कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

स्टारफेरीमा नायिकाको हत्केला

विज्ञान–प्रविधिको चरम प्रयोगमार्फत मानव जीवन ध्वस्त बनाएर भव्य देखाइएको पृथ्वीको एक कस्मेटिक सहर हो– हङकङ ।
प्रकाश थाम्सुहाङ

२३ नोभेम्बर २०२३ । करिब एक घण्टा ढिला उडेको नेपाल वायुसेवाको जहाज चेक ल्याप कोक टापुमा अवस्थित हङकङ एयरपोर्ट पुग्दा साँझ ढल्किसकेको थियो । समृद्धिको अभूतपूर्व यात्रामा उहिल्यैदेखि छलाङरत हङकङ टेक्न म औधी उत्सुक थिएँ । लाहुरे दाजुभाइहरूले विगतमा गरेको हङकङको बखानले पनि मलाई कौतूहलता जगाएको हुनुपर्छ ।

स्टारफेरीमा नायिकाको हत्केला

हङकङको समृद्धि एयरपोर्टले बोलिरहेको थियो । सुनेको थिएँ– यो एयरपोर्ट बन्न नेपाली दाजुभाइ, दिदीबहिनीहरूको पसिना धेरै बगेको छ । इतिहासको पानामा ती श्रमिकहरूका नाम लेखिन्छ कि लेखिन्न होला ? खैर, जसै जहाजबाट ओर्लें, लाग्यो म कुनै मायाबी संसारको सुरुङमा छिरें । कि कुनै उम्दा आख्यानको काल्पनिक दुनियाँमा छु, जहाँ स्निग्धता र सुन्दरताबाहेक अरू थोक वर्जित छ । झट्ट हेर्दा, प्रविधि र अनुशासनको सुन्दर तालमेलले मानवीय जीवन कसरी सहज हुन्छ ? दृष्टान्त मेरो सामु थियो ।

माईभन्दा लामो, पुवाखोलाभन्दा नागबेली पर्यटकका लाममा म पनि उभिएँ । त्यो लामो लामले के पुष्टि गरिरहेको थियो भने व्यापारिक केन्द्र हङकङ पर्यटकीय सहर पनि रहेछ । अध्यागमन छिचोली, सामान बटुली बाहिर निस्कन लगभग एक घण्टा लाग्यो । बाहिर प्रतीक्षारत थिए भतिज, विवश थाम्सुहाङ । त्यो दिन उनको धैर्यको परीक्षा भएकै हो ।

जहाज ढिलो उड्नु, अध्यागमनमा भिजिट भिसाका यात्रुहरूले प्लेनमै भरेर बुझाउनुपर्ने फर्म भर्न एक अपरिचित मित्रलाई सघाउनु कारणले म निकै ढिला एक्जिट हुन्छु । मेरा सारथि थिए भतिज । उनकै साथीको गाडीमा हामी सहर छिर्दै थियौं । कहिले सुरुङमार्ग, कहिले फ्लाईओभर साथै चौडा सडकमा गाडी वेग गुडिरहेथ्यो । सडकछेउ अनगिन्ती निर्माण कार्य जारी थिए । गाडीभित्रबाटै भतिज देखाउँथे– लामो न लामो पुल, बन्दरगाह, अग्ला भवनहरू । कल्पिएँ– ती निर्माण कार्यमा पनि नेपालीका पसिना बगेको होला । म कौतूहलतापूर्वक ध्यान दिएर हेरिरहेथें । अचम्म ! ती भौतिक विकासमा नेपाली शाषकहरूको अनुहार प्रतिबिम्बित भएको देखें । तिनीहरू रेमिट्यान्सको सहज आम्दानीमा मखलेल थिए ।

हङकङमा मिनी नेपाल

गाडी जब मेगासिटीमा प्रवेश गर्‍यो, हाम्रो गन्तव्य आइपुग्यो । जोर्डन हो यो, भतिजले भनेको सम्झिन्छु । बोरिङ स्ट्रिट, डे मार्केट– भतिज थप सम्झाउँछन् । म रनभुल्ल पर्छु । यता फर्क्यो उस्तै सडक ! उता फर्क्यो उस्तै सडक ! मेलामा झैं मानिसहरूको चहलपहल । गाउँको एकान्त परिवेशमा बस्ने आदत भएको मलाई मेगासिटीको कोलाहलले सर्वथा नयाँ अनुभूति दिइरहेथ्यो ।

भतिजको किराना पसलमा सामान बिसाई केही सुस्ताएपछि हामी गयौं अर्को ठाउँ, जहाँ कुरिरहेथे केही थान आत्मीय मनहरू । उनीहरूसँग भेट्न मलाई हतारो थियो । हामी पैदल हिँड्दै जान्छौं । करिब दुई सय मिटर पैदल हिँडेंपछि ‘जी ५०’ लेखेको रेस्टुरेन्टमा पुग्छौं । यो रेस्टुरेन्ट नेपालीहरू मिलेर खोलेको, भतिज सुनाउँछन् । मेरा लागि नयाँ सहर भए पनि हङकङमा पूर्वपरिचित मित्रहरू भेट्दा मलाई नौलो अनुभूति भएन । परिवेश नयाँ भए पनि चिनजानका भएपछि बिरानो ठाउँमा धेरै सहज हुँदोरहेछ । हङकङ त फेरि नेपालीहरू उहिल्यैदेखि बसोबास गर्दै आएको ठाउँ भयो । यहाँ धेरै छन् नेपाली व्यवसायीहरू, रेस्टुरेन्ट त कत्ति हो कत्ति ! भतिज मेरा पथप्रर्दशक थिए ।

‘जी–५०’ मा भेट भयो इलाम समाज हङकङका अध्यक्ष स्रष्टा बसन्त विपिन, संगीतकर्मी गणेश पराजुली र स्रष्टा ब्रजकुमार थुलुङ । खासमा म उहाँहरूको निम्तोमा हङकङ पुगेको थिएँ । त्यहीं चिनजान भयो ताप्लेजुङ थातथलो भएका हाल हङकङका व्यवसायी नन्द चङ्सुसँग । समाजसेवी र बौद्धिक क्षेत्रमा काम गरिरहेका धिराजकुमार राई र शशीमदन राई दाजुहरूसँग पहिलो पल्ट त्यहीं भेट भएको सम्झिन्छु । उहाँहरूबाट हङकङको नेपाली समाजबारे धेरै कुरा अवगत हुन्छ । सन् नब्बेको दशकबाट नै हङकङमा नेपालीहरू प्रवेश गर्न थालेका रहेछन् । अलि घनिभूत रूपमा सन् १९९७ मा बेलायत फर्किएपछि नेपालीहरू प्रवेश गरेका रहेछन् । बेलायतले हङकङमा जन्मेका नेपालीहरू, जो गोर्खा सैनिकका सन्तान थिएहरूलाई स्थायी बसोबास गर्न पाउने कानुन बनाएपछि हङकङमा नेपालीहरूको संख्या उल्लेख्य वृद्धि भएको रहेछ । सन् ९७ पछि जन्मेका नेपाली मूलका मानिस पनि अब त धेरै भएछन् । यसो हुँदा नेपाली डायास्पोरा आफैं निर्माण हुँदै रहेछ । नेपाली सामाजिक संघसंस्था पनि थुप्रै रहेछन् ।

जोर्डन, नेपालीहरू अलि बढ्ता बस्ने ठाउँ रहेछ । कवि प्रदीप कन्दङ्वा लामो समयदेखि यतै रेस्टुरेन्ट चलाएर बस्दा रहेछन् । कवि नरेश सुनुवार र बालीका वान्तावा कुनै न कुनै रूपमा रेस्टुरेन्ट व्यवसायसँग जोडिएका रहेछन् । यतै भेट हुँदो रहेछ, फुटबलप्रेमीहरू पनि, जहाँ नेपालमा नाम बनाएका पूर्वखेलाडीहरू समय मिलाएर फुटबल खेल्दा रहेछन् । विभिन्न प्रतियोगिता आयोजना गर्दारहेछन् । विगतमा इलामका फिजियोथेरापिस्ट च्यान्द्रु लिम्बुको रेन्टुरेन्ट फुटबलप्रेमीहरूको भेला हुने थलो रहेछ । इलामकै भाइ अमृत मारा ब्याडमिन्टन संस्थाको नेतृत्व गरेर खेल खेल्दा रहेछन् । अल्ट्राट्र्याक दौडमा नाम बनाएकी मीरा राईबाहेक थ्रुपै अरूहरूले नाम बनाउँदै रहेछन् ।

थाम्सुहाङ सेवा समाजका केन्द्रीय अध्यक्ष भवेन्द्र थाम्सुहाङ अहिले हङकङमै रहेछन् । पूर्वअध्यक्ष विप्लव थाम्सुहाङ साथै दिवसदेखि लिएर नेपालमा पत्रकारितामा नाम बनाएका उत्तम थाम्सुहाङसँग भेट भयो । थाम्सुहाङ सेवा समाज हङकङका अध्यक्ष हंसबहादुर थाम्सुहाङ, सचिव होम थाम्सुहाङ र कोषाध्यक्ष कुलबहादुर थाम्सुहाङसँग पनि भेट भयो । दिदी सपना साँवा मास्वा, जानुका नेम्बाङलगायत साथीहरू ‘साम्याङ फुङ’ नामक संस्था बनाएर विविध सिर्जनात्मक गतिविधिमा संलग्न रहेछन् ।

मित्र कमानधोज लावती पान्थर मञ्चको ब्यानरबाट सामाजिक कार्यमा संलग्न रहेछन् । थुप्रै छोरीचेली, ज्वाइँचेला भेट्दा हङकङ बिरानो लागेन । नेपालमा झैं हङकङमा पनि राजनीति, कूटनीति, समाजसेवा सबै रहेछ । हङकङका स्थानीय चुनावका उम्मेदारलाई सघाउन व्यस्त नेपाली पनि भेटें । मुख्य कुरा हङकङमा अनेकतामा एकता रहेछ ।

नेपालको संस्कृति, चाडपर्व सदैव प्राथमिकतामा पर्दोरहेछ । म मंसिर महिनामा पुग्दा पनि देउसी सकिएकै थिएन । महत्त्वको कुरा नेपालीहरूले हाँस्न बिर्सेका रहेनछन् । मध्यरातसम्म बारमा बियर पिउँदै धीत मरन्जेल नाच्ने रसिक जाति हो नेपाली । तमाम दुःख परास्त गर्दै हाँस्न जान्ने जाति हो नेपाली भन्ने मेरो विश्वास हङकङमा थप बलियो भयो । भेटमा कवि जुनु दिव्या राना भन्थिन्, ‘हङकङ त मलाई मिनी नेपाल झैं लाग्छ ।’ मलाई विश्वास भएर आयो ।

हतारमा हङकङ

भेटमा कवि देवेन्द्र खेरेस भन्थे– हङकङ गतिशील सहर हो । यहाँ नयाँ नयाँ प्रविधि र विकासबाट पछि हट्ने कसैलाई छुट छैन । कविले भनेझैं हङकङको फुटपाथ, सडक, मेट्रो स्टेसन सबैतिर हतारमा देखिन्थे मान्छेहरू । लाग्थ्यो, उनीहरूलाई समृद्घिको उच्चतम बिन्दु छुनु छ । कि ती मानिस कमिलाहरू हुन् । काम उनीहरूको पहिलो प्राथमिकता हो । गतिशीलता उनीहरूको धर्म हो । उनीहरूलाई जड हुनु थिएन, छैन ।

अर्का कवि ब्रजकुमार थुलुङ भन्थे– विज्ञान र प्रविधिको चरम प्रयोगद्वारा मानवले मानव जीवन ध्वस्त बनाएर भव्य देखाइएको पृथ्वीको एक तप्का भव्य कस्मेटिक सहर हो हङकङ ।

लामो समय हङकङ बसाइको कारण सृजित अनुभूति हुनुपर्छ उक्त भनाइ । समुद्र पुरेर बसाइएको सहर, भूमिगत रेल स्टेसनहरू, गगनचुम्बी भवनहरू सम्भवतः विज्ञान र प्रविधिको समन्वयले मात्र सम्भव हुन्छ । कविको चिन्ता विज्ञान र प्रविधिले मानवीय जीवनलाई क्षयीकरण गरिरहेछ भन्ने होला । समृद्घिको होडमा मानिस मेसिन भइरहेछ भन्ने होला । मेट्रोमा कामको बोझले हो या अन्य थोकले हाँस्न बिर्सिएका चाइनिजहरू देख्दा कविको भनाइ सत्यझैं लागिरहेथ्यो ।

दुई हप्ता हङकङ बसाइ मेरा लागि पनि हतारको यात्रा रह्यो । भेट्न चाहेका, घुम्न बाँकी ठाउँहरू हतारमा छुटे । चौबिसै घण्टा खुल्ने पसल, रातमा पनि जागा बस्ने सहरलाई बुझ्न पर्याप्त समय चाहिने रहेछ । हङकङका नागरिक हतारमा भए पनि सरकार गम्भीर र दूरदर्शी लाग्यो । नागरिकप्रति उत्तरदायित्वबोध उनीहरूमा देखिन्थ्यो । रोजगार, स्वास्थ्य र शिक्षा नागरिकलाई सर्वसुलभ रहेछ । व्यवस्थालाई जुनसुकै नाम दिए पनि नागरिकलाई यत्ति सुविधा दिए देश बस्न योग्य हुनेरहेछ । देख्छु, हाम्रो एयरपोर्टमा लामबद्घ युवाहरू, अधिकांश फर्किंदैनन् । कालान्तरमा एनआरएन नागरिक हुन्छन् । त्यतिबेला देशप्रेम खोक्रो आडम्बर लाग्छ ।

हङकङको कला–साहित्य

मेरो घुम्ने सूचीमा आर्ट म्युजियम र पुस्तकालय पनि थिए । हङकङमा कलालाई गर्ने सम्मान उच्चकोटीको पाएँ । स्टारफेरी छेउको आर्ट म्युजियम दाइ गणेश पराजुली र भाइ च्यान्द्रु लिम्बूसँग घुमेको सम्झन्छु, जहाँ देखें– इतिहास झल्काउने पुरातात्त्विक महत्त्वका कलाहरू । पुस्तकालय घुम्न भयवादी चिन्तक देश सुब्बा र कवि देवेन्द्र खेरेससँग गएको सम्झिन्छु । हङकङ पिकमा रहेको म्युजियम घुम्न कवि मनु कन्दङ्वा, कविता राई र कथाकार सुरेश यक्सोसँग गएको सम्झिन्छु । विकासको परिभाषामा ज्ञानलाई महत्त्व दिनु पनि पर्छ । सांस्कृतिक चेतनालाई बढावा दिनु पनि पर्छ । कला–साहित्यलाई प्रवर्द्धन गर्नु पनि पर्छ भन्ने बोध हङकङमा रहेछ । दैनिक हजारौं पर्यटक आउने स्टारफेरीमा थियो– कलाकारको पन्जा छाप । जुन छाप नायिका/गायिका ‘लिङ पो’ को थियो । तिनी सन् साठीको दशकमा ताइवान, चीन र हङकङतिर चर्चित थिइन् रे । त्यहाँ थियो– ब्रुस लीको पूर्णकद सालिक पनि ।

विसं साठीको दशकदेखि नै हङकङेली नेपाली साहित्यसँग जोडिएका कारण हङकङेली नेपाली साहित्यसँग म थोरबहुत जानकार थिएँ । हङकङमा गोर्खा सैनिकसँगै नेपाली साहित्य पुगेको इतिहास जानकारहरू बताउँछन् । हङकङमा ‘पर्वते’ पत्रिकाको प्रकाशनपछि साहित्यको लिखित इतिहास पाइन्छ । पछि सम्पादक स्व. किसन राईको ‘एभरेस्ट साप्ताहिक’ र सम्पादक भूपेन्द्र चेम्जोङको ‘सनराइज’ ले नेपाली भाषा साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको थियो ।

‘टापु’ र प्रधान सम्पादक नरेश सुनुवार रहेको ‘सृजनशील साहित्य’ साहित्यिक पत्रिकाले पनि हङकङेली नेपाली साहित्यको क्षेत्रमा योगदान गरेको थियो । हङकङमा विभिन्न साहित्यिक संघसंस्था पनि थिए । भयवाद र रेखा कवितासाथै समुच्च विचार कवि दीपा एवाई राईले हङकङबाटै सुरु गरेकी थिइन् । वर्तमानमा हङकङ साझा शृंखला अस्तित्वमा रहेछ । शृंखलाका संयोजक चित्रकार, कवि रमण गुरुङ रहेछन् । बगैंचा सञ्चार पनि बेलाबेला म पनि छु है भनेर साहित्यिक कार्यक्रम गर्दोरहेछ । मुन्धुम ज्ञान र मीमांसामा काम गर्ने संस्था रहेछ ‘मुन्धुम एकेडेमी’, अध्यक्ष रहेछन्– भूपेन्द्र चेम्जोङ । धेरैजसो मेरा पूर्वपरिचित कवि/साहित्यकारहरू अहिले बेलायततिर रहेछन् । कति त नेपालमै रहेछन् । हङकङमा धेरै कवि लेखकसँग पहिलोपल्ट भेट भयो । नाम र सृजनाले परिचित ती लेखकसँग भेट हुँदा म पुलकित भएँ ।

सृजना मानिसलाई जोड्ने माध्यम हो भन्ने विश्वास अझ बलियो बनेर आयो । नाम र सृजनाबाट परिचित भूपेन्द्र चेम्जोङ, रुद्र नाल्बो ‘डबल सुब्बा’, दाजु गुरुङ, शरण सुब्बा, प्रदीप कन्दङ्वा, जानु काम्बाङ लिङ्देन, रमण गुरुङ, सुनीता गिरी, बालिका वान्तावा, जुनुदिव्या राना, मोती चाम्लिङ, नेत्र मगर जुनकिरी, गीता पालुङ्वा, रोशन यक्सो, नरजित राई, अरुणा शर्मा, सीमा घमला आदिसँग पहिलोपल्ट भेट भयो । नेपालमा भेट भएका ब्रजकुमार थुलुङ, नरेश सुनुवार, सुरेश यक्सोसँग सम्बन्धलाई नवीकरण गरियो ।

हङकङेली नेपाली सर्जकबाट थुप्रै कृति प्रकाशन भएका र हुँदै रहेछन् । मैले थाहा पाएदेखिको त्यो दुई दशकमा हङकङ सृजनात्मक गतिशील रहेछ । तेसो त, हङकङेली नेपाली साहित्यको लामो इतिहासलाई निरन्तरता दिँदै व्यस्त समयको बाबजुद पनि सृजनाकर्ममा तल्लीन सर्जकले नेपाली साहित्यलाई अंशदान गरिरहेको देखेर ममा सम्मानभाव जागेको थियो ।

हङकङको खाना र कोप्चे लाइन

हङकङमा लगभग हरेक घरमा साना–ठूला रेस्टुरेन्टहरू देखो । प्रत्येक रेस्टुरेन्टहरू उत्तिकै भरिभराउ, जहाँ पाइन्थ्यो संसारभरका, सबै मौसम र भूगोलका खाद्य परिकार । जोर्डनको नाइट मार्केट स्ट्रिट फुड प्रेमीहरूका लागि स्वर्ग पाएँ । हङकङको परिकार संस्कृति उन्नत रहेछ, जहाँ संसारभरका परिकार चाख्न पाइन्थ्यो । पर्यटनलाई प्रवर्द्घन गर्नुमा खाद्य संस्कृतिको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने ज्ञान हङकङमा पाएँ ।

‘सी टु’ मेट्रो स्टेसनछेउमा थियो चौबिसै घण्टा खुल्ने पसल सेभेनलेबेन, जहाँ पाइन्थ्यो पानीभन्दा सस्तो विश्वका बियर ब्रान्डहरू । पसलको पछिल्तिर थियो सानो चेप । त्यो साँघुरो चेपलाई मैले इलामको नक्कल गर्दै कोप्चे लाइन नामकरण गरिदिएँ । प्रत्येक रात नियमित ब्रज दाइ, मादेन ज्वाइँ, विप्लव भतिज हामी हाजिर गर्थ्यौं । समय र छुट्टी अनुसार अरू पात्रहरू थपघट हुन्थे । म बसुन्जेल त्यही चेप हाम्रो अन्तिम बिसौनी थियो ।

प्रकाशित : फाल्गुन २६, २०८० ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?