२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

मेरो प्रत्येक पाइला प्रार्थना 

म आकाश र बादलसँग घण्टौं गफ गर्न थालेकी छु, ताराहरूसँग हाास्न थालेकी छु । न मलाई डर लाग्छ भविष्यदेखि, न दुःख छ विगतको । न गुनासा कसैसँग, न पीडा कसैको बिछोडको । न जलन कसैको प्रगतिमा, न ईर्ष्या कसैको सुखमा । 
शिक्षा रिसाल

हामी अहिले भारतको उत्तराखण्डमा छौं । हामी जहाँ छौं, यस ठाउँ वरपर देखिने मान्छेका अनुहार हामीले आजभन्दा अघि कहिल्यै देखेका थिएनौं । यो ठाउँको नाम देवप्रयाग संगम हो । हामी उभिएको धरातलको दायाँबाट भागीरथी नदी व्यग्र हुँदै भाग्दै, दौडिँदै महासागरमा समाहित भइरहेकी छन् । उनको वेग देख्दा लाग्छ— उनी सदियौंदेखि संगम भेटाउन आतुर छिन् । बायाँबाट अलकनन्दा बगिरहेकी छन् । शान्त, सौम्य र गम्भीर । आफ्नै लय र गतिमा ।

मेरो प्रत्येक पाइला प्रार्थना 

हावा मन्द मन्द चलिरहेको छ । संसारका कुना–कुनाबाट आएका मानिस, थरीथरीका भाषा, थरीथरीका आवाजले मेरो कानमा अनौठो रहस्य भरिरहेका छन् । यी आवाजका बाबजुद संगममा अर्कै खालको सन्नाटा छ । यो सन्नाटामा शान्ति छ । यो शान्तिले मेरो आत्मा भरिएको छ ।

संगमको यो आलौकिक दृश्य एकतमासले नियालिरहेका छौं हामी, घण्टौंदेखि । घर, परिवार, आफन्त, चिन्नेजान्ने सबैबाट हजारौं किलोमिटर टाढा । चञ्चल भागीरथी र गम्भीर अलकनन्दा संगममा मिसिन्छन् र बग्छिन् पवित्र गंगा । दुई नदीको समागमको यो दृश्य जादुमय छ । घण्टौंदेखि संगममा डुब्दै, तैरिँदै छौं हामी । हामी अर्थात्— म, मेरो चञ्चल मन र आत्मा ।

विगत एक वर्षदेखि मलाई केही अलौकिक शक्तिले आफूतिर तानिरहेको महसुस भइरहेको छ । म आकाश र बादलसँग घण्टौं गफ गर्न थालेकी छु । ताराहरूसँग हाँस्न थालेकी छु । न मलाई डर लाग्छ भविष्यदेखि, न दुःख छ विगतको । न गुनासा कसैसँग, न पीडा कसैको बिछोडको । न जलन कसैको प्रगतिमा, न ईर्ष्या कसैको सुखमा । सास चलिरहेको, हिँडिरहेको, बोलिरहेको तर कुनै भावना नभएको लास जस्तो । म रूख र डाँडाकाँडासँग कुराकानी गर्न थालेकी छु । मेरो एक मात्रै प्रेम प्रकृतिसँग छ । मेरा कुरा सुनेर मानिसहरू भन्थे, ‘तिमी त वैराग्यको बाटोतिर जाँदै छौं । फर्किऊ यार, उपचार गराऊ ।’

सायद ममा वैराग्य जाग्न थालेको थियो । मलाई न यो संसारबाट केही पाउने चाहना थियो न गुमाउने डर । भन्छन्, ‘आफूलाई अध्यात्मले तानिरहेको महसुस भयो भने एकछिन सोच्नु किनकि अध्यात्मले जोकोहीलाई खोज्दैन । जब अध्यात्मले तिमीलाई खोज्छ, मान्नू तिम्रो आधा जीवन सफल भयो ।’

मलाई सफलता र असफलतासँग केही लिनुदिनु छैन । संसारमा सफलता र असफलताका आ–आफ्नै परिभाषा छन् । सबैको शान्ति वा खुसी भेटिने माध्यम भिन्नभिन्न छन् । तर, मेरा लागि त्यो समयमा आध्यात्मिक यात्रा अपरिहार्य थियो । त्यसैले झोला बोकें र निस्किएँ ।

काठमाडौंबाट हिँडेको दोस्रो दिन म भारतको ऋषिकेश पुगेकी थिएँ । पहिलो पटक म यहाँ २००७ मा आएकी थिएँ । त्यतिबेला टिकटक, रिल, भ्लगको चलन थिएन । त्यतिबेला ‘किन मलाई तीर्थ लगेको ?’ भनेर म आमासँग वर्षौंसम्म रिसाएकी थिएँ । म जाँदाको ऋषिकेश र अहिलेको ऋषिकेशबीच मन्दिरबाहेक केही समानता थिएन । लाग्यो— मैले एक जुग नै पार गरिसकेछु ।

एक साँझ म गंगा आरतीमा लीन हुन्थें । अर्को साँझ कुनै रेस्टुराँको कुनामा लाइभ म्युजिक सुन्दै बियर पिइरहेकी हुन्थें । मसँगै गएका दुवै साथीलाई ‘ब्यालेन्स’ मा राखिरहेकी थिएँ ।

मानिसहरूका कोलाहलबीच एक्लै देखिने म गंगाघाटमा दिमाग र अन्तरमनसँग बसेर संवाद गर्थें । ती संवादहरू प्रिय थिए, केही हाँस्यास्पद थिए । दिमाग बेलाबेला रुन खोज्थ्यो । मन उसलाई सान्त्वना दिन्थ्यो । मन घरिघरि वैराग्यमा लीन हुँदै ‘अब हामी यहाँबाट नफर्किऊँ’ भन्थ्यो । उतिबेलै दिमागले ‘हुन्न फर्किनुपर्छ’ भनेर अनेक व्यावहारिक तर्क पेस गर्थ्यो ।

देवप्रयागसम्म पुग्ने हाम्रो प्रारम्भिक योजना थिएन । दिमाग भन्थ्यो, ‘गइदिऊँ यार ।’

मन भन्थ्यो, ‘त्यो पर्दैन ।’

मन र मस्तिष्कको द्वन्द्वपछि कहिले मन जित्थ्यो, कहिले मस्तिष्क । तर, यहाँ आइपुगेपछि लाग्यो— यहाँ पुग्नु हाम्रो लेखान्तमा पहिले नै निश्चित थियो । अनि यो यात्रामा भेटिने पात्रहरूबाट अमूल्य पाठ सिक्नु थियो ।

‘छिटो हिँड के, तिमी जहिल्यै ढिलो गर्छ्यौ ।’

घण्टौंदेखि अपरिचित आवाजहरू ठोक्किरहेको मेरो कानले आफ्नो देशको भाषा चिन्यो । मेरा आँखाले दुई महिलाका चम्किला अनुहार देखे । हाम्रो आँखा जुध्यो । हामी एकैपटक मुस्कायौं । मेरो अन्तरमन न्यानो भयो ।

आफ्ना देशका महिलाहरू ! आहा, कति आत्मीय !

यात्रामा भेटिने व्यक्तिहरूले मलाई हरेक पटक नयाँ कुरा सिकाउँछन् । मलाई उनीहरू नजिक गएर बोल्न मन लाग्यो । मैले नेपाली नबोलेको ५ दिन भइसकेको थियो । उनीहरूलाई पछ्याउँदै गएँ ।

म उनीहरू नजिक पुगेर भनें, ‘नमस्ते ! तपाईंहरू कहाँबाट आउनुभएको ?’

‘हामी त यतै बस्छौं नि,’ एक महिला बोलिन् ।

‘नेपाली हैन ?’

उनीहरू दुवैजना हाँसे । हाँस्दै भने, ‘हो नि । बहिनी पनि नेपाली हो ?’

उनीहरू आमाजू–बुहारी रहेछन् । आमाजूको नाम सीता, बुहारीको नाम सुखनदी । सीता २३ वर्षकी, सुखनदी २१ की । कति कलिला आमाजू–बुहारी !

एउटा ठूलो डोकोमा चाङ लगाएर राखिएको इँट्टाको थानबाट एउटा–एउटा झिकेर डोकोभित्र हाल्दै थिए उनीहरू । हात खस्रा थिए । ओठ फुटेका, तर आँखा चम्किला थिए ।

‘तपाईं कहाँबाट आउनुभएको बैनी ?,’ सीताले सोधिन् ।

फिस्स हाँसेर भनें, ‘काठमान्डू । एकछिन बस्न मिल्छ त ?’

बाटोछेउको डिलमा आफ्नो झोला बिसाउँदै म टुसुक्क बसें । सुखनदीले आफ्नो गम्छा दिँदै भनिन्, ‘लिनू न, यो

ओछ्याएर बस्नु । फोहोर हुन्छ फेरि ।’

मैले काठमान्डू भन्नेबित्तिकै उनीहरूको अनुहार उज्यालो भएको थियो । खुसीले वा आत्मीयपनले ?

‘अनि एक्लै आको ?’

‘को को आउनुभाको ?’

दुवैले पालैपालो सोधे । मैले ‘हो’ भन्दै टाउको हल्लाएँ ।

‘बिहे गर्नुभो कि नाइँ,’ एकै सासमा सीताले सोधिन् ।

मैले टाउको निहुराएर भनें, ‘नाइँ, छैन नि । अनि तपाईंहरूले गर्नुभो ?’

‘अँ ऽऽऽ मेरो त तपाईं जत्रै छोरी छ,’ सीताले भनिने । अघिसम्म मन्दमन्द मुस्काइरहेकी सुखनदी खित्किएर हाँस्न थालिन् । ‘हाम्रो त १५–१६ वर्षमा बिहे हुन्छ नि,’ उनीहरू बल्ल आफ्नोबारेमा खुल्न थाले ।

‘किन यहाँ आएर काम गरेको त ? काठमान्डू नगएको ?,’ सोधें ।

‘हामीलाई काठमान्डूभन्दा यतै नजिक छ । काठमाडौंमा त कसैलाई चिन्दैनौं । हाम्रा नातेदार, बाउबाजे नि यतै आएर काम गरे,’ सीता भन्दै गइन्, ‘काठमान्डूमा त बाहिर जिल्लाबाट गएर व्यापार गर्नेलाई कुटपिट गर्छन् रे त !’

पत्रकारितामा ‘डिसइन्फर्मेसन’ पढेको मैले झलझल्ती सम्झिएँ ।

मैले प्रतिरक्षा गर्दै भनें, ‘होइन नि त्यस्तो । बाटो ढाकेर व्यापार गरेकोलाई महानगरपालिकाले हटाएको हो । सटर लिएर राम्रोसँग व्यापार–व्यवसाय गर भनेको हो ।’

‘यहाँ भिडियोहरूमा रुवाबासी गरेको देखिन्छ । लछारपछार पारेको । के हो, के हो । अलिअलि गारो, अलिअलि सजिलो । तर, यतै शान्ति छ मेम हामीलाई,’ सुखनदीले सीताको यो कुरामा सहमति जनाइन् । उनीहरूको घर नेपालको मुगु जिल्लामा रहेछ । राम्रो तलब पाइन्छ अनि बच्चाबच्चीलाई राम्रोसँग पढाउन पाइन्छ भनेर उनीहरू यहाँ काम गरिरहेका छन् । सुखनदीले कुरैकुरामा भनिन्, ‘मेरो बुबाले पनि यहीं काम गरेको हो । दिदीको अनि मेरो बुढाले पनि यतै काम गर्छन् ।’

मैले सोधें, ‘अनि तपाईंहरू मुगुमै हुर्किनुभयो ?’

‘अँ हो त । रारा जानुभा होला नि ? घुमिराख्ने मान्छे त गका हुन्छन् है । त्यहाँबाट पनि ५ दिन हिँडेर जानुपर्छ हाम्रो गाउँ त,’ सीताले थपिन् । यति गफ गर्दागर्दै उनीहरूको डोको इँट्टाले भरिन थाल्यो । डिलमाथिबाट एक भारतीय ठेकेदार चिच्याए । त्यसपछि उनीहरूले केही अप्ठ्यारो महसुस गरे ।

‘मैले तपाईंको काम रोकिदिएँ है ? सरी ल !’

‘त्यहाँ हाम्रो आफ्नै देश । हामी कहिल्यै नपुगेको काठमान्डूबाट बहिनी आएर बोल्नुभयो । हामीलाई यति खुसी लाग्या छ, कहाँ रोक्नु नि,’ निकै बेरदेखि शान्त रहेकी सुखनदीले भनिन्, ‘बरु हाम्रो काम सकिएपछि आज हाम्रोमै जाऊँ न । जे भए पनि खाउँला । अनि रातभरि बसेर गफ गरौंला ।’

उनीहरूको त्यो आत्मीयता देखेर मेरो मन केही बेर विचलित भयो । म ‘धन्यवाद’ भन्दै मुस्काएँ । तर, हाम्रो भेट ‘डेस्टिनी’ मा त्यति मात्रै थियो सायद ।

इँट्टाको भारी लगाउँदै सीताले भनिन्, ‘हामी त कहिले काठमान्डू जान पाउँला र ! तर, तपाईं कुनै बेला समय मिले मुगु जानुहोला है ।’ सीताको अन्तिम वाक्यले मेरो हृदयमा गहिरो छाप छोड्यो । उनीहरू त आफैं एउटा यात्रामा निस्किएका छन् । इँट्टाको बोझ काँधमा बोकेर पनि आफ्नो जीवनलाई लचिलो बनाइरहेका छन् । उनीहरूको सपना मीठोमसिनो खाएर राम्रो निदाउनु हो । हरेक दिन, हरेक पल बाँच्नु हो ।

भाग्यले जुराए मुगु पक्कै जानेछु ।

सीताको हृदय छोरीको समृद्धिको सपनाले भरिएको छ । लाग्छ— उनी आफ्नो बाटोमा आइपर्ने कुनै पनि चुनौती सामना गर्न तयार थिइन् । अर्कोतर्फ सुखनदी शान्त र सौम्य । उनका बुबा–हजुरबुवाले काम गरेको भूमि, पुर्खाहरू हिँडेको बाटोमा मिहिनेत गरिरहेकी छन् । तर, उनका ठूलठूला आँखाका आकांक्षा क्षितिजभन्दा पर देखिन्थ्यो । उनी पनि आफ्नै मनभित्र कतै टाढाको यात्रा गरिरहेकी थिइन् ।

उनीहरूसँग बिताएको १० मिनेटले मलाई अध्यात्मको कहिल्यै नपल्टाएको पाठ पल्टाउन लगायो । हामी कति जनालाई भेट्छौं, कति जनासँग मुस्काउँछौं, कतिलाई आफ्नो सपना, चाहना र कथा सुनाउँछौं, कसैसँग वर्षौंसम्म आफ्ना आँसु पोख्दा पनि हामी उनीहरूको हुन सक्दैनौं । कसैसँग १० मिनेट मात्रै बाँड्दा उनीहरूले हाम्रो आत्मा छुन्छन् ।

सीता र सुखनदी मलाई नयाँ यात्राको गन्तव्यतिर डोर्‍याएर बिदा भए । मैले फर्किनका लागि बस समातें ।

बस चलिरहेको छ । हामी देवप्रयागबाट फर्किरहेका छौं । भारतका पहाडहरू कति अजंगका छन् । पर, क्षितिजमा घाम डुब्नै लागेको थियो । सीता र सुखनदीसँग बिछोडिँदा मैले एकपटक उनीहरूलाई अंकमाल गरेकी थिएँ । हाम्रो पहिलो र अन्तिम भेट म सधैं सम्झनेछु ।

उनीहरूसँग छुट्टिएपछि म संगमप्रति धन्य भएँ । चरम अन्धकारमा पनि प्रकाश खोज्ने शक्ति त हामीभित्रै रहेछ ।

संसार फराकिलो छ । हामीले भेट्ने प्रत्येक व्यक्ति आफूभित्र करोडौं कथा बोकेर हिँडिरहेको छ । ती तमाम कथाले हामीलाई पर्खिरहेका छन् । मैले भेट्ने प्रत्येक व्यक्ति मेरो जीवनको एक अध्याय बन्छन् । म हिँड्ने प्रत्येक पाइलामा उनीहरू मसँगै हिँड्छन् । संसारका प्रत्येक व्यक्तिभित्र अद्वितीय कथा छन् । तर, हामी यो बुझ्नै सक्दैनौं । हामी सबै आफ्नै जीवनका बोझ, सपना र डरहरूको भारी बोकेर आजीवन हिँड्छौं । जीवनमा आफूले भोगेका अनन्त अनुभवको उत्सव मनाउनुको सट्टा हामी विगतको महासागरमा डुब्छौं । तर, अन्तिम सत्य त यही हो— हामी सबै एउटै ब्रह्माण्डीय यात्राका यात्री हौं । हाम्रो गन्तव्य एकै हो । हाम्रो जीवन क्षणिक छ, तर हामीले एक–अर्काको हृदयमा छोड्ने छापहरू अनन्त छन् । यात्रामा भेटिएका यी पात्रहरू मेरो आत्माको संस्मरणमा अमिट छन् । उनीहरू सधैं मेरो नयाँ यात्राका लागि प्रेरणा बन्छन् ।

सीता र सुखनदीसँग अब फेरि कहिल्यै भेट हुनेछैन । तर, उनीहरूको क्षणिक उपस्थितिले मेरो हृदयमा करुणा र प्रेमको पाठ कोरेको छ । वर्षौंपछि पनि म एकान्तमा बसेर आफ्नो जीवनका अध्यायहरू पल्टाउँदा उनीहरूलाई पटक–पटक पढ्नेछु । हरेक पटक पढ्नेछु र धन्य हुनेछु । किनकि उनीहरूले नै मलाई सिकाए— आफूभित्रको विश्वास, मिहिनेत, धैर्य, करुणा, प्रेम नै आध्यात्मिक यात्रा हो ।

सीता र सुखनदीसँग छुट्टिएको ६ महिनापछि हामी कर्णालीको मिलीचौर पुग्यौं । यो ६ महिनाबीच मेरो जीवनमा धेरै कुरा बदलिए । धेरै पटक रोएँ, धेरै पटक हाँसें, धेरै पटक आफैंलाई सम्हालें । र, अन्ततः मैले त्याग गर्न सिकें । परिवर्तनलाई स्वीकार्न सिकें । ‘आर्ट अफ लेटिङ गो’, ‘आर्ट अफ एक्सेप्टेन्स’ मेरो जीवनको मूल मन्त्र बने ।

सीता र सुखनदीको गृहजिल्ला साँच्चिकै सुन्दर छ । तर, उनीहरूको गाउँ त्यो हिमालपारि छ । उनीहरू आफ्नो देशमा पनि कष्टकर जीवन नै बाँचिरहेका थिए । अहिले विदेशमा पनि उसैगरी कुदमकुद गरिरहेका छन् । हिमालहरू नाङ्गा देखिएका छन् । सेताम्मे भएर चम्किने हिमालहरू अहिले किन हाँसिरहेका छैनन् ?

आहा राराको छाल ! राराका रङ ! सही भन्थिन् सीता— रारा सुन्दर छ, मनमोहक छ । महेन्द्र वीरविक्रम शाहदेव राराबाट फर्किएपछि मविवि शाह बने । म सीता र सुखनदीको विश्वास र मायाको कथा सुनाउन त्यही रारा आइपुगें ।

सायद अब मेरो जीवनको यात्राले फरक रङ लिनेछ । अब गरिने यात्रा मेरो अस्तित्वको गर्भास्थलतिर हुनेछ । मैले चालेका प्रत्येक पाइला प्रार्थना हुनेछन् । मैले फेर्ने प्रत्येक सास ध्यान बन्नेछ । राराको हावामा, सुकेका खस्रा पातमा र पानीका छालमा मैले सीता र सुखनदीको अनुहार हाँसिरहेको देखिरहेकी छु ।

‘दिदी ! तपाईंलाई घोडा चाहिन्छ ?’

एकतमासले रारालाई आफ्नो कथा सुनाइरहँदा मेरो नजिक आएर १२ वर्षको ठिटो बोल्यो, एकसरो खैरो सर्ट लगाएको । मैलो जिन्स लगाएको अनि गाला सुक्खा र रातो भएर फुटेको ।

‘चाहिँदैन बाबु । तर, मेरो रारासँग एउटा फोटो खिचिदिन्छौ ?’

‘भैहाल्छ नि दिदी,’ उसले दंग पर्दै मेरो फोन समात्यो अनि चार–पाँच वटा फोटो खिचिदियो ।

‘अनि तिम्रो नाम के हो नि ?’

‘रोशन रावल ।’

‘अनि घोडाको ?’

‘शाहरूख खान ।’

‘हँ ??’

ऊ हाँस्न थाल्यो । म पनि हाँसें । हामी दुवै खित्का छाडेर हाँस्यौं । मिलीचौरबाट किनारै किनार हिँड्दा ऊ परसम्म मसँग गफ गर्दै हिँड्यो ।

‘दिदी, किन एक्लै आउनुभाको यत्रो टाढा ?,’ उसले घोडा डोर्‍याउँदै सोध्यो ।

‘कोही नभए एक्लै निस्किनुपर्छ के, बाटोमा धेरै साथीहरू भेटिन्छन् ।’

उसलाई भन्दै गर्दा याद आयो— हामी एक्लै यात्रा गरे पनि वास्तवमा हामी कहिल्यै एक्लो हुन्छौं र ?

प्रकाशित : माघ ६, २०८० १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?