवसरमा यहाँहरू सबैलाई हामी खुसी र शुभकामना बाँड्न चाहन्छौं ।

प्रकाशित : फाल्गुन ७, २०७९ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?