२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

‘यो मलेरियाको गेट हो’

त्यो दूरको बस्ती, त्यो जंगलको घारी, त्यो औलोको गेट कति छिट्टै यति सुन्दर सिलिगुडी सहर बन्यो ? यसको रफ्तार तपाईंको जवानीभन्दा तीव्र कुदेको छ ।
छुदेन काविमो

हरेक सहर बेइमान हुन्छन् । दुई–चार साल बसेर मात्रै हेर्नुहोस् । किरायाकै घरमा रहँदा पनि लागिरहन्छ, ‘यो ठाउँ मेरो पनि हो ।’ अचेल सिलिगुडी मलाई त्यही बेइमान सहर लाग्न थालेको छ । सात सालअघि मात्रैको कुरा हो, जतिबेला म पहिलोचोटि लामो समयको निम्ति यो सहर छिर्दै थिएँ । यो व्यस्त सहरमा मलाई स्थायी डेरा जमाउनु थियो । तर, मेरो मन स्थायी थिएन, यो सहरझैं अस्थिर थियो । घरी यो गल्ली हिँड्न चाहन्थ्यो, घरी त्यो गल्ली दगुर्न चाहन्थ्यो । म आभारा थिएँ, एक्लै भौंतारिइरहन्थेँ । 

‘यो मलेरियाको गेट हो’

सिलगुडी मलाई भत्भती पोल्ने ओदानजस्तो लागेको थियो, जहाँ दिनमा हिँड्दा पसिना बहाउनुपर्थ्यो । रातमा निदाउन मच्छरसँग जुहारी खेल्नुपर्थ्यो । त्यही भएर कैयौं दिन मेरा छटपटीमै बितेका थिए । हरदिन म दिक्क हुन्थेँ । हर साँझ हैरान बन्थेंँ । यो सहर मलाई फिटिक्कै मनपर्दैनथ्यो । त्यसैले म साथीहरूसँग एउटै गुनासो गरिरहन्थें, ‘छिट्टै म यहाँबाट निस्किन चाहन्छु ।’

मेरा कुरा सुन्नेहरू हाँस्थे र भन्थे, ‘माथि पहाडबाट हेर्दा जत्रो आकाश देखिन्छ नि, त्यसको दोब्बर ठूलो आकाश यहाँबाट देखिन्छ । यो सहरसँग प्रेममा परेको दिन बल्ल थाहा पाउनेछौं, यहाँको धरती बेग्लै छ । आकाश बेग्लै छ ।’

सुनेर म सोचमा पर्थेँ । मन नपरी–नपरी मुस्कुराइदिन्थेँ ।

आज ठ्याक्कै सात साल भएछ, म स्थायी रूपमा सिलिगुडी बस्न थालेको । तर, कस्तो उदेक ? जुन गुनासो पहिले यो सहर छिर्दा मेरो छातीमा थियो, कति छिट्टै प्रेममा बदलिएछ, मैले पत्तै पाइनँ । मलाई त अचेल यति मात्रै थाहा छ, यो सिलिगुडीको धरती रमाइलो छ । यहाँबाट देखिने खुल्ला आकाश घमाइलो छ । त्यसैले मलाई यहाँको भीड मनपर्छ । भीडबीच पनि सल्बलाइरहने एकान्त मनपर्छ । यो महानन्द नदी, यो बालासान खोला । यो गुल्माको बगर । सालबारीको चिसो हावा । मलाई हरथोक मनपर्छ ।

सिलिगुडी अब त मेरो पनि सहर बनिसक्यो ।

म यहीँ गुरुङबस्तीमा बस्छु, जो उहिले नै बाघवीर गुरुङको नाममा बनिएको बस्ती थियो । अब ठूलै बजार भइसकेको छ । तर, नेपालीको संख्या पातलिएर थोरै भएको छ । बिहानै उठ्छु र साइकल लिएर प्रधान नगरतिर हुइँकिन्छु, जो एक समय पुण्यप्रसाद प्रधानको नाममा बसालिएको सानो बस्ती थियो । अब त यो बस्ती पनि नगर बनिसकेको छ, जहाँ जहिले आगन्तुकहरूकै भीड लागिरहेको हुन्छ ।

समय बदलिन कति पो समय लाग्छ र है ?

म अचेल त्यही सिलिगुडीमा हराइरहेको हुन्छु, जुन सहर मलाई सुरुमा अलिकति पनि मन पर्दैनथ्यो । जुन गल्लीहरूमा म पहिले निसास्सिएलाजस्तो भएर हिँडिरहेको हुन्थेँ, त्यही गल्लीहरूसँग अचेल म एक्लै गुनगुनाइरहेको हुन्छु । जुन भीडहरूमा पहिले म भौंतारिरहेको हुन्थेँ, त्यही भीडहरूमा अचेल म चिनजानहरूको मुस्कान खोजिरहेको हुन्छु । यो सहर अब त मेरा निम्ति ठ्याक्कै त्यही प्रेमिकाको यादजस्तै बनिसकेको छ, जो सुदूर देशमा बस्छिन् । तैपनि हरसमय मसँगै उठबस गरिरहन्छिन् ।

सिलिगुडीको इतिहास नै त्यस्तो रहेछ ।

मलाई मात्रै होइन, यहाँ आइपुग्ने हरकोहीले यो सहरलाई पहिले नफरत नै गरेका थिएछन् ।

सय वर्ष अघि मात्रै पुगेर हेरौँ न । यी बिल्डिङहरूले भरिएको सहर त्यो बेलासम्म जंगलको घारी मात्रै थिएछ । सत्तरकै दशकसम्म पनि यहाँ मोटर गाडीभन्दा धेरै गोरुगाडी देखिन्थ्यो रे ! एउटा सुक्खा जमिनको टुक्रा मात्रै त थिएछ यो ठाउँ, जहाँबाट सिक्किमका मान्छे हिँड्थे । नेपाल–भुटानको मान्छे ओहोरदोहोर गर्थे । असम बंगलादेशका मान्छे घुमफिर गर्थे । तर, स्थायी रूपमा कोही पनि बस्न चाहँदैन थिए । बरु हरकोही यो ठाउँ भएर हिँड्थे र एउटै गुनासो सुनाउँदै फर्किन्थे, ‘यहाँ बसे औले लागेरै मरिनेछ ।’

मच्छर र औलेको डरले जुन ठाउँबाट हरकोही भाग्थे, त्यही सिलिगुडीमा अचेल रातदिन मान्छेको ओइरो लाग्छ । यो ठाउँ अब त त्यही भीडको सहर बनिसकेको छ, जो दिनमा दुई गुणा र रातमा चार गुणा बढ्दै गइरहेको छ ।

त्यो सुदूर बस्ती, त्यो जंगलको घारी, त्यो औलेको गेट ! कति छिट्टै यति सुन्दर सिलिगुडी सहर बन्यो ? यसको रफ्तार तपाईंको जवानीभन्दा पनि धेरै तीव्र कुदेको छ ।

एउटा समय थियो, जतिबेला सिलिगुडी जंगलबाहेक अर्थोक केही थिएन ।

मान्छे यहाँ फुत्त पस्थे र सुटुक्क निस्किन्थे । मरे पनि स्थायी रूपमा बस्न चाहँदैन थिए । सबै डराउँथे । कारण यहाँ दिउँसै बाघ–भालु लाग्थे । फेरि अर्को कुरा यहाँ अत्यधिक गर्मी थियो । बूढापाका गफै दिन्थे, ‘यो सिलिगुडीको घाम ताप्न सकिँदैन हौ । यहाँ त कहिलेकहीं उडिरहेको कागधरि भुइँमा फत्रक्क झर्छ । र, फ्याटफ्याट गरेर खुट्टा तन्काउँदै मर्छ ।’

लौ गर्मी पनि मान्छेले सहिदेलान् रे ! तर, यहाँ भयानक मच्छर लाग्थ्यो । मच्छरले टोकेपछि मान्छेलाई औलेले भेट्थ्यो । औलेले भेटेपछि मान्छे त्यही गरमले भुइँमा खसेको काग बन्थ्यो र फत्रकफत्रक गरेर ढल्थ्यो ।

सिलिगुडीमा औलेले कति मान्छे मार्‍यो ? त्यसको आँकडा बूढापाकाको गफजस्तै भयानक थियो, जुन आँकडाले गर्दा अंग्र्रेजहरूसम्म तर्सिएका थिए । त्यसैले त जोसेफ डाल्टोन हुकरले सिलिगुडीको वर्णन गर्दै लेखिदिए, ‘यो मलेरियाको गेट हो ।’ विलियम विल्सन हन्टरले त घोषणा नै गरिदिए, ‘सिलिगुडी अर्थात् निस्पट्ट जंगल, जो मान्छे बस्नलायक छैन ।’

तर, जुन ठाउँलाई इतिहासले पनि नफरत गरे र मान्छे बस्नका निम्ति लायकसम्म ठानेनन् त्यही ठाउँमा उभिएको बस्ती हेर्दाहेर्दै आजको सुन्दर सिलिगुडी सहर बन्यो ।

लेप्चा भाषामा सिलीको अर्थ हुन्छ, धनु । सिलिगुडी त्यो जंगल थियो, जो १६औँ शताब्दीसम्म कोचे राजाको अधीनमा पर्थ्यो । सन् १६४२ पछि यो ठाउँ सिक्किम अधीनस्थ आयो । कोचेहरूलाई यो जंगलको खासै जरुरत थिएन । सिक्किमले लिएपछि पनि खासै पर्वाह गरिएन । तर, सिक्किममा यो भू–भाग आएपछि त्यस क्षेत्रमा लेप्चाहरूको आवतजावत अझै बढ्न थाल्यो । यहाँ हरथोक पाइन्थ्यो । सिकार खेल्न पाइन्थ्यो । सालको रूख काट्न पाइन्थ्यो । त्यति मात्रै होइन, यहाँ धनु बनाउन सकिने बाँसका झ्याङहरू पनि थिए । लेप्चाहरूले नयाँ कुरा पत्तो लगाए, यहाँको बाँसबाट सिली र ग्रीम बनाउने हो । अर्थात् धनु र त्यसको ताँदो बनाइने हो । सिक्किम–दार्जिलिङका मूल आदिवासी लेप्चाहरूको मान्यता छ, त्यही सिली ग्रीम– आजको सिलिगुडी अथवा सिलिगुडी बनिएको हो ।

तर, सिलिगुडीको कथा यत्तिमै सकिँदैन । जो–जो यहाँ बस्दै आए, उनीहरू सबैसँग यो सहरको आ–आफ्नै कथा छ । कोचेहरूले यसलाई शिला गुडी अर्थात् ढुंगाहरूको ठाउँ माने । नेपालीहरूले यसलाई सिल वा हतियार राख्ने गडी भने । हरेक जाति जो–जो सिलिगुडीसँग जोडिए, सबैले आ–आफ्नो कथा पनि जोड्दै लगे । त्यही कथाहरूको सहर हो सिलिगुडी, जो महानन्द नदीको किनारमा उभिएको छ ।

महानन्द त्यो नदी हो, जसले एक समय तराईको यो भूभागलाई नै दुईतिर बाँडिदिएको थियो । जसको पश्चिमतिर रहेको केही अंशलाई सन् १७८८ पछि नेपालले पनि अधिग्रहण गरेको बताइन्छ । तर, सन् १८१५ को सुगौली सन्धिपछि यो भूभाग फेरि फर्किएर सिक्किममै आयो, जसको मुख्यालय त्यो बेलासम्म फाँसीदेवा नजिक हासखावामा थियो ।

यतिन्जेलसम्म पनि, तर सिलिगुडी जंगलको घारी मात्रै थियो । सन् १८७० सम्म पनि सिलिगुडीमा केवल २८ परिवार मात्रै रहेको बताइन्छ । तर, जब दार्जिलिङमाथि अंग्र्रेजहरूको आँखा गाडिन थाल्यो । पहाड र डुवर्समा चियाको खेती सुरु गरिन लाग्यो । तब सिलिगुडी यातायातको मुख्य कोरिडर बन्दै गयो । यो सहर बन्नुको कथा यहीँबाट सुरु भएको हो ।

दार्जिलिङ र डुवर्सलाई कसरी कलकत्तासँग जोड्ने त ? कसरी सिलिगुडीमार्फत अन्य देशहरूलाई जोड्ने त ? सन् १८७८ मा पहिलोचोटि अंग्र्रेजहरूले यहाँ रेलको लाइन

बिछ्याउन थाले । जब रेलको लिक बनाउन मजदुरहरू लिएर अंग्र्रेजहरू आउन थाले, जब सिलगडीवरिपरि पनि चियाको खेती सुरु गरिन थालियो, तब यो ठाउँ हरेकको नजरमा पर्दै गयो । तर, अझै पनि यो क्षेत्रको मुख्यालय फाँसीदेवा नजिकै थियो । फाँसीदेवाको आफ्नै इतिहास छ । जुन बेला ‘एंग्लो–भुटान वार’ भयो तब बाक्सा नजिकबाट भुटानका बन्दी अपराधीहरूलाई पक्रेर हासखावा ल्याइयो । बन्दी आरोपीहरूको मुद्दामाथि बहस गरियो । धेरैलाई त्यहीँ फाँसी चढाइयो । अपराधीहरूलाई फाँसी चढाइएपछि त्यो ठाउँको नामै बदलियो र फाँसीदेवा बन्यो । तर, त्यही फाँसीदेवा नजिक रहेको तराईको मुख्यालयलाई सन् १८८१ देखि आजको सिलिगुडीमा स्थानान्तरण गरियो, जसलाई सन् १९०७ मा पहिलोचोटि महकुमाको दर्जा दिइयो ।

आज सिलिगुडीको भौगोलिक अवस्थान पूरै बदलिइसकेको छ । यो सहर अब बंगाली समुदायको बाहुल्य बनिसकेको छ, जहाँ नेपालीलगायत पुराना आदिवासी समुदायले आज वार्ड पार्षद्को चुनावधरि जित्न नसक्ने स्थिति छ । तर, सय वर्षअघि मात्रै पनि यहाँ बंगालीहरूको संख्या एकदम कम थियो । बंगाली लेखक तथा विद्वान् सोमेन नाग आज पनि स्वीकार गर्छन्, सन् १९०१ सम्म पनि सिलिगुडीमा सयभन्दा कम बंगाली समुदायका मानिस थिए । सन् १८९८ को शशिभूषण दत्ताको रिपोर्ट ‘तराई सेटलमेन्ट’ ले स्पष्ट गर्छ, त्यो बेलासम्म पनि सिलिगुडीलगायत समग्र तराईमै सबैभन्दा ठूलो जमात कोचेहरू थिए । ११ हजार १ सय ३३ जना कोचेहरू रहेको सिलिगुडीमा त्यसताक १ हजार १ सय २४ जना लेप्चा र ४ सय २२ भोटियाहरू थिए । यीबाहेक त्यो पुरानो बस्तीमा ४२४ लिम्बू, १ हजार ९ सय १७ गुरुङ, ६ सय ३० कामी, ५ सय ७ नेवार, १ हजार ३ सय ४६ मगर र ६ सय ३० जना ब्राह्मणहरू थिए । यही आँकडाकै कारण हो, सन् १९३८ मा जब सिलिगुडीको पहिलो युनियन बोर्ड बनियो, त्यसका पहिलो अध्यक्ष जर्ज महाबर्ट सुब्बा बने । तर, त्यतिन्जेलसम्म पनि सिलिगुडी त उजाड बस्ती मात्रै थियो । सिलिगुडीले नगरनिगमको दर्जा पाएको सन् १९५० मा मात्रै हो । त्यसपश्चात् भएको सन् १९५२ को विधानसभा चुनावमा पनि पहिलो विधायक महाबर्ट सुब्बा नै बनेका थिए ।

सिलिगुडी त्यो सहर हो, जसको दैलो सबैका निम्ति सधैं खुल्ला रहन्छ । यो त्यो सहर हो, जसले कसैलाई पराय ठान्दैन । किनकि, यो सहर बनेको नै त्यसरी हो ।

रेलको लाइन जोड्न थालेपछि मान्छेको संख्या बढ्दै गएको यो सहर सन् १९३० पछि अझै भव्य बन्दै गएको हो । जब दोस्रो विश्वयुद्ध सकियो तब बर्माबाट भागेर आउने धेरै नेपालीले सिलिगुडी सहरलाई आफ्नो घर बनाए, जसको कारण सिलिगुडीमा बर्मा बस्तीसम्म बनियो ।

त्यसको ठीक पछि जब सन् १९४७ मा भारत स्वतन्त्र भयो, हिन्दु–मुस्लिमको दंगाले नयाँ रूप लियो । पूर्व पाकिस्तानमा जब धर्मको नाममा काटाकाट सुरु भयो, तब त्यहाँका हिन्दु बंगालीहरू भागेर सिलिगुडीमै आउन थाले । त्यसपछि त सिलिगुडीको जनसंख्या अझै बढ्दै गयो ।

सिलिगुडीले हरेक ठाउँको हरेक मान्छेलाई अलिअलि ठाउँ दिएकै छ । जब सन् १९५९ तिर तिब्बत विद्रोह भयो, दलाई लामा भागेर भारत आए । उनीसँग आएका धेरै तिब्बतीहरूले यहाँको सालुगडामा व्यापार सुरु गरे । त्यसपछि सिलिगुडी तिब्बतीहरूको पनि घर बन्यो ।

यतिन्जेलसम्म पनि सिलिगुडीको तुलनामा जलपाइगढी ठूलो सहर थियो । तर, जब सन् १९६८ मा बाढी आयो, जलपाइगढीको धेरै ठाउँ डुबाइदियो । अब कहाँ जाने त ? बाढीपीडितहरू पनि भागेर यही सहर आइपुगे । त्यसपछि नै सिलिगुडीमा कालाबजारी सुरु हुँदै गयो । नेपालको काँकरभिट्टासँग जोडिएको यो ठाउँमा धुलाबारीबाट चीनको सामान भटाभट छिर्न थाल्यो । सहरमा नयाँ हङकङ मार्केट बनियो । यो सहर व्यापारीहरूको पनि घर बन्यो ।

सन् १९७१ मा फेरि अर्को दंगा सुरु भयो । बंगलादेश मुक्तिको लडाइँ चरममा पुग्यो । हिन्दु–मुस्लिमको लडाइँ फेरि बढेर गयो । त्यसैले धेरै मानिस पूर्वपाकिस्तान मानिने आजको बंगलादेशमा बस्नै सकेनन् । उनीहरू भागेर फेरि सिलिगुडी नै आइपुगे । यो सहर अब अलिकति ती शरणार्थीहरूको पनि घर बन्यो ।

त्यसपछि त सिलिगुडी त्यो सहर बन्दै गयो, जहाँ जोकोही पनि आइपुग्न थाले । कोही अवसर खोज्न आउन थाले । कोही सुरक्षा खोज्न आउन थाले । बिहारीहरूलाई रोजगार चाहियोस्, सिलिगुडीले रोजगार दिन थाल्यो । पञ्जाबीहरूलाई अवसर चाहियोस्, सिलिगुडीले अवसर दिन थाल्यो । मारवाडीहरूलाई व्यापार गर्ने ठाउँ चाहियोस्, सिलिगुडीले नै ठाउँ दिन थाल्यो ।

त्यसैले सिलिगुडी सबको सहर बन्दै गयो ।

हो, सिलिगुडी अब सबको सहर हो । नेपालीको सहर हो । बंगालीको सहर हो । बिहारीको सहर हो । पञ्जाबीको सहर हो । मारवाडीको सहर हो । कोचे, मेचे, राजवंशी, लेप्चा, भोटिया सबको सहर हो । यहाँ हर गल्लीमा करोडपति पनि भेटिन्छन् र हर कुइनेटोमा भिखारी पनि देखिन्छन् । किनकि यो सहर, गगनचुम्बी भवनमा बस्नेहरूको पनि हो, महानन्द पुलमुनिको झोपडपट्टीमा रहनेहरूको पनि हो । सपिङ मलका मालिकहरूको पनि हो, रिक्सा चलाएरै गुजारा चलाउने रिक्सावालाहरूको पनि हो । जमिन दलाली गरेर बिल्डिङ बनाउनेहरूको पनि हो, खालपाडामा देह बेचेर घर चलाउनेहरूको पनि हो ।

यो सबको सहर हो । तपाईंको पनि हो र मेरो पनि सहर हो । अचेल सिलिगुडी जहिल्यै व्यस्त हुन्छ । रातदिन जागै रहन्छ । दिन होस् या रात, यहाँ जहिल्यै मान्छेकै भागदौड चलिरहेको हुन्छ । कसैलाई एयरपोर्ट पुग्नु छ, कसैलाई डान्सबार जानु छ, कसैलाई रेल पक्रिनका निम्ति एनजीपी हिँड्नु छ, कसैलाई कल सेन्टर धाउनु छ, रात–दिन सिलिगुडी सहर व्यस्त छ, छ ।

हरेक सहर बनिनलाई कारण चाहिँदो हो । तर, सिलिगुडीसँग त्यस्तो कुनै ठोस कारण छैन, जसले गर्दा यो सहर, सहर बन्दै गयो । यो ठाउँ जहाँ अवस्थित छ, त्यही एउटा भौगोलिक कारण थियो, जसले एउटा घनघोर जंगललाई हेर्दाहेर्दै भव्य सहर बनाइदियो । खासमा सिलिगुडी एउटा कोरिडोर मात्रै थियो, जसले नेपाल, भुटान, बंगलादेश, तिब्बत र चीनसँगको भूगोल जोडिदिन्थ्यो । तर, जब सन् १९६२ मा भारत–चीन युद्ध भयो, त्यसपछि त सुरक्षाको हिसाबले पनि यो सहर सबैभन्दा धेर संवेदनशील बन्दै गयो । सेनाको नयाँ–नयाँ क्याम्प यहीं बस्न थाल्यो ।

सिक्किम, दार्जिलिङ र कालेबुङ त अचेल सिलिगुडी नरहे अधुरै रहनुपर्छ । किनकि, त्यहाँ चाहिने हरथोक यही सहर भएर जाने गर्छ । कोही बिमार भए, यहीँ आइपुग्नुपर्छ । भुटान, असमलगायत पूर्वोत्तरको कुनै राज्यकालाई कहीँ जानुपरोस्, यही सहर छिरेर जानुपर्छ । नेपाल–बंगलादेशका साना–ठूला करोबार गर्नेहरूलाई यही सहर भएर चल्नुपर्छ ।

‘यति व्यस्त सहर पहिले चैं कस्तो थियो होला नि ?’, एक दिन गफैगफमा मैले कवि ज्ञानेन्द्र खतिवडालाई सोधेँ । उनले केहीबेर आँखा चिम्म गरे र भने, ‘तिम्ले देख्नुपर्थ्यो त्यो पुरानो सिलिगुडी । मेरो त अझै आँखैमा झलझली छ, त्यो ठाउँको नक्सा, जहाँ ठूला–ठूला भवनहरू थिएनन्, चिल्ला सडकहरू थिएनन्, कहिलेकाहीँ आइपुग्ने गाडीलाई औँलाले गन्न सकिन्थ्यो ।’ ‘साँच्चै त्यस्तै थियो हो ?’, मैले पुरानो सिलिगुडीको कल्पना गर्न थालें । कविजी आवाज निकालेर जोडसँग हाँस्न थाले, ‘सत्तरको दशकसम्म पनि यहाा गोरुगाडी मात्रै चल्थ्यो । फाटाफुट्ट चल्ने मोटर गाडी त सालबारीतिर रोक्नै डराउँथ्यो । यहाँ छिन्ताई हुने डर थियो । त्यो बेलासम्म पनि सिलिगुडी त गोरुगाडीहरूकै सहर थियो ।’

हो त नि । सुरुमा सिलिगुडी गोरुगाडीहरूकै सहर थियो, जहाँ पहिलो चिया दोकान पनि सन् १९०२ मा मात्रै खुलिएको हो । यहाँको होटल व्यवसाय त सन् १९३३ बाट मात्रै सुरु भएको हो । अचेल रात–दिन हल्लाहरूमा हराइरहने यो सहरले पहिलोचोटि टेलिफोन पाएको सन् १९४८ मा मात्रै हो । त्यसपछि त सन् १९५२ मा मेघदूतका रूपमा पहिलो सिनेमा हल पाएको थियो । तर, जब सन् १९५३ बाट सडकको रूप बदलियो, हिलकार्ट रोडबाट रेललाइन अलग गरी मुख्य सडकको विस्तार सुरु गरियो, त्यसपछि त सहरको नक्सा हरदिन बदलिँदै जान थाल्यो ।

यो त्यही झलमल्ल रहने आजको सिलिगुडी सहर हो, जसले सन् १९१७ मा मात्रै पहिलोचोटि स्ट्रिट ल्याम्प पाएको थियो । पछि त्यसैलाई बाँसको पोलमा राखियो । र, सन् १९३५ देखि बाटोमा पेट्रोलमेक्स राखिन थालियो । त्यो बेला सिलिगुडीभन्दा ठूलो बजार त मतिगडामै लाग्थ्यो ।

सिलिगुडीवरिपरि स–साना बजारहरू थिए, जहाँ अलग–अलग दिन हाट लाग्थे । जुन हाटहरूमा सामान लिएर पालैपिलो गोरुगाडी आइपुग्थे । खप्रेलमा सोमबार हाट लाग्दा जति सामान बिक्थ्यो, उब्रेको सामान लिएर गोरुगाडी मंगलबार बिहानै मतिगडा जान्थ्यो । मतिगडामा बाहिरबाट पनि थप सामान आइपुग्थ्यो । बुधबार फेरि त्यही सामान बोकेर गोरुगाडी सालबारी आइपुग्थ्यो । त्यहाँबाट सामान लिएर बिहीबार फाँसीदेवा पुग्ने गोरुगाडी शुक्रबार खोरीबारीसम्म पुग्थ्यो । शनिबार नक्सलबारी पुग्ने गोरुगाडीहरू आइतबार फेरि सिलिगुडी आइपुग्थ्यो ।

सिलिगुडी सहरबीचै हुर्किएका युवराज काफ्लेलाई अहिले पनि थाहा छ, त्योबेला घरमा कुनै थोक सकिए मतिगडाकै हाट पर्खिनुपर्थ्यो । किनकि, सिलिगुडीमा नपाइने सामान पनि मतिगडामै पाइन्थ्यो । सिलिगुडी बजारकैहरू पनि धेरैजना मंगलबार मतिगडा हाट भर्न आइपुग्थे । तर, बिस्तारै सिलिगुडीको आङमा नयाँ घाम लाग्दै गयो । बजार बाक्लिँदै गयो । चौडादार सडकहरू बनिन थाले । नयाँ–नयाँ भवनहरू ठडिँदै गए । त्यसपछि त मान्छेले थाहै पाएनन्, गोरुगाडी चल्ने सिलिगुडीमा कति छिट्टै मोटरगाडीको जाम लाग्न थाल्यो ।

आजको सिलिगुडीमा के छैन ? हरथोक छ । विश्वविद्यालय यहीँ छ । एयरपोर्ट यहीँ छ । रेलको जक्सन यहीँ छ । राम्रो अस्पताल यहीँ छ । बाहिरबाट आउनेहरूलाई सिक्किम जानुपरोस् वा असम, सिलिगुडी नछिरी धर छैन । पूर्वोत्तरकाहरूलाई कलकत्ता जानुपरोस् वा दिल्ली, सिलिगुडी नटेकी भर छैन । त्यसैले त यो सहरमा अचेल सबथोक पाइन्छ– रोजगार पाइन्छ, दलाली गर्न पाइन्छ, अवसरलाई मौकामा बदल्न पाइन्छ, सपना बोकेर हिँड्न चाहनेहरूका निम्ति नयाँ गोरेटो खोज्न पाइन्छ ।

त्यसैले त यो सहर हरेक बटुवाहरूको पनि सहर हो, जो केही न केही खोज्दै भौंतारिरहेका हुन्छन् ।

मणिपुरमा दंगा होस् वा मेघालयमा हिंसा होस्, मान्छे भागेर आइपुग्ने सहर यही हो ।

नेपालकै माओवादी आन्दोलनमा पनि धेरैको लुक्ने ठाउँ यही सहर बनेको थियो । ८० को दशकमा जब दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन चर्कियो, आफ्नै मान्छेलाई खेदाखेद गर्न थालियो । धेरै जना भागेर यही सहर आइपुगे । आज पनि दार्जिलिङमा कुनै राजनीतिक हिंसा होस्, लुकेर बस्न सकिने सुरक्षित ठाउँ यही सिलिगुडी सहर हो ।

अब त यस्तो लाग्न थालिसकेको छ– सिक्किम कालेबुङ र दार्जिलिङका हुनेखानेलाई ठन्डा महिनामा न्यानो ताप्नलाई पनि सिलिगुडीकै घाम चाहिन्छ । सिलिगुडीकै धरती चाहिन्छ । सिलिगुडीकै आकाश चाहिन्छ । तैपनि यो सहरलाई कसैसँग कुनै गुनासो छैन । यो त्यो सहर हो, जो अगन्तुकहरूको भीड देखेर कहिल्यै हैरान बन्दैन ।

मान्छे यहाँको गरमसँग गुनासो गर्छन् । मैला गल्लीहरूतिर फर्केर गनगन गर्छन् । फेरि पनि तर, फुर्सद पाउनसाथ यहीँ आइपुग्छन् र भन्छन्, ‘सिलिगुडीमा अलिकति जमिन त चाहिने नै रहेछ हौ ।’ हर मान्छेलाई सिलिगुडीसँग थोरै गुनासो छ । थोरै प्रेम छ । र, त्यो प्रेममा सबैभन्दा धेरै लोभ मिसिएको छ । किनकि हरेकलाई सिलिगुडी अलि अलि चाहिएकै छ ।

हरेक सहरको एउटै नियति हुन्छ, जसले जहिले लाखौं मान्छेलाई आफ्नो छातीमा अटाउनुपर्छ । तर, मान्छेको व्यवहार फेरि पनि त्यही हो, जुन सहरको छातीमा उभिन पायो, त्यही सहरलाई अलिकति फोहोर बनाएर जान्छ । र, नयाँ मान्छेलाई सुनाइराख्छ, ‘त्यो सहर साह्रै फोहोर छ ।’

सिलिगुडीको नियति पनि त्यस्तै छ । जहाँ हजारौं मान्छे आइपुग्छन्, आफैं फोहोर गर्छन् र भन्छन्, ‘सिलिगुडी अलि मैला छ ।’ आउने जति हरेकलाई हतारै हुन्छ । गाडीको जाम आफैं लगाउँछन् र गुनासो गर्न थाल्छन्, ‘अचेल सिलिगुडीमा धेरै जाम लाग्न थालेको छ ।’

यो जाम । यो गाडीको हर्न । यो मान्छेको भीड । सबसँग जब म दिक्क हुन्छु, मन बहलाउन केहीबेर महानन्द नदीको किनार पुग्छु । र, सहरको मैला लिएर बग्दै गरेको नदीलाई नियाल्छु, जुन नदीले सिलिगुडीको सभ्यता सुरु गरिदियो, आफ्नै काखमा यति सुन्दर सहर बसाइदियो, त्यही नदीले कहिलेसम्म यो सहरकै मैला बोकेर बगिरहनुपर्ने होला नि ?

कुन्नि किन हो ? यो नदी, यो सहर– दुवै मलाई एकैएकै लाग्छन्, जसले हरेकलाई आफ्नो छातीमा अलिअलि ठाउँ दियो, तर कसैको छातीमा पनि आफैंले चैं अलिकति पनि ठाउँ पाउँदै पाएन ।

प्रकाशित : पुस २८, २०८० ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?