१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

मेरो मृत्यु नित्य मसँगै हिँडिरहेछ

मदेखि मेरो मृत्युसम्मको दूरी अब एकदमै छोटो छ । आफ्नो उमेर वरिपरिका प्रिय मित्रहरू लगालग गएको देख्दा मलाई समयको अनन्त प्रवाहमा जीवन बिसाउने मेरो पालो अब धेरै टाढा छैनजस्तो लाग्छ ।
खगेन्द्र संग्रौला

कवि अस्मिता वादी वा राजु स्याङ्तानलाई मृत्युबारे केही लेख न भनी आग्रह किमार्थ गरिन्न । कारण यी तरुण कविको मृत्युसम्मको आयुको दूरी लामो छ । र, यिनको आयुको यो दीर्घ दूरीको गर्तमा नूतन सिर्जना र नवीन आविष्कारका थुप्रै सम्भावना छन् । विरल संयोगले पाइएको हो एकबारको यो जुनी ।

मेरो मृत्यु नित्य मसँगै हिँडिरहेछ

हुनुसम्म दुर्लभ यो जुनीमा आफ्नो अघिल्तिर त्यत्रोविधि जीवन र त्यतिका सम्भावना भएका कविलाई मृत्युबारे लेख भन्नु निःसन्देह धृष्टता मानिएला । र, सँगसँगै मानिएला त्यो मृत्यु–महिमाको धुष्टतायुक्त आग्रह र जीवनको उग्र उपेक्षा पनि । तर, ‘कोसेली’ संयोजक दीपक सापकोटाले मलाई बडो सहज ढंगले भने, ‘लौ न दाइ, नाईं नभनी मृत्यु–अनुभव वा मृत्यु–बोधबारे केही लेख ।’ उमेरका हिसाबले मदेखि मेरो मृत्युसम्मको समयको दूरी अब एकदमै छोटो छ । र, त्यही छोटो दूरी पनि छिट्छिटो छोटिइँदो छ । यस कुराको राम्ररी भेउ पाएर नै त दीपकले ढुक्कै भनेका हुनन्— लेख है बूढा, लेखिहाल । ‘चाबेलको चाउरे’ भोलि रहला–नरहला, मृत्युबारे यसलाई आजै किन केही नबकाऊँ ? चतुर सञ्चार सिकारीको अव्यक्त अभिप्रायः यस्तो पनि होला कि ? त्यसो त सुलसुलेको भेषमा मानिसको आयु नाप्दै हिँड्ने यी सिकारीलाई यस्ता मृत्युन्मुख वृद्धहरूबाट कत्ति बियाँलो नगरी मृत्युबारे अहिल्यै केही नलेखाए पछुतो मान्नु सिवाय पछि रहला नै के र भन्ने पनि त लाग्ला !

मेरोभन्दा पाँच–सात वर्ष बढी र पाँच–सात वर्ष कम उमेरका सेरोफेरोका मेरा परिचित र प्रियजनहरू भुतुभुतु मरिरहेका छन् । अलि वर्षअघि उमेरले मेरा अग्रज मित्र राजेन्द्र सुवेदी बिते । अनि बिते मेरा अग्रज मित्रद्वय डा. मथुराप्रसाद श्रेष्ठ र डीपी भण्डारी पनि । अनि मेरा अनुज मित्र प्रदीप गिरि बिते । अनि बिते मेरा अनुज मित्र स्वनाम साथी पनि । मेरा यी प्रिय मित्रहरूको मृत्युसँगै मेरो वरिपरि सघन रिक्तता छायो । र, प्रिय मित्रहरू नहुँदाको त्यो न्यास्रोलाग्दो रिक्तताले लपेटेर तीसँगै म पनि केही अंश मरेँ । आफ्नो उमेर वरिपरिका प्रिय मित्रहरू लगालग बितेका देख्दा मलाई समयको अनन्त प्रवाहमा जीवन बिसाउने मेरो पालो अब धेरै टाढा छैनजस्तो लाग्छ । दीपकले सायद मेरो यो मृत्युन्मुख भनोभावको अड्कल काटेरै मलाई मृत्यु–अनुभव वा मृत्युबोध लेख्न कर गरेका हुनन् ।


कल्पेर र भोगेर जानेको मेरो अनुभव भन्छ— जीवन र मृत्यु खासमा जुम्ल्याहा सहयात्री हुन् । ममतामयी आमाको गर्भथैलीमा नयाँ जीवनको गर्भ रहँदा भ्रूणरूपी त्यो जीवनको छेवैमा मृत्युको पनि गर्भधारण हुन्छ । र, यी दुई जुम्ल्याहा यात्री अर्थात् जीवन र मृत्यु आमाको गर्भदेखि मसानघाटसम्म पलप्रतिपल नित्य सहयात्रा गर्छन् । यी जुम्ल्याहा तत्त्वको दीर्घ सहयात्रामा मूर्त्त जीवन देखिन्छ, अमूर्त्त मृत्यु देखिँदैन । तर, जीवन हिँड्दा र बस्दा, लड्दा र उठ्दा, जाग्दा र निदाउँदा, हाँस्दा र रुँदा मृत्यु जीवनबाट जीवनलाई हरण गर्न जीवनको छेवैमा खुबै चनाखो भई जासुस शैलीमा सुमुसुमु हिँडिरहन्छ । बैरागी काइँलाले एक कवितांशमा ‘आज मृत्यु मेरो छेवै भएर गयो’ भनेजस्तो केही लेखेका छन् । बैरागी दाइको कथनमा म सानो संशोधन गर्छु— ‘मेरो मृत्यु नित्य–निरन्तर मेरो छेवै भएर मसँगै हिँडिरहेछ ।’

जीवनको एकै पलमा झ्याप्पै थोक मृत्यु हुँदैन । मृत्यु खासमा किस्ता–किस्ता गरी हुन्छ । मानिसको अन्तिम मृत्यु त जीवन किस्ता–किस्ता गरी मरेर बाँकी रहेको शेषांशको अन्तिम अवसान न हो । जीवनमा नित्य भैपरि आउने जोखिम, संकट, संक्रमण, आक्रमण, ध्वाँस र दुर्घटनाका एकएक घटनामा जीवनको एक–एक किस्ता मर्छ । र, प्रियजनहरूको मृत्युमा पनि जीवितजनका जीवनको एकएक किस्ता शेष हुन्छ । कुनै अनपेक्षित भयकारी घटनाबाट तर्सिंदै ‘अहो ! आज म धन्न बाँचे ! ’ भन्नु वास्तवमा आज म एक किस्ता मरें भन्नु हो । तर, मृृत्यु अतिशय अरुचिकर र अप्रीतिकर लाग्ने हुँदा मानिस सित्तिमिति यस्तो स्वीकारोक्ति गर्दैन । बरु ‘म धन्न बाँचें भनेजस्ता कथन कथेर जीवनको प्रगाढ मोहमै मानिस रमाउँछ ।


मैले स्यानी बहिनी मर्दा पहिलोचोटि मानिसको मृत्यु प्रत्यक्ष देखें । मेरो किशोरवयमा अतिशय अप्रिय यो घटना घटित भयो पन्ध्र सालको पहिलो आम निर्वाचनको उत्सवी दिनमा । म बाह्र वर्षको थिएँ, बहिनी नौ महिनाकी थिई । मेरी बहिनी थिई मेरी आमाका दसमध्येकी कान्छी सन्तान । घरका लाठेजति कतै भोट हाल्न गएका थिए । घरमा थियौं आमा, म, अलि ठूला भाइ–बहिनी र त्यही काखकी स्यानी बहिनी । पशु, पन्छी वा मानिस जेसुकैको होस्, शिशु यसै पनि सुन्दर हुन्छ । शिशुको बिछट्टको सुन्दरता उसको कलकलाउँदो रूपाकृति र उसको निश्छल स्वभावको योगबाट निःसृत हुन्छ । मेरी कलिली बहिनी खास्सा सुन्दर थिई । हेर्दाहेर्दै त्यस्ती बहिनीको सास बढ्यो । उसको छाती घ्यारघ्यार भयो । उसका ट्वाल्ल आँखा धमिला हुँदै गए । र, हामीले अपलक हेर्दाहेर्दै ऊ फुस्स मरी । दाइहरूका पछि लागेर घर पछाडिको वनसम्म म पनि मलामी गएँ । त्यति सुन्दर बहिनीलाई खाल्डोमा पुर्दा मलाई त्यसैत्यसै निसास लागेर आयो । र, हदै अत्यासलाग्दो त्यो घडीमा म जीवनको एक किस्ता मरें ।

त्यसैताक त हो, गोगुनका पाकेका झुप्पा टिप्न रूखमा चढ्दा हाँगो भाँच्चिएर पाहाझैं भुईंमा पछारिएँ म । टाउको ढुंगामा बज्रिएको भए म थलैमा डल्लै मर्थें । सुखद् संयोगवश, डल्लैचाहिँ म मरिनँ । तर, रूखबाट खसेर सातो जाँदा एक किस्ता भने म पक्कै मरें । त्यसैताक भेडा–बाख्रा चराउन वनमा जाँदा चितुवाले मेरो छेवैबाट छताउरो घिसार्‍यो । के गरुँ, कसो गरुँ भनी आत्तिएको क्षणमा बालगोठालाको कर्तव्यपालन गर्दै पुच्छर समातेर छताउरालाई मैले बेस्मारी तानें । अनि रनवनै थर्किने गरी म चिच्याउँदा छताउरो छाडेर चितुवा भाग्यो । पछि चितुवाले मलाई कसो घिसारेनछ भनी गम खाँदा डरले म अर्को एक किस्ता मरें । किस्ताबन्दी मृत्युका यस्ता घटना त मेरो जीवनमा कति घटे कति !

एकाउन्न सालको राष्ट्रव्यापी चुनावकालको कुरा हो यो । पान्थर र ताप्लेजुङको चुनावी सुपरिवेक्षणको मेसो मिलाएर गृहनगर काठमाडौं फर्किंदै थिएँ म । मलेखुदेखि अलि यता म चढेको थोत्रो बसले गति छाड्यो । दिग्भ्रमित बस त सडकैसडक गुड्न छाडेर डिलतिर पो घिसारियो । एक कोल्टाका दुवै पाङ्ग्रा आधा डिलमुनि, आधा डिलमाथि भएर धराप हालतमा अडियो बस । बसको ढोका डिलमुनिपट्टि थियो । अनि तल्तिर थियो, नाक ठोक्किने ठाडो पाखो । उँधोतिर लच्किएको बस कुन बेला उँधो मुन्टिने हो, केही ठेगान थिएन । ज्यान हत्केलामा राखेर तल पाखामा ओर्लेर हातपाउ टेकेर बल्लतल्ल माथि सडकमा उक्लिएँ म । अनि पो डरले मेरो जीउ थर्थरी काम्यो । ज्यान बालबाल बचेको त्यो डरमर्नु दुर्घटनामा म अर्को एक किस्ता मरें ।


निरंकुश सत्ताले स्वतन्त्रताका उन्मुक्त सपना देख्ने बागी नागरिकलाई ९७ सालमा झैं सधैं पुक्लुक्क मार्दैन, किस्ताकिस्ता गरी मार्छ । यो छुसी सत्ताले मलाई कतिकति पटक मार्‍यो । ऊबेला त्रिचन्द्रको विद्यार्थी थिएँ म । उत्तरी चेकपोस्ट भारतीय सेनाको कब्जामा थियो । हामी वाम विद्यार्थीले सडकमा उत्रेर कब्जाकारी मुर्दावादको नारा घन्कायौं । शाही पुलिसले मलाई कुट्दै पक्रियो र कुट्दै हनुमानढोका खोरमा पुर्‍यायो । अनि बोरामा हालेर बोराको मुख बाँधेर सारा जीउ थिलथिलो हुने गरी मलाई कुट्यो । र, सत्ताले यसरी मलाई एक किस्ता मार्‍यो ।

तीस सालमा कीर्तिपुर डाँडामा एकवर्षे बीएड पढ्दै थिएँ म । राजधानीमा अन्धकार रातमा निरंकुश शाहीतन्त्रलाई ताकेर भर्त्सनाको आगो ओकल्ने एउटा पर्चा छरियो । पर्चाको झर्रो भाषा मेरो हो कि भनी शाही सत्ताले शंका गर्‍यो । यद्यपि त्यो पर्चा छर्ने शूरवीर म थिइनँ । तैपनि मेरो भाषाको शक्ति उन्मत्त सत्ताको कोपभाजनको कारक बन्यो । र, मलाई फत्रेर अञ्चलाधीश अफिसमा ठिंगे लगाइयो । अञ्चलाधीश थिए, सूर्यप्रसाद श्रेष्ठ । ध्वाँसको भाकामा दैनिक हाजिरीको तारिख दिएर भद्र मनुष्य मानिने सूर्यसाहेपले मेरो हुर्मत लिए । एकाध हप्तापछि पर्चा छरुवा तन्नेरी शूरवीरहरू पक्राउ परे । अनि चरम् यातनाले गलेर ढल्दै तिनले साबिती बयान दिए । र, तारिखको झ्याउलोबाट मैले छुटकारा पाएँ । निरंकुश सत्ताको त्यो पक्राउ, तारिख र ध्वाँसको तनावकारी ताडनामा परी म अर्को एक किस्ता मारिएँ ।

उनन्चालीस सालमा चितवनमा मास्टरी गर्दै थिएँ म । जिल्लामा रामकृष्ण पन्त भन्ने सीडीयो आए । ती पन्तले सिन्धुलीको भिमादमा वाम जोदाहा ऋषि देवकोटा ‘आजाद’ लाई भर्खरै मारेर आएका थिए । तिनले ‘विष्णुका वैरीलाई म मार्छु’ भनी मलाई हाक्काहाकी ध्वाँस दिए । दर्जा छ शाही सीडीओको, हातमा लतपतिएको छ वागी नागरिकको आलो रगत । तिनलाई श्रीपेचधारी प्रभुबाट शक्तिको भक्ति नगर्ने नागरिकको हत्या गर्न सक्ने हुकुम बक्स भएको छ । जिब्रामा झुन्डिएको छ अत्याचारी राजाको नाम, हातमा बोकेको छ ज्यानमारा बन्दुक । बजरियाले मारिहाल्ने पो हो कि ! मलाई डरडर लाग्यो । र, अन्धकारको आवरणमा लुकेर उन्मत्त जल्लादका आँखा छल्दै ठोकें मैले कुलेलम, काठमाडौंतिर । यसरी सत्ताको निर्मम आखेरटमा परी अर्को एक किस्ता मारिएँ म ।

बाउन्न साल फागुन १ गते आयो र विद्रोही माओवादीले शाही सत्तालाई ढाल्ने मनसुवाले बन्दुक पड्कायो । छयालीस सालपछिको खुला परिवेशमा निरंकुश शाह खलकका कुख्यात कर्तुतहरूलाई निसाना बनाएर मैले शब्दवाणको घनघोर वर्षा गरेको थिएँ । धमिलो पानीमा माछा मार्ने कुटिल दाउले होला सायद, शाही दरबारले छापामार शैलीमा मलाई पक्य्रो । र, मलाई महाराजगन्जको सशस्त्र प्रहरीको खोरमा लगेर थुन्यो । ठाउँ छ वनछेउको डरलाग्दो एकलास, बाहिरी संसारसँग मेरो फिटिक्कै सम्पर्क छैन । जाडोयाम, न खान्की गतिलो छ, न ओड्ने–ओछ्याउने गतिला छन् । सुची गर्न जब म बाहिर निस्कन्छु, बन्दुके जबानहरू घिच्रा तन्काएर मलाई हेर्दै ‘आतंककारीलाई मार, मारिहाल’ झन्छन् । त्रूर सत्ताले यसपालाचाहिँ मारेरै छाड्ने पो हो

कि ! सशंकित हुँदै अन्तरसंवाद गर्छु म । तर, यसपाला पनि सत्ताले मलाई सिंगैचाहिँ मारेन । बाहिर मेरो पक्राउविरुद्ध चौतर्फी निन्दा र हल्लाखल्ला भएछ । त्यसैले अर्को एक किस्ता मारेर सत्ताले मलाई फुकुवा गर्‍यो ।


मेरो बाल्यकालमा गाउँमा बज्ने एकोहोरो शङ्ख कोही बाहुन–छेत्री मरेछ भनी खबर फिँजाउने कटवाल थियो । शङ्खको ‘टुँ...’ आवाज थियो, दूरसञ्चार प्रविधि हामीकहाँ आइपुग्नुअघि ‘कोही मर्‍यो है’ भनी जनाउ दिने आदिम उपाय । कोही लिम्बू मर्दा ड्याङ–ड्याङ बन्दुक पड्काउँदै मलामीको लर्को चिहानघारीतिर लम्किन्थ्यो । शङ्खको टुँ... मलाई शोकमय लाग्थ्यो, तर बन्दुकको ड्याङ–ड्याङ भने उत्सवमय लाग्थ्यो । शवको दाहसंस्कार गरी फर्केपछि बाहुन–क्षेत्री किरियापुत्री अलिना काँचा केरा खाँदै कोरामा घुस्रिन्थे । शव धरतीमुनि सेलाएर फर्केपछि लिम्बू मलामीहरूचाहिँ मस्ती मुद्रामा रक्सी र मासुभात खपाखप खान्थे । एउटा मृत्यु संस्कार बडो शोकमय थियो, अर्को मृत्यु संस्कार थियो, बडो उत्सवमय । सिकेर कहिल्यै नसकिने जीवनको पाठशालामा धेरै पछि बुझेँ, यी दुई पृथक् संस्कार मृत्युलाई बुझ्ने दुई पृथक् दृष्टिकोणका दृष्टान्त रहेछन् ।


गाउँमा कोही मर्दाको उदास क्षणमा मेरो मन त्यसैत्यसै खिन्न हुन्थ्यो– बरा फलानो मरेछ ! तर, कुनै दिन म आफू पनि मर्छु भन्ने मलाई कहिल्यै लागेन । म आफूचाहिँ मर्दिनँ भन्ने प्रकृति वा संस्कृति निर्मित यो मनोभाव घर्षणमय जीवन जिउने एउटा चुतर उपाय पो हो कि ! म पनि मर्छु भन्ने मनोभाव मनमा पलपल खेलिरहे मानिसले जीवनमा केही गर्दैन, मृत्युको भयले ऊ पलपल केवल मरि नै रहन्छ ।

अमरत्वको लालसा मानिसको नैसर्गिक इच्छा हो । अमरत्वको कामना वास्तवमा मानिसको अन्तिम मृत्युपछि जीवितहरूको स्मृतिमा जिइरहने कामना हो । मानिस आफ्ना सन्ततिको अनुहारमा आफ्नो प्रतिरूप देखेर मक्ख पर्छ । त्यो मक्ख पर्नुमा अमरत्वको उत्कण्ठा छ । मानिस तर्कना गर्छ— अहिले जगत्मा म छु, दैहिक अस्तित्वका साथ जगत्मा म नरहँदा पनि मेरो यो प्रतिरूपमा म अवश्य यतै रहने छु । हो, मानिसको यो आत्ममोहमय मनोविज्ञानमा खसोखास अमरत्वको लालसा छ ।

असलमा जगत्मा जन्मिने हरेक व्यक्ति अमर हुन्छ । दैहिक अवसानपछि आफ्ना सन्तान र प्रियजनको श्रद्धामय स्मृतिमा हरेक मानिस बाँचिरहन्छ । त्यसो त मानिस आफ्ना कर्म र कृतिले अरू मानिसका स्मृतिग्रन्थीमा पार्ने छापमा पनि बाँचिरहन्छ । कर्म र कृतिद्वारा प्राप्त हुने अमरत्वको आयु कसैको लामो हुन्छ, कसैको छोटो हुन्छ । मानव–स्मृतिमा शेक्सपियरको आयु धेरै लामो छ, मेरो आयु धेरै छोटो हुनेछ ।


मानिसको जीजीविषा अतिशय ज्याद्रो हुन्छ । वृद्धावस्थाको देह जर्जर भई अन्तिम मृत्युको मुखैनेर पुग्दा पनि मानिसको जिइरहने रहर जब्बर हुन्छ । सायद मृत्युको भयले यो रहरलाई झनै जब्बर तुल्याउँछ । मृत्युको मुखैनेर पुगेको जर्जर वृद्धका प्रियजनहरू मोहवश ऊ नमरिदिए हुन्थ्यो भनी मुखर कामना गर्छन् । कसैगरी नउठ्ने गरी ढलेर गलेका वृद्धको जिउने रहर र ऊ नमरिदिए हुन्थ्यो भन्ने प्रियजनको कामना यी दुवै वृथा हुन् । बाँच्नुजति पूरै सकिएर जसको नियतिमा अब मर्नु मात्रै बाँकी छ, मानिसको अन्धविश्वासमा बास बस्ने अलौकिक भगवान् वा लौकिक विज्ञानको उपचारविधि केहीले पनि अब उसको आयु तन्काउन सक्दैन । जे सकियो, त्यो त अब सकियो नै !


जो पूर्वजन्म र पुनर्जन्म एवम् छैटीमा भावीले ललाटमा भाग्य लेखिदिने अन्धविश्वासमा विश्वास गर्छन्, यसबारे ती के सोच्दा हुन्, म जान्दिनँ । तर, मेरो विचारमा औसत आयु भोग गर्न नपाई बीचैमा मर्नु मानिसको मर्मान्तक दुःखान्त हो । जीवनको सुखदुःख भोग गर्नै नपाई शैशव वय, बाल वय, किशोर वय र युवा वयमा मर्नु पनि शब्दातीत दुःखान्त हो । अनि सत्कर्म, सिर्जना र आविष्कारमा आफ्नो प्रतिभा र साधनाको पूरा परीक्षण गर्नै नपाई औसत आयुको सीमारेखाभन्दा यतै कतै अध्बैंस वयमा मर्नु पनि कम दुःखान्त होइन । तर, औसत आयुको सीमारेखा नाघेर जो मर्छ, मलाई लाग्छ, उसको मृत्यु त शोकको होइन उत्सवको विषय हुनुपर्ने हो । सरदर आयुको सीमारेखाभित्र सबै मरण असामयिक हुन् । यो सीमा नाघेर जो जतिसकै वर्षमा मरोस््, उसको मरण नितान्त सामयिक हो । तर, यो कठोर सत्यलाई स्वीकार गर्न मानिस मरिगए मान्दैन । मानिस त सय वर्ष नाघेर हुने मृत्युलाई पनि असामयिक मृत्यु भनी गनगन गर्छ । होइन, कति वर्ष बाँच्दा बाँच्नुको रहर पुग्ने हो ? अनि कति वर्ष बाँच्दा जीवन पूरा बाँचेको मानिने हो ? अनि यो मान्यताको मानकको निरूपण गरिदिने कसले हो ? मेरो विचारमा यी सब व्यर्थका प्रश्न हुन् । उमेर घर्केर इन्द्रियहरू गतिल भई आफ्ना लागि र अरूका लागि जब जीवनको उपयोगिता शेष हुन्छ, त्यसपछि बाँच्नु सर्वथा व्यर्थ हो । हो, यहींनेर उठ्छ– इच्छामरणको प्रश्न । म त भन्छु— इच्छामरणको कानुनी व्यवस्था हुनु मानवीय एवम् कल्याणकारी कर्म हो ।

जसको अघिल्तिर अब केवल मृत्यु र मृत्यु मात्रै बाँकी छ, उसले स्वेच्छाले जराजीर्ण जीवन बिसाउनु उसका क्लेशकर सन्तापहरूको सुखद् अन्त्य हो । र, समयको कसैगरी नबाँच्ने कुइनेटोमा पुगेको मानिस स्वेच्छाले मर्नु मृत्युशय्याबाट नउठ्नेको स्याहर–सुसार गर्दागर्दा थकित प्रियजनहरूको पनि कल्याण हो । यस्ता वृद्ध, रोगी र अशक्त मानिस मर्दा अरूहरूले त भन्ने नै भए, मृतकका प्रियजनले समेत पनि ‘फलानाले दुखै लुकायो’ भन्छन् । प्रियजनको यो भनाइको भित्री पत्रमा मरिजानेसँगै मेरा दुःख पनि शेष भए भन्ने भाव लुकिबसेको हुन्छ । तर, लोकलाजका कारण कहिल्यै यसो भनिँदैन ।


एकबारको मनुष्य जुनीमा केही कुरा रोज्न पाइन्छ । जीवन साथी, आस्था, पेसा–व्यवसाय, दर्शन, राजनीति, सोख, लत, कुलत आदि रोज्न पाइन्छ । जन्मी हुर्केपछि त धर्म र देशैसमेत पनि रोज्न पाइन्छ । तर, जीवनमा केही कुरा छन्, जसलाई रोज्न किमार्थ पाइन्न । आमाबाबु रोज्न पाइन्न । जन्म हुने भूगोल, घराना, जात, वर्ग, वर्ण र लिंग रोज्न पाइन्न । त्यसो त मृत्युको प्रकृति र घडी पनि रोज्न पाइन्न । संयोगले पाइने यी सबै कुरा चुपचाप स्वीकार गर्न मानिस विवश छ । मेरा प्रिय मित्र डीपी भण्डारी घरिघरि भन्थे— भ्रष्टहरू किरा परेर मर्छन्, तर मचाहिँ मृगस्थलीमा प्रातः विचरण गर्दागर्दै हृदयाघातले मर्छु । दुर्भाग्यवश, भण्डारी सरको मरण चिताएजस्तो भएन । उनी विस्मरणको सिकार भए । र, निकै वर्ष जगत्, प्रियजन र स्वयम्लाई समेत बिर्सेर आखिरमा उनको सुखद् निधन भयो । रोज्न त मलाई पनि डीपी सरले चिताएकै जस्तो मृत्यु रोज्न मन लाग्छ । तर, दुर्भाग्यवश ! मेरो यो रोजाइ मेरै नियतिको वशमा छैन ।


मृत्युको मुख नजिक पुगेको वृद्ध मानिस नानाथरी रोगद्वारा सर्वाङ्ग थकित र गलित हुन्छ । शारीरिक र मानिसक तागत र सहनशक्ति, आँट र मनोबल सतचूर्ण भई कष्टकर मृत्युसामु ऊ बन्छ सर्वथा असहाय, निरूपाय र निस्तेज । दारुण दशाग्रस्त एवम् अतिशय दयनीय त्यो क्षणमा आस्तिक मानिसले त भ्रामक नै भए पनि आत्मसान्त्वनाको झिनो त्यान्द्रो समात्न पाउँदो हो । जराजीर्ण देह मर्छ, तर अजर–अमर आत्मा देहबाट अलग भई नयाँ देहको खोजीमा लाग्छ । यो अन्धविश्वासयुक्त विश्वास मर्दामर्दैको क्षणमा आस्तिक मानिसका लागि किञ्चित् सान्त्वना र आशाको निम्छरै भए पनि सहारा बन्दो हो । त्यसैले आस्तिक मानिसको मृत्यु अपेक्षाकृत कम पीडादायी र कम कोलाहलमय हुँदो हो । तर, म लख काट्छु– नास्तिकबाट गिरेर आस्तिकमा पतीत भई आफ्नै विश्वासप्रति घात गर्ने कम्निस्टको मृत्यु भने वर्णनातीत कष्टकर हुँदो हो । आज बिग्रेको कम्निस्टले हिजो आफू नास्तिक छँदा ईश्वर मिथ्या हो भनी गरेको अखण्ड निन्दा सुलसुले चित्रगुप्तको श्रेस्तामा लिपिबद्ध कसो नहोला ? ईश्वर भ्रम हो, पूर्वजन्म र पुनर्जन्म मिथ्या हुन् भनी विगतमा गरेको उपद्रो पैरवीको संस्कारगत छाप बिग्रेका कम्निस्टको मथिंगलमा किर्नोझैँ टाँसिएको कसो नहोला ? शरीर मरणशील छ, तर आत्मा अमर छ भन्ने विश्वासप्रति अतीतको सन्देहको शेषांश बिग्रेका कम्निस्टको मानसमा कसो नहोला ? ऊ जति नै गेरुबस्त्रमा सजियोस्, उसले ईश्वको जति नै भक्तिभजन गाओस्, स्वदेश र विदेशका मठमन्दिरमा दर्शन–कीर्तनमा ऊ जति नै लिप्त होस्, चित्रगुप्तले हिजोको रेकर्ड हेरेर बिग्रेको कम्निस्टलाई दण्डस्वरूप नरकयात्राको किटानी सिफरिस कसो नगर्ला ? पूर्व संस्कारको धङधङीबाट उत्पन्न अन्तर्द्वन्द्वको पीडा र नरकयात्रको दण्डको भयावह कल्पनाले बिग्रेका कम्निस्टको मृत्यु हँदै पीडाग्रस्त पो होला कि ? हल्का व्यङ्ग्य लबजमा भनुँ भने बिग्रेका कम्निस्टलाई उसका अवसरवादी र ढोंगी कर्महरूको यथोचित पुरस्कार पो हो कि मृत्युपछिको यो नरकयात्रा ? आजको ढोंगी गेरुवस्त्रधारी र हिजोको अभिनयकारी लाल जीवात् मृत्युको घडीमा र त्यसउप्रान्त आफ्ना अवसरवादी दुष्कर्मको कष्टकर फल भोग्न अभिशप्त हुनु उचितै हो कि अनुचित हो, म जान्दिनँ ।

यहाँ मलाई हठात् निकोलाई ओस्त्रोब्सकीको याद आयो । विख्यात ‘अग्निदीक्षा’ उपन्यासका सत्यनिष्ठ रुसी लेखक निकोलाई ओस्त्रोब्सी भन्छन्— जिन्दगी यसरी बाँचियोस् कि मृत्युको क्षणमा आफ्नो कुनै दुष्कर्मलाई सम्झेर पश्चात्ताप गर्नु नपरोस् । थाहा छैन, सादगीपन र त्यागका प्रतिमूर्ति कम्निस्ट लेखक ओस्त्रोब्सीले बिग्रेका कम्निस्टहरूको चरम् कष्टमय मृत्युलाई ध्यानमा राखेर पो यो आप्त वचनको उच्चारण गरेका हुन् कि ?

प्रकाशित : फाल्गुन ५, २०८० १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?