कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

महानगरको ‘बुक फ्रि फ्राइडे’

लिला श्रेष्ठ

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका सामुदायिक विद्यालयमा शिक्षालाई सीपसँग जोड्ने नयाँ कार्यको थालनी गरेको छ । विद्यार्थीहरूको व्यक्तित्व विकासमा सैद्धान्तिकसँगै व्यावहारिक ज्ञानको आवश्यकता पर्ने भन्दै महानगरले प्रत्येक शुक्रबार पाठ्यपुस्तकविहीन सिर्जनात्मक सिकाइ (बुक फ्रि फ्राइडे) कार्यक्रम सुरु गरेको हो । 

महानगरको ‘बुक फ्रि फ्राइडे’

विद्यार्थीले आइतबारदेखि बिहीबारसम्म शिक्षण सिकाइ भएका विषयमा केन्द्रित भई वार्षिक कार्यघण्टामा नघट्ने गरी विभिन्न प्रकारका पाठ्यक्रम, सहक्रियाकलाप तथा अतिरिक्त क्रियाकलापसँग सम्बन्धित सीप र शिक्षा विभागले तयार गरेको अतिरिक्त क्रियाकलापको सूचीबमोजिम विभिन्न क्रियाकलाप सञ्चालन गर्ने महानगरले जनाएको छ । शिक्षालाई सीपसँग जोड्न ‘बुक फ्रि फ्राइडे’ सुरु गरिएको महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइराला बताउँछन् ।

कार्यक्रम सुरु भएसँगै महानगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले वैशाख दोस्रो साताको शुक्रबारदेखि पाठ्यपुस्तक नै नलिई विद्यालय जाने गर्छन् । ‘शिक्षामा सीप’ नामकरण गरिएको यस कार्यक्रममा हरेक शुक्रबार विद्यार्थीलाई नियमित अध्यापन हुने पाठ्यक्रमबाहेक अन्य नयाँ जीवन उपयोगी सीप सिकाउँदै आएका छन् । नयाँ सिकाइले विद्यार्थीको व्यक्तित्व विकासका साथै जीवनमा आइपर्ने समस्या समाधान गर्न सक्षम बनाउने विश्वास महानगरको छ ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले ‘शिक्षामा सीप’ कार्यक्रम निर्वाचन घोषणापत्रमा समेटेको र सोहीअनुरूप कार्यान्वयन गरेको बताएका छन् । ‘महानगरले पुस्तकविहीन शुक्रबार कार्यक्रमअन्तर्गत थालेको तालिमबाट विद्यार्थीले व्यावहारिक र जीवनोपयोगी सीप प्राप्त गर्न सक्नेछन्,’ उनले भने । विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य भएको उनको भनाइ छ । त्यसका साथै यो कार्यक्रमले विद्यार्थीमा श्रमप्रतिको आदर र सम्मानभाव विकास हुने उनले बताए ।

चालु शैक्षिक सत्रमा महानगरले कक्षा ९ मा नमुनाका रूपमा थालेको कार्यक्रमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टाइल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा तालिम निर्धारण गरिएको छ । फेसन डिजाइनिङ र कपडा निर्माण, वायरिङ एन्ड इलेक्ट्रिकल, विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका रूपमा राखिएको छ । यीमध्येबाट विद्यार्थीले आफ्नो रुचिका विषय छान्न सक्ने महानगरले जनाएको छ ।

कार्यक्रमअन्तर्गत ९० घण्टाको तालिम प्रदान गरिनेछ । यी विषयका प्रशिक्षक विद्यालयलाई महानगरले नै उपलब्ध गराएको छ । महानगरभित्रका ८९ वटै सामुदायिक विद्यालयले ‘शिक्षामा सीप’ लाई सञ्चालन गरेको महानगरले जनाएको छ । पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी, सीपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले महानगरले थालेको ‘शिक्षामा सीप’ प्रभावकारी भएको रत्नराज्य माध्यमिक विद्यालय बानेश्वरकी सहायक प्रधानाध्यापक पवित्रा सुवेदी बताउँछिन् ।

काठमाडौं महानगरका मेयर शाह, उपमेयर सुनीता डंगोललगायत जनप्रतिनिधि, सम्बन्धित अधिकारी, सचिवालय सदस्यहरू, शिक्षक तथा अभिभावकहरूले प्रत्येक साता ‘शिक्षामा सीप’ कार्यक्रमको अवलोकन तथा निरीक्षण गर्दै आएका छन् । महानगरले पेसा/सीपसँग सम्बन्धित व्यक्तिहरूलाई विद्यालयमा बोलाएर विद्यार्थीलाई प्रशिक्षण गराउँदै आएको मेयर शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आएका छन् ।

प्रकाशित : असार १, २०८० ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?