१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

कविता : शिलाजित

सहरमा शिलाजित बेच्नेहरु बढेका छन् 
सहरमा शिलाजित खोज्नेहरु बढेका छन् 

कविता : शिलाजित


अकस्मात् के भयो सहरका मान्छेलाई ?

भयभीत भएका छन् एकाएक

नपुंसत्वको आगामी अनिष्टले


श्रीमती र प्रेमिकाहरुले गरिरहे लाख कोसिस

बेडरूमलाई प्रेमको पावन भूमि बनाउन

तर, पुरूषहरुले

यसलाई रणमैदान बनाउन

बाँकी राखेनन् कुनै कसर


(यहाँलाई थाहै होला,

इरेक्टाइल डिस्फंक्सनको बिरामीलाई

सहरको सेक्सोलोेजिस्टले दिने पहिलो डायलग हुन्छ—

‘बेडरूम युद्धभूमि होइन ।’)


मजनूको प्रतीक्षामा रहने मदहोस धड्कनहरुमा

ध्वजोत्थान गर्न सर्वदा आइपुग्छ नृशंस चंगेज खान

सिंगो जुनीको जम्मा प्रयत्न पुंसत्व भएपछि (धिक्कार छ !)

शीत्कारहरुका खातिर

आफूलाई उत्सर्ग गरिदिने मन पैदा होस् पनि कसरी

यातना–उपकरणबाट ध्वनित÷प्रतिध्वनित चीत्कारहरु

आनन्दको परिभाषामा सामेल भएपछि

कोही पुंसत्ववाला नपुंसक भइन्छ कि भनेर

सधैं–सधैं डराउने नै भयो


पुरूषहरु कहिल्यै भएनन् प्रेममा पारंगत

जबकि यो सजिलै सिकिने उच्चतम कला हो

अर्काे मुटुको धड्कन महसुस हुनासाथ

भई त हालिन्छ प्रेमविशारद

र, प्रेयसीको प्रणयमग्न एक बुँद नजर

खस्नासाथ याचनाको प्यालामा

पुगि त हालिन्छ चरमोत्कर्षमा


यसरी प्रेम घटित हुन

तदनुरुप सम्भोग घटित हुन

तगारो हालेको छ पुंसत्वले


एक कविका हैसियतले

मैले खारेज गर्ने शब्दहरुको सूचीको

पहिलो नम्बरमा छ— पुंसत्व


बलिष्ठतासँग छैन कुनै मोह मलाई

दुर्बलता मेरा सयौं गुणमध्ये एक हो

शक्तिहीनताले मलाई दुःखी बनाउँदैन


मर्दपना, पुरूषत्व, बहादुरी, पुरूषार्थ, पराक्रम...

यी सारा शब्दले मेरी आमा, बहिनी र प्रेमिकालाई

चोट पु¥याइरहे इतिहासदेखि इतिहाससम्म

त्यसैले यिनलाई म मृत देख्न चाहन्छु


पुरूष हुनुको नाताले

पुंसत्व खारेज गर्नु मेरो प्रथम दायित्व हो

किनभने, म एक स्त्रीको सन्तान हुँ, सिर्जना हुँ

त्यसैले स्वतः हुँ स्त्री—

पुरूषका केही चिह्नसहितको स्त्री !


सोध्नुहोला— पुंसत्व खारेज गर्न चाहने म

किन लेखिरहेछु शिलाजितमाथि कविता


किनभने, म शीघ्रभन्दा शीघ्र हुने

पतनहरुलाई रोक्न चाहन्छु


सहरका चोक–गल्ली भौंतारिरहेका

जुम्ला र मुगुतिरका शिलाजितवाला मित्रहरु हो,

तपाईंहरुको मुखमा दूध र भात !


म रोक्न चाहन्छु पतनहरुलाई

...भावनाको दुर्भावनामा द्रुत पतन

...स्वप्नको दुःस्वप्नमा द्रुत पतन

...सहीको गलतमा द्रुत पतन

...मान्छेको दुर्मान्छे अर्थात् चुतियामा द्रुत पतन


पुनः एक कविका हैसियतले

गर्छु म सिफारिस

प्रतिचुतिया दुई–दुई ग्राम शिलाजित


दिनू, महाशक्ति अमेरिकालाई डबल (अझ ट्रिपल) डोज दिनू

कि— सन्तानको अनुहार कल्पिरहेका विभोर गर्भवतीहरुमाथि

बम खसाल्ने निर्दयीमा रोकियोस् उसको पतन...


दिनू, हिजोका क्रान्तिकारीहरुलाई दिनू

कि— जसले सपनाको अन्तिम बेर्नासमेत

बहुराष्ट्रिय कम्पनीको हातमा बेचिदिए

अब पतन हुन बाँकी छैन भन्ने

तिनको हेक्काको रोकियोस् पतन


दिनू, संसदीय पहलमानहरुलाई दिनू

कि— भोका शिशु र रोदनरत आमाहरुको संसार फँडानी गरेर

जसले जमाएका छन् लोकतन्त्रको अखडा

जहाँ तमासा बन्दा–बन्दा थकित भइसकेको छ जनवेदना


दिनू, हरेक चुतियालाई दिनू

दुई–दुई ग्राम दिनू


र, आफैंलाई पनि सिफारिस गर्छु म

दुई ग्राम

किनभने, सारा चुतियाहरुको पतन

शिलाजितले रोक्न सक्ला कि भन्ने हास्यास्पद आशावादमा

यत्रो शब्दविलास गर्ने

म पनि हुँ चुतिया एउटा ।

प्रकाशित : चैत्र ३, २०८० ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?