२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६०

पत्रकार भण्डारीको उपन्यास ‘बोरा’ सार्वजनिक

काठमाडौँ — पत्रकार तथा लेखक अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ सार्वजनिक भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादकसमेत रहेका भण्डारीको उपन्यास उनकै ९० वर्षीया आमा गंगाकुमारी भण्डारी, सासू जीवन्तकुमारी घिमिरे र गुरुआमा मैयादेवी ढुंगेलले शुक्रबार संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । पुस्तक सार्वजनिक गरिएपछि लेखक तथा पत्रकार भण्डारीसँग उपन्यासलाई लिएर पत्रकार नीरज जोशीले संवाद गरेका थिए ।

पत्रकार भण्डारीको उपन्यास ‘बोरा’ सार्वजनिक

जोशीले उपन्यासकार भण्डारीलाई सोधे, ‘एउटा छोराले बोरामा हालेर नदी किनारमा छोडेको कथा छ बोराभित्र’ । तर उपन्यास ती आमा हाँसेपछि टुंगिएको छ । आमा न हो, छोराले जे गरे पनि आमा खुसी नै हुन्छिन् भन्ने पनि उपन्यासले देखाएको छ । कसरी भेट्नु भयो ती आमालाई ?’ भण्डारीले जवाफ दिए, ‘यो सत्य घटनामा आधारित उपन्यास हो, भलै ठाउँ, पात्र र परिवेश परिवर्तित भएका छन् । ती आमालाई एक दशकअघि भेटाएँ । म ज्युँदो हुँदै लेखिसक्नू भन्नुहुन्थ्यो तर अहिले उहाँ यस धरतीमा हुनुहुन्न । आमा भन्नुहुन्थ्यो– यस्तो किताब लेख्नु ताकि त्यसले समाज परिवर्तन गरोस् ।’

कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बोरा सामाजिक विकृति र विसंगतिलाई चिर्न सफल उपन्यास भएको बताए ।

आमा चलचित्रकी नायिका भुवन चन्दले पहिलो पटक पारिवारिक व्यथा सार्वजनिक गर्दै ११ वर्षको उमेरदेखि आमा पालेको बताइन् । कार्यक्रममा लेखक भण्डारीकी छोरी अनुपा र उनकै साथी दीपशिखा ढुंगेलले आमा बोलको गीत गाएका थिए भने प्रकाशक पिस बुक प्रालिकी अध्यक्ष पार्वती भण्डारीले उपन्यास समाजको ऐना बनेको बताइन् ।

भण्डारीको यो दोस्रो उपन्यास हो । उनको पहिलो उपन्यास ‘मलाया एक्सप्रेस’ हो । भण्डारीले यसअघि ‘समाचारको भाषा’ पुस्तक पनि लेखेका छन् ।


प्रकाशित : चैत्र ३०, २०८० २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?