२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

निबन्ध निरञ्जन

नेपाली निबन्धमालाका शिल्पी शंकर लामिछानेको ९६ औं जन्मजयन्ती (चैत ५) को साइतमा उनीसँग कृतिगत तहमा ‘पराकाल्पनिक वार्ता’ :
हामी तीन ‘स’ का लती थियौ– साहित्य, संगीत र सुरा ! सबै पान गर्ने हो । पढेपछि साहित्यले मात्ने, सुनेपछि गीत र संगीतले लट्ठ हुने र चढाएपछि मात्दै–मात्दै पढ्ने र सुन्ने ! आहा, क्या गज्जब थ्यो त्यो जमाना !

भर्खरै शंकर–रात्रि सकिएको छ अर्थात् शिवरात्रि । धुनी जगाएर चराचर जगत्का कल्याणकारी बाबाको जन्मदिन धुमधामसाथ मनाइएको छ । नव–दिशा र नव–देशका भक्तहरुले भोलेबाबाको दर्शन गरिसकेका छन् । रुप, रङ, आवरण, आकृति र कर्मका कारण उनका करोडौं फ्यान छन् ।

निबन्ध निरञ्जन

मेरा भोले–शंकर बाबाको जन्मदिन भने पर्सि हो । ऊबेला यिनी देउताको काम गर्थे अर्थात् देउता बेच्थे । किताब लेख्थे । कविता लेख्थे । गीत पनि लेख्थे, बेलाबखत । संगत अच्छा गर्थे । साहित्य, संगीत र सुराका बडा लती थिए । ज्ञानका महाभण्डार थिए । ४८ वर्षअघि ‘उता’ गएका शंकर अर्थात् ‘शंकर लामिछाने’ ९६ वर्षको कृषकायामा अचानक काष्ठमण्डपको ‘कफ्या–लय’ मा भेटिएका छन्– होटेल शंकरको गार्डेनमा । केही दिनअघि कुमार नगरकोटी र मेरो भिडियो वार्ता यहीं भएको थ्यो । त्यसो त त्यस दिन खगेन्द्र संग्र्रौला र सीके राउत पनि वार्तापान गर्दै थिए यहाँ ! टाइम जोनमा यसरी फर्किएका ‘उही मदन पुरस्कार विजेता’ लेखकसँग कुराकानी गर्ने सुऔसर मैले प्राप्त गरेको छु ।


म : ४८ वर्षपछि आउनुभयो । कस्तो लाग्यो त काठमाडौं ?

शंकर : ओहो हो ! नकुरा गर्नुस् । कस्तो महाजंगल भएछ काठमाडौं त ! छेउमै बसेर मान्छे बोलेको पनि नसुनिने । हल्लैहल्लाले भरिएको । बोलीको भोल्युम बढाउनुस् है !

म : आउँदै गर्दा बाटोमा बाङ्देलजी भेटिए त ?

शंकर : ओहो ! तपाईंको आवाज सुन्दा त मलाई तुलसीको पो याद आयो के ! तुलसी के, तुलसीनाथ ढुंगेल । तपाईंको जस्तै धोद्रो स्वर थ्यो उसको । रेडियोमा समाचार पढ्नेदेखि, कार्यक्रम चलाउनेदेखि गीतिकथासम्म पढ्थ्यो । कम्ता फ्यान थे उसका ! त्यति बेलाका फिल्मका हिरो बलराज साहनीलाई बिर्साइदिने बोली । मेरा प्राय: लेखको सम्पादक त नभनौं सुझावकर्ता ऊ नै थ्यो । मन नपरे फ्याट्ट भन्थ्यो । मैले करेक्सन गरिहाल्थें । ‘जोनी जोनी एस पापा’ सुनाएर मलाई अंग्रेजी गीततर्फ आकर्षित गराउने उही नै हो । तपाईंले पनि रेडियोमा आधा जुनी नै बिताउनुभएछ क्यारे ! फ्यान त तपाईंका पनि छन् भन्ने मैले सुनेको छु । अच्छा, जे भए नि सकेको गर्नुपर्छ ।

ए, अँ ! बाङ्देललाई उतै भेटेको थें । आजकल त ऊ कार्टुनिस्ट पो भएछ भन्या ! नेताहरूको कार्टुन बनाएर बसेको छ ! अस्ति म यता आउने अघिल्लो दिन उसलाई भेट्न गाको थें । दाहाल, ओली र देउवाको ‘न्युड कार्टुन’ बनाइराको थ्यो । सकिसक्या थेन । सकेको भए यता लेर आऊँजस्तो मलाई पनि लाग्या थ्यो !

म : हो र ! लैनसिंह बाङ्देल कार्टुनिस्ट ! हो, त्यो त, समयले मानिसलाई केके गराउँछ केके ! अनि उता गइसकेपछि ककसको र के कुराको बढी याद आयो त हजुरलाई ?

शंकर : खासमा म ४८ वर्षभन्दा अघि नै उता जान खोजेको थिएँ । मेरो समयका प्राय: जिग्रीहरूलाई उतै भेट्न पाइयो । गुरु लक्ष्मीप्रसाद देवकोटा, दाइ गोपालप्रसाद रिमाल, भूपि, दर्शन आइमिन भीमदर्शन रोका, अम्बर, पारिजात, नारायणगोपाल आदि–आदि । अनि अस्ति भर्खर भक्तराज पनि आइपुग्यो । भन्दैथ्यो, यता बडा दु:खी थ्यो । अब उसको आत्माले मुक्ति पायो । उसको काम त छोराहरूले गरेका रैछन् । ताजा भेट भएर होला, ०३० सालको घटना मलाई याद आइरहेछ । रेडियोको कम्पिटिसनमा उसले क्या गाएको भन्या ! अम्बर, नारायण र बच्चु जज थे ! पहिलो भयो । अर्को वर्षदेखि तीनै जना जजले ऊसँगै कम्पिटिसन गर्नुपर्‍यो !

मलाई धेरै याद आउने भनेको अम्बरको हो । मैले उसलाई दार्जिलिङमा एकपटक भनेको थें, ‘म अम्बर हुँ तिमी धर्ती’ गीत पुरानो भयो, अब केही नयाँपन देऊ ।’ उसले त गणतान्त्रिक मुलुकको राष्ट्रगानमा संगीत भर्न पनि भ्याएछ । विथोविन, मोजार्टहरूको कुरा गर्थ्यो । क्वाएर र क्यान्टाटाको परिकल्पना गज्जब थ्यो । मैले ४–५ वटा क्वाएर र क्यान्टाटा पनि लेख्देको थें । एक रात, जो हामीले मदहोसीमै बिताएका थियौं । हुन त त्यसपछि हामीले धेरै रातहरू, आइमिन सृजनाका रातहरू बितायौं ।

एकदिन भूपि दाइले मलाई अम्बरको संगीत अनि आफ्नो रचनाको गीत सुनायो । वाल्ज शैलीमा । अनि मैले नभेटेको अम्बरबारे सोधेको थें । अनि भूपि दाइले ट्याक्क मिल्ने उपमा दिएर भने : ‘ऊ मान्छे सायद होइन, ऊ मित्र हो, र जसका लागि मित्र होइन, उसका लागि कलाकार हो र जसका लागि कलाकार होइन, उसका लागि गायक हो र जसका लागि ऊ गायक होइन, उसका लागि ऊ जन्मेको पनि छैन ।’

यति भनिसकेपछि मैले के भनें थाहा छ भाइलाई, (भाइ नै भनें है तपाईंलाई, खासमा त नातिको उमेरको हुनुहुन्छ । हाहा !) मैले भनें, ‘भूपि जिन्दावाद !’ त्यसपछि अम्बरको त्योभन्दा छिटोछरितो परिचय कसैले दिन सकेन । तर, ज्यानमा कुरा गर्ने हो भने अम्बर दाजु गोर्खा आर्मीमा गएर युनिफर्म लगाएमा खसीभेडाको हूलमा मिल्लाजस्तै, भूपिजस्तै पुड्को, उस्तै ठूलो टाउको भएको थ्यो । आइमिन ठूलो टाउकोमा धेरै गिदीमात्रै हुन्न नि, ज्ञान पनि हुन्छ नि ! अम्बर वास्तवमा नि भाइ नेपाली संगीतको आकाश आइमिन ब्रह्माण्ड नै हुन् । त्यसपछि मलाई धेरै याद आउने गोपाल दाइको हो । मेरा बाले गोपाल दाइलाई मेरो घरमा बोलाउनुहुन्थ्यो, मलाई ट्युसन पढाउन । त्यतिबेलाको परिस्थितिले गर्दा म स्कुल जान सकिरा थिना । हामी भने मातातीर्थ, मच्छेगाउँ हुँदै डुलेर आउँथ्यौं । गोपाल दाइपछि क्रान्तिमा लागे ! जेल परे । कविता लेखे । आमाको सपनाले मदन पुरस्कार पनि पाए । (आमाका सपनाहरूले पाउनुपर्छ... हाहा..) बडा फ्रस्टेड थे । उता पनि उनी खास खुसी छैनन् । यताकै कुरा गरेर हैरान बनाउँछन् । राजाको पालामा भन्दा देश खत्तम भयो भनेर गुनासो गरिरहन्छन् । सहिदको अपमान भएकोमा खिन्न छन् । साहित्यको कम कुरा गर्छन् । गद्य कविताको कुरा पद्यमा गर्छन् । आजकल आएका नवकविका कविता छन्दमा सुनाउँछन् । मुकारुङ, क्षितिज, भूपिनहरूका कविता संग्र्रह पनि यताबाट मगाएका रैछन्, मलाई देखाउँदै थे । अझै के पनि भन्थे भने आजकलका प्रकाशक र लेखकले किताबको ‘एस्थेटिक भ्यालु’ बुझ्न थालेका छन् रे !

हाम्रा पालाका ‘मु’ अर्थात् मुखियाका धेरै विकल्पहरू आइसकेछन् रे ! एउटा सचिन यगोलको खुब कुरा गर्दै थे । आ साँच्ची ! भाइ पनि प्रकाशक होइन ! मेरो किताबको ‘कम्बो’ पनि उनै गोपाल दाइले देखाएका । उनलाई कम्बो मन परेछ । भन्दै थे, ‘तिमीले श्यामश्वेत जीवन बाँच्यौ, किताबको कभर ‘श्वेत’ मात्रै कस्तो राम्रो देखिएको ।’ खासमा गोपाल दाइले मलाई ट्युसन पढाउन नआएको भए र ममा त्यस्तो चेतनाको बीउ नहाल्देको भए म कहाँ यत्तिको हुन्थें र ! खासमा गोपाल दाइजस्तो कवि यतातिर कमै छन् । उता त लेखनाथ, सिद्धिचरण, देवकोटा, सम, पारिजात, घिमिरे सबै छन् । यता को छ ?

म : अँ साँच्ची ! पारिजातको नाम भन्नुभयो । के छ उहाँको हालखबर ?

शंकर : ए, पारिजात ! उसको नाम आउनासाथ मलाई उसको उहिल्यैको एउटा पत्रको याद आउँछ । उसले लेखेकी थिई, ‘उपन्यासको चर्चा र सफलताले अब म धेरै व्याप्त भैसकें । मानिसहरू मलाई सकमबरीमा देख्न थालिसके, आत्मसात् गर्न थालिसके तर चौबीस वर्षको उमेरमा ऊ एउटा सफल मृत्यु मरी र म तीस वर्षको छेउछाउमा सुयोगवीरको जीवन बाँच्दै छु ।’

हेर भाइ, वास्तवमा पारिजातको ‘शिरीषको फूल’ र ‘शंकर लामिछानेको भूमिका’, यी दुई बेग्लाबेग्लै पदार्थलाई पाठकले आफ्नो मस्तिष्कमा यसरी हुँडलेको छ, आज तिनको वैयक्तिक अस्तित्व समाप्त भइसकेको छ । आज मैले केही बोलें भने त्यसलाई शिरीषको फूलको ‘दोस्रो परिशिष्ट’ ठान्न बेर छैन । तर पारिजात असलमा ‘कुलटा’ हो । नैतिकता उसमा लेसमात्र पनि छैन । उसैको चित्रअनुसार ऊ ‘स्वास्नी मानिस स्वास्नी हुनुभन्दा जननी पहिले भैहोली ।’ जन्मिनु नयाँ युगको एउटा सृजना हो र नयाँ परिपाटीको उत्थान हुनु हो । शारीरिक अस्वस्थताको अवगुण्ठनमा बेरिएर उसले आफ्ना यौन आकांक्षाहरूको तृप्ति मानसिक उचाइमा गरेकी छे । निस्सारता सायद मानिसको अन्तिम खुड्किलो हो र जहाँबाट साटिने ठाउँ छैन । ऊ त तत्त्वयोग प्राप्त गर्ने नारी हो । उसले त साहित्यको तत्त्वबोध आज पनि सबैलाई गराउन सफल भएकी छे । पारिजातलाई धेरैले नंग्याउन खोज्छन् तर नि भाइ, उसको अघि पुग्दा सबै नाङ्गिइसकेका हुन्छन् । केही नहुनु नाङ्गो होइन त भाइ ! बाई द वे, मैले ‘कुलटा’ शब्द क्यानभास पखाल्न प्रयोग गरेको हुँ है ! वास्तवमा पारिजात क्याक्टस पनि हो, गुलाफ पनि हो । दुवैमा एक्स्ट्रिम क्या ! भाइले बुझ्यौ नि !

बाइ द वे भाइ ! आजकल यति लामो अन्तर्वार्ता पनि छाप्ने पत्रिका छन् र यो अनलाइनको दुनियाँमा ? यो अन्तर्वार्ता कहाँ छाप्ने हो ? आ, भाइले पढेको भए सम्झना होला, उहिले उत्तम कुँवर भन्ने थ्यो । बडा कडा केटो । मैलेभन्दा पहिला मदन पुरस्कार पाको । त्यसले ‘रूपरेखा’ भन्ने पत्रिका निकाल्थ्यो, यस्तै अन्तर्वार्ता गर्थ्यो । मज्जाले छाप्थ्यो पनि । आजकल त सुनेको छु, सम्पादकको ‘पादक’ हराएर ‘सम’ मात्रै बाँकी छ रे ! आई मिन ‘सम्पादक’ को ‘मणि’ हाम्रो मणिको जस्तो हराएको छ रे ! उहिलेका अर्को सम्पादक क्या, मणिराज उपाध्याय ! भाइले मेरो ‘एक पत्र : सम्पादकलाई’ त पढे हौला नि ! हो, उनै सम्पादक ! जहिल्यै मलाई लेख लेख्नका लागि करकर गरिराख्ने ! आजकल छ रे नि त्यो एउटा दीपक सापकोटा, लेख नलेखुन्जेलसम्म लेखकलाई रातको बाह्र बजे पनि फोन गरेरै तर्साउँछ रे ! हो, त्यस्तै भाइ ! असाध्यै करकरे ! त्यो प्रोफाइल लेखक छ नि, केरे ! राजकुमार बानियाँ, हो उसले एउटा चिठीमा मलाई भन्दै थ्यो– उसले मेरो बारेमा पनि लेख्या छ रे, तर पढ्न पाको छैन । अघिको मणिराजकोमा जाऊँ है त ! मेरो पालो नि एक दिन भाइ, झोंक चलेर आयो । उनलाई खुद आफू सम्पादक भएको थाहा थिएन । जसले समयलाई पछ्याउन सक्दैन, त्यो भुत्राको सम्पादक ! मैले नि कुनै समय ‘समीक्षा’ साप्ताहिकमा रिपोर्टिङ गर्‍या थेँ नि ! हाहा, याद आइदिरा भन्या ! रिसले आँखा नदेखिराको बेला मणिलाई एउटा चिठी लेख्देको थें । पछि किताबमा राखें । त्यही किताबले मदन पुरस्कार पाइदिराख्या भन्या !

म : ओहो ! मदन पुरस्कारको कुरा गर्नुभयो । आजकल त यो तपाईंजस्तै बूढो हुन लागिसक्यो । २०२४ सालमा तपाईंले पनि यो पुरस्कार पाउनुभएको थियो । पुरस्कार अर्पण समारोहमा देवकोटाले आफू हिँडेको बाटो नहिँड्न भनेको कुरा सुरुमै राख्नुभा’थ्यो । वास्तवमा यस्ता पुरस्कारले लेखकलाई कस्तो ऊर्जा दिँदो रैछ ? त्यसो त आजकल जसले पनि लेखेपछि पुरस्कार पाउन पाए हुन्थ्यो भन्ने लोभ गर्छन् !

शंकर : हेर भाइ, वास्तवमा म आफू लेखनमा अंग्रेजी, हिन्दी, उर्दु, संस्कृत र कहिलेकाहीं नेवारी भाषाको बढ्ता प्रयोग गर्छु । तर, मलाई सबैभन्दा बढ्ता माया नेपाली भाषाको लाग्छ । मदन पाउने पनि नेपाली भाषामै लेखेकाले पाउने हो । त्यो भनेको के भने हाम्रो समाज, संस्कृति, सभ्यता, इतिहास, जनजीवन, भूगोल आदिलाई जसले जस्तोसुकै तरिकाले लेखोस्, त्यो साहित्यको मात्रै होइन, देशकै सेवा हो । मैले ०२५ सालमा पुरस्कारले हौसला दिन्छ भनेको कुरा आज पनि समयसापेक्ष छ । राम्रो लेख्नेले आस गर्नु त दामी कुरा हो नि ! मेरो समयमा पनि थे भाइ रिस गर्नेहरू ! तर, रिस गरेर के गर्ने हाहा ! होइन त ! मैले त त्यही मपुकै भाषणमै भनेको भाइ, जसरी २००९ सालदेखि २०२५ सालसम्मको अठार वर्ष खेर गयो, अबको पचास वर्ष पनि खेर गएको कसैलाई थाहा हुनेछैन । त्यसैले मैले मेरा रचना पचास वर्षपछि आजको पुस्तालाई हुनेछन् भन्दिएको भाइ !

म : भनाइको अर्थ, तपाईंले जस्तो लेख्ने आजकल छैनन् भन्न खोज्नुभएको कि आजकलका यताका लेखकले फ्युचरिस्टिक भएर लेख्न सकेनन् भन्नुभएको कि, मैले जस्तो प्रयोगधर्मी भएर लेख्न सकेनन् भन्नुभएको ? कुरा अलि क्लियर गर्दिनुस् न !

शंकर : (शंकरले मालब्रो चुरोट सल्काए !) के गर्ने भाइ, युवावयमै फूलमार खान थालेको, यसले नि छाडेन । उता खान पाइन्न । अब कुरामा आऊँ है त (एक सर्को तानेर धूवाँ उडाउँदै) ! ऊ जमानामा पनि म पाश्चात्य साहित्य निकै पढ्थें । यताका जन्मँदै गरेका लेखकसँग त संगत नै थ्यो । नपढी भएन । पठन भन्ने जुन चिज छ, त्यसले लेखकलाई धेरै ज्ञान दिन्छ र पराकल्पनालाई फराकिलो पार्दिन्छ । हाम्रो पालामा हामी त तीन ‘स’का लती थियौं । तीन ‘स’ भनेको के भने नि भाइ– साहित्य, संगीत र सुरा ! सबै पान गर्ने हो । पढेपछि साहित्यले मात्ने, सुनेपछि गीत र संगीतले लट्ठ हुने र चढाएपछि मात्दै–मात्दै पढ्ने र सुन्ने ! आहा, क्या गज्जब थ्यो ! यता पनि केही प्रयोगधर्मी र पढाकु लेखक आका छन् भन्ने सुनेको छु । त्यति बेला नि भाइ, मैले लेखनमा जुन एक्स्ट्रिम प्रयोग गरें नि, त्योभन्दा खतरा प्रयोग गर्ने लेखक अँ.. केरे... कु... मा... नगरकोटी आका रैछन् । ओहो, उनको किताब ‘कल्पग्रन्थ’ बारे रोशन शेरचनले खबर पठाका थे, बडो गज्जबको किताब छ रे ! केरे यो, टाइपोग्राफी कि के भन्ने पनि छ रे ! जे होस्, उनी गज्जबका लेखक रैछन् आजकल । फ्यान पनि डाइहार्ड छन् रे ! अर्को नारायण ढकाल र ‘पैताला’ लेख्ने गनेस पौडेलको नि सुईंको देका थे रोशनले । शिवानी... सरस्वती... केके नाम लिँदै थे । सबैको नाम सम्झिन पनि गाह्रो के भाइ ! मलाई ती हराएका शास्त्री केरे... विष्ट छन् नि, तिनको ‘सोताला’ पढ्न मन छ । पाटन बुक्समा गएको बेला किन्छु होला । अनि निबन्धमा रोशन शेरचनले मेरो बाटो पछ्याएका रैछन् । अरूहरू पनि छन् । अरूको धेरै ‘बन्ध’ मात्रै छ । ‘नि’ छैन ! तानाहरूलाई त मैले उता पनि खास वास्ता गर्‍या छैन । यता पनि नयाँ तानाहरू छन् भन्ने सुन्छु । जे भए नि भाइ, नेपाली साहित्य लेखन गज्जबले अघि बढिरहेको छ !

म : एउटा कुरा नि, तपाईंलाई चोरीको आरोप लगाउने कुमुदिनी बैनी र लेखन परित्याग बारे केही भन्न चाहनुहुन्छ ? मतलब, अहिले केही कन्फेसन गर्न चाहनुहुन्छ ? पाठकहरूले खोजिरहेको पनि यही हो ।

शंकर : हेर्नुस् भाइ, त्यति बेला जो भयो, सो भयो । रात गई, बात गई । (शंकरले मालब्रो चुरोट फेरि सल्काए !) मैले उहिल्यै भनिसकें नि, प्रभाव जसको परे नि, परेको थ्यो । म दुइटा कुरा सकभर बोल्न चाहन्नँ भाइ– पहिलो यो अनि दोस्रो व्यक्तिगत जीवनको । साहित्यकारलाई त रचनामा पढ्ने हो, परिकल्पना पो गर्ने हो त ! कि होइन भाइ ?... ओहो, कति लामो अन्तर्वार्ता गरिराख्या भन्या ! अब मुड फ्रेस गरौं ! जाम, कफी कि सोम... ? (शंकरले मालब्रोको धूवाँ फेरि उडाए !)

म : होइन दाइ, अझै केही कुराहरू सोध्नुथ्यो... !

शंकर : होइन, आजलाई यत्ति गरौं, अर्को दिन अझै समय मिलाएर बसौंला । यसपालि म अलिक दिन बस्छु । धेरै नेपाली किताब खरिद पनि गर्नुछ । नयाँ पुस्तालाई पनि भेट्नु छ । साहित्य महोत्सव पनि जानु छ । जाउँ आजलाई यत्ति ! चियर्स गरौं !

हुन्न ?

म : हस् !

त्यसपछि शंकर र म त्यही चिरपरिचित होटल शंकरको बारमा पुग्यौं, जहाँ पचास वर्षअघि अम्बर, भूपि, भीमदर्शनहरू ‘बात र मात’ को एकसाथ चियर्स गर्थे !

(यस लेखमा प्रयुक्त लामिछानेको जवाफका केही अंश उनकै हुन्, केही काल्पनिक)

प्रकाशित : चैत्र ३, २०८० ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?