नेपालको विकास र जनताको खुसी भारतको चाहना : राजदूत श्रीवास्तव- समाचार - कान्तिपुर समाचार

नेपालको विकास र जनताको खुसी भारतको चाहना : राजदूत श्रीवास्तव

अवधेशकुमार झा

राजविराज — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतको जस्तो मैत्रीपूर्ण सम्बन्ध संसारको अन्य कुनै मुलुकमा नरहेको दाबी गरेका छन् । भारतीय दूतावासको सहयोगमा सप्तरीमा निर्माण भएको योजनाहरुको शुक्रबार राजविराजमा उद्घाटन गर्दै राजदूत श्रीवास्तवले दुई देशको मैत्रीपूर्ण समबन्ध अझै प्रगाढ बनाउन सबैको योगदान हुनुपर्ने बताए ।

'नेपाल र भारतबीचको जस्तो मैत्री सम्बन्ध संसारको अरु कुनै दुई देशमा छैन,’ राजदूत श्रीवास्तवले भने, 'नेपालको विकास र यहाँका जनताको खुसी हाम्रो चाहना हो ।’

पछिल्लो समय कालीगण्डकीबाट अयोध्या लगिएको शिलाले पनि दुई देशको स्नेहपूर्ण मित्रता प्रष्टिएको राजदूत श्रीवास्तवले बताए । राजदूत श्रीवास्तवले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा भारतीय दूतावासले सहयोग गरिरहेको चर्चा गर्दै भारत सरकारले नेपाली जनतालाई प्रत्यक्ष फाइदा पुग्ने कार्यमा सहयोग जारी राख्ने बताए ।

राजदूत श्रीवास्तवले दूतावासको सहयोगमा निर्मित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष तथा प्रसूति भवन, नरेन्द्र मेमोरियल माध्यमिक विद्यालय बोरियाको भवन तथा जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालय ब्रह्मपुरको भवन उद्घाटन गरे ।

प्रकाशित : माघ २०, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्

कालीकोटमा अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

तुलाराम पाण्डे

कालीकोट — कालीकोटको तिलागुफा-५ खल्लागाडमा शुक्रबार दिउसो अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हिमा गाउँबाट जुम्ला र कालीकोटको सिमाना नाग्म बजार हुँदै जुविथाको गाल्जे आउँदै गरेको भे १ ह ५९२२ न. को अटो खल्लागाड मोडमा दुर्घटना भएको कालीकोटका डिएसपी जयश्वर रिमालले बताए ।

कर्णाली राजमार्गको जुविथा गाल्जे नाग्म सडकखण्डमा पर्ने खल्लागाड मोडमा अनियन्त्रित भई अटो दुर्घटना हुँदा जुम्ला हिमा-६ का ३५ वर्षीय विर्षबहादुर शाहीको मृत्यु भएको छ भने उनकी पत्नी २९ वर्षीया तारा शाही र ५ वर्षीय छोरा गौरव घाइते छन् । घाइतेलाई थप उपचारका लागि जुम्लास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

लास पनि पोस्टमार्टमका लागि जुम्ला पठाइएको डिएसपी रिमालले बताए । घटनास्थलबाट मृतकको शव प्रहरीले उठाएर एम्बुलेन्समा राखेको भन्दै घटनास्थल केही समय तनावग्रस्त भएको थियो ।

अटो चालक जुम्ला हिमा-४ का ऐमान बुढालाई खल्लागाड प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । तीव्रगतिका कारण मोडमा अटो पल्टिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यहाँको तिलागुफा-६ गाल्जेमा गत माघ १५ गतेदेखि सत्यदेवीको सम्झानामा लाग्ने १२ वर्षे मेला हेर्न शाही परिवार जुम्लाबाट आउँदै थिए । मेला २२ गतेसम्म संचालन हुनेछ ।

प्रकाशित : माघ २०, २०७९ १७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×