६५ करोड सन्दिग्ध कारोबारमा शाह पक्राउ, संरक्षक तत्कालीन अर्थमन्त्री शर्मालाई के हुन्छ ? - समाचार - कान्तिपुर समाचार

६५ करोड सन्दिग्ध कारोबारमा शाह पक्राउ, संरक्षक तत्कालीन अर्थमन्त्री शर्मालाई के हुन्छ ? 

राष्ट्र बैंकले शाहको खाता रोक्का गरेपछि फुकुवा गरिदिन अर्थमन्त्रीका रुपमा शर्माले अनधिकृत निर्देशन दिएका थिए, सम्पत्ति शुद्धीकरणको अनुसन्धान पनि रोकिएको थियो ।
अर्थमन्त्रीको हस्तक्षेपबारे कान्तिपुरले समाचार प्रकाशित गरेपछि शर्माले गभर्नर अधिकारीलाई बर्खास्त गर्न प्रक्रिया अघि बढाएका थिए, जसलाई सर्वोच्चले रोकेको थियो ।
कृष्ण आचार्य, मातृका दाहाल

काठमाडौँ — तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संरक्षणमा शंकास्पद रकम ओसारपसार गरेका अछामका पृथ्वी शाहमाथि कानुनी कारबाही बल्ल अघि बढेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । 

ब्युरोले सार्वजनिक गरेको विवरणअनुसार शाहले साथीभाइ, आफ्नो र परिवारका नाममा विभिन्न कम्पनी खडा गरी करिब ६५ करोड रुपैयाँ बराबरको शंकास्पद रकम ओसारपसार गरेको देखिएको छ । शाहले ४६ लाख ४६ हजार ७ सय ३७ अमेरिकी डलर (हालको विनिमय दरअनुसार ६१ करोड ३३ लाख ७९ हजार २ सय ८४ रुपैयाँ), १२ हजार ८ सय २५ पाउन्ड स्टर्लिङ डलर (हालको विनिमय दरअनुसार २० लाख ४३ हजार ५ सय ३५ रुपैयाँ) र ३ करोड २२ लाख २८ हजार ६ सय ८० रुपैयाँ शंकास्पद कारोबार गरेको पुष्टि भएको छ ।

अस्वाभाविक रकम ओसारपसार गरेको देखिएपछि अनुसन्धान गर्न राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो । राष्ट्र बैंकले शाहको खाता रोक्का गरेपछि तत्कालीन अर्थमन्त्री शर्माले फुकुवा गरिदिन लिखित निर्देशन नै दिएका थिए । स्वायत्त निकाय राष्ट्र बैंकको कामकारबाहीमा अर्थमन्त्रीले निर्देशन दिन मिल्दैन । तर, शर्माले अनधिकृत हस्तक्षेप गरेर अनुसन्धान प्रभावित गरेको विषयमा कान्तिपुरले गत चैत २४ मा समाचार प्रकाशित गरेको थियो ।

समाचार छापिएपछि शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न प्रक्रिया अघि बढाएका थिए । उनको प्रस्तावमा मन्त्रिपरिषद्ले जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै गभर्नर अधिकारी निलम्बनमा परेका थिए ।

अधिकारीमाथि जाँचबुझ गर्न अर्थमन्त्री शर्माका दाइ नाता पर्ने पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरिएको थियो, जसका दुवै सदस्य अर्थमन्त्रीको दल माओवादीको संगठनमा आबद्ध नेता थिए । गभर्नरमाथि अन्यायपूर्वक कदम चालिएको भन्दै परेको रिटमा सर्वोच्चले कारबाही अघि नबढाउन अन्तरिम आदेश जारी गरी उनलाई राष्ट्र बैंक फर्काइदिएको थियो ।

अर्थमन्त्रीबाट शर्मा बाहिरिएलगत्तै प्रहरीले शाहसहित ६ जनालाई पक्राउ गरी अदालतबाट ६ दिनको म्यादसमेत लिएको छ । ‘राष्ट्र बैंकको आग्रह र केही तथ्य तथा प्रमाणमा खुलेअनुसार ६ जनालाई पक्राउ गरिएको हो, अरू थुप्रै व्यक्ति र कम्पनी यो अपराधमा मुछिएको देखिन्छ,’ सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले पक्राउ पर्न बाँकी व्यक्ति र संलग्न संस्थाबारे अहिले नै सार्वजनिक गर्न मिल्दैन ।’

पक्राउ पर्नेमा अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ घर भई काठमाडौं बस्दै आएका शाह, भाइ विजयविक्रम, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिम नवलपरासीका रुक्मांगत काफ्ले र अछामकै रंगबहादुर साउद छन् । अनुसन्धानको दायरामा परेका विभिन्न व्यक्ति तथा शंकास्पद गतिविधिमा जोडिएका कम्पनीको सबै कारोबार रोक्का गरिएको छ । शाह पक्राउ परेपछि उनलाई संरक्षण गर्ने तत्कालीन अर्थमन्त्री शर्माको संलग्नतामाथि बिनाप्रभाव छानबिन हुनुपर्ने विज्ञहरूको धारणा छ ।

‘आवरणमा सामान्य हैसियतका मानिसलाई देखाएर शक्ति केन्द्रले शंकास्पद रकम भित्र्याएको त होइन भन्ने बलियो आशंका छ, शंकास्पद रकम राखिएको खाता खुलाउने प्रयास पनि भएकै हो,’ सीआईबीका पूर्वप्रमुख हेमन्त मल्लले कान्तिपुरसँग भने, ‘यस विषयलाई समेत मध्यनजर गरेर ब्युरोले अनुसन्धानको दायरा बढाउनुपर्छ ।’

बिनाहस्तक्षेप अनुसन्धान टुंगोमा पुर्‍याउन दिने हो भने यस्ता अपराधमा जति नै उच्च पदस्थको संलग्नता भए पनि कानुनी दायरामा ल्याउने क्षमता प्रहरीसँग रहेको दाबी मल्लको छ । ‘सामान्य व्यक्तिको मात्रै प्रयास र चलखेलबाट कालो धनलाई शुद्धीकरण गर्न सम्भव हुँदैन । यो प्रकरणलाई सम्पत्ति शुद्धीकरण, कर छली, भ्रष्टाचार, ठगीलगायत अपराधसँग जोडेर हेर्नुपर्छ,’ उनी भन्छन् । अर्थमन्त्रीका रूपमा शर्माले राष्ट्र बैंकलाई पत्र लेखेका मात्र होइनन्, सार्वजनिक विज्ञप्ति जारी गरेर ‘शाह सोझासिधा व्यवसायी हुन्, जसले प्रत्यक्ष वैदेशिक लगानी ल्याएका छन्’ भनेका थिए ।

विज्ञप्तिमा ‘स्वस्फूर्त रूपमा आएको विदेशी लगानीलाई अनेक बहानामा रोक्का गरी नेपालमा लगानी ल्याउन चाहनेलाई निरुत्साहित गर्न खोजिएको’ टिप्पणी पनि गरिएको थियो । तर, विदेशबाट ल्याएको रकम कुन उद्योग, व्यवसायका लागि ल्याएका हुन् भन्ने स्वयं शाहले पनि प्रस्ट पार्न सकेका छैनन् ।

अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले शाहका नाममा अवैध रकम नेपाल पठाइएको जानकारी राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) लाई दिएपछि नेपालमा अनुसन्धान सुरु भएको थियो । फिनसेनले राष्ट्र बैंकलाई पत्राचार गरी शाहका नाममा आएको रकम जफत गरी अमेरिका फिर्ता पठाउन भनेको छ । यस प्रकरणमा पक्राउ परेका व्यक्तिविरुद्ध विदेशी मुद्रा कारोबारको अनुमति नलिएको, तोकिएको सर्तविपरीत कारोबार गरेको र विदेशमा अपराधजन्य गतिविधि गरेर रकम भित्र्याएको आरोप छ ।

पक्राउ परेका ६ जनामध्येका एक पृथ्वीविक्रम शाह साढे ४ वर्षअघि पनि साढे २ करोडभन्दा बढी भारतीय नोटको अवैध कारोबारमा पक्राउ परेका थिए । नेपालमा संगठित गिरोह बनाई प्रतिबन्धित भारु भित्र्याएको आरोपमा ब्युरोले २०७४ जेठ २ मा १५ जनालाई पक्राउ गरेको थियो, जसमा शाह पनि थिए । नेपालमा प्रतिबन्धित ५०० र १००० दरका नोट ल्याई काठमाडौंका विभिन्न स्थानमा कारोबार भइरहेको सूचनाका आधारमा चाबहिल (गौरीघाट) स्थित एक घरमा खानतलासी गर्दा दुई वटा झोलामा ९८ लाख भारतीय रुपैयाँ बरामद भएको थियो ।

सीआईबीले त्यसबेला उठाएको मुचुल्कामा भनिएको छ, ‘जेठ ३ मा तिलगंगामा रहेको होटल पाँचथर अगाडि कारमा तीन वटा झोलामा १ करोड १८ लाख ६१ हजार फेला परेको हो ।’ यो प्रकरणमा नगदसहित ३ कार र १२ वटा मोबाइल सेट बरामद गरिएको थियो । बरामद भारु ब्युरोले राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो तर पछि शक्तिको आडमा अनुसन्धान नै कमजोर बनाएर शाहसहितका केही अभियुक्तलाई उन्मुक्ति दिइएको थियो ।

‘शाहले पटक–पटक तीन/चार तहमा कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ, दुई दर्जनभन्दा बढी कम्पनीमार्फत कारोबार गरिएको र उताबाट पैसा पठाउनेबित्तिकै आफन्त, नातेदार, साझेदार तथा विश्वासिला पात्रको बैंक खातामा ट्रान्सफर गरिहाल्ने गरिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘केही रकम सामान्य मजदुरका नाममा समेत ट्रान्सफर गरिएको छ । यिनीहरूको आफ्नै क्षमताले यो तहको गलत कारोबार गरेको हुन सक्दैन । यसका पछाडि ठूलै शक्ति तथा गिरोह संलग्न हुन सक्ने अनुमान गरेका छौं ।’

प्रहरीले कानुनी प्रक्रिया अघि बढाएकाले अन्तर्राष्ट्रियस्तरमा समेत सकारात्मक सन्देश जाने पूर्वअर्थमन्त्री युवराज खतिवडाले बताए । ‘नेपाल अहिले सम्पत्ति शुद्धीकरण निवारण मामिलामा मूल्यांकनको चरणमा छ, अबको पाँच/सात महिनामा नेपालले तीन वटा काम गर्नु छ,’ उनले भने, ‘पहिलो– कानुन बनाउनुपर्छ । दोस्रो– सम्पत्ति शुद्धीकरण गर्न खोजिएका कानुन वा विधि केही छन् भने तिनीहरूलाई हटाउनुपर्छ । तेस्रो– शंकास्पद कामहरूमाथि छानबिन गरी कानुनी दायरामा ल्याउनुपर्छ ।’ शाह पक्राउ प्रकरणले ‘हामी सम्पत्ति शुद्धीकरण निवारणको विषयमा गम्भीर छौं, कुनै पनि अपराधीलाई छाड्दैनौं’ भन्ने सन्देश जाने खतिवडाले बताए । ‘यसमा विश्व समुदायलाई विश्वास दिलाउनुपर्नेछ, ब्युरोले अहिलेको यो संवेदनशीलतालाई बुझेर अघि बढेजस्तो छ,’ उनले भने, ‘हामी सबैले यस्ता छानबिन तथा कारबाहीलाई बुझ्नुपर्छ । कसैले हस्तक्षेप गर्नु हुँदैन । सन्दिग्ध व्यक्ति जो भए पनि छुट्नु हुँदैन ।’

प्रकाशित : पुस २३, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्

कहाँ उडे १ अर्ब ३८ करोडका १९ हजार ड्रोन ?

कृष्ण आचार्य, मातृका दाहाल

काठमाडौँ — ड्रोन क्यामरा अस्वाभाविक परिमाणमा आयात गरी पुँजी पलायन गरिएको तथ्य भेटिएको छ । हङकङ र चीनबाट एक वर्षमा करिब १९ हजार थान ड्रोन आयात गरी केही व्यापारीले योजनाबद्ध रूपमा १ करोड ४ लाख ५८ हजार अमेरिकी डलर (हालको विनिमय दरअनुसार १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ) मुद्रा बाहिर पठाएको पाइएको हो । 

मुलुक कोभिड र डेंगी महामारी तथा राजनीतिक अस्थिरताबाट गुज्रिएका बेला ०७८ साउनदेखि ०७९ भदौसम्म अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय हुँदै ती ड्रोन आयात गरिएको थियो । त्यति धेरै ड्रोन न नेपालमा खपत हुन्छ, न सहज खरिद/बिक्री । ‘यति धेरै ड्रोन आयात अनुमति दिएर डलर बाहिर पठाउनुको कारण के हो, त्यसरी आयात गरेका सामानको खपत कहाँ हुने हो, ठूलो प्रश्न छ,’ स्रोतले भन्यो, ‘कागजमा मात्रै आयात देखाएर पुँजी पलायन वा भारत तस्करी भएको हुन सक्छ ।’

ड्रोन आयातको अभिलेखमा विभिन्न व्यापार, व्यवसाय र कारोबारमा संलग्न ठूला घरानियाँ नै जोडिएको स्रोतको दाबी छ । हङकङ र चीनबाट अस्वाभाविक रूपमा धेरै ड्रोन आयात भएको थाहा पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘शंकास्पद कारोबार’ आशंकामा अनुसन्धान अघि बढाएको छ । ‘अनुसन्धानका लागि भन्सार विभागसँग ड्रोन आयातको सम्पूर्ण विवरण मागेका छौं । अन्तरसम्बद्ध कागजात अर्थ मन्त्रालयसँग पनि मागेका छौं,’ अख्तियार स्रोतले भन्यो । अख्तियारले गृह मन्त्रालयसँग ड्रोन उडानसम्बन्धी अनुमति लिएका निकायको विवरण मागेको छ ।

अस्वाभाविक रूपमा धेरै ड्रोन आयात हुन थालेको थाहा पाउनासाथ अर्थ मन्त्रालय, भन्सार विभाग र राजस्व अनुसन्धान विभागले फरक–फरक हिसाबले अनुसन्धान गर्न खोजेका थिए । ‘तर अर्थ मन्त्रालयको उच्च नेतृत्वकै दबाबपछि छानबिन तथा अनुसन्धान गर्न पाइएन,’ यसबारे जानकार अर्थका एक अधिकारीले भने, ‘त्यसपछि पनि ड्रोन आयात रोकिएन, झन्झन् बढेर गयो ।’ कतैबाट पनि अनुसन्धान नहुने सम्भावना देखेर केही सरकारी अधिकारीहरूले यो विषय अख्तियारसम्म पुर्‍याएका हुन् ।

माओवादी नेता जनार्दन शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै ड्रोन अस्वाभाविक रूपमा आयात भएको देखिन्छ । अर्थ मन्त्रालयका एक अधिकारीको दाबीअनुसार यो प्रयास ओली नेतृत्वको सरकारकै पालादेखि भएको हो । ‘राजनीतिक नेतृत्वसँग कुरा नमिल्दा त्यतिबेला आयात भएन,’ ती अधिकारीले भने । ०७८ असार अन्तिम साता शेरबहादुर देउवा प्रधानमन्त्री बने । त्यसपछि माओवादीका तर्फबाट शर्मा अर्थमन्त्री भए । त्यसको अर्को महिनाबाटै ड्रोन आयातको खेल अघि बढेको देखिन्छ । ‘राजस्व प्रशासनले यसबारे अर्थमन्त्रीलाई जानकारी पनि गराइसकेको छ,’ अर्थका ती अधिकारीले भने, ‘शंकास्पद कारोबारमाथि शंकास्पद तरिकाले नै कुनै अनुसन्धान भइरहेको छैन ।’

नेपालमा खासगरी सञ्चारमाध्यम, फिल्म/मनोरञ्जन, सुरक्षा, वैज्ञानिक अध्ययन/अनुसन्धान, शैक्षिक जस्ता क्षेत्रमा तोकिएका सर्त र बन्देजको अधीनमा रही सीमित संख्यामा ड्रोन प्रयोग हुने गरेको छ । ती अधिकारीका अनुसार नेपाली बजारमा यति धेरै ड्रोनको माग नै छैन । ‘ड्रोन उडान अनुमति र प्रयोगका लागि सजिलो र खुकुलो व्यवस्था पनि छैन,’ उनले भने । आयात भएको भनिएको सामान निरीक्षण र रुजु तथा मूल्यांकनमा विमानस्थल भन्सारका सीमित कर्मचारी मात्रै संलग्न भएको देखिन्छ ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन–०६४ को दफा ४५ अनुरूप जारी ‘मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि ०७५’ अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता गरेर सम्बन्धित जिल्ला प्रशासन र गृह मन्त्रालयबाट अनुमति लिएपछि मात्रै ड्रोन प्रयोग गर्न पाइन्छ । दुई किलोसम्मको ड्रोन प्रयोग गर्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हो । त्यसमाथिका तौल भएकाको हकमा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ । संवेदनशीलताका आधारमा उडानका लागि विभिन्न क्षेत्र तथा मापदण्ड तोकिएको छ । त्यही कारण नेपालमा एकै वर्षमा करिब १९ हजार ड्रोन आयातको सम्भावना देखिँदैन । यसरी आयात गरिएको भनिएको ड्रोन गृह मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण कतै पनि दर्ता गरिएको छैन ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार ०७८/७९ मा १ सय ६१ वटा र ०७९/८० मा १ सय ८२ वटा मात्रै ड्रोन दर्ता गरिएका छन् । ‘यसको अर्थ बजार र आवश्यकताबिनै धेरै ड्रोन आयात देखाई अन्य कुनै शंकास्पद कारोबार भइरहेको हुनुपर्छ,’ अर्थका ती अधिकारीले भने । कस्तो खालको शंकास्पद कारोबार भएको हुन सक्छ भन्नेबारे राजस्व प्रशासन तथा अख्तियारका अधिकारीहरूले दुई खालको प्रारम्भिक अनुमान गरेका छन् ।

पहिलो अनुमान हो– नेपालमा आयात गरी भारतमा योजनाबद्ध रूपमा तस्करी भएको हुन सक्छ । भारत सरकारले ०७८ माघ २६ (९ फेब्रुअरी २०२२) देखि ड्रोन आयातमा प्रतिबन्ध लगाएको छ । भारतले यसअघि पनि बेलाबेलामा चीनबाट आउने ड्रोनमा प्रतिबन्ध लगाउने गरेको थियो । भारतमा अनुसन्धान र विकास, रक्षा र सुरक्षा प्रयोजनबाहेकमा ड्रोन आयात गर्न पाइँदैन । आतंकवादी हमलामा ड्रोन प्रयोगको सम्भावना हुनुका साथै आफ्नै मुलुकमा उत्पादित ड्रोन प्रयोग बढाउन भारतले आयातमा कडाइ गरेको छ । भारतले सन् २०३० सम्ममा विश्वकै ड्रोन हब बन्ने लक्ष्यसाथ आयातमा प्रतिबन्ध गरेको हो । ‘भारतमा आयात प्रतिबन्ध रहेका कारण यहाँबाट तस्करी भएको हुन सक्छ,’ प्रारम्भिक अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘तर, भारतले आयात प्रतिबन्ध लगाउनुअगावै अर्थात् ०७८ साउनदेखि नै नेपालमा ड्रोन आयात ह्वात्तै बढेको छ । भारतमा ड्रोन पूरै अभाव नरहेकाले त्यहाँ मात्रै तस्करी भयो भन्ने पनि लाग्दैन ।’

भारतमा उपलब्ध ड्रोनभन्दा चीन तथा हङकङका ड्रोन सस्ता छन् । मूल्यको फरकपनका कारण केही ड्रोन नेपाल हुँदै भारत तस्करी हुन सक्ने आधार पनि छन् । ‘भारतमा तस्करी गरिएको भए गम्भीर वित्तीय अपराध हो । यसले हाम्रो विदेशी विनिमय सञ्चिति र राजस्वमा समेत असर पारेको छ,’ ती अधिकारीले भने, ‘चीन र हङकङबाट आयात गर्दा डलर बाहिरिन्छ । भारत तस्करी गरे अनौपचारिक माध्यमबाट पैसा यहाँ ल्याउनुपर्ने हुन्छ । यसले राजस्व प्राप्ति हुँदैन । त्यसकारण पनि यसबारे गम्भीर अनुसन्धान हुन जरुरी छ ।’

अनुसन्धानमा संलग्न अधिकारीले बढी ड्रोन आयातको पछाडि पुँजी पलायनको आशंका पनि गरेका छन् । ड्रोन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै भित्रिएको देखिएको छ । स्थलमार्गबाट ड्रोन भित्रिए/नभित्रिएको विवरणबारे अर्थका अधिकारी अनभिज्ञ छन् । ‘ड्रोन आयातको प्रतीतपत्र (एलसी) खोल्ने तर सामान यहाँ नल्याई पुँजी पलायन गरिएको हुन सक्छ,’ ती अधिकारीले भने, ‘आयात–निर्यातमा यस्तो खेल विगतमा पनि हुने गरेको थियो ।’ अर्थात् कर छली, भ्रष्टाचार तथा अन्य गैरकानुनी क्रियाकलापबाट आर्जित रकम वैध बनाउन आयात–निर्यातमा फर्जी कागजात तयार पारी रकम विदेश पुर्‍याउने गरिएका उदाहरण छन् । त्यही रकम पछि वैदेशिक लगानीका रूपमा पनि भित्र्याएर सम्पत्ति शुद्धीकरण गरिएका विवरण विगतमा सार्वजनिक भइसकेका छन् ।

आलु र प्याज आयातको फर्जी विवरण त्यसैको एउटा उदाहरण हो । नक्कली कागजात बनाई आलु, प्याज आयात गर्ने भनी साढे ४१ करोड रुपैयाँ भारत पुर्‍याएर सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा बैंकका दुई शाखा प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालतमा ०७७ वैशाखमा मुद्दा दायर भएको थियो । ड्रोनका नाममा पनि यस्तै भएको हुन सक्ने अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । ‘त्यसो होइन भने आयात गर्ने/गराउनेले ती ड्रोन कहाँ गए देखाउन सक्नुपर्छ,’ ती अधिकारीले भने, ‘निष्पक्ष अनुसन्धान हुने हो भने एक सातामा यसबारे सत्यतथ्य बाहिर आउन सक्छ । तर, अर्थ मन्त्रालयको उच्च तहकै संलग्नताको अनुमानले अनुसन्धान प्रभावकारी रूपमा अघि बढेको छैन ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्तासमेत रहेका निमित्त उपमहानिर्देशक जगन्नाथ निरौलाले प्राधिकरण र स्थानीय प्रशासनमा अभिलेख नजनिएका सबै ड्रोन अनधिकृत हुने बताए । एक वर्षमै हजारौं ड्रोन आयात हुनुलाई स्वाभाविक मान्न नसकिने उनको भनाइ छ । ‘हजारौं ड्रोन एकै वर्षमा आयात भएका हुन् भने त्यो स्वाभाविक हुँदै होइन । स्वाभाविक रूपमा आयात भएको हो भने प्राधिकरणमा अभिलेख/दर्ता हुनुपर्‍यो । सञ्चालन/प्रयोगका लागि गृह मन्त्रालय वा मातहत कार्यालयबाट अनुमति लिनुपर्छ,’ निरौलाले भने, ‘कसैले अनुमतिबिना प्रयोग/सञ्चालन गर्छ भने हामीले सूचना पाएसम्म जफत र नियन्त्रणमा लिन्छौं ।’

ड्रोन आयात गरेको अभिलेख देखाएर गैरकानुनी कारोबार गरेको आशंकामा दुई महिनाअघि गृह, अर्थ र सञ्चार मन्त्रालयका सचिवको बैठक बसेको थियो । बैठकमा ड्रोनसम्बन्धी छुट्टै कानुन बनाएर नियमन गर्नेसम्बन्धी अनौपचारिक छलफल भए पनि शक्तिकेन्द्रको दबाबमा त्यो विषय त्यत्तिकै रोकिएको स्रोत बताउँछ । तीन सचिवको बैठकपछि असोज २४ मा गृह मन्त्रालयले ड्रोनको अनधिकृत प्रयोग नगर्न विज्ञप्ति जारी गरेको थियो ।

प्रकाशित : पुस ६, २०७९ ०६:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×