आफन्तले बुझ्न थाले शव- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
यती विमान दुर्घटना

आफन्तले बुझ्न थाले शव

२१ को पोखरामै पोस्टमार्टम, ४९ शव काठमाडौं लगिने
दीपक परियार

पोखरा — यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका मृतकको शव आफन्तले बुझ्न सुरु गरेका छन् । सोमबार साँझ पोस्टमार्टम सुरु भएसँगै आफन्तले शव बुझेका हुन् । सोमबार साँझ पोखरा–१३ मियाँपाटनका सदाकत अली मियाँको शव परिवारले बुझेका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीका अनुसार हालसम्म ७० जनाको शव फेला परेको छ । दुईजना अझै बेपत्ता छन् । ती शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम वार्डमा राखिएको छ । तीमध्ये २१ जनाको पोखरामै पोस्टमार्टम हुने छ । बाँकी ४९ शव मंगलबार सेनाको हेलिकप्टरमा काठमाडौं लैजान सुरु गरिने छ । ‘पहिला २४ जनाको यहीँ पोस्टमार्टम गर्ने भन्ने थियो,’ उनले भने, ‘तर एउटा परिवारको ४ मध्ये दुई र अर्कोको ३ मध्ये २ को पहिचान नहुँदा काठमाडौं लैजानुपर्ने भएकोले पहिचान भएको पनि काठमाडौं नै लैजान्छौं भन्नुभयो ।’

मंगलबार दिनभरिमा विदेशी नागरिक, क्रु मेम्बर र पहिचान नभएका शवलाई काठमाडौं लैजाने उनले बताए । उनका अनुसार सोमबार रातिबाट स्थगित भएको बेपत्ता यात्रुको खोजी कार्य मंगलबार बिहानबाट पुनः सुरु हुने छ । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको छ ।

आइतबार बिहान १०:३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर-७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो । ७२ जना सवार विमानमा अहिलेसम्म ७० जनाको शव भेटिएको छ भने २ जनाको खोजी कार्य जारी रहेको छ।

प्रकाशित : माघ २, २०७९ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्

कानुनी कठिनाइ हटाउन प्रधानमन्त्रीलाई गैरआवासीय नेपालीकाे आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र गैरआवासीय नेपाली संघका अध्यक्ष त्रयसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । भेटका क्रममा गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले गरिआएको काम र सरकारको तर्फबाट सम्बोधन गर्नुपर्ने नीतिगत र कानुनी सुधारबारे धारणा राखिन् ।

संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’लाई अघि बढाउन कानुनी र व्यवहारिक कठिनाइ रहेको भन्दै ती कठिनाइ सम्बोधन गर्न आग्रह गरे । विदेशमा रहेका बहुसंख्यक नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, विदेशमा कामका शिलशिलामा अंगभंग भएका नेपालीलाई स्वदेश फिर्ता गरी परिवारलाई आर्थिक सहायता गर्नुपर्ने माग अध्यक्ष केसीले राखेका थिए ।

यस्तै, संघका अध्यक्ष कुल आचार्यले संघले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न अनुरोध गरे। ‘एक पटकको नेपाली सदैव नेपाली’ हुने भन्दै अध्यक्ष आचार्यले विविध कारण अन्योलमा परेको नागरिकताको विषयलाई यथाशक्य छिटो टुंगो लगाउन आग्रह गरे ।

जवाफमा प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीको मन जित्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । विद्यमान कतिपय कानुनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबको दिनमा पनि पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने दाहालले बताए ।

प्रकाशित : माघ २, २०७९ १९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×