देउवा प्रधानमन्त्री निर्वाचित

देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत
राजेन्द्र फुयाल

काठमाडौं — कांग्रेस सभापति शेरवहादुर देउवा मंगलबार संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् ।

चौथो पटक देशको सर्वोच्च कार्यकारी पदमा पुग्ने सौभाग्य पाएका देउवाको २०६२/६३ को आन्दोलन यता भने सिंहदरबारको पहिलो सयर हो ।

कांग्रेस सभापति शेरवहादुर देउवा मंगलबार संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् ।

चौथो पटक देशको सर्वोच्च कार्यकारी पदमा पुग्ने सौभाग्य पाएका देउवाको २०६२/६३ को आन्दोलन यता भने सिंहदरबारको पहिलो सयर हो । कांग्रेस र माओवादी केन्द्रबीच दश महिना अघि भएको आलोपालो सरकारको नेतृत्व गर्ने सम्झौता अनुरुप देउवाले प्रधानमन्त्री चुनिएका हुन् । संसदमा प्रधानमन्त्रीका लागि आफ्नो उम्मेद्वारीको सूचना दिदानै देउवाले २०७४ माघ ७ भित्र तीन तहको निर्वाचन, संविधान संसोधन, संवृद्धि र पूर्वाधार विकास आफ्नो सरकारको मुख्य प्राथमिकता हुने वताएका छन् ।

संसदमा भएको मतदानमा देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको हो । संविधानसभाबाट रुपान्तरित भएर बनेको व्यवस्थापिका संसदमा ५९३ सदस्य वहाल रहेपनि मंगलबारको मतदानमा ५५८ मात्रै उपस्थित थिए ।

देउवाको पक्षमा कांग्रेस, माओवादी–केन्द्र, राप्रपा, राजपा, संघीय समाजवादी पार्टी र केही साना दलहरुले मत दिएका थिए । संसदमा मतदान अघि कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले राजपा र संघीय समाजवादी फोरमका नेताहरुसंग एकै व्यहोराको छुट्टाछटै सहमतिमा हस्ताक्षर गरेका थिए । त्यसमा दश महिना अघि माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्नुअघि तत्कालिन मधेसी मोर्चासँग भएको तीन बुँदे सहमतिप्रति पुन प्रतिवद्धता जनाइएको छ भने राजनीतिक सहमतिका आधारमा स्थानीय तहको संख्या वृद्धिगर्ने उल्लेख छ । संविधान निर्माणको प्रक्रिया अन्तिम चरणमा आइपुग्दादेखिनै आफ्नो माग सम्वोधन नभएको भन्दै आन्दोलनरत मधेशकेन्द्रीत दलहरुले संविधान जारी यता प्रधानमन्त्री पदका लागि भएका सबै निर्वाचनमा कांग्रेस गठनबन्धनका उम्मेद्वारका पक्षमा मतदान गरेका छन् ।


प्रमुख प्रतिपक्षी एमाले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा मालेसहितका दलहरुले देउवाको विपक्षमा मत दिएका हुन् ।

संसदमा ती दलहरुको सिट संख्या १९३ भएपनि देउवाको विपक्षमा १७० मत मात्रै परेको छ । एमाले प्रमुख सचेतक भानुभक्त ढकालका अनुसार विपक्षी गठबन्धनका केही सदस्यहरु राजधानी वाहिर रहेका कारण पूर्व सूचना दिएर मतदानमा अनुपस्थित भएका हुन् ।

संसदमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले गरेका थिए । प्रधानमन्त्री पदमै रहेको व्यक्तिले अर्को उम्मेद्वारलाई सरकार प्रमुख बनाउन गरिएको प्रस्तावलाई नेपालको मात्र होइन, विश्वकै इतिहासमा विरलै पाईने उल्लेखगर्दै दाहालले कांग्रेसले आफुलाई गलाएको गुन ‘राम्रैगरी तिरेको’बताए । यसअघि एमालेबाट झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्री निर्वाचित गरियोस भन्ने प्रस्तावका प्रस्तावक माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेस उम्मेद्वारलाई प्रधानमन्त्री वनाउन गरेको पहिलो प्रस्ताव हो । ‘मैले यस अघि एमालेका नेताहरुलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको थिएँ,’ दाहालले संसदमा भने– ‘तर मैले चै एमालेको प्रस्तावमा प्रधानमन्त्री वन्न पाएको छैन । फेरि पनि एमालेका नेताहरुलाई प्रस्ताव गर्न खुला छु ।’

उम्मेद्वारीको सूचना प्रस्तुत गर्दा देउवाले व्यक्त गरेका प्रतिवद्धा कार्यान्वयन हुनेमा विश्वास व्यक्तगर्दै दाहालले परिवर्तनलाई संस्थागत गर्ने काममा गम्भिर हुन नयाँ सरकारलाई सुझाव पनि दिएका छन् । ‘हुन त तपाई चौथो पटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ । तर यो विल्कुल नयाँ परिस्थितिमा हुँदैहुनुहुन्छ’ उनले भने– ‘यो हिजो ज्ञानेन्द्र (तत्कालिन राजा)ले कहिले ल्याउने कहिले फाल्ने गरेजस्तो होइन ।’

प्रकाशित : जेष्ठ २३, २०७४ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्

१२ वर्षपछि फर्किए देउवा

जति सहजै प्रधानमन्त्री बन्छन्, बहिर्गमन भने सहज देखिएको छैन
कुलचन्द्र न्यौपाने

काठमाडौं — ठ्याक्कै १२ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री बन्न सफल भएका छन् । योसँगै देउवाले समकालिन नेताहरुमा सबैभन्दा बढी चौथोपटक प्रधानमन्त्री बन्ने रेकर्ड समेत बनाएका छन् । देउवा पहिलोपटक ०५२ सालमा प्रधानमन्त्री बनेका थिए, जतिबेला उनी ४९ वर्षका थिए । त्य

ठ्याक्कै १२ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री बन्न सफल भएका छन् । योसँगै देउवाले समकालिन नेताहरुमा सबैभन्दा बढी चौथोपटक प्रधानमन्त्री बन्ने रेकर्ड समेत बनाएका छन् ।

देउवा पहिलोपटक ०५२ सालमा प्रधानमन्त्री बनेका थिए, जतिबेला उनी ४९ वर्षका थिए । त्यसअघि उनी तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री थिए । युवा उमेरमै प्रधानमन्त्री बन्ने सौभाग्य पाएका देउवा यतिबेला भने ७१ बर्ष पार गरिसकेका छन् । दोस्रोपटक उनी ०५८ साल साउन ११ र तेस्रोपटक ०६१ जेठ २१ मा प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्री बन्दा देउवा जति सहज ढंगले हुने गर्छन् बहिगर्मनको विगत भने त्यस्तो सहज देखिँदैन । विगतका विवादस्पद छविलाई सुधार गर्ने चुनौति र अवसरको रुपमा देउवा फेरी प्रधानमन्त्रीको कुर्चीमा आएका त छन् । तर, उनले कस्तो भूमिकामा आफूलाई अघि बढाउँछन् त्यसले उनको छवि निर्माण हुनेछ ।

१२ वर्षपछि भएको देउवाको राज्य सत्ताको पुनरावृति त्यति सहज भने छैन । संविधान संशोधनको मुद्दाले राजनीतिक दलहबीच ध्रुविकरणको अवस्था छ । यद्दपी उनले झन्डै दुई तिहाईको समर्थन पाएका छन् । तर, प्रमुख प्रतिपक्षलगायत विपक्षी मोर्चालाई मिलाएर असार १४ को दोस्रो चरणको स्थानीय तहको चुनाव गराउनु उनका लागि तत्कालको चूनौति छ । त्यसपछि माघ ७ भित्र सम्पन्न गर्नुपर्ने प्रदेश र संघीय संसदको चुनाव गराउनु पर्ने दायित्व छ । यी तीन वटा चुनावले मात्रै देउवाको कार्यकाल कति सफल भयो भन्ने विषय मापन हुनेछ ।

देउवासँग पनि विगतमा निर्वाचन गराएको अनुभव छैन । गिरिजाप्रसादले होलेरीकाण्डमा राजीनामा दिएपछि देउवाले दोस्रोपटक प्रधानमन्त्री हुने सौभाग्य पाएका थिए । तत्कालिन दरबारसँग मिलेर संसद विघटन गराएको आरोप उनलाई लाग्यो । घोषित संसदीय चुनाव उनले गराउन सकेनन् ।

निर्वाचन हुने वातावरण नभएपछि तत्कालिन राजा ज्ञानेन्द्रले ०५९ असोज १८ गते ‘असक्षम’को आरोप लगाई देउवालाई प्रधानमन्त्रीबाट हटाई आफैंले प्रत्यक्ष शासन लिए । आफू प्रधानमन्त्री छँदा जनयुद्धमा रहेको माओवादीलाई नियन्त्रण गर्न घोषणा गरेको संकटकालको अवधि बढाउने निर्णय र संसद विघटन गरी नयाँ संसदको चुनाव गराउने विषयले पार्टीभित्र तिव्र विवाद बढेपछि देउवाले पार्टी विभाजित गरी आफ्नै नेतृत्वमा कांग्रेस (प्रजातान्त्रिक) पार्टी स्थापना गरे ।

राजाको प्रत्यक्ष शासनविरुद्ध तत्कालिन सात राजनीतिक दलले आन्दोलन चर्काउन थालेपछि ज्ञानेन्द्रले ‘असक्षम’ भनी हटाएका तीनै देउवालाई पुन: प्रधानमन्त्री बनाएका थिए । जतिबेला देउवाले ‘गोर्खाली राजाले न्याय गरे’ भन्ने प्रतिक्रिया समेत दिएका थिए । तर, तीनै देउवालाई राजाले प्रत्यक्ष शासन सत्ता लिन सत्ताबाट च्यूत गराए । भ्रष्टाचारको अभियोग लगाएर शाही आयोग मार्फत देउवालाई थुनाए पनि । सर्वोच्च अदालतले शाही आयोग खारेजी गरेपछि उनी जेलबाट निस्केर निरकुंशताको बिरुद्धको आन्दोलनमा होमिएका थिए ।

पहिलो संविधानसभा चुनाव अघि विभाजित कांग्रेस एक बन्यो । कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र देउवाले नेतृत्व गरेको कांग्रेस (प्रजातान्त्रिक) बीच एकीकरण भएपछि देउवा वरिष्ठ नेताको रुपमा रहे । पार्टी एक भए पनि भावानात्मक रुपमा एकता भने हुन सकेन/भएको छैन ।

पार्टी एक भए पनि देउवाले पुरानै समूह लिएर पार्टीभित्र शक्ति बढाउने काम गर्दै आए । १२ औं महाधिवेशनमा उनी पार्टी सभापतिबाट पराजित भए । संसदीय दलबाट पनि पराजित भए । तैपनि पार्टीमा आफ्नो समूहलाई तितरवितर हुन दिएनन् ।

सुशील कोइरालाको निधनपछि देउवा पार्टीमा बलियो बन्न पुगेका हुन् । जसको फलस्वरुप १३ औं महाधिवेशनमा उनी पाटी सभापति र लगतै संसदीय दलको नेतामा निर्वाचित भए ।

आलोचकहरु देउवालाई सत्ता राजनीतिमा बढी पोख्त रहेको टिप्पणी गर्छन् । कुनैबेला आमनेसाममने घोषित ‘दुस्मन’ रहेका देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल अहिले भने कुम जोड्न पुगको छन् । यी दुईबीच कतिपय बिषयमा समानता देखिन्छ । जोखिम लिन सक्ने र छिटो निर्णय लिन सक्नेमा यी दुवै नेताबीच समानता छ । दुवै नेता विवादस्पद निर्णयबाट अछुतो भने छैनन् । देउवाका विगत र माओवादी अध्यक्ष दाहालको पहिलेको कार्यकाल यस्तै विवादले घेरिएका थिए ।

देउवा त्रिभूवन विश्वविद्यालयबाट एमए र कानूनमा स्नातक हुन । उनले लन्डल स्कुल अफ इकोनमिक्समा रिसर्च फेलो हुन् । डडेलधुरा र कैलालीको क्षेत्र नं ४ बाट उनी संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचित भएका हुन् । उनी ०४८ सालदेखिनै संसदमा निरन्तर प्रतिनिधित्व गर्ने मध्येका नेता हुन् ।

लोकतन्त्रको संघर्षमा लाग्दा नौ बर्ष जेल विताएका देउवालाई प्रधानमन्त्री बन्ने मापनलाई लिने हो भने सफल राजनीतिज्ञ मान्न सकिन्छ । तर, उनको प्रधानमन्त्रीय कार्यकाल भने हिसावले भने विवादस्पद नेता पनि हुन् । विगतका पृष्ठभूमिकै कारण अहिलेपनि उनलाई पार्टीभित्र र बाहिरबाट समेत प्रश्न उठाइन्छ । अहिले उनलाई विगतका छवि सुधार गर्ने सुनौलो अवसर छ । उनी सफल नहुनुका पछि आम मानिसको भावना बुझेर निर्णय नलिने, विज्ञ सल्लाहकार टोली भन्दा आफ्नो आसेपासेलाई राखेर आफ्नो स्वार्थ अनुकूल मात्रै निर्णय लिने उनका मुख्य कमजोरी छन् ।

उनलाई यतिबेला यस्तो अवसर छ कि सरकार र पार्टीमा उनी आफैँ हावी छन् अर्थात विगतमा जस्तो सरकार भर्सेस पार्टीको स्थिति अहिले छैन । नेपाली राजनीतिमा मुख्य शक्ति केन्द्रमा रहेका देउवाले विगतका कमजोरी सुधार गरेर तीनवटै चुनाव गराउन सके भने उनी इतिहासमै सफल प्रधानमन्त्री बन्न सक्छन् ।

प्रकाशित : जेष्ठ २३, २०७४ १८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×