३ बालिका बलात्कार गरेको मुद्दामा ७३ वर्षीय पुरुषलाई जन्मकैद फैसला- समाचार - कान्तिपुर समाचार

३ बालिका बलात्कार गरेको मुद्दामा ७३ वर्षीय पुरुषलाई जन्मकैद फैसला

सम्झना रसाइली

तनहुँ — नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले ७३ वर्षीय पुरुषलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले भानु नगरपालिका-१० का एक वृद्धलाई बुधबार जन्मकैदको फैसला सुनाएको हो ।

नाबालिगलाई बलात्कार गरेको अभियोगमा आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए । मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाइएको छैन ।

वि.सं. २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया गरी तीन जना बालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ गते पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो । सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने अदालतले सफाइ दिइएको छ ।

श्रेस्तेदार कुँवरले भने, 'आरोपितमाथि तीनवटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुईवटा मुद्दामा पनि कसुर ठहर भएको छ । तर सजाय निर्धारण भने बाँकी छ ।'

वि.सं. २०७७ कात्तिक २४ मा जबर्जस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा १७ पटक पेसी चढेको थियो । आरोपित वृद्ध २०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा थिए ।

प्रकाशित : माघ २०, २०७९ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्

नारायणी अस्पतालमा अत्याधुनिक डायलासिस कक्ष सञ्चालन गरिने

शंकर आचार्य

पर्सा — नारायणी अस्पताल वीरगन्जमा अत्याधुनिक डायलासिस कक्ष सञ्चालन गरिने भएको छ । अस्पतालमा सिद्धार्थ बैंकले डायलासिस कक्ष भवन निर्माण तथा स्वास्थ्य मन्त्रालयले आवश्यक उपरकण उपलब्ध गराएपछि अस्पतालमा एकैसाथ २० शय्याको डायलासिस कक्षबाट सेवा सुरु हुने भएको छ ।

मिर्गौलाका बिरामीले डायलासिसका लागि सधैँ प्रतिक्षा गर्नुपर्ने भएपछि उक्त सेवा सुरु गर्न लागिएको बताइएको छ ।

अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार नवनिर्मित डायलासिस कक्षमा सफा पानीको उपलब्धताको लागि ‘आर ओ वाटर प्लान्ट’ को परीक्षणको काम भइरहेकाले आगामी २/३ दिनभित्रै यो काम पनि सम्पन्न हुनेछ ।

नयाँ डायलासिस कक्ष सञ्चालनमा आएपछि २० मध्ये आधा दर्जन शय्या व्याकअपका लागि र एउटा शय्या आकस्मिक डायलासिसका लागि राखिने छ ।

शय्या पूर्ण क्षमतामा सञ्चालन भएपछि हालको भन्दा दोब्बर बढी मिर्गौला रोगीले उपचार पाउने डा. सिंहले दाबी गरेका छन् । ‘हाल मासिक ३० जनासम्म मिर्गौला रोगीको डायलासिस हुँदै आएकोमा १५ देखि २० जनाले उपचारका लागि प्रतिक्षा गर्नु परेको छ,’ उनले भने, ‘तर नयाँ डायलासिस कक्ष सञ्चालनमा आएपछि त्यो अवस्थाको अन्त्य हुनेछ, सबै मिर्गौला रोगीले तत्कालै डायलासिस उपचार पाउने छन्, मासिक ५० जनासम्म मिर्गौला रोगीले सहजै उपचार पाउने छन् ।’

विगतमा दाताले अस्पतालमा बनाइदिएको बर्न वार्ड र त्यसपछि पुरानो आईसीयू कक्षलाई डायलासिस कक्ष बनाइएको छ ।

२०७१ असोज १३ बाट यो अस्पतालमा मिर्गौला रोगीलाई लक्षित गरी डायलासिस सेवा सुरु गरिएको हो । उपचार गराउन आउने अधिकांश पर्सा, बारा र रौतहट जिल्लाका हुने गरेका छन् । बिरामीमध्ये महिलाको तुलनामा पुरुष बढी हुने गरेका छन् ।

साथै धेरैजसो बिरामी ३० देखिमाथिका हुने गरेको पनि अस्पतालले जनाएको छ । तराईका सरकारी अस्पतालमध्ये वीरगन्जपछि भरतपुर र जनकपुरमा मात्र डायलासिस सुविधा उपलब्ध छ ।

प्रकाशित : माघ २०, २०७९ १५:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×