कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

विमल गुरुङ कृति पुरस्कार ‘जब एउटा मान्छे हराउँछ’ र ‘मित्याङ्सा’लाई

कवितामा विरही प्रथम
प्रदीप मेन्याङ्बो

(सुनसरी) — धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले प्रत्येक वर्ष दिंदै आएको ‘कवि विमल कृति पुरस्कार–२०७९’ गोर्खाका कवि चन्द्र गुरुङद्वारा लिखित कविता कृति ‘जब एउटा मान्छे हराउँछ’ र दार्जिलिङ मिरिकका विजय बान्तवा कैलाशीद्वारा लिखित गद्य कृति ‘मित्याङ्सा’लाई संयुृक्त रुपमा प्रदान गरिएको छ । 

विमल गुरुङ कृति पुरस्कार ‘जब एउटा मान्छे हराउँछ’ र ‘मित्याङ्सा’लाई

स्वर्गीय गुरुङको ५२ औं जन्मजयन्ती तथा ३२ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा पुस्तकालयले आइतबार चन्द्र गुरुङ र विजय बान्तवाको कृतिलाई ताम्रपत्र र दोसल्लासहित नगद २ लाख रुपैयाँको पुरस्कार प्रदान गरेको हो । दुवै श्रष्टालाई वरिष्ठ साहित्यकार जसराज किराँती, पुस्कालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङ, कोषाध्यक्ष तथा विमलका दिदी शान्ती, भाषाविद् प्राडा टंकप्रसाद न्यौपाने र वरिष्ठ कवि बम देवानले पुरस्कार प्रदान गरेका थिए ।

कवि चन्द्रको कविता कृति ‘जब एउटा मान्छे हराउँछ’ प्रकाशित भएको एकै वर्षमा तीन संस्करण, अंग्रेजी, नेपाली र दिल्लीबाट हिन्दीमा प्रकाशित भएको बोधगम्य कविताहरुको संग्रह हो । यस्तै, विजय बान्तवाको मित्याङ्सा गद्यकृति दार्जिलिङ क्षेत्रका नेपाली भाषीहरुले लामोसमयदेखि आफ्नो आस्तित्वका लागि राजनितिक, सामाजिक, भाषिक आन्दोलन गर्दा पाएको भोगाईलाई आख्यान शैलीमा लेखेका छन् । विमल कृति पुरस्कारकालागि १०१ जनाले कृति पठाएका थिए ।

सोही अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा सुनसरीका भीम विरही राईको ‘म पहिला मरुं कि मेरो देश ?’ शीर्षको कविता प्रथम भएको थियो । काठमाण्डौकी एलिसा एकलासको ‘वेवारिसे प्रश्न’ ले द्वितिय पुरस्कार पाएको थियो भने सिक्किम गान्तोककी सन्ध्या सिङ्जाङ्गो सुव्वाको कविता ‘अन्तिम लडाई’ तृतीय भएको थियो । विजेताहरुले क्रमश नगद २१ हजार, १८ हजार र १५ हजार र प्रमाणपत्र प्राप्त गरेका थिए ।

कवितामा विजेताहरुमध्ये विरही भारतीय गोर्खा सैनिक सेवाबाट क्याप्टेनमा अवकास प्राप्त पूर्व गोर्खा सैनिक समेत रहेका परदेशी साहित्य समूहमा आवद्ध छन् भने सिङ्जाङ्गो दिल्लि विश्वविद्यालयकी इतिहास र राजनिति शास्त्रकी अध्येता हुन् ।

कालेबुङका युवा कवित विशाल नाल्बोलाई कवि विमल गुरुङ युवा प्रतिभा सम्मानसहित नगद १० हजारले सम्मान गरिएको उक्त अवसरमा विमल गुरुङद्धारा लिखित कविताहरुको संगालो ‘सहरको प्रगाढ मौनता’ र ‘शव्द चित्रमा कवि विमल गुरुङ’ स्मारिका लोकापर्ण गरिएको थियो ।


प्रकाशित : कार्तिक २१, २०८० ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?