हतारमा छिन् फुन्जो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हतारमा छिन् फुन्जो

सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने महिला, बिनाअक्सिनज चोयु हिमालको सफल आरोहण
हिमेश

काठमाडौँ — नाममा के छ र ? होइन, सबथोक हुन्छ । फुन्जो झङभु लामा नामैले सबथोक भन्छ । तिब्बती भाषाको यो नामको अर्थ हुन्छ, सबै पुगेको राम्रो । नाम मात्र होइन, यी ३१ वर्षीया युवतीले काम पनि त धेरै गरेकी छन्, त्यो पनि पुग्ने गरेर राम्रोसँगै । उनको सबैभन्दा ठूलो परिचय हुन्छ, सबैभन्दा कम समयमा सगरमाथाको सफल आरोहण गर्ने महिला । गज्जब छैन र यो ? जम्माजम्मी ३९ घण्टा ६ मिनेटमै फुन्जोले सन् २०१८ मा सफल आरोहण गरेकी थिइन् ।

दिन थियो, मे महिनाको १७ तारिख । उनले यो सबै विवरण आफ्नै हातमा ‘ट्याटु’ पनि गरेकी छन् र त्यसलाई खुबै गर्वले देखाउन पनि गर्छिन् । अझ त्यही ट्याटुलाई सुमसुम्याउँदै उनी भन्छिन्, ‘सबथोक मिलेको भए, त्यो समय अझ धेरै कम हुन्थ्यो ।’ त्यति भन्दा उनको अनुहार धपक्क बल्ने गर्छ । यो सबै किन सम्भव भएको थियो भन्दा फुन्जोको हिउँसँग नजिकको साइनो छ । उनी हिउँमै हुर्किन् र बढिन् । अनि हिउँकै लागि केही न केही गर्ने इच्छा राख्छिन् ।

हिउँमै रमाउने भनेपछि उनमा अदम्य साहस पनि त चाहियो नै । यो उनमा पर्याप्त छ पनि । त्यसैले आफ्नो नामको भावअनुसार हिउँसँग जोडिएर सबै पुग्ने गरेर राम्रो काम गर्न चाहन्छिन् । उनी आफ्नो हिउँसँग जोडिएको परिचयलाई अझ गाढा पार्न चाहन्छिन् । त्यसै क्रममा उनले हालै एउटा ठूलै जिम्मेवारी पनि पाएकी छन् र यो हो, स्विट्जरल्यान्डका लागि नेपालको पर्यटन सद्भावना दूत । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले यो जिम्मेवारी सुम्पेको हो ।

यो काममा पनि उनी उत्तिकै खुसी छिन् । भन्छिन्, ‘मेरो काम भनेको स्विसहरूलाई नेपालमा भ्रमण गर्नका लागि प्रेरित गर्ने, सल्लाह दिने र सहज बनाउने हो । मलाई यो काम निकै जिम्मेवारीपूर्ण जस्तो लाग्छ । त्यसैले मलाई धेरै काम पनि गर्नु छ ।’ उनी आफैं यसअघि स्विट्जरल्यान्ड पनि गइसकेकी छन् । त्यतिबेला उनी शीतकालीन खेलको प्रशिक्षणका लागि गएकी थिइन् । भनेपछि उनी खेलाडी पनि हुन्, त्यो पनि हिउँसँग जोडिएको ।

त्यसो त नेपालमा हिउँसँग जोडिएका खेल निकै कम हुन्छन् । कम मात्र होइन, यसबारे खासै चर्चा पनि हुन्न । तर नेपालको एउटा विशिष्ट परिचय हिमालको देशकै रूपमा छ । कम चर्चाबीच नेपालमा शीतकालीन खेलका राष्ट्रिय प्रतियोगिता पनि हुने गर्छ । फुन्जो त्यसकी पनि च्याम्पियन हुन्, अझ त्यो पनि पहिलो पहिलो । सन् २०१५ मा पहिलो पल्ट स्की च्याम्पियनसिप भएको थियो, लाङटाङको केन्जिङ भ्यालीमा । त्यहाँ उनी अल्पाइनमा च्याम्पियन भइन् ।

त्यसपछि यही प्रतियोगिता सन् २०१८ मा मुस्ताङमा भएको थियो र त्यसमा पनि उनी अल्पाइनमा च्याम्पियन भइन् । यो स्पर्धामा खेलाडी माथिल्लो भागबाट तल झर्ने गर्छ, स्की गर्दै । फुन्जो भन्छिन्, ‘मलाई नेपालमा पनि हिउँमा खेलिने खेल केही न केही सम्भव छ भनेर प्रचार गर्नु छ । स्विट्जरल्यान्डमै गएर मैले यो खेलबाट जान्ने र सिक्ने अवसर पाएका थिएँ । अनि नेपाल आएर च्याम्पियन पनि भएँ । मलाई हिउँका खेलबारे पनि धेरैलाई बुझाउनु छ ।’

फुन्जो राम्री पनि छिन्, हिस्सी परेकी । सायद भाग्यमानी पनि छिन् । त्यसैले त उनी एउटा वृत्तचित्रमा नायिका भएर पनि आउँदै छिन् । यस वृत्तचित्रबारे पटक्कै हल्ला नभएको स्थिति छ । निर्माण हुने क्रममा रहेको वृत्तचित्रमा के कस्तो हुन्छ, त्यसबारे पनि उनलाई थाहा छैन । तर एउटा तथ्य निश्चित छ, यसमा उनको प्रमुख भूमिका छ । खास कुरा के भन्दा एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पल्ट सगरमाथा सफलतापूर्वक चढेको ७० वर्ष हुँदै छ ।

सन् १९५३ को मे २९ मानवीय इतिहासकै एउटा ठूलो उपलब्धिका रूपमा उनीहरू दुई जना सबैभन्दा पहिले सगरमाथाको चुचुरोमा पुगेका थिए । हिलारीका नाति हुन्, एलेक्जान्डर र जर्ज । आफ्ना बाजेको सम्झनामा उनीहरूले वृत्तचित्त बनाउन लागेका हुन् । सायद त्यसमा उनीहरू आफ्नो बाजेसँगको सम्बन्ध कुनै न कुनै रूपमा देखाउन चाहन्छन् । यो वृत्तचित्रको कथा नेपालसँग पनि त जोडिनु नै पर्‍यो, त्यसैले फुन्जो पनि छानिएकी हुन् ।

धेरैले यस पात्रका लागि ‘अडिसन’ दिएका थिए, तर छानिए उनी नै । यसको पनि कारण छ । उनको जीवनमा सबैभन्दा ठूलो भूमिका खेल्नेमा पर्छन्, बाजे । त्यसैले पनि फुन्जो आफ्नो बाजे नोर्बु लामाको प्रसंग आउँदा भावुक हुन्छन् । फुन्जोलाई तिनै बाजेले हुर्काए र बढाए, गोर्खाको चुम भ्यालीमा । यसै कारणले तिनै बाजे र फुन्जोबीचको सम्बन्ध देखाउन पनि यो वृत्तचित्रका लागि उनी उपयुक्त भइन् । हाम्रो काम भने यो वृत्तचित्रको व्यग्रसँग प्रतीक्षा गर्ने नै हो, किनभने यसबारे धेरै जानकारी बाहिर आएकै छैन ।

फुन्जोले बिनाअक्सिजन चोयु हिमाल पनि चढिसकेकी छन् । गोर्खाकी यी युवतीले मनास्लु, आमादब्लम र उत्तर अमेरिकाको डेनालीको पनि सफल आरोहण गरिसकेकी छन् । उनी पाकिस्तानको के–टू हिमाल सफल आरोहणको निकै नजिक पनि पुगेकी थिइन्, तर सफल भने भइनन् । चुचुरोबाट जम्माजम्मी दुई सय मिटरको दूरीमा पुगिसक्दा पनि उनी आरोहण त्याग्न बाध्य भइन् । भने पछि उनको परिचय खाली सगरमाथा कम समयमा चढ्ने महिलाका रूपमा मात्र छैन ।

उनको एउटा अर्को ठूलै परिचय पनि छ र यो हो, नेपालकी पहिलो महिला हेलिकोप्टर लङ–लाइन रेस्क्युअरको । के हो त यो ? उनी भन्छिन्, ‘एउटा निश्चित उचाइपछि हिउँमा हेलिकोप्टर ओराल्न मिल्दैन । तर ६ हजार मिटरको उचाइ पनि उद्धार त आवश्यक हुन्छ नै । त्यस्तो स्थितिमा हेलिकोप्टरमा झुन्डेर उद्धार गर्ने काम हुन्छ ।’ यसका लागि पनि उनले निकै कडा प्रशिक्षण लिएकी छन् । भनेपछि यी फुर्वाको कति धेरै साइनो है, हिउँसँगै जोडिएर ।

प्रकाशित : माघ १२, २०७९ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

चितवन मेडिकल कलेजको क्यान्सर उपचार केन्द्र सञ्चालनमा

रमेशकुमार पौडेल

चितवन — चितवन मेडिकल कलेज (सीएमसी)को भरतपुरमा  रहेको शिक्षण अस्पतालमा क्यान्सर रोगको पनि उपचार सुरू भएको छ । अस्पताल हाताभित्र अलग्गै भवनमा रहेको 'सीएमसी क्यान्सर इन्स्टिच्युट' बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

१०० शय्याको सो अस्पतालमा क्यान्सर भए नभएको परीक्षणका साथै शल्यक्रिया, रेडियसन थेरापी, केमोथेरापी, ब्याक्रिथेरापी जस्ता उपचार सुविधा रहेको अस्पतालले जनाएको छ । उपचारका लागि तत्काल चिकित्सकको १० जनाको टिम संलग्न रहने छन् ।

अस्पतालमै 'ए' श्रेणीको उच्चस्तरीय प्रयोगशाला रहेको र प्रायजसो नमुना परीक्षण सोही प्रयोगशालामा हुने अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताए । क्यान्सर पत्ता लागेको ३/४ दिनमै उपचार सेवा सुरू हुने, शल्यक्रिया र थेरापीका लागि लामो समय पालो कुर्न नपर्ने लम्सालको भनाइ छ ।

चितवन भरतपुरमै ४ सय शय्याको पुरानो सरकारी क्यान्सर अस्पताल पनि छ । तर पालो कुर्नु पर्ने समस्याले देश र चितवनकै धेरै बिरामी भारतको दिल्ली र अन्य देशसमेत जाने गरेका छन् । पालो कुर्न नपर्ने भएपछि धेरै बिरामी भरतपुरमै रोकिने आशा डा.लम्सालको छ ।

डा.सुभास ठाकुरको नेतृत्वको टोली क्यान्सर रोगीको उपचारमा खटिने अस्पतालले जनाएको छ । अस्पतालले बिनाशल्यक्रिया टाउकोभित्रको ट्युमरको उपचार गर्ने, शल्यक्रिया गर्न नमिल्ने अन्तिम अवस्थाको क्यान्सर र हड्डीको क्यान्सरको उपचार प्रभावकारी बनाउन उच्च प्रविधि प्रयोग गरेर रेडियसन थेरापी उपलब्ध गराउने डा.लम्सालले बताए । अस्पतालमा दिनमा सयजनालाई रेडियसन थेरापी दिन सकिने उनको भनाइ छ ।


प्रकाशित : माघ १२, २०७९ १०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×