योग्यता नहेरी स्वकीयलाई अधिकृतसरह सुविधा- समाचार - कान्तिपुर समाचार

योग्यता नहेरी स्वकीयलाई अधिकृतसरह सुविधा

स्वकीय सचिवालयका कर्मचारीको शैक्षिक योग्यता र पदपूर्ति प्रक्रियाको मापदण्ड बनाउन महालेखा परीक्षकको कार्यालयले दिएको सुझाव बेवास्ता
मकर श्रेष्ठ

काठमाडौँ — संघीय संसद् सचिवालयले सांसदका स्वकीय सचिवको योग्यता नहेरी अधिकृत तहको तलब सुविधा उपलब्ध गराउँदै आएको छ । शैक्षिक योग्यता र पदपूर्ति प्रक्रियाको मापदण्ड बनाउन महालेखा परीक्षकको कार्यालयले दिएको सुझावलाई बेवास्ता गर्दै स्वकीय सचिवलाई सुविधा दिने गरिएको हो । 


संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभा अध्यक्षले सहसचिवसरहको १, उपसचिव सरहको १, शाखा अधिकृतसरहको १ कर्मचारी र नायब सुब्बासरहको १ कम्प्युटर अपरेटर राख्न पाउने व्यवस्था छ । सत्तापक्षीय र विपक्षी दलका नेता, उपसभामुख, उपाध्यक्ष, प्रमुख सचेतक र सचेतकले उपसचिवसरहको १ कर्मचारी र नायब सुब्बासरहको १ कम्प्युटर अपरेटर नियुक्त गर्न पाउँछन् । सांसदले भने अधिकृतसरहको सुविधा पाउने गरी एक जना स्वकीय सचिव राख्न पाउने कानुनी व्यवस्था छ । तर पदाधिकारी र सांसदले आफूखुसी कार्यकर्ता–आफन्तलाई स्वकीय राखेर सुविधा उपलब्ध गराउँदै आएका छन् ।

कानुनमा शैक्षिक योग्यता उल्लेख नभएकैले सचिवालयले योग्यता नहेरी स्वकीयलाई सुविधा उपलब्ध गराउँदै आएको हो । संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे भने कानुनमा योग्यता खुल्ने प्रमाण पेस गर्नैपर्ने व्यवस्था नभए पनि यसलाई व्यवस्थित गर्नु जरुरी रहेको बताउँछन् । ‘कानुनमा निजामती कर्मचारीको पदसरह लेखेर त्यहीअनुसार सेवा सुविधा दिने भनिए पनि योग्यता स्पष्ट लेखिएको छैन,’ उनले भने, ‘सम्बन्धित पद उल्लेख भएपछि योग्यता नखुलाइएको हुन सक्छ । त्यसैले हामीले योग्यता पनि पुनर्विचार गर्नुपर्ने हुन्छ ।’

प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिवालयका २६ कर्मचारीको पारिश्रमिकबापत गत वर्ष ८६ लाख ६३ हजार भुक्तानी गरिएको थियो । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका पदाधिकारी र सांसदहरूको स्वकीय सचिवालयका उपसचिव २४, शाखा अधिकृत २ सय ७३ र सहायकस्तरका ९६ समेत ३ सय ९३ कर्मचारीको पारिश्रमिकमा मात्रै सचिवालयले मासिक १७ करोड २४ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरेको थियो । सांसद र पदाधिकारीको स्वकीय सचिवको तलबभत्तामा पाँच वर्षमा ८६ करोड २४ लाखभन्दा बढी खर्च हुन्छ ।

महालेखा परीक्षक कार्यालयले सांसद र पदाधिकारीका स्वकीयलाई योग्यता नहेरी तलबभत्ता उपलब्ध गराएको उल्लेख गर्दै मापदण्ड तयार गर्न सुझाव दिइसकेको छ तर सुझाव कार्यान्वनमा चासो दिइएको छैन । ‘सचिवालयअन्तर्गत स्वकीय सचिवालयका कर्मचारीहरूको योग्यता र पदपूर्ति प्रक्रिया सम्बन्धमा सचिवालयले मापदण्ड तयार गरेको देखिएन । सहसचिव र उपसचिवस्तरको सुविधा प्राप्त गर्ने गरी नियुक्त हुने स्वकीय सचिवालयका कर्मचारीहरूका लागि कुनै प्रकारको शैक्षिक योग्यता तोकेको छैन,’ महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा उल्लेख छ, ‘स्वकीय सचिवालयका कर्मचारीको शैक्षिक योग्यता र पदपूर्ति प्रक्रियाको मापदण्ड तयार गर्नु उपयुक्त हुने देखिन्छ ।’ महालेखाका एक अधिकारीले योग्यता जाँच नै नगरी सांसद र पदाधिकारीका आफन्तलाई सरकारी सुविधा दिनु विकृति भएको टिप्पणी गरे ।

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले सरकारी पदअनुसार सेवा सुविधा पाउने व्यक्तिले तोकिएको शैक्षिक योग्यता पेस नगरी सुविधा लिनु वा दिनु गलत भएको बताए । ‘जुन सरकारी पदको सुविधा लिने हो, त्यही पदका लागि तोकिएको योग्यता पेस हुनैपर्छ,’ उनले भने, ‘यो त सांसदहरूमाथि उठ्ने नैतिक प्रश्न पनि हो ।’ उनका अनुसार सांसदहरूले राख्ने स्वकीयले शाखा अधिकृतसरहको सुविधा पाउने भएपछि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ ।

सांसदलाई अध्ययन अनुसन्धानमा सहयोग गर्न अधिकृतस्तरको एक व्यक्ति नियुक्ति गर्ने अधिकार कानुनमा दिए पनि त्यसको दुरुपयोग भइरहेको संसद् सचिवालयका एक कर्मचारीले बताए । ‘अधिकृत तहकै सुविधा लिने हो भने त कम्तीमा स्नातक तह उत्तीर्ण व्यक्ति राख्नुपर्‍यो । स्वकीयको तलब पनि आफैं लिनका लागि जो पायो त्यही नियुक्ति गर्नु गलत हो,’ ती कर्मचारीले भने, ‘सांसदलाई सहजताका लागि हुनुपर्नेमा स्वकीयको सुविधा आफैं खप्ट्याउनका लागि जस्तो मात्रै भयो ।’

पहिले स्वकीयको तलब सम्बन्धित पदाधिकारी र सांसदको खातामा जान्थ्यो । दुरुपयोग बढेको समाचार आएपछि सम्बन्धित व्यक्तिकै खातामा तलब हाल्ने व्यवस्था गरिएको छ ।

प्रकाशित : पुस २२, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्

सांसदलाई विद्युतीय हाजिरी

मकर श्रेष्ठ

काठमाडौँ — राष्ट्रिय सभामा सांसदहरूका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ । आउँदो सोमबारबाट हुने अधिवेशनदेखि नै विद्युतीय हाजिरी गराउन संसद् सचिवालयले राष्ट्रिय सभा सदस्यहरूको बायोमेट्रिक लिन सुरु गरेको छ । विद्युतीय हाजिरीले समयमै आउने र नआउने सांसदहरूको पहिचान हुनेछ ।

सांसदले हाजिर गरेपछि एक हजार बैठक भत्ता र एक हजार यातायात खर्च पाउने व्यवस्था छ । संसद्को नियमावलीमै विद्युतीय हाजिरीको प्रावधान रहे पनि पदाधिकारीले नचाहेकै कारण कार्यान्वयनमा आउन सकेको थिएन । प्रतिनिधिसभामा यसअघि सांसदहरू बैठक सकिएपछि हाजिर गर्न संसद् भवन जाने गरेका थिए ।

केही सांसदले बैठकमा हाजिर छुटेको भन्दै भोलिपल्ट हाजिर गराउन सचिवालयका कर्मचारीलाई दबाब दिने गरेका थिए । ‘दुई हजारको लोभमा सांसदहरू नैतिकता भुलेर अघिल्लो दिनको हाजिर गर्न आएपछि नदिने कुरा भएन,’ एक कर्मचारीले भने, ‘अब विद्युतीय हाजिर सुरु गरेर बैठक बसेकै दिन उपस्थितको विवरण सार्वजनिक गर्नुपर्छ ।’

राष्ट्रिय सभाले यसअघि बैठक सकिएलगत्तै सांसदहरूको हाजिरी ‘वेबसाइट’ मा राख्ने गरेको थियो । सर्वसाधारणले प्रतिनिधिसभाका सांसदको हाजिरी सहजै हेर्न पाउँदैनन् । प्रतिनिधिसभाले विगतको जस्तै कागजी हाजिरीलाई नै निरन्तरता दिने भएको छ । सचिवालयले प्रतिनिधिसभा बैठक सुरु हुनुभन्दा आधा घण्टाअघि र बैठक सकिएको आधा घण्टासम्म संसद् भवनमै हाजिर पुस्तिका राख्ने गरेको छ । हाजिरी पुस्तिका बैठक बसेको दिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै छाडेर भोलिपल्ट मात्रै सिंहदरबारस्थित सचिवालयमा ल्याउने गरिएको छ ।

प्रतिनिधिसभाको अघिल्लो नियमावली र राष्ट्रिय सभाको नियमावलीमा बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर राखिएको पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनु पर्ने उल्लेख छ । संघीय संसद्लाई प्रविधिमैत्री बनाउन राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालको संयोजकत्वमा बनेको अध्ययन समितिले नियमावलीबमोजिम विद्युतीय हाजिरीको व्यवस्था तत्कालन कार्यान्वयन गर्न सुझाव दिएको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समितिको सुझाव तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका थिए । ‘पहिलो चरणमा राष्ट्रिय सभामा लागू हुँदै छ, प्रतिनिधिसभामा कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्‍यो भने कार्यान्वयन हुन सक्छ,’ सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भने । राष्ट्रिय सभामा विद्युतीय हाजिर सुरु भएपछि प्रतिनिधिसभालाई दबाब पर्ने सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले कागजी हाजिर छाडेर विद्युतीय हाजिरमा लाग्नु सकारात्मक कदम रहेको बताए । ‘यसलाई प्रभावकारी बनाउदै प्रतिनिधिसभामा पनि लागू गर्नुपर्छ,’ उनले भने, ‘विद्युतीय हाजिरले सांसदलाई नैतिकतामा बाँध्छ, संसद्मा नियमित उपस्थित भएर जनताप्रति उत्तरदायी बनाउन सहयोग सहयोग गर्छ ।’ संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापाले संसद्लाई प्रभावकारी बनाउन सांसद बैठक कक्षमा छिर्नुअघि र बाहिरिनुअघि नै हाजिर हुने व्यवस्था मिलाउनुपर्ने बताए ।

प्रकाशित : पुस २०, २०७९ ०९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×