२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

हाइ हाइ रे नेवाः कविता !

सिद्धिचरण र दुर्गालालहरूले गगनमा पुर्‍याएको नेपालभाषाको काव्यपन्छीलाई नवपुस्ताले के गर्दै छ ? त्यो चुपचाप कतै भावको पिँजडामा कैद कविको डायरीभित्रै गुम्सिएको छ कि निर्बाध रूपले विचरण गरिरहेको छ काव्यप्रेमीका हृदयमा ?
मल्ल राजाहरू महिन्द्र, जगतज्योति, सिद्धिनरसिंह, प्रताप, श्रीनिवास, जगतप्रकाश, जयप्रकाशले नेपालभाषामा कविता लेखे । तिनका विषय हुन्थे– देवगान, आराधना, अध्यात्म र देशप्रेम ।
हिमेश, दीपक सापकोटा

‘थःछेँ’– नेपालभाषाको यस शब्दको अर्थ रोचक र व्यापक छ । यसको ठ्याक्कै नेपाली अनुवाद हुन्छ– ‘आफ्नो घर’ ! खासमा यो शब्दलाई ‘माइती’ को अर्थमा प्रयोग गरिन्छ । तर, ‘माइती’ ले त्यो अर्थ र बिम्ब बोक्न सक्दैन, जुन ‘थःछेँ’ ले बोक्छ । बिहे गरी श्रीमान्को घर पुगेकी छोरीको माइती नेवार परिवारमा ‘थःछेँ’ हुन्छ अर्थात् ‘आफ्नो घर’ हुन्छ । 

हाइ हाइ रे नेवाः कविता !

नेपालभाषाका तपस्वी कवि सुरेश किरण ‘थःछेँ’ शीर्षकको आफ्नो कवितामाथि कसैले विमर्श गर्दा खुब खुसी हुन्छन्, उनको अनुहार उज्यालिन्छ । उनी ‘आफूले जाने–बुझेको शब्दलाई ठ्याक्कै खास अर्थमा लेख्न पाउनु नै मातृभाषामा लेख्नुको सुखानुभूति हो’ भन्छन् । र, उनको ‘थःछेँ’ ले नेवार समाजमा महिलाको भूमिका, अधिकार र तिनलाई गरिने व्यवहारको सुदूर अतीतको कथा भन्छ । सुरेश किरणको त्यो लामो कविताको एक अंश नेपाली अनुवाद यस्तो हुन्छ–

आमा ! मलाई अन्माएर पठाउँदा

तिमीले दिएको गाग्री लिएर गएँ

आफन्त र धेरै सामग्री लिएर गएँ

लिएर नगएको केही थियो भने

बस्, मैले ‘आफू’ लिएर गइनँ

घरमै छुटेछ, मेरो त्यो ‘आफू’

थाहा छैन

मेरा सबै ‘आफू’ बाँकी रहेकाले पो

त्यो घर मेरो ‘आफ्नो घर (थःछेँ)’ भएको हो कि !

तर, प्रश्न उठ्छ– यति स्पर्शी नेपालभाषाको कविता नेपाली साहित्यमा कहाँनेर छ ? सिद्धिचरण श्रेष्ठ र दुर्गालाल श्रेष्ठजस्ता कविले गगनमा पुर्‍याएको नेपालभाषाको काव्यपन्छी अहिलेको नवपुस्ताले कहाँ पुर्‍याएको छ ? चुपचाप कतै भावको पिँजडामा कैद कविको डायरीभित्रै गुम्सिएको छ कि निर्बाध रूपले विचरण गरिरहेको छ, काव्यप्रेमीका हृदयमा ?

भनिन्छ, नेपालभाषा साहित्यको कुनै एक विधाले नेपाली भाषाको ‘मूलधार’ लाई सिधै टक्कर दिन सक्छ भने त्यो कवितै हो । के अबको युवा पुस्ताले नेपालभाषाका कवितालाई स्पर्शी तुल्याएर अघि बढाउन सक्लान् ?

...

एक बेला सम्पूर्ण काठमाडौंलाई ‘नेपाल’ वा ‘नेपालमण्डल’ भनिन्थ्यो । ‘नेपाल’ नामबाटै यहाँ बोलिने नेवार भाषालाई ‘नेपालभाषा’ भनियो । प्राचीन अभिलेखहरू भन्छन्– ‘नेपालभाषा’ लाई ‘देशभाषा’ पनि भनिन्थ्यो । तर, ‘नेपालमण्डल’ यस्ता दिनहरूबाट पनि गुज्रियो, जहाँ नेपालभाषाका लागि मसी घोप्टिएझैं गाढा अँध्यारो समय थियो । मल्लकालसम्म असाध्यै धनी नेपालभाषा राणाकालमा वक्रदृष्टिमा पर्‍यो । ‘राणाकालमा नेपालभाषालाई दुरुत्साहित गर्ने नियम–नीति बनाएर लेखन, प्रकाशनको काममा प्रतिबन्धजस्तै लाग्यो,’ डा. कमलप्रकाश मल्ल (नेपालभाषाया ध्वाना सफूया धलः, नेसं १०९९) ।

इन्द्र मालीको सम्पादनमा प्रकाशित ‘नेवारी भाषाका केही आधुनिक कविता’ किताब–भूमिकामा कृष्णचन्द्रसिंह प्रधान लेख्छन्, ‘माध्यम कुनै पनि हुन सक्छ, तर महान् अभिव्यक्ति र सिर्जनात्मक आधुनिकबोध यस्तो शिखर हो, जहाँ भाषा व्यवधान बन्दैन र मानवीय मूल्य, स्वतन्त्रता र अनुभूतिको सार्वभौम स्तर र उचाइ बाँचेको हुन्छ ।’ कृष्णचन्द्रसिंहका अनुसार, समान परिस्थिति, एउटै परिवेश, उही भोगाइ, समतुल्य अभाव, मिल्दाजुल्दा सामाजिक समस्याहरू र तिनीहरूमै हुर्की–बढी जेलिएका नेपालीहरू जुनसुकै भाषा बोल्ने र जहाँसुकै बस्ने भए पनि उनीहरूका पीडा, अनुभूति, आकांक्षा, विरोध एउटै–एउटै लाग्ने समानान्तर अभिव्यक्तिमा भेटिन्छ ।

काव्यिक ग्रन्थहरू ‘श्रीमद्भगवद् गीता’, ‘रामायण’, ‘महाभारत’, ‘स्वस्थानी’ का श्लोक पढेर हुर्केको नेपाली समाजमा कथाको तुलनामा कवितै असरदार छ । नेपाली वा नेपालभाषा साहित्यमा पनि कविता नै बलियो छ । भजन होस् वा लोक गीत– हाम्रो जीवनशैली, संस्कार–संस्कृतिमै काव्य मिसिएको छ ।

...

एकैछिन इतिहासका गल्ली–गल्छेंडातिर विचरण गरौं । कम्तीमा ४ सय वर्षको इतिहास छ, नेपालभाषामा लेखिएका कविताको । पहिलो कविता कुन हुनसक्छ ? अध्ययन भन्छ– ‘प्रभुजन गन जि लुमनी’ ! यो कविताको रचनाकाल हो– नेपाल संवत् ६८७ । प्राप्त इतिहास अनुसार, राजा महिन्द्र मल्ललाई नेपालभाषाको पहिलो कवि मान्न सकिन्छ, जसले ईश्वर पुकार्दै दुई कविता लेखेका थिए– ‘कपटि मायान क्येन्या हे रामा’ र ‘मेव मदु जित छि शरण’ । कान्तिपुरका राजा महिन्द्र मल्लको शासनकाल हो– नेपाल संवत् ६८०–६९४ । भनिन्छ– महिन्द्रपछि उपत्यकाका राजपरिवारमा कविता लेख्ने लहरै चल्यो । नेपालभाषामा कविता लेख्ने राजाहरूको सूची बनाऊँ– जगतज्योति मल्ल, सिद्धिनरसिंह मल्ल, प्रताप मल्ल, श्रीनिवास मल्ल, जगतप्रकाश मल्ल र जयप्रकाश मल्ल । तिनका कविताका विषय हुन्थे– देवगान, आराधना र अध्यात्म ! केही कवितामा प्रेमका विषय पनि समावेश हुन्थे । ती मल्ल राजासँगै केही रानीले पनि कविता लेखे, जस्तो ऋद्धिलक्ष्मी, भुवनलक्ष्मी, वृद्धिलक्ष्मी । शाहकाल सुरु भएयता नेपालभाषामा कविता लेख्ने लहर जनतासम्मै पुग्यो ।

राजाबाट जनतासम्म पुगेको नेपालभाषाको कविता देवदेवी–गुनगानमै सीमित थियो । पछि नेपालभाषा–साहित्यको एउटा मौलिक विधा सुरु भयो– बाखं–म्ये अर्थात् गीतिकथा, जहाँ लय हालेर गीत गाउँदै कथा सुनाइन्थ्यो । गीतका विषय हुन्थे, उबेलाको सामाजिक जीवन र राज्यव्यवस्था । ‘सितलामाजु’ र ‘जि वया ला लछि मदुनि’ जस्ता लोकगीतको ख्याति अहिलेसम्मै उचाइमै छ । ‘सितलामाजु’ ले राजा रणबहादुर शाहको समयको श्यामश्वेत इतिहास कहन्छ । त्यो गीतको कथाले भन्छ– बिफर लागेका नानीहरूलाई रणबहादुरले नेपालमण्डल कटाएका थिए । र, ‘जि वया ला लछि मदुनि’ मा नयाँ दुलही छाडेर व्यापार गर्न भोट हिँडेको युवकको कथा छ । बौद्ध भजन लेखन परम्परा राजा राजेन्द्र विक्रमको पालामा सुरु भयो । त्यो परम्पराका कविहरू हुन्– बौद्ध पण्डित सुन्दरानन्द, स्वामी अभयानन्द, विजयानन्द, अमृतानन्द, मक्षध्वज र विश्वहर्ष । नेपालभाषामा त्यहीबेला लेखिए– रोपाइँका गीत, हास्यव्यंग्यका गीत र कैयौं मुक्तक (४०० वर्ष लामो नेपालाभाषा कविता यात्रा– कार्यपत्र २०७६, राजेन मानन्धर ) ।

शाह खलकका केही राजाले पनि त्यसबेला नेपालभाषामा कविता लेखे । राणाकालको उदयपछि भने शासक र साहित्यको सम्बन्धमा पूर्णविरामै लाग्यो । इतिहासकारका अनुसार, राणाकालमा नेपालभाषामा लेख्नु/पढ्नु नै देशद्रोहको विषय बन्यो । तर, विश्वास नलाग्न सक्छ– यो त्यही समय हो, जतिबेला नेपालभाषाको साहित्यमा ऐतिहासिक विकास भयो, जसलाई लेखक राजेन मानन्धरले ‘अद्भुत’ भनेका छन् । त्यतिबेला नेपालभाषामा लेख्ने लहरै सुरु भयो । यो त्यही समय हो, जतिबेला नेवार समुदायका शिक्षित वर्गमा मातृभाषाप्रतिको पुनर्जागरण पनि सुरु भयो । यसबीच नेपालभाषाका लेखकहरूले सर्वस्व हरणदेखि जन्म कैदसम्मका सजाय पनि भोगे । जस्तो विसं १९९५ मा फत्तेबहादुर सिंहको सम्पादनमा प्रकाशित ‘नेपाली विहार’ कविता–संग्रहमा कवि सिद्धिचरण श्रेष्ठका तीनवटा नेपालभाषाका कविता छापियो– ‘राष्ट्रिय गान’, ‘वर्षा’ र ‘गंगुखुसी । ‘वर्षा’ कवितामा ‘क्रान्तिबिना थन दैमखु स्वच्छ शान्ति’ अर्थात् ‘क्रान्तिबिना यहाँ हुँदैन स्वच्छ शान्ति’ भन्ने पंक्ति थियो । यस पंक्तिमा मुखरित सिद्धिचरणको क्रान्तिचेतकै कारण उनी लामो समय जेल परे ।

वनस्पतिविद् तथा नेपालभाषा अध्येता तीर्थबहादुर श्रेष्ठ सम्झिन्छन्, ‘कवि सिद्धिचरणको त्यो कविता मलाई मनपर्छ, त्यो कालो समयमा पनि कति निर्भीक भएर लेखे उनले । तर, अझै नेपालभाषाको कविता मूलधारमा छैन । नेपालभाषाका कविता मूलधारमा नआउनुको एउटा कारण हो– नेवारले नै घरमा नेवारी बोल्न छोडे, त्यो भाषै प्रयोगमा नआएर यस्तो भएको हो । जुन विषय प्रयोगमा आयो त्यसको विकास हुन्छ, जुन प्रयोगमा आएन, त्यो लोप हुन्छ ।’

नेपालभाषाले भोग्नुपरेको उत्पीडनकै कारण मूलधारमा आइपुग्न सुस्त भएको मान्ने हो भने पनि उत्पीडनकै कालखण्डमा नेपालभाषाका कवितामा नयाँ–नयाँ प्रयोग भएका छन् । राणाकालको अन्त्यसँगै देशमा प्रजातन्त्र आएपछि नेपालभाषा साहित्यमा पनि त्यसको सकारात्मक असर पर्‍यो । अब नेपालभाषाका कवितामा सामाजिक व्यवस्था, क्रान्ति र भाषा प्रेमका विषयले प्रवेश पाए ।

नेपालभाषाको व्यापकताको सन्दर्भ जोडौं । भानुभक्तको रचनाकालअघि नै सन् १८०२ मा नेपाल आएका थिए– इतिहासकार फ्रान्सिस ह्यामिल्टन । उनले यहाँका रैथाने बिरुवाहरू संकलन गरेर आफ्नो देश बेलायत पुर्‍याए, जसमा सैयौं बिरुवाको नाम नेपालभाषामा छ । तीर्थबहादुर भन्छन्, ‘नेवारभाषाका आधारमा ती बिरुवाको वैज्ञानिक नाम दिइयो, अहिले ती बिरुवा छन्, नाम छैन । बिरुवा लोप हुनुभन्दा पहिले भाषा लोप भयो । एउटा उदाहरण हेरौं– लोक्ताको बिरुवालाई नेवारीमा ‘भोलु स्वाँ’ भनिन्छ । ह्यामिल्टनले नाम राखे– दाथेना भोलुवा । ह्यामिल्टनले थानकोट र चित्लाङका जुन क्षेत्रमा त्यो बिरुवा संकलन गरे, त्यहीँ पुगेर मैले ‘भोलु स्वाँ’ देखाइदेऊ भने, तर स्थानीय जनताहरू कसैले पनि ‘भोलु स्वाँ’ देखाउन/चिनाउन सकेनन् ।’

तीर्थबहादुरको अर्को चिन्ता छ, जुन जायज छ र कविहरूले त्यसमा चिन्तन गर्नुपर्नेछ । उनी भन्छन्, ‘कवितामा धेरै फूलका नाम र प्रकृतिलाई जोडिएको छ, तर नेवार नामहरू जोडिएको छैन । कविता लेखिएको छ, तर नेवार स्थान र स्थानगत नामलाई कवितामा प्रयोग गर्न सकिएको छैन ।’

पञ्चायतकालले ‘एक भाषा’ नीति लिएपछि त्यसको सिधा नकारात्मक असर नेपालभाषा साहित्यमा पर्‍यो । राजाको एकल शासनको समय थियो त्यो । तर, दमनका ती दिनहरूमा पनि साहित्य लेखन टुटेन, भलै केही शिथिलता देखियो । त्यही शिथिलताबीच पनि अनेकन उपलब्धि देखिए । साहित्यिक आन्दोलन पनि चले त्यो समय । पछि बहुदल आयो, पञ्चायत ढलेर । यो त झन् गणतन्त्रको युग । यो सबै इतिहासको पृष्ठभूमि सारमा बुझ्नु आवश्यक छ, नेपालभाषा साहित्य बुझ्न ।

...

नेपालभाषाको कवितालाई आधुनिक धारको छनकसहित अघि बढाउने जस जान्छ– ख्यानाम कविहरू सिद्धिदास अमात्य, योगवीर कंसाकार, वैकुण्ठप्रसाद लाकौल, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, चित्तधर हृदय, चित्तरञ्जन नेपालीहरूलाई । नेपालभाषा कविता–चर्चामा कवि दुर्गालाल श्रेष्ठको नाम कसरी छुट्न सक्छ ? उनको एउटा बेजोड कृति छ, ‘लिसं’, जसको अर्थ हुन्छ– ‘जोड्ने’ । दुर्गालालको त्यो कृतिले नेपालभाषा साहित्यमा कविता लेख्ने पुरानो शैली र त्यसपछि विकास भएको शैलीलाई जोड्छ । दुर्गालालसँगै आउँछन् नारायणदेवी श्रेष्ठ, नातिवज्र आदि । त्यसपछि देखापर्छन्– कविहरू पूर्ण वैद्य, योगेन्द्र प्रधान, डा. आनन्द जोशी, गिरिजाप्रसाद जोशी, बुद्ध सायमी, भूषणप्रसाद श्रेष्ठ, श्यामसुन्दर सैंजु, सुन्दर मधिकर्मी, नर्मदेश्वर प्रधान, डा. केशवमान शाक्य, भगतदास श्रेष्ठ, प्रतिसरा सायमी, पुष्परत्न तुलाधर, सुदन खुसः, नवीन चित्रकार, सुरेश किरण, रजनी मिला, राजेन्द्रकुमार पुता आदि ।

एक्लै भररात मैनबत्ती

रत्तिभर चित्त नदुखाइ,

आफूलाई रित्याउँछ

भोलि बिहान हुन नभ्याउँदै उज्यालो

कत्ति हतार हतार

मेरो कोठाभित्रसम्म चहार्न पुग्छ

तर...सकिसकेको मैनबत्तीमुन्तिर

शहीदका रगतझैं

त्यहाँ शान्त एक–दुई थोपा मैन शैष रहन्छन् !

– (‘एकाबिहान’ शीर्षकको नेपालभाषाबाट नेपालीमा अनूदित पूर्ण वैद्यको एक कवितांश, ‘नेवारी भाषाका केही आधुनिक कविता’ बाट)

पूर्ण वैद्य वास्तवमै बेजोड कवि हुन्, जसले नेपालभाषामा शैली र विचार दुवै दृष्टिले आधुनिकतावाद सुरु गरे भनिन्छ । त्यसपछि गद्यशैलीमा उच्चकोटीका कविता लेख्ने क्रम सुरु भयो । हो यही समय हो, जतिबेला नेपालभाषाका कविताले नेपाली भाषाको मूलधारको साहित्यलाई टक्कर दिएको थियो । अनि यो त्यही समय हो, जतिबेला नेपाली भाषामा भूपि शेरचनको भयंकर वर्चस्व चलिरहेको थियो ।

इतिहासको यो सारलाई यहीं रोकेर फेरि यही प्रश्न– अहिले तत्काल कहाँनिर छ नेपालभाषा साहित्यको कविता विधा ? युवा पुस्ता कहाँ छन् ? के तिनले लेखिरहेकै छन् ? के नेपालभाषाको कवि–स्कुलमा उल्लास छ ? यी प्रश्नमाथि मन्थन गर्दा एक–दुई कविको नाम सुरुमै आउँछ– सुरेश किरण, रजनी मिला, राजेन्द्रकुमार पुता । ‘लेख्ने क्रम त अगाडि बढिरहेकै छ, सायद केही न केही रोकिएको भान हुन्छ,’ सुरेश भन्छन् । हो लेखन जारी छ, टुटेको छैन, तर ‘केही नपुगेको’ आभास हुन्छ तिनै कविहरूलाई नै । यसबीच अहिलेका आधुनिक समयका नेपालभाषाका कविले चाहिँदो चर्चा पाएका छैनन् कि ? यो सवाल पनि जरुरी छ । ‘होइन, केही न केही त भइरहेकै छ,’ नेपालभाषा साहित्यमाथि नजिक रहेर अध्ययन गरिरहेका रमेशकाजी स्थापित भन्छन्, ‘तर, सबैथोक राम्रो पनि भइरहेको छैन । अध्ययन, मिहिनेतकै कमी छ कि ? एउटा लहर त चलिरहेकै छ– केही सिक्ने, सिकाउने ।’ त्यसैले आस गर्न सकिन्छ– यो नयाँ जुनुन हो, नेपालभाषामा कविताको– ‘पुनर्जागरण’ ।

रजनी मिला र उनका केही साथीहरूले एउटा संस्था चलाएका छन्– ‘कविताया लायकु ।’ यसको अर्थ हो, कविताको दरबार । संस्था–प्रमुख छिन्, डा. ज्योतिप्रभा तुलाधर । ‘कविताया लायकु’ को उद्देश्य हो– कविता लेख्ने महिला साहित्यकारलाई प्रोत्साहन गर्ने । कवितामा हुन्छ के ? त्यो सिकाउने ।

‘साहित्यमा कलम चलाउने हो भने यसबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान त चाहिन्छ नै,’ स्थापित भन्छन्, ‘पछिल्लो समय समग्रमै नेपालभाषा साहित्य शिथिल हुनुमा यसलाई मातृभाषाका रूपमा बोल्ने विद्यार्थीले विद्यालयमा सोही भाषामा अध्ययन गर्न नपाउनु हो । जति बेलासम्म मातृभाषामा पढ्ने अवसर बन्दैन, यस्ता समस्या आइरहन्छन् । नेपालभाषाको कवितामा अहिले जे भइरहेको छ, त्यो राम्रै हो । अहिले मातृभाषामा पढ्न पाउने अवसर पनि बन्दै छ, त्यसैले भविष्यप्रति आशावादी पनि हुनुपर्छ ।’

नेपालभाषाको काव्य विश्वसामु चिनाउने उद्देश्य थियो– ‘लिजः नेपालभाषा कविता दबू’ नामक संस्थाको, अहिले सुस्त अवस्थामा छ । काव्ययात्राको शृङ्खला अघि बढाउन त्रिरत्न शाक्य, श्रीराम श्रेष्ठ, नारद वज्राचार्य, शाक्य सुरेन, सौरभ शाक्य, सुधीर ख्वबि, इश्वरीमंया श्रेष्ठ, स्नेह सायमी, आर. मानन्धर, राशा आदि पाका पुस्ताले पनि लेखिरहेकै छन् ।

सुरेश किरणको पुस्तापछि अहिलेको नयाँ पुस्ताका नेपालभाषाका जुझारु कवि हुन्– अर्जुन नेपाःमि, रामेश्वर मिश्रण श्रेष्ठ, नवीन प्रकाश श्रेष्ठ, दिलीप शाही, रश्मि नापित, रामेश्वर जलन, अगिब बनेपाली, प्रदीपरत्न शाक्य, सुनील वज्राचार्य, नरेश अमात्य, रीता महर्जन, बद्री वेदना, तुयू पुं, दया खड्गी बेचैन, पुष्प मुनंकःमि, विमल ताम्राकार, कुन्दनप्रसाद श्रेष्ठहरू । यीमध्ये केही कविको कवितासंग्रह छापिइसकेको छ, केहीको छापिनेवाला छ । नयाँ छिमलका यी कविहरूको अभिव्यक्ति पनि असरदार छन् । हेरौं रामेश्वर मिश्रण श्रेष्ठको एक पंक्तिको नेपाली अनुवाद –

आजकाल अक्सर म

चियाको साटो

कविता पिइरहेको छु

भातको साटो

कविता चपाइरहेको छु ।

कवि दिलीप शाहीको वर्तमान अवस्थाप्रतिको आक्रोश पढौं–

अहो, हिजो जुन घरमा

तिमीलाई लुकाएर राखेको थिएँ

आज त्यही घर भत्काउन

तिमी डोजर लिएर आउँदै छौ ।

समकालीन समयमाथि कवि नवीन प्रकाश श्रेष्ठ लेख्छन्–

सुक्दै गइरहेको छ बागमतीमा पवित्र पानी

बिलाउँदै गइरहेको छ आकाशमा शीतल हावा

हराउँदै गइरहेको छ मन्दिरमा शक्तिशाली देवता

बिलाएका छन् मुटुमै माया र प्रेम

सबैभन्दा डरलाग्दो त

मर्दै गइरहेको छ दूध चुसाउने आमाहरूको मन ।

कवि रश्मि नापितको प्रेमको एक अभिव्यक्ति यस्तो छ–

बिन्ती, मभित्रको मुटु झिक नभन्नु तिमी

हाँ मेरो सास रहुञ्जेल

तिम्रै मायाको कुवा भरिइरहनेछ

जहाँ तिमीले तिम्रो आफ्नै दृष्टिकोणबाट

एक दिन मलाई देख्ने प्यास

सधैं जीवित रहिरहनेछ !

एउटा रोचक दृश्य के छ भने नेपाली भाषाका केही स्थापित कविहरू यतिबेला कविता उल्था गरेरै भए पनि नेपालभाषाका कविता–डबलीहरूमा झुल्किन थालेका छन् । कविहरू अभय श्रेष्ठ, रामगोपाल आशुतोष, रमी प्रियाहरू यो लहरमा छन् । कवि वासुदेव अधिकारीले ४ वर्ष पहिल्यै आफ्नो कविता–किताब नेपालभाषामा अनुवाद गराईवरि प्रकाशन पनि गरे । नेपाली भाषाका कवि विप्लव प्रतीक नेपालभाषामा पनि कविता/गीत लेख्छन् । नेपालभाषामा लेखिएको प्रतीकको गीतको एक अंश नेपाली अनुवाद यस्तो छ–

आज तिमीसँग भेट गर्ने दिन, तिम्रो मुहार हेर्ने दिन

तर, र्ह्वारर्ह्वार पानी पर्‍यो भने प्रिय म कसरी आउँ

छाता पनि प्वाल परेको छ, भन न म कसरी आउँ ?

नागबहाल घरमा आएको छु, आउने बाटो याद छ

तर, तिमीकहाँ पुगेपछि फर्किने बाटो बिर्सिएँ भने म के गरुँ ?

तिमीकहाँ पुग्नासाथ संसारै बिर्सिए म के गरूँ ?

छाता पनि प्वाल परेको छ, भन न म कसरी आऊँ ?

नेपालभाषाका केही कवि अहिले हाइकु सिर्जनामा अभियान नै चलाएर सक्रिय छन् । यसको नेतृत्व आधुनिक कवि डा. आनन्द जोशीले गरिरहेका छन् । जोशीलाई सुरेश प्रधान, तुयु पुं जस्ता नवोदितले सघाइरहेका छन् ।

तर, यति हुँदाहुँदै पनि सवालको सिलसिला सिद्धिँदैन । नेपालभाषामै मात्र कविता लेखेर कतै युवा–पुस्ता यथोचित परिचय र चर्चाबाट टाढा त छैन ? रजनी मिला भन्छिन्, ‘होइन, त्यस्तो होइन । चर्चा अलिकति कम भएको पनि होला । तर, कविता चर्चाका लागि लेखिन्न, भलै केहीले यस्तो पनि गर्छन् होला । कविता आफ्नो सन्तुष्टि र जिम्मेवारीका लागि पनि लेखिन्छ । हाम्रो आफ्नै मौलिक भाषा, सभ्यता छ । यसलाई जीवन्त र गतिशील बनाउन पनि नेपालभाषाबाट कविता लेखिरहनुपर्छ ।’

रजनीको विचारमा नेपालभाषामै लेखेर ‘साँघुरिने’ भन्ने हुन्न । ‘कतिपय कविले मातृभाषामा लेखेर पनि ठूल्ठूला साहित्यिक पुरस्कार पाएका छन्’, मूल कुरा कविता आफैँमा राम्रो हुनुपर्‍यो,’ रजनी भन्छिन्, ‘मातृभाषामा लेख्दा जुन खुसी मिल्छ, त्यो अन्य भाषामा लेख्दा नमिल्न सक्छ । फेरि मूलधार भनिने नेपालीभाषाका कविमध्ये सबै कहाँ चर्चामा छन् र ? सबैले उत्तिकै चर्चा र परिचय पाउँछन् भन्ने हुन्न नै ।’ रजनीसँग सहमति छ, सुरेश किरणको । भन्छन्, ‘आफ्नो मातृभाषाबाट जसरी खुलेर मनको कुरा पोख्न पाइन्छ, त्यो अरू भाषाबाट सम्भव नहुन सक्छ । मातृभाषाबाट धेरैथोक भन्न सकिन्छ, त्यो पनि सटीक अर्थमा ।’ यसबीच एउटा कामचाहिँ बाँकी नै छ– अनुवाद । हुन त नेपालभाषा साहित्यको अनुवाद भएको पनि छ विशेषतः कविताको, त्यो पनि नेपाली भाषामा, तर त्यो सीमित छ । ‘कवितामा नेपालभाषा साहित्य धनी छ । यस भाषामा धेरै यस्ता कविता लेखिएका छन्, जसको अनुवाद नेपालीमा हुनु आवश्यक छ,’ रजनी मिला भन्छिन्, ‘नेपालभाषाका केही कविता लेखक स्वयंले पनि अनुवाद गरेका छन् । तर, यसको परिधि धेरै सानो छ ।’ उनी त्यही ‘कविताया लायकु’ बाट यसलाई विस्तृत र व्यवस्थित ढंगले अगाडि बढाउन चाहन्छिन् ।

अनुवादले अन्ततः नेपाली भाषालाई नै धनी बनाउने हो । पूर्ण वैद्यका केही कविता नेपालीमा अनुवाद भएर प्रकाशित भएका छन्, केही अनुवाद हुँदै छन् । रजनीको विचारमा, अनुवादले नेपालभाषाका धेरै कविलाई पर्याप्त चर्चा र परिचय दिलाउनेछ ।

नेपाली साहित्यमाथि योगदान दिने थुप्रै साहित्यकार छन्, जसको मातृभाषा नेपालभाषा हो, तर उनीहरूले दुवै भाषामा उत्तिकै लेखे । उदाहरणका लागि सिद्धिचरण र दुर्गालालको नामै काफी छ । सुरेश किरण भन्छन्, ‘नेपालभाषाका नयाँ र युवा पुस्ताले नेपाली भाषामा लेख्ने प्रयास गर्दा त्यो सुनमा सुगन्ध हुन्छ । एकभन्दा बढी भाषामा लेख्ने चलन हाम्रोमा मात्र होइन, अन्यत्र पनि छ । नेपालभाषा मातृभाषा हुनेले नेपालीमा कविता लेख्दा त्यसमा नेवारपन पाइन्छ, जसको मिठास दुर्लभ हुन्छ ।’

विजय मल्लले नेपालभाषामा पनि लेखे, नेपाली भाषामा पनि । उनको लेखनलाई नेपाली भाषाका लेखकसँग तुलना गरिन्थ्यो र कमजोरी निकालिन्थ्यो, समालोचकबाट । लेखक धुस्वां साय्मिमाथि केही चर्चा गर्नु यहाँ उपयुक्त ठहरिएला । धुस्वांले धेरै भाषामा लेखे । उनी नेपालभाषा र संस्कृतिको पृष्ठभूमिबाट नआएका भए पक्कै ‘गंकी’ लेखिने थिएन र नेपाली साहित्यमा त्यसको विशेष स्थान हुने थिएन ।

जुनै भाषामा लेखे पनि त्यस भाषामा पकड हुनु नै पहिलो सर्त हो । थोरै शब्दको जानकारीले साहित्यमा बामे सर्नै पनि मुस्किल हुन्छ । अर्को सर्त हो– मुलुकका जति भाषा छन्, तिनलाई सरकारले यथोचित सम्मान गर्नुपर्छ । साढे सात दशकअघिदेखि काव्यकर्ममा समर्पित र भाषा आन्दोलनमा अग्रणी भूमिका निभाएका कवि दुर्गालाल श्रेष्ठको विचारमा बहुजातीय–बहुभाषिक देशमा विभिन्न जनजातिका भाषाका साहित्य लेखन जसरी उहिले उत्पीडनमा थियो, अहिले पनि त्यसमा खासै परिर्वतन आएको छैन तर समकालीन साहित्यकारहरूको प्रयास भने स्तुत्य छ । दुर्गालाल भन्छन्, ‘जसरी नेपालभाषाका साहित्यकारहरू आफ्नो बलबुतामा आफ्नै भाषाका लागि मरिमेटिरहेका छन्, त्यो पहिलेभन्दा आसलाग्दो स्थितिमा चाहिँ छ । यद्यपि राज्यस्तरले समान व्यवहार गरेको छैन, तर उनीहरू आफ्नो भाषा सशक्त बनाउन लागिपरेका छन् । जसरी नेपालभाषाको कविता लेखनमा आसलाग्दो प्रगति भइरहेको छ, म सोच्छु, अन्य भाषामा पनि त्यो प्रगति भइरहेकै होला ।’

पपलाई पपुलर बनाउन महत्त्वपूर्ण भूमिका खेलेका गायक ओमविक्रम विष्टले गाएको पहिलो गीत थियो नेपालभाषामा गिरिजाप्रसाद जोशीले लेखेको– ‘हाइ हाइ रे थ्वँया बात्चा’ । गीतको अर्थ हुन्छ– ‘आहा, कत्ति मजाको जाँडको बटुको’ । ओमविक्रमको त्यही गीतको शब्द सापटी लिएर नेपालभाषाका कविताबारे भन्न सकिन्छ– ‘हाइ हाइ रे नेवाः कविता’ अर्थात् ‘आहा कत्ति राम्रो नेवाः कविता !’

प्रकाशित : फाल्गुन २६, २०८० १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?