कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठै उपसभामुख महिला

काठमाडौँ — प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको उपसभामुखमा महिला सांसद निर्वाचित भएका छन् । जसमा प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर शनिबार निर्वाचित भएकी छन् । त्यसैगरी प्रदेशसभामा निर्वाचित भएकामध्ये एमालेको ४, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टीका १-१ छन् ।

आठै उपसभामुख महिला

प्रदेश १ मा एमालेकी सिर्जना दनुवार, मधेस प्रदेशमा जनमत पार्टीकी बबिताकुमारी राउत ईशर, वाग्मतीमा एमालेकी अप्सरा चापागाई, गण्डकीमा एमालेकी विना थापा, लुम्बिनी प्रदेशमा राप्रपाकी मेनुका खाँण केसी, कर्णालीमा माओवादी केन्द्रकी यशोदा न्यौपाने, सुदूरपश्चिममा एमालेकी कोइलीदेवी चौधरी निर्वाचित भएका छन् । दनुवार र ईशर अल्पसंख्यक समुदायकी हुन् भने सुदूरपश्चिमकी चौधरी कमैया परिवारकी सदस्य हुन् ।

कर्णाली प्रदेशमा प्रदेशसभाको सभामुखको एमालेको नन्दा गुरुङ निर्वाचित भएकी छन् । सभामुख भने कर्णाली प्रदेशबाहेक अन्यत्र सबै पुरुष रहेका छन् ।

सिर्जना दनुवार (प्रदेश १)

आदिवासी जनजातिमा अति सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने उदयपुरकी ४६ वर्षीया सिर्जना दनुवार प्रदेश १ को उपसभामुखमा शनिबार निर्वाचित भएकी छन् । उनी कठिन संघर्षबाट राजनीतिमा उदाएकी नेतृ हुन् । त्रियुगा नगरपालिका–९ गाईघाटमा निम्न वर्गीय किसान परिवारमा जन्म भएर अभावैअभावमा बाल्यकाल गुजारेकी उनको व्यक्तिगत जीवन कहिल्यै सुखद् रहेन ।

आमा धनरूपी र बुबा गोलदामकी एक्ली छोरी दनुवारको जीवन संघर्षमै बित्यो । स्थानीय विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनका आमाबुबाको निधन भएको थियो ।

एक्ली दनुवारले उच्च शिक्षाका लागि स्थानीय क्याम्पसमा अध्ययन गर्ने क्रममा एक युवकसँग प्रेम विवाह गरे पनि त्यो धेरै दिन टिकेन  । विद्यालय अध्ययन गर्ने क्रममा एमालेका भ्रातृ संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीमा आबद्ध भएकी उनले क्यापसमा पनि राजनीतिलाई निरन्तरता दिइन् । राजनीतिक सक्रियताले उनको वैवाहिक जीवनमा बिराम लाग्यो । उनले आफूलाई सम्हाल्दै स्नातक तहसम्मको शिक्षा पूरा गरिन्  । त्यसपछि उनी पूर्णतः सामाजिक सेवामा सक्रिय भइन् ।

पछि उनले गैरसरकारी संस्था महासंघको केन्द्रीय नेतृत्व सम्हाल्दै राजनीतिलाई निरन्तरता दिइरहिन् । उपसभामुखमा निर्वाचित हुँदा एमाले उदयपुर जिल्ला कमिटीको सचिवालय सदस्य थिइन् ।

बबिताकुमारी राउत इसर (मधेस प्रदेश)

मधेस प्रदेशकी उपसभामुख बबिताकुमारी राउत इसर अल्पसंख्यक राजधोव समुदायकी हुन् । २०४० साल चैत २६ गते सप्तरीको बिसनपुर गाउँपालिका खुरहुरियामा जन्मिएकी हुन् । उनले स्नातकोत्तर अध्ययन गरेकी छन् । विवाहपछि सप्तरीकै रुपनी गाउँपालिका-२ हरिरावाकी बासिन्दा भएकी उनी सिके राउतको नेतृत्वमा स्वतन्त्र मधेस गठबन्धन सक्रिय भएपछि त्यसमा लागेकी थिइन् । स्वतन्त्र मधेस गठबन्धन पछि जनमत पार्टीको रुपमा स्थापीत भएपछि सो पार्टीको केन्द्रीय उपाध्यक्ष रहेकी इसर गत निर्वाचनमा जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्यमा समानुपातिक सदस्यका रुपमा निर्वाचित भएकी थिइन् । सत्ता गठबन्धनका दलहरुबीच मधेस प्रदेशको उपसभामुख जनमत पार्टीले पाउने सहमतिअनुरुप उनी मधेस प्रदेशसभा उपसभामुखमा निर्वाचित भएकी छन् ।

अप्सरा चापागाईं (वाग्मती प्रदेश)

काभ्रेको पनौतीमा २०२९ सालमा जन्मिएकी अप्सरा चापागाईंं वाग्मती प्रदेशसभा सदस्य भएको पहिलो पटकमै उपसभामुख हुन सफल भएकी हुन् ।

२०४४ सालमा विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा सुरु गरेकी उनले नेकपा एमालेको विभिन्न विभागमा रहेर काम गरेकी थिइन् । अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य रहेको चापागाईंं सामुदायिक वन उपभोक्ता महासंघ संस्थापक अध्यक्ष हुन् । उपसभामुखमा निर्वाचित हुँदा उनी एमाले वाग्मती प्रदेश सदस्यसमेत रहेकी थिइन् । उनी पार्टीभित्रको आन्तरिक कार्यका लागि पोख्त मानिन्छिन् । स्नातकसम्मको अध्ययन गरेकी छन् ।

विना थापा (गण्डकी प्रदेश)

४९ वर्षीया विना थापा एमालेबाट समानुपातिक सांसद बनेकी हुन् । बागलुङको बडीगाड गाउँपालिका–१ की थापा २०४३ सालदेखि विद्यार्थी राजनीतिमा होमिएकी थिइन् । २०५३ मा एमाले पार्टीको सदस्यता लिएकी थापा २०६४ मा एमाले बागलुङ जिल्ला सदस्य भइन् । हालै पनि उनी अखिल नेपाल महिला संघ बागलुङको सचिव हुन् । यस्तै, पार्टीको जिल्ला सचिवालय सदस्यसमेत हुन् । थापा रेडक्रसलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध थिइन् ।

मेनुका खाँण केसी (लुम्बिनी प्रदेश)

लुम्बिनी प्रदेशको उपसभामुखमा गुल्मीकी ४३ वर्षीया मेनुका खाँण केसी छन् । उनी पाल्पाको प्रधानपञ्च हुँदै राप्रपाबाट जिल्ला उपसभापतिसम्म पुगेका बाबु पूर्णबहादुर खाँणको प्रेरणाबाटै राजनीतिमा लागेकी थिइन् । राप्रपाको केन्द्रीय सदस्यसमेत रहेकी खाँण विद्यार्थी राजनीति हुँदै २०५८ सालमा राप्रपाको जिल्ला सदस्य भएकी हुन् । उनी २०७१ मा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको केन्द्रीय सदस्य, २०७३ मा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय सचिव, २०७५ मा राप्रपाको केन्द्रीय सदस्य मनोनयन र २०७८ मा राप्रपाको निर्वाचित केन्द्रीय सदस्य हुन् ।

पाल्पाको बगनासकाली गाउँपालिका– चापपानीमा २०३६ सालमा जन्मिएकी खाँणले पाल्पामै उच्च शिक्षा अध्ययन गरेकी थिइन् । २०७९ माघमा लुम्बिनी प्रदेशको उपसभामुखमा निर्वाचित भएकी खाँणले स्नातकोत्तर गरेकी छन् । अहिले एलएलबी अध्ययनरत हुन् ।

यशोदा न्यौपाने (कर्णाली प्रदेश)

कर्णाली प्रदेशसभाको उपसभामुखमा निर्वाचित माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छिन् ।उनी समानुपातिक सांसद हुन् । २०४० असोज ३ मा जुम्ला तातापानी गाउँपालिका–४ हाँकुमा जन्मेकी हुन् । उनले २०५३ सालबाट राजनीतिक यात्रा सुरु गरेकी हुन् । २०५३ देखि २०५६ सालसम्म नेकपा एमालेमा संगठित न्यौपाने २०५७ साल वैशाखमा माओवादीमा आबद्ध भएकी थिइन् । उनी सुरुमा माओवादी समर्थित अखिल क्रान्तिकारीमा आबद्ध भएकी थिइन् । उनको पति राजनीतिमा सक्रिय छन् । लक्ष्मीप्रसाद चौलागाईसँग नेकपा माओवादी कालिकोटका जिल्ला संयोजक छन् । २०५९ सालमा भूमिगत भएपछि कालिकोट, जुम्ला, कास्की, म्यादी, तनहुँ र गोरखामा रहँदा ‘जनमुक्ति सेना’को कमाण्डरको भूमिका निभाएको निभाएको उनी बताउँछिन् ।

कोइलीदेवी चौधरी (सुदूरपश्चिम)

कमैया परिवारको पृष्ठभूमिबाट हुर्केर करिब २५ वर्षदेखि एमालेको राजनीतिमा सक्रिय भएकी ५५ वर्षीया कोइलीदेवी चौधरी सुदूरपश्चिम प्रदेशसभाको उपसभामुख बनेकी छन् । सत्ता साझेदार दलहरु नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाबीच उपसभामुख नागरिक उन्मुक्तिलाई दिने समझदारी भए पनि नागरिक उन्मुक्तिले कुनै पनि पद नलिने भनेपछि एमालेले आफ्नो दलको सांसद कोइलीदेवीलाई उम्मेदवार बनाएको थियो । नागरिक उन्मुक्तिले पद इन्कार गर्नु कोइलीदेवीका लागि भने सुखद् संयोग भयो ।

उपसभामुख चौधरी तत्कालीन समयमा कमैयाको परिवारमा जन्मे हुर्केकी थिइन् । उनका आमाबुबा दाङको जमिन्दार परिवारमा कमैया बसेका थिए । साहुको जमिनमा खेतीपाती गर्ने जिम्मेवारी उनकै बाबुुआमाको थियो । त्यसबापत उब्जनीको दुई भाग मालिकलाई दिनुपर्ने र एक भाग आफू पाउने चलन थियो ।

पछि उनको परिवार कञ्चनपुरको देखतभुली बसाइँ सरेको थियो । कञ्चनपुरमा पनि कमैया र बटैया (साहुको जमिनमा खेतीगर्ने र आधाआधा अन्न लिने चलन) गरेर गुजारा चलाएको थियो ।

कोइलीदेवीले शिक्षाआर्जन भने गर्न पाइनन् । तर एक जना शिक्षकको घरमा केटाकेटी हेरिदिने काम गर्न थालेपछि उनले अक्षर चिन्ने अवसर पाएको उनले बताइन् । विवाहपछि उनले प्रौढ शिक्षा, साक्षर परियोजनाअन्तर्गत ९ महिने, ३ महिना थुप्रै कक्षाहरु भने लिएकी थिइन् ।

१२ वर्षकै उमेरमा कोइलीदेवीको कञ्चनपुरकै रैकबार विचवामा विवाह भएको थियो । उनको राजनीतिक जीवन पनि कञ्चनपुरबाटै सुरु भएको थियो । ०५१ सालतिर एमालेका नेताहरुले महिला पनि राजनीतिमा आउनुपर्छ भनेर सहभागी गराएको उनले सम्झिइन् ।

पछि उनको परिवारले कैलालीको धनगढीको उर्मामा बसाइँ सरे । ०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा उनी कैलालीको तत्कालीन उर्मा गाविस ९ कोे वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित : माघ ८, २०७९ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?