कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

‘जब एउटा मान्छे हराउँछ’ र ‘मित्याङ्सा’ लाई विमल गुरुङ कृति पुरस्कार

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले शनिबार फूलपातीको दिन ‘विमल गुरुङ कृति पुरस्कार- २०७९’ को पुरस्कार घोषणा गरेको छ । पुस्तकालयले गरेको घोषणाअनुसार यसपटक दुई कृतिलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । 

‘जब एउटा मान्छे हराउँछ’ र ‘मित्याङ्सा’ लाई विमल गुरुङ कृति पुरस्कार

पुस्तकालयका तर्फबाट राज माङ्लाकले यसपटकको विमल गुरुङ कृति पुरस्कार गोरखा निवासी चन्द्र गुरुङको कविता कृति ‘जब एउटा मान्छे हराउँछ’ र मिरिक दार्जिलिङ (भारत) निवासी विजय बान्तवा कैलाशीको गद्य संग्रह ‘मित्याङ्सा’ लाई संयुक्त रुपमा प्रदान गरिने निर्णय भएको जानकारी दिए ।

कृति पुरस्कार घोषणा गर्दै पुस्तकालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चन्द्र गुरुङको कविता कृति ‘जब एउटा मान्छे हराउँछ’ नेपाली साहित्यमा शालिन शैलीमा व्यक्त जीवनका शाश्वत मूल्यको खोजी गरिएका कविताहरूको संग्रह हो । ध्यानस्त मुद्राका कविताहरूको आश्वादन यो कविता कृतिको अब्बल पक्ष हो । गहन संवेदना र काव्यिक अभिव्यक्ति कविताका शक्ति हुन्,’ कवि गुरुङको कविता कृति नेृपाली, अंग्रेजी र हिन्दीमा प्रकाशित भइसकेको छ ।

त्यस्तै, मिरिक निवासी विजय बान्तवा कैलाशीको कृति ‘मित्याङ्सा’ दार्जिलिङ क्षेत्रमा नेपाली भाषी गोर्खालीहरूले भोग्दै आएको भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आन्दोलनको आरोह–अवरोहलाई सुन्दर शैलीमा पस्किएको गद्य कृति भएको पुस्तकालयले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अनुभूतिजन्य भाषामा यसले दार्जिलिङ क्षेत्रको विद्रोह बुझ्न र बुझाउन प्रयत्न गरेको छ ।’

पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङले विमल कृति पुरस्कारका लागि आह्वान गरेअनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक-साहित्यकार-सर्जकहरूबाट १०१ कृति प्राप्त भएका मध्ये पहिलो चरणमा श्रेष्ठ २१ ओटा कृति छनोट गरिएको र सोही मध्येबाट उत्कृष्ट दुई कृति पुरस्कारका निम्ति चयन गरिएको बताए ।

उक्त पुरस्कार कात्तिक १९ गते आयोजना हुने ३२ औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५२ औँ जयन्तीको अवसरमा नगद राशी दुई लाख रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।

साहित्य र पत्रकारितामा आबद्ध रहेका बेला २०४८ वैशाख २४ धादिङको जुकेपानीमा सवारी दुर्घटनामा परी निधन भएका छोरा विमलको स्मृतिमा पूर्व गोर्खा सैनिक पूर्णबहादुर गुरुङ र परिवारले पुस्तकालय स्थापना गरी ३२ वर्षदेखि नियमित राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएका छन् । पुस्तकालयकै नाममा एक करोड रुपैयाँको अक्षय कोष राखेर गत वर्षदेखि नगद २ लाखको रुपैयाँको विमल कृति पुरस्कार प्रदान गर्दै आएका छन् ।

प्रकाशित : कार्तिक ५, २०८० १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?