२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

महिलाको साइकल साइनो

नियमित साइकल चलाउने अभ्यासले महिलालाई शारीरिक क्षमताप्रति गर्व गर्न सिकाउाछ र आफू हुनुको अपनत्व महसुस गराउँछ 
साइक्लिङले महिनावारीमा हुने दुखाइ कम गर्छ, रजनोवृत्ति सहज बनाउँछ । गर्भावस्थामा हुने मधुमेह, उच्च रक्तचाप, सी–सेक्सन, मानसिक चिन्ता, कब्जियत कम गर्न पनि महिलाका लागि साइक्लिङ प्रभावकारी छ । 

काठमाडौँ — इतिहास र वर्तमान

महिलाको साइकल साइनो

संसारकै पहिलो साइकलिस्ट महिला को होला ? अमेरिकी महिला एनी ‘लन्डनडेरी’ कोप्चोभस्की । उनले सन् १८९४ मा पहिलो पटक साइकल चलाएकी रहिछन् । यो तथ्य थाहा पाएपछि हामी उत्सुक भयौं । किनकि, जर्मन नागरिक कार्ल भोन डेरिसले सन् १८१७ मा नै साइकलको आविष्कार गरेका थिए । हामीलाई सबैभन्दा उत्सुक बनायो एउटा प्रश्नले ।

आविष्कारको ७७ वर्षपछि बल्ल महिलाले पहिलो पटक साइकल चलाउन पाए । यति लामो समय किन कुर्नुपर्‍यो ?

थप अन्य प्रश्न, साइकल चलाउन एनीलाई केले प्रोत्साहन गर्‍यो ?

विभिन्न अनुसन्धान लेखमा उल्लेख भएअनुसार, ‘महिलाले १५ महिना साइकल चलाएर ५ हजार डलर पनि आम्दानी गर्न सक्दैनन्’ भनेर बोस्टनका २ जना धनी पुरुषले मौखिक चुनौती दिएका रहेछन् । त्यही चुनौतीलाई गलत सावित गर्न २४ वर्ष पुग्दानपुग्दै ६ वर्षमुनिका ३ जना छोराछोरीकी आमा एनीले बोस्टनबाट साइकल यात्राको सुरुवात गरेकी रहिछन् । १५ महिने यात्राका क्रममा उनी पूर्वी एसिया हुँदै इजिप्ट, श्रीलंका, सिंगापुर, चीन र जापानसम्म मात्रै पुगिनन्, आफ्नो साइकलमा ‘लन्डनडेरी लिथ्ह्या स्प्रिङ वाटर कम्पनी’ को प्लेकार्ड राखेर आम्दानीको स्रोत पनि जोहो गरिन् ।

त्यो अवधिमा उनले ५ हजार डलरभन्दा बढी आम्दानी गरेर साइकलले महिलाको जीवन परिवर्तनमा प्रभावकारी भूमिका खेल्छ भन्ने उदाहरण पनि स्थापित गराइदिइन् ।

एनी लन्डनडेरीको आँट र सफलतासँग जोडिएको महिला साइक्लिस्टको इतिहास गर्विलो र प्रेरणादायी छ । उनको हिम्मतले महिलाको साइकल चलाउने क्षमता मात्रै उजागर गरेन, महिलालाई सामाजिक गतिविधिमा संलग्न हुन, आफ्नो स्वतन्त्रताको उपयोग गर्न र आत्मनिर्भर हुन साइकल कति अत्यावश्यक रहेछ भन्ने पनि प्रमाणित गरिदियो । ‘साइकल पुरुषले मात्रै चलाउने हो’ भन्ने बुझाइ प्राथमिकतामा रहेको समयमा एनीको सुरुवातले साइकलप्रतिको महिलाको ‘क्रेज’ त बढायो नै, साइकल र महिलालाई लिएर विभिन्न तर्क, विचार, विमर्श गर्ने वर्ग पनि जन्मायो । सन् १८९० को दशकमा साइकलप्रतिको आकर्षण बढिरहेका बेला, ‘महिलालाई साइकल चलाउन दिने कि नदिने ?’ भन्ने बहसले व्यापकता पायो ।

सोही कालखण्डमा विश्व प्रसिद्ध महिला अधिकारकर्मी सुसन वि. एन्थोनीले भनेकी थिइन्, ‘मलाई लाग्छ महिलालाई स्वतन्त्र महसुस गराउन सबैभन्दा प्रभावकारी भूमिका साइकलको छ । यसले महिलालाई स्वतन्त्रता र आत्मनिर्भरको अनुभूति गराएको छ । जब म महिलाले साइकल चलाएको देख्छु, म हरेक पटक उभिएर त्यो खुसी अनुभव गर्छु... त्यो क्षण मलाई उत्मत्त नारीत्वको स्वतन्त्र तस्बिरजस्तो लाग्छ ।’ एन्थोनीको यही विचारले पनि महिला र साइकलको अन्योन्याश्रित सम्बन्धलाई परिभाषित गर्छ ।

महिला साइक्लिस्टसँग जोडिएको अर्को प्रेरणादायी इतिहास हो, सन् १९५८ मा आयोजना गरिएको ‘विमेन्स साइक्लिङ वर्ल्ड च्याम्पियनसिप’ । अन्तर्राष्ट्रिय साइक्लिङ युनियनले फ्रान्समा आयोजना गरेको उक्त प्रतियोगितामा लक्जम्बर्गकी २५ वर्षीया एल्सी ज्याकोब्सले जित हासिल गरेकी थिइन् । यस्तै सन् १९८४ को लस एन्जल्स गेमले महिला र साइक्लिङबीचको सम्बन्ध प्रगाढ बनाउन ठूलो भूमिका खेलेको छ । उक्त गेममा पहिलो पटक महिलाका लागि ओलम्पिक साइक्लिङ रेसको आयोजना गरिएको थियो । प्रतिस्पर्धामा अमेरिकन महिला कोनी कार्पेन्टरले जित हासिल गरिन् । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा एल्सी र कोनीको जितले महिलाले पनि पुरुषसरह अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन सक्छन् भन्ने नजिर बसायो । अनि महिला साइक्लिङलाई व्यावसायिक आकार पनि दियो ।

यसरी सुरु भएको ‘महिला साइक्लिस्ट’ अर्थात् ‘महिला साइकले’ हरूको साइकल यात्रा आज विश्वभर पुगेको छ । नेपालमा पनि सन् १९४० को दशकतिरै महिलाले साइकल चलाएको इतिहास भेटिन्छ । महिला स्वतन्त्रता र अधिकारलाई लिएर संकुचित सामाजिक मान्यता व्याप्त तत्कालीन नेपाली समाजमा महिलाले साइकल चलाउनु आश्चर्य र असम्भवजस्तै मानिन्थ्यो । त्यस्तो सामाजिक संरचनालाई चिर्दै जब सरोजिनी मानन्धर, किशोरी राणा, हसिना जोशीहरूले काठमाडौं, भक्तपुरका गल्लीहरूमा साइकल चलाए, साइकलसँग नेपाली महिलाको सम्बन्ध गाँसियो । हुन त उनीहरूमध्ये किशोरी र हसिनाको साइकल यात्रा विवाह भएपछि रोकिए पनि उनीहरूको प्रयासले धेरै महिलालाई साइकल चलाउन प्रेरणा दियो । महिलाले पनि साइकल चलाउन सक्ने रहेछन् भन्ने कुरा नेपाली मानसपटलमा अंकुराउन थाल्यो ।

फलस्वरूप आज धेरै महिला गाउँ सहरका गोरेटो, गल्ली र सडकहरूमा निर्धक्कसँग साइकल गुडाउँछन् । तीमध्ये केहीले रहरले साइकल चलाउँदै आफ्नो मनलाई चंगा महसुस गर्छन् । कोही स्वास्थ्यका लागि साइकल चलाएर आफ्नो तनलाई फुर्तिलो बनाउँछन् । कोही शैक्षिक संस्थाको दैलोसम्म पुगेर विद्या आर्जन गर्छन् । कोही घरायसी कामकाज, विभिन्न पेसा व्यवसाय सम्हाल्दै महिला सशक्तीकरणको उदाहरण दिन्छन् ।

साइकल चढेर घाँस, दाउरा गर्न जंगलसम्म पुग्ने, दूध, घिउ, तरकारी बेच्न डेरी र बजारसम्म धाउने, साइकलको क्यारियरमा बालबच्चा राखेर स्कुल पुर्‍याउने, आफ्नो विभिन्न पेसा व्यवसाय सम्हाल्न साइकल चढेर दिनहुँ यात्रा गर्ने महिलाहरू आज प्रशस्त देख्न पाइन्छ । विशेषगरी नेपालको तराई भेगका जिल्लामा साइकल चलाएर अदृश्य सामाजिक रूपान्तरण र महिला सशक्तीकरणको उदाहरण दिने महिलाको संख्या अनगिन्ती छ । यस्तै गरी विभिन्न उद्देश्यसहित साइकल यात्रा गर्ने, आफ्नो व्यक्तिगत स्वास्थ्य, वातावरणीय चिन्तनसहित साइकल गुडाउने महिलाहरू पनि गाउँ तथा सहरी क्षेत्रमा प्रशस्तै देख्न पाइन्छ । यसरी पुरुषवादी चिन्तन, व्यवहार हावी रहेको समाजमा सुरुवाती दिनदेखि आजसम्म महिलालाई सशक्त, आत्मनिर्भर र स्वतन्त्र बनाउने सहज साधनका रूपमा साइकल प्रसिद्ध छ ।

यसै पनि आफ्ना खुट्टाका बलले साइकलका पेडल पेल्दै परपरसम्म पुग्नु आफैंमा परमानन्द हो । तर, महिलाका लागि त्यो आनन्दको अनुभूति अघि चर्चा गरेजस्तो सामाजिक खुसीमा मात्रै सीमित छैन । साइकलसँग महिलाको सशक्तीकरण र सक्षमता सँगसँगै उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य पनि जोडिएको छ । हुन त साइकल चलाउनुको शारीरिक र मानसिक फाइदा महिला र पुरुष दुवैलाई छ । तर, नियमित साइकल चलाउँदा महिलाका स्वास्थ्यका लागि हुने फाइदा विशेष छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार, एउटा वयस्क व्यक्तिलाई स्वस्थ जीवनशैलीका लागि हरेक हप्ता १५० देखि ३०० मिनेटसम्मको ‘एरोविक एक्सरसाइज’ अर्थात् शरीरका अधिकांश मांसपेशी सञ्चालित गर्ने शारीरिक अभ्यास आवश्यक पर्छ । जसमध्ये ‘साइक्लिङ’ एउटा प्रभावकारी ‘एरोविक’ अभ्यास हो । नियमित साइकल चलाउँदा मुटुसम्बन्धी रोग लाग्ने जोखिम कम हुन्छ । अमेरिकी सरकारी संस्था नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) ले सन् २०२३ मा प्रकाशित जर्नलमा साइकल चलाउनाले कुनै पनि प्रकारको मुटुरोग तथा टाइप २ मधुमेहका कारण हुने मृत्युको जोखिम कम गर्छ भनिएको छ । फोक्सोको क्षमता बढाउन, शरीरको बोसो, कोलेस्ट्रोल र रक्तचाप घटाएर रक्तसञ्चारमा सुधार ल्याउँदै मुटुको स्वास्थ्य अवस्था सुधार गर्न साइक्ल्ङि फाइदाजनक छ ।

युनिभर्सिटी अफ ग्लासगोले सन् २०१७ मा गरेको अनुसन्धानका अनुसार आफ्नो नियमित काममा जान साइकल चलाउने अभ्यासले क्यान्सरको जोखिम ४५ प्रतिशत कम हुन्छ । यस्तै, साइकल नचलाउनेको तुलनामा साइकल चलाउने व्यक्तिको असामयिक मृत्युको जोखिम ४१ प्रतिशतले कम छ । ५ वर्ष लगाएर गरिएको उक्त अध्ययनमा २ लाख ६४ हजार ३ सय ३७ जनामा सर्वेक्षण गरिएको थियो । यस्तै, महिलालाई हुन सक्ने स्तन क्यान्सरको जोखिम कम गर्न पनि नियमित साइकल चलाउनु प्रभावकारी मानिन्छ । नेसनल क्यान्सर इन्स्टिच्युटको वेबसाइटमा उपलब्ध अध्ययनअनुसार, शारीरिक रूपमा निष्क्रिय महिलाको तुलनामा सक्रिय महिलालाई स्तन क्यान्सर हुने जोखिम १२ प्रतिशतले कम हुन्छ ।

उक्त अध्ययनअनुसार विशेष गरी रजनोवृत्ति सुरु हुनुअघि र भइसकेपछि महिलामा स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । तर रजनोवृत्तिपछि पनि शारीरिक अभ्यासमा सक्रिय महिलालाई स्तन क्यान्सरको जोखिम अन्य महिलाको तुलनामा कम हुन्छ । यस्तै ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनका अनुसार साइकल चलाउने महिलालाई स्तन क्यान्सरसँगै पाठेघरको क्यान्सरको जोखिम पनि कम हुन्छ । यी सबै रोगादिको जोखिम कम गर्न महिलालाई साइकल झन् जरुरी छ ।

यसबाहेक पनि साइकल चलाउनुका अनगिन्ती फाइदा छन्, जसले महिलाको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छन् । एभ्रिडे हेल्थको वेबसाइटमा प्रकाशित ‘ज्वइन्ट पेन एन्ड विमेन’ शीर्षकको लेखअनुसार प्राकृतिक रूपमै महिलाहरूमा जैविक, आनुवंशिक र हर्मोनका कारण ‘आर्थ्राइटिस’ अर्थात् बाथरोगको जोखिम बढी हुन्छ । त्यसबाहेक मोटोपनाका कारण महिलामा ‘आर्थ्राइटिस’ हुने सम्भावना बढी पाइन्छ । नियमित साइकल चलाउने अभ्यासले शारीरिक तौल घटाएर मोटोपनाले हुने ‘ओस्टियोआर्थ्राइटिस’ को जोखिम कम गर्छ । किनकि, नियमित साइक्लिङ गर्दा प्रतिघण्टा लगभग ३ सय क्यालोरी कम गर्न सहयोग गर्छ । ९० वर्ष उमेर पुगिसक्दा पनि साइकल चलाउने गरेकी प्रसिद्ध महिला साइकल यात्री लान इन टेसाई भन्छिन्, ‘जब हामी हाम्रो शरीर नचलाउने निर्णय गर्छौं तब शरीर चल्न छोड्छ । साइकल चलाउँदा हर–कोहीको शारीरिक प्रणालीले राम्ररी काम गर्न थाल्छ ।’ टेसाईको यो भनाइले साइकलसँग जोडिने शरीरको गतिशीलतालाई अर्थ्याउँछ ।

प्रसूति रोग विशेषज्ञ प्राध्यापक डाक्टर पवन शर्मा साइक्लिङका फ्यान हुन् । महिलाका लागि साइकल चलाउनु अझ किन उपयोगी छ भनी उनले धेरै अध्ययन गरेका छन्, ज्ञान बाँडेका छन् । उनले उपचार गर्ने थुप्रै महिलालाई साइकल चलाउँदाको फाइदाबारे सुनाइरहन्छन् । साथै, डाक्टर शर्माका कुरा सुनेर साइकल चलाउन थालेका महिलाका पनि साइकलले स्वास्थ्य राम्रो बनाएको अनुभव सुनेर पनि थाक्दैनन् ।

साइक्लिङ, महिनावारी र रजनोवृत्ति

अध्ययनहरूले भन्छन्, साइक्लिङलगायतका शारीरिक अभ्यासले महिनावारीमा हुने दुखाइ कम गर्छ । यस्ता अभ्यासले ‘इन्डोरफिन्स’ नामक हर्मोन उत्पादन गर्छ, जसले शारीरिक दुखाइ कम गर्न र मांसपेशीलाई संकुचित बनाउने ‘प्रोस्टाग्ल्याडिन’ हर्मोनलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउँछ ।

नियमित साइकल चलाउँदै आएकी कमला पुन पनि महिनावारीको समय निर्धक्क भएर साइकल चलाउँछिन् । साइकल ‘मोसन’सँग सम्बन्धित भएकाले महिनावारीको समयमा साइकल चलाउँदा हर्मोनलाई सन्तुलित राख्न मद्दत गर्ने उनको अनुभव छ । ‘साइकल कल्चर कम्युनिटी’ की कोषाध्यक्षसमेत रहेकी कमला भन्छिन्, ‘महिनावारीमा रगत बगेकै कारण हिचकिचाएर बस्न हुँदैन । प्याड, मेन्टसुरल कप वा अरू जे लगाउँदा आफूलाई सहज हुन्छ, त्यसको प्रयोग गरेर महिनावारीमा पनि साइकल चलाउन सकिन्छ । मेरो यही अभ्यासले गर्दा मलाई पिरियड हुँदा पनि ‘म सक्दिनँ, म कमजोर छु’ भन्ने ‘फिल’ नै हुँदैन ।’ महिनावारीको समयमा पनि आफूलाई शारीरिक र मानसिक रूपमा बलियो महसुस गर्‍यो भने ढुक्कसँग साइकल चलाउन र साइकल चलाउँदाको फाइदा महसुस गर्न सकिने उनको अनुभव छ ।

महिनावारीसँगै साइकल चलाउनुको फाइदा रजनोवृत्ति अघि र पछिको समयमा पनि छ । स्वास्थ्य तथा फिटनेसका बारेमा लेख्दै आएकी यूएसए साइक्लिङकी प्रशिक्षक सेलिन यगरका अनुसार रजनोवृत्ति हुनुअघि र भइसकेपछि पनि साइक्लिङ गर्नु धेरै हिसाबले स्वास्थ्यका लागि फलदायी हुन्छ । रजनोवृत्तिका कारण हुने मानसिक समस्यालाई कम गर्न, रजनोवृत्ति भइसकेपछि हुने सक्ने शारीरिक समस्यालाई न्यूनीकरण गर्न, हड्डीलाई बलियो बनाउन साइक्लिङ प्रभावकारी मानिन्छ । साथै शरीरको सन्तुलनलाई कायम राख्न पनि मद्दत गर्छ ।

साइक्लिङ र गर्भावस्था

गर्भवती अवस्थामा साइकल चलाउन हुन्छ कि हुँदैन भन्ने द्विविधा धेरैलाई छ । कतिलाई त लाग्छ, गर्भावस्थामा साइकल चलाउनु जोखिमपूर्ण काम हो । तर, उक्त अवस्थामा पनि संयमित भएर साइकल चलाउँदा मुटुलाई तन्दुरुस्त बनाउँछ र प्रसव व्यथालाई सहज बनाउन मद्दत गर्छ । अमेरिकन कलेज अफ स्पोर्ट्स मेडिसिनको हेल्थ एन्ड फिटनेस जर्नलमा सन् २०२० मा प्रकाशित एउटा अध्ययनले गर्भवती महिलाले हप्तामा कम्तीमा १ सय ५० मिनेट वा सोभन्दा बढी सामान्य शारीरिक कसरत गर्न सुझाएको छ । उक्त अध्ययनअनुसार त्यस्ता अभ्यासले गर्भावस्थामा हुने जोखिमलाई कम गर्ने सम्भावना हुन्छ ।

अमेरिकन कलेज अफ अब्सटेट्रिसन एन्ड गाइनेकोलोजिस्टले ‘इन्डोर साइक्लिङ’ अर्थात् घरभित्रै एक ठाउँमा स्थिर भएर गर्ने साइक्लिङ गर्भावस्थामा सुरक्षित हुन्छ भनेर सूचीकृत गरेको छ । त्यसरी साइक्लिङ गर्दा प्रशस्त पानी पिउन, शरीरलाई अतिरिक्त भार नपर्ने गरी संयमता अपनाउन र शरीरको तापक्रम सन्तुलित राख्न भने आवश्यक हुन्छ । गर्भावस्थाको समयमा हुने मधुमेह, उच्च रक्तचाप, सी–सेक्सन, मानसिक चिन्ता, ढाड दुख्ने समस्या, कब्जियत, आदिलाई कम गर्न पनि साइक्लिङ प्रभावकारी मानिन्छ । यसो भन्दैमा कच्ची सडक, खाल्डाखुल्डी भएका ठाउँ तथा अप्ठ्यारा बाटाहरूमा साइकल चलाउन मिल्छ भन्ने होइन ।

सबल मानसिक स्वास्थ्य

मेन्टल हेल्थ फाउन्डेसनका अनुसार, १६ देखि २४ वर्ष उमेर समूहका महिलाले सोही उमेर समूहका पुरुषको तुलनामा २६ प्रतिशत अर्थात् ३ गुणा बढी मानसिक स्वास्थ्य समस्या अनुभव गर्छन् । साथै, पुरुषको तुलनामा महिलाहरू २ गुणा बढी ‘एन्जाइटी’ अर्थात् चिन्ता लिने बानीको जोखिममा हुन्छन् । तर, नियमित साइकल चलाउने बानीले यस्ता मानसिक स्वास्थ्य समस्या न्यूनीकरण गर्न सकिने चिकित्सकहरू बताउँछन् । मानसिक स्वास्थ्यसँग जोडिने रिस, तनाव, डिप्रेसनलाई नियन्त्रण गर्न साइक्लिङ प्रभावकारी मानिन्छ । एक त साइकल चलाउँदा हुने शारीरिक कसरत, अर्को साइकल चलाउँदा मिल्ने खुसीले मानसिक स्वास्थ्यसँग जोडिएका समस्या न्यूनीकरणमा मद्दत गर्छ । नियमित साइकल चलाउने महिलाले मानसिक स्वास्थ्य समस्याको सामना अन्यको तुलनामा बढी प्रभावकारी तरिकाले गर्न सक्छन् । साथै, यसले स्मरण क्षमता वृद्धि गर्न, राम्रो निद्रा पार्न, सिक्ने क्षमताको विकास गर्न पनि सहयोग गर्छ ।

कमला पुनको विचारमा नियमित साइकल चलाउनु एक प्रकारको ‘मेडिटेसन’ हो । साइकल चलाउँदा आफूलाई पूर्ण महसुस गर्ने कमला आफ्नो घरायसी जीवन र साइकल प्रेमलाई एकसाथ गुडाउँदै आइरहेकी छन् । विगत ५ वर्षदेखि साइकल चलाउँदै आएकी उनलाई साइकल चलाउँदै गर्दा वा साइकलको हेलमेटसहित अरू व्यक्तिलाई भेट्दा सकारात्मक भाव बढी महसुस गर्छिन् । व्यस्त जीवनशैली, घरायसी कामकाज तथा व्यवहार, बालबच्चा तथा परिवारका सदस्यको जिम्मेवारी वा उनीहरूलाई दिनुपर्ने समयलगायत धेरै कुराले महिलालाई मानसिक उतारचढाव भइरहेको हुन्छ । यस्तोमा कम्तीमा हप्ताको एक वा दुई पटक भए पनि साइकल चलाउँदा महिलाले ऊर्जा शक्ति, सकारात्मकतामा प्रत्यक्ष प्रभाव पर्ने कमला बताउँछिन् ।

साइकल चलाउँदा खुला हावाको महसुस गर्दै वरपरको वातावरणलाई अनुभव गर्न पाइन्छ । मोबाइल ल्यापटप लगायतका विद्युतीय सामग्रीको स्क्रिनमा व्यस्त हुनेको जमात बढिरहेको अवस्थामा स्क्रिनभन्दा बाहिरको दुनियाँ नियाल्दै बेफिक्री भएर ‘मि–टाइम’ अर्थात् नितान्त व्यक्तिगत समय बिताउन पाउनु साइकल चलाउनुको रमाइलो पक्ष हो । त्यो क्षणले मनमा छुट्टै आनन्द र स्वतन्त्रताको अनुभूति सञ्चार गर्छ । विशेषगरी किशोरी तथा युवतीलाई आत्मसम्मान कमाउन र आत्मविश्वास बढाउन पनि साइक्लिङले सहयोगी भूमिका खेल्छ । आफ्नो काम र क्षमताले भन्दा शारीरिक बनोटको आधारमा ‘राम्रो’, ‘चिटिक्क’ देखिनुपर्ने प्रत्यक्ष अप्रत्यक्ष दबाब उनीहरूलाई बढी हुन्छ । यस्तोमा, नियमित साइकल चलाउने अभ्यासले उनीहरूलाई आफ्नो शारीरिक क्षमताप्रति गर्व गर्न, आफ्नोपनको अनुभूति गर्न र आफू हुनुको अपनत्व महसुस गराउँछ ।

शारीरिक, मानसिक स्वास्थ्यसँगै सामाजिक जीवन, आत्मसम्मान र समुन्नतिसँग जोडिएको साइकल र महिलाको सम्बन्ध आफैंमा महत्त्वपूर्ण छ । प्रविधिको विस्तार, व्यस्त जीवनशैली, असन्तुलित खानपान, शारीरिक तथा मानसिक अस्वस्थता बढिरहेको अवस्थामा साइकलप्रति महिलाको ‘क्रेज’ जोगाउनु र बढाउनु दुवै चुनौतीपूर्ण देखिन्छ । साइकलमैत्री सडक संरचनाको अभाव, महिलामैत्री सोच र व्यवहारको कमी आदि यसका प्रमुख कारक हुन् । यस्तै कारणलाई निरुत्साहित गर्दै साइकल चलाउनेका लागि आवश्यक सडक संरचना, आवश्यक नीति नियम, रहर वा बाध्यता दुवैले साइकल चलाउनेहरूको हकहितका लागि ‘साइकल कल्चर कम्युनिटी’ जस्ता समूहले पनि काम गर्दै आइरहेको छ । यदि यस्ता अभ्यासलाई प्रोत्साहन गर्दै साइकल र महिलाबीचको सामीप्यता बढाउन सकियो भने त्यसले समृद्ध र समतामूलक परिवार, समाज र राष्ट्र निर्माणसँगै प्रकृति र वातावरणको संरक्षणमा पनि टेवा पुर्‍याउन ऐतिहासिक भूमिका खेल्छ ।

प्रकाशित : वैशाख १, २०८१ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?