कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओखलढुंगा र खोटाङ जोड्ने जयरामघाटको पुल दुई महिनाभित्र सञ्चालनमा आउने

गणेश राई/कुम्भराज राई

ओखलढुंगा — मध्यपहाडी लोकमार्ग दूधकोसी खण्डको जयरामघाट पुल निर्माण अन्तिम चरणमा पुगेको छ । ओखलढुंगा र खोटाङ जोड्ने दूधकोसी नदीमाथि बनेको जयरामघाटको पक्की पुल ठेक्का लागेको सात वर्षपछि सञ्चालनको अन्तिम अवस्थामा पुगेको हो ।

ओखलढुंगा र खोटाङ जोड्ने जयरामघाटको पुल दुई महिनाभित्र सञ्चालनमा आउने

मध्यपहाडी लोकमार्ग दूधकोसी खण्डको जयरामघाट पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

ओखलढुंगा र खोटाङ जोड्ने दूधकोसी नदीमाथि बनेको जयरामघाटको पक्की पुल ठेक्का लागेको सात वर्षपछि सञ्चालनको अन्तिम अवस्थामा पुगेको हो । पुलको ढलान कार्य सकिसकेकोले अबको डेढ महिनामा सञ्चालनमा आउने ठेकेदार कम्पनीले जनाएको छ । सरकारले मध्यपहाडी लोकमार्गलाई ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणा गरेकाले उच्च प्राथमिकतामा परेको हो । जयरामघाटको पक्की पुल सञ्चालनमा आएसँगै मध्यपहाडी लोकमार्गको पूर्वीखण्ड सबै जोडिएको छ । राजधानी काठमाडौं पूर्वका प्रमुख नदीहरू सुनकोसी, दुधकोसी, अरुण र तमोर रहेका छन् ।

‘पुल पिच गर्ने काम सकिएको छ,’ इन्जिनियर दरोगा प्रसादले कान्तिपुरसित भने, ‘पुल निर्माण ९० प्रतिशतभन्दा बढी सकिएको छ । बढीमा दुई महिनाभित्र पुल सञ्चालनमा आइसक्ने छ ।’पुल पिच गर्ने कार्यमा दैनिक ७० जना कामदार खटाइएका छन् । पुलको आयु कम्तीमा पचास वर्षको हुने इन्जिनियर प्रसादको दाबी छ ।

स्थलगत अनुगमनमा पुगेका खोटाङका सांसद पीके राईले जयरामघाटको सडक पक्की पुलको पिच गर्ने काम सकिएको बताएका छन् । ‘लामो प्रतीक्षापश्चात् २०७४ असोज २३ गते ओखलढुंगा र खोटाङ जोडने दूधकोसी नदी जयरामघाटको पूल ढलान गर्ने कार्य पूरा भएको छ,’ इन्जिनियरहरूका साथ पुगेका उनले भने, ‘अब हामी खोटाङवासी जनताको कठिन र पीडादायक यातायातको समस्या समाधान भएको छ । हामीले वार्षिक ६० लाख खर्चेर तीन महिनाको लागि बेलिब्रिज चढ्नु पर्दैन ।’

हुलास स्टील कम्पनीले १० करोड ६ लाख रुपैयाँ लागतमा ठेक्का लिएको हो । पृथ्वीराजमार्गमा पर्ने मुग्लिन पुल जस्तै सस्पेन्सन ब्रिज प्रविधिबाटै निर्माण गरिएको यो पुल नेपालमै पहिलो पुल भएको दाबी गरिएको छ । मुग्लिन पुलभन्दा २५ प्रतिशत फरक प्रविधिबाट निर्माण गरिएको हुलास स्टील कम्पनीले जनाएको छ ।

चिनियाँ प्राविधिकहरुको प्रत्यक्ष संलग्नतामा पुल निर्माण भइरहेको छ । पुलको लम्बाई १ सय २० मिटर लम्बाई र चौडाई ६ मिटर रहेको छ । उक्त पुलमा गाडी गुड्ने चौडाई भने ४ दशमलब २५ मिटर रहनेछ । ओखलढुंगा र खोटाङको सीमानालाई जोड्ने यो नै पहिलो पक्की पुल हुनेछ । हाल पक्की पुल नहुँदा सर्वसाधारण झोलुङ्गे पुलबाट आवतजावत गर्दै आएका छन् भने मोटरसाइकलसमेत यही पुलमा गुडाउने गरिएको छ । खोटाङको लागि दैनिक उपभोग्य सामाग्री आयात गर्न समेत असहज हुने गरेको छ । पुल नभएकै कारणले प्रतिकिलो ५ रुपैयाँसम्म मूल्यवृद्धि हुने गर्छ । पूर्वकै चर्चित धार्मिकस्थल हलेसी जाने तिर्थयात्रीहरुसमेत निकै मर्कामा पर्ने गरेका छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको चियोभन्ज्याङबाट काठमाडौंसम्मको ६ सय ८१ किलोमिटर दूरीमा ३७ वटा पुल बन्नु पर्नेछ । काठमाडौं पूर्वतर्फ सुनकोसी नदी किनारा सिन्धुली खण्डको नारिम खोला र सिन्धुली–उदयपुरको सीमा बहादुरा खोलामा पक्की पुल बन्न बाँकी छ । त्यसै गरी पूर्वतर्फ अरुण र तमोर नदीमा यसअघि नै पुल बनिसकेको छ ।

मध्य पहाडी क्षेत्रको पाँचथरको चियोभन्ज्याङ (नेपाल–भारत सीमा)देखि बैतडीको झुलाघाट (महाकाली नदी)सम्म फैलिएको छ । सरकारले ’राष्ट्रिय गौरवको आयोजना’घोषणा गरी उच्च प्राथमिकतामा राखेकाले निर्माण कार्यले तीव्रता पाएको हो ।

मध्यपहाडी लोकमार्गको ओखलढुंगा र खोटाङको सीमाना दूधकोसी खण्डमा बनेको पक्की पुल ढलानको अन्तिम चरणमा पुगेको छ ।
तस्बिर : गणेश राई/कान्तिपुर

प्रकाशित : आश्विन २५, २०७४ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?