त्यही गाताको माया लागेर आउँछ !

किताब–संसारमा छिर्ने गेटपास हो– गाता । कुनै बेला भनिन्थ्यो– डन्ट जज अ बुक बाई इट्स कभर ! अहिले भनिन्छ– एभ्रिवान लाइक्स टु जज अ बुक कभर ! हजारौं शीर्षकबीच ‘एक झलक’ नै काफी हुन्छ, किताब छान्न । किताबले पाठकलाई तान्नु र पाठकबाट किताब छानिनुमा गाताको खास भूमिका छ ।

किताबको बाहिरी आवरणलाई विभिन्न नाम दिइएको छ– गाता, कभर, ज्याकेट, जिल्द ! तपाईं पनि पुस्तकको गाता हेरेर मक्ख पर्नुहुन्छ ? तपाईंलाई पनि गातै हेरेर पुस्तक किनूँ–किनूँ लाग्छ ? कि पुरानो उक्ति ‘डन्ट जज अ बुक बाई इट्स कभर’ सम्झनुहुन्छ ? कभरभन्दा पुस्तककै विषयवस्तु गहकिलो हुनुपर्छ भन्नेमा दुई मत छैन, तर विषयवस्तु नै चित्रित गर्ने कभर हुनुपर्छ भन्नेमा पनि मतैक्य छ । 

त्यही गाताको माया लागेर आउँछ !

स्कुलेबाहेक मैले पढेको पहिलो पुस्तक हो– युधीर थापाको ‘जुन अस्ताइसकेछ’ । कक्षा ९ मा छँदा मैले गाताबिनैको त्यो पुस्तक पढेको थिएँ । काठमाडौं आएपछि मात्रै त्यसको गाता देखेँ । गातै मन परेर थुप्रै पुस्तक किनेको छु । कहिलेकाहीँ लाग्छ, पुस्तक किन्नु पनि एउटा अम्मलै हो । खल्ती हलुंगो बनाई किनेका पुस्तक वर्षौंदेखि दराजमा उसै थन्किएका छन् । बोल्ने भए तिनले भन्थे होलान्, ‘नपढ्ने भए त्यसै मलाई दराजको कुनामा किन थन्क्याएर राखेको ?’

आजकल लेखकहरू नै चाहन्छन्– आफ्नो पुस्तकको कभर कलात्मक होस् ! पाठकहरू कतिपय पुस्तकका विषयवस्तुसँग मात्रै होइन, कभरसँग पनि आफूलाई जोड्छन् । पुलित्जर पुरस्कार विजेता लेखक झुम्पा लाहिरी भन्छिन्, ‘कभरले मलाई हँसाउन सक्छ वा रुवाउन पनि सक्छ । त्यसले मलाई उदास बनाउन सक्छ, भ्रमित वा क्रोधित तुल्याउन पनि सक्छ ।’ लाहिरीको पुस्तक–कभरबारे मोटो गातासहितको पातलो किताब ‘द क्लोथिङ अफ बुक्स’ प्रकाशित छ ।

सन् २०१४ मा इटलीको फ्लोरेन्समा आयोजित एक साहित्यिक महोत्सवमा दिएको विद्वत् प्रवचनलाई उनले पुस्तकाकार दिएकी छन् । त्यसो त पुस्तकको कभरमा प्रकाशक पनि हाबी हुन्छन् । अमेरिकामा पहिलो संस्करण बिक्री भएन भने एक सातामै प्रकाशकले पेपरब्याक संस्करणको कभर फेरिदिइहाल्छन् । इटलीमा पनि त्यसै हुने गरेको झुम्पा लेख्छिन् । आफ्नै पुस्तकका कभर पनि त्यसैगरी बनाइएको झुम्पाको भनाइ छ । ‘मलाई एउटा कभर प्रस्ताव गरिन्छ, त्यसपछि प्रकाशन गृहले भन्छन् : ‘हामी त अर्कै पो बनाउने निर्णयमा पुग्यौं,’ झुम्पा लेख्छिन् । कभर जतिसुकै बलशाली मानियोस्, पुस्तक बिक्री भएन भने त्यसको कुनै मूल्य नहुने उनको मत छ ।

आजभोलि पुस्तक–कभरमा लेखकको परिचय मात्रै हुँदैन, लेखक र किताबबारे चिरपरिचित लेखक वा पत्रकारको ब्लर्ब, पुरस्कारको सूची पनि हुन्छन् । विभिन्न अखबार र म्यागेजिनमा छापिएका समीक्षा त हुने नै भए । एकअर्काको पुस्तकमा भूमिका लेख्ने चलन त छ नै । उदाहरण हेरौं– ता नाहासी कोट्सको ‘बिट्विन द वर्ल्ड एन्ड मी’ लाई टोनी मरिसनले ‘पढ्नैपर्ने पुस्तक’ भनेकी छन् । मरिसनको ‘द ओरिजिन अफ अदर्स’ मा त कोट्सले भूमिकै लेखेका छन् । कभरबिनाकै पुस्तक पनि विषयवस्तुको जगमा उभिन सक्ने झुम्पाको बुझाइ छ । पछिल्लो समय पेन्गुइन प्रकाशनले धेरै पुस्तक एकै प्रकारको कभरमा प्रकाशित गरेको छ । ‘वातावरणमैत्री’ भनेर उसले केही पुस्तकलाई ‘ग्रिन सिरिज’ मा छापेको छ । पछिल्लो समय नेपाली प्रकाशन गृह फाइन–प्रिन्टले पनि ‘कर्नाली ब्लुज’, ‘पानीको घाम’, ‘गुलाबी उमेर’, ‘फिरफिरे’ लगायत पुस्तक क्लासिक–शृंखलाअन्तर्गत एकैखाले कभरमा प्रकाशित गरेको छ ।

नेपाली पुस्तकका कभर निर्माणमा बिर्सनै नसकिने नाम हो– टेकवीर मुखिया । कलाकार मुखियाले नेपाली भाषा–साहित्यका ५ हजारभन्दा बढी पुस्तकको कभर बनाइसकेका छन् । उनी पुस्तकको पाण्डुलिपि पढेरै कभर बनाउँथे । केही समयअघि ‘कोसेली’ मै प्रकाशित आलेखमा ‘बसाइँ’ को कभर कसरी बन्यो भन्ने उनले सम्झिएका छन्, ‘२०२३ को अन्त्यतिर हुनुपर्छ, एक दिन कमलबाबु (दीक्षित) ले मलाई ‘बसाइँ’ भन्ने उपन्यास हातमा थमाउनुभयो । सादा कागजकै जस्तो गाता मोरिएको त्यो किताब १ सय पेजको पनि थिएन । त्यसमा पनि गाताचित्र बनाउनुपर्ने थियो । मैले साँझमा डेरामा लिएर गएँ र पढ्न थालेँ । पूर्वको पहाडी गाउँबाट लखेटिएर बसाइँसराइमा परेका धने–मैनाको कथा त्यहाँ थियो । तर, मैले त्यहाँ धने–मैना होइन, मेरा बाआमा कर्णवीर–पद्मा देखेँ । तिनीहरू काखको सानो छोरो लिएर गाउँ र देशै छाडेर गएको कथाले म मेरै पितापुर्खातिर फर्किएछु । अनि भोलिपल्ट बिहानै आफ्नो घरखेत, गाउँ छाडेर हिँडिरहेका बाआमाको चित्र उतारें । खासमा मैले त्यो आवरणमा मेरा बाआमा र म आफैंलाई समेटेको थिएँ, सानो कुम्लोकुटुरोसहित ।’

‘मुनामदन’ (लक्ष्मीप्रसाद देवकोटा), ‘मालती मंगले’ (माधव घिमिरे),‘शिरीषको फूल’ (पारिजात), ‘घामका पाइलाहरू’ (धच गोतामे) जस्ता कृतिका कभर बनाउँदा पनि मुखिया स्मृति–रमणमा घोत्लिएका थिए । भन्छन्, ‘मलाई जिम्मा दिइएका आवरण चित्र बनाउने काममा म सबैजसो पुस्तक पढेर मात्रै लाग्थेँ, बरु बुझिएन भने लेखकलाई सोध्थेँ पनि ।’

लेखक सुजित मैनालीको ‘सती : इतिहास र मीमांसा’ को कभर निकै मिहिनेतपूर्वक बनाएको कलाकार सचिन यगोल श्रेष्ठ बताउँछन्, जसमा धूवाँ पुत्ताइरहेको बाँसको एउटा ठुटो छ । माटोले लिपिएको भुइँमाथि राखिएको बाँस र गरगहनाले तत्कालीन समाजमा विद्यमान सती प्रथाको प्रतिनिधित्व गर्छ । पुस्तककै कभरमा गहनाको तस्बिर पनि राखिएको छ । महारानी राजराजेश्वरीले सती पठाइनुअघि चढाएको गहनाको तस्बिर, बाँसको ठुटो र भुइँको कम्पोजिट तस्बिरले सतीको पूर्ण कभर बनेको छ । गहनामा कुँदिएको विवरण पुस्तकमा यसरी दिइएको छ, ‘सं १८६३ वैसाष सुदि १५ श्री वायि देवतालाई श्री महारानी राजराजेश्वरीदेवीले सति जाँदा जौसर्‍या दोहरा चह्राएको हो । कसैले लोभ गर्‍या पच महापातक लागोस् ।’ रणबहादुर शाहको हत्या भएको नवौं दिनमा ‘भीमसेन थापाले जबरजस्ती राजराजेश्वरीदेवीलाई सती पठाएर राज्यसत्तामा ढलीमली’ गरेको मैनाली लेख्छन् । सम्वत् १८६३ वैशाख १४ का दिन रणबहादुर आफ्नै भाइ शेरबहादुर शाहबाट काटिएका थिए ।

‘सती’ को कभर निर्माणबारे कलाकार सचिन भन्छन्, ‘पाण्डुलिपि पढेरै मैले सतीको कभर बनाएको हुँ । सुरुमा क्लिक नै भइरहेको थिएन । लेखकले राजराजेश्वरीको गहनाको तस्बिर उपलब्ध गराएपछि नयाँ आइडियामा काम भयो । त्यसपछि बाँस र भुइँको आफ्नै फोटोग्राफीलाई समेत प्रयोग गरेर कभर बनाएको हुँ ।’ हिन्दु परम्पराअनुसार, कसैको मृत्युपछि शव जलाउँदा बीच–बीचमा बाँसले घोच्ने चलन छ । त्यसैलाई प्रतिविम्बित गर्न कभरमा बाँस राखिएको यगोल बताउँछन् । कभर बनाउने कलाकारले पुस्तकको विषयवस्तु पढ्न जरुरी छ त ? ‘यदि प्रोफेसनल कभर डिजाइनर हो भने पाण्डुलिपि पढ्न पाउनुपर्छ । सतीको पाण्डुलिपि पढ्दा कभरकै आइडियामा १० ठाउँमा हाइलाइट गरेको थिएँ ।’ कतिपय अवस्थामा पाण्डुलिपि पढेर कभर सिफारिस गर्दा लेखकलाई पनि चित्त बुझेको उनी सम्झन्छन् । हालै प्रकाशित मोहन मैनालीको किताब ‘मुकाम रणमैदान : नेपाल अंग्रेज युद्धको बखान’ को कभर त्यसैगरी बन्यो । सचिनले पाण्डुलिपि मागेर भने, ‘म पढेरै कभर बनाउँछु, तपाईंलाई चित्त बुझ्यो भने भइहाल्यो, नभए अर्को गरौंला ।’ आधुनिक हातहतियारसहितका अंग्रेजविरुद्ध तरबारका बलमा लडेका नेपालीको प्रतीकात्मक कलासहितको कभर मैनालीले मन पराए ।

गाताको विषयमा पुस्तकै लेखेकी झुम्पाका किताबका कभर कसरी बन्छन् त ? तीतै छ उनको अनुभव पनि । उनलाई आफ्ना पुस्तकका कभर आफैंलाई मन परेका छैनन् । कहिलेकाहीँ आफ्नै जीवनमा पहिचानको उल्झनले उल्झिएझैं पुस्तकका कभरले पनि उनलाई अल्झाएको छ । केही प्रकाशन–गृहले झुम्पाको तस्बिर र नाम राखेर ‘स्टेरियोटिपिकल कभर’ बनाउँछन्, जसमा उनीहरूको अर्थमा भारत झल्कियोस्, जसमा होस्– हात्ती, मेहन्दी लगाइएका हात, गंगा नदी र धार्मिक तथा आध्यात्मिक संकेत । यसमा व्यापक असन्तोष छ–झुम्पाको । ‘मेरा कथाको अधिकांश हिस्सा गंगाभन्दा हजारौं कोस पर रहेको अमेरिकामा आधारित भएको त कसैले ध्यानै दिँदैन,’ उनी भन्छिन् । उनले धेरैपटक आफ्नो मुख्य पात्र अमेरिकामै जन्मे–हुर्किएको भनेर प्रकाशकलाई ‘कम्प्लेन’ पनि गरिन् । त्यसपछि प्रकाशकले कभर त सच्याए, तर फेरि उस्तै भारतीय भवनहरू हटाएर अमेरिकी झन्डा हालिदिए । त्यसैले उनी भन्छिन्, ‘गलत ज्याकेट कलात्मकताको कुरा मात्रै होइन, बाल्यकालदेखि मैले भोग्दै आएको चिन्ताको एक शृंखलाको निरन्तरता पनि हो । एभ्रिवान लाइक्स टु जज अ बुक कभर ।’ पछिल्लो समय ई–बुकको प्रचलन बढेसँगै कभरको महत्त्व घट्दै गयो त ? अझै धेरै पाठक कागजी पुस्तक नै पढ्न रुचाउँछन् । दराजबाट चाहेका बेला झिक्यो, पढ्यो, सिरानीछेउ राख्यो । किताब पढ्नेहरू यस्तै बानीमा रमाउँछन् ।

कश्मीरमा जन्मे–हुर्केर लन्डन बस्दै आएका लेखक मिर्जा वाहिदको पुस्तक ‘द बुक अफ गोल्ड लिभ्स’ को आफ्नै ‘आवरण–कथा’ छ । यस उपन्यासमा उनले १२० वर्षअघिको जिजुहजुरबुवा मिर्जा अलीको कलालाई कभरमा उतारेका छन् । श्रीनगरस्थित घरमा पुरानो बाकसमा थन्किएको जिजुहजुरबुवाको आकर्षक कभर भेटिएको बारे उनले भनेका छन्, ‘मैले जिल्द (एक आवरण) हातले समातेँ, विस्तारै खोल्दै गएँ, म अवाक् भएँ । गाताभित्र सुनौलो, रातो, नीलो र हरियो रङका फूलहरूको एक आश्चर्यलाग्दो प्याटर्न थियो ।’ उनले लन्डनस्थित प्रकाशकलाई उक्त गाताको कभर इमेल गरे । पछि उनले गाता नै प्रकाशकलाई देखाए । प्रकाशकले भने, ‘मैले खोजेजस्तो कभर भेट्टाएँ ।’ यसरी मिर्जा वाहिदले आफ्नो उपन्यासमा पारिवारिक इतिहास र कलात्मक विरासतलाई समेटे ।

संस्मरण–किताब ‘जोगियाना’ का लेखक कुमार नगरकोटीलाई पनि किताबको ‘जिल्द’ आकर्षक र कलात्मक नै हुनुपर्छ । किताबको गाताको ‘थिम’ यस्तो होस् भनेर नगरकोटी आफैंले डिजाइनरलाई भन्ने गरेका छन् । उनकै अनुरोधमा कलाकारले कभर बनाउँछन् । ‘कभर त पुस्तकको संसारमा छिर्ने गेटपास नै हो मेरा लागि । ठ्याक्क हेर्दा नै यो पुस्तक मेरो मार्काको रहेछ भन्ने लाग्ने हुनुपर्छ । यो पनि एउटा ब्युटिफुल आर्टवर्क नै हो । पहिले भनिन्थ्यो नि– डन्ट जज अ बुक बाई इट्स कभर । म त भन्छु– यु मस्ट जज द बुक बाई इट्स कभर ।’ नेपालमा कभर निर्माणमा लेखक–कलाकारबीच सहकार्यको उति धेरै अभ्यास नभएको पनि नगरकोटी बताउँछन् । लेखकमा पनि ‘कभर–कला’ बारे ‘सेन्स एन्ड सेन्सिबिलिटी’ हुनुपर्ने उनको मत छ ।

‘गुर्खाज डटर’ र ‘ल्यान्ड ह्वेर आई फ्ली’ का लेखक प्रज्वल पराजुली पनि कभर पुस्तकको विषयवस्तुलाई प्रतिविम्बित गर्नेखालको हुनुपर्ने विचार राख्छन् । ‘गुर्खाज डटर’ को बेलायती संस्करणको गाता उनलाई फिटिक्कै मन परेको थिएन । ‘कभरबारे प्रकाशकहरूले के–के गर्छन्, म बुझ्दै बुझ्दिनँ । कभरले निकै फरक पार्छ, किन नपार्नु ! यो पनि एउटा कलात्मक काम हो,’ उनी भन्छन् । ‘गुर्खाज डटर’ को बेलायती संस्करणमा ‘पुरुषको दृष्टिकोणबाट किन कभर बनाएको ?’ भनेर प्रकाशकसँग आफूले विवाद नै गरेको उनी बताउँछन् । भन्छन्, ‘गुर्खाज डटरको बेलायती कभर देख्दा मलाई रिस नै उठ्यो । उनीहरूले कभरमा महिलाको अनुहार पनि नदेखिने किसिमले बनाएका रहेछन् । तर, त्यसको केही समयपछि भारतीय संस्करणको कभर भने मलाई मन पर्‍यो ।’ ‘ल्यान्ड ह्वेर आई फ्ली’ को नेपाली अनुवाद ‘चित्रलेखाको चौरासी’ को कभर पनि आफूलाई मन परेको प्रज्वलको भनाइ छ ।

गाताको इतिहास पुस्तकको इतिहाससँगै सुरु हुन्छ । पुस्तक र गाताका इतिहासबारे विभिन्न पुस्तकसमेत लेखिएका छन् । केथ हौस्टनले ‘द बुक : अ कभर टु कभर एक्स्प्लोरेसन अफ द मस्ट पावरफुल अब्जेक्ट अफ आवर टाइम’ पुस्तकमा गाताको इतिहास खोतलेका छन् । उनले मिश्रमा ‘पपाइरसको पातलाई कसरी लेखनमा प्रयोग गरियो ?’ देखि चीनमा कागजको आविष्कारसम्मको कथालाई गहकिलो ढंगले प्रस्तुत गरेका छन् । उनी डिजिटल प्रकाशनमा क्रान्ति नै आए पनि कागजी किताब पढ्न छुट्टै आनन्द आउने बताउँछन् । भन्छन्, ‘र्‍याकबाट एउटा किताब निकाल्नुस्, त्यो पनि सबैभन्दा ठूलो र आकर्षक, मोटो गातावाला । हातमा राख्नुहोस्, सरर्र पाना पल्टाउनुहोस्, कागजको सरसराहट सुन्नुस्, सुँघ्नुस् ।’ ट्याब्लेट, किन्डल वा कम्प्युटरको स्क्रिनभित्र बन्द किताबले त्यस्तो मज्जा नदिने उनको अनुभव छ ।

अब लागौं, गाताको इतिहासतिर । पहिले–पहिले पुस्तक जोगाउन बढी महत्त्व दिएर गाता राखिन्थ्यो । त्यसो त सुन्दर देखियोस् भनेर कलाकारहरूले माटोका प्लेट, काठ र धातुका गाता पनि बनाए । जेम्स राभेनको सम्पादनमा अक्सफोर्ड युनिभर्सिटी प्रेसले छापेको ‘द अक्सफोर्ड इलुस्ट्रेटेड हिस्ट्री अफ द बुक’ मा सिन्धु उपत्यकाको लिपि हडप्पा र मोहेन्जोदारोको छापमा इसापूर्व ३५०० देखि इसापूर्व १९०० मा प्रचलनमा आएको उल्लेख छ । इसापूर्व ३००० मै पपाइरसका पातहरू मिश्रमा भेटिएको चर्चा पनि पुस्तकमा छ । विस्तारै लेखनका लागि मिश्रमै जनावरका छाला काढ्न थालियो । इसापूर्व २१०० मा आइपुग्दा काठका पातला फ्लेकमा लेख्न थालियो भने इसापूर्व १६०० मा मध्यपूर्वका ‘क्युनिफर्म’ भनी चिनिने माटोका ट्याबलेट प्रचलनमा आए, जुन मध्यपूर्व हुँदै साइप्रस र इरानसम्म प्रयोगमा आएको भेटिएको ‘द अक्सफोर्ड इलुस्ट्रेटेड हिस्ट्री अफ द बुक’ मा लेखिएको छ । हिन्दुहरूको पवित्र ग्रन्थ मानिने वेद इसापूर्व १५००–१००० को बीचमा भारतमा रचिएको मानिन्छ । इसापूर्व ६५० तिर पहिलोपल्ट चीनमा रेशमी कागजमा लेख्न थालियो । संस्कृत रामायण पनि इसापूर्व ५००–१०० को बीचमा लेखिएको मानिन्छ ।

इसापूर्व ३०० मा मिश्रको अलेक्जेन्ड्रियामा पुस्तकालय खोलियो भने इसापूर्व २६८–२३२ मा अहिलेको दक्षिण एसियामा मौर्य सम्राट् अशोकका पालामा लेख्य प्रणालीको आविष्कार भएको मानिन्छ । इसापूर्व २०० मै दक्षिण एसियामा पामको पातको पुस्तक प्रचलनमा आएको भेटिन्छ । इसापूर्व १४०–८७ मा चीनमा कागजको आविष्कार भएको प्रमाणहरू भेटिएका छन् भने सन् ३९ मा रोममा पहिलो सार्वजनिक पुस्तकालय खोलियो । त्यसपछि विभिन्न कालखण्डमा कागजमै विभिन्न पुस्तक लेखिए पनि सन् १४५२ मा जर्मनीमा जोहानेस गुटेनबर्गले लेटरप्रेस प्रिन्टिङ मेसिनको आविष्कार गरेसँगै छापामा क्रान्ति आएको मान्न सकिन्छ । काठका ब्लकहरू जोडेर एउटा पुस्तक छाप्न धेरै समय लाग्ने कथा अब इतिहास भइसक्यो । अहिले एउटा मेसिनले एकै दिनमा हजारौं पुस्तक छाप्न सक्छ । सन् १९९३ मा एडोबले पोर्टेबल डक्युमेन्ट फर्म्याट (पीडीएफ) सार्वजनिक गरेसँगै ‘डिजिटल पठन’ मा पाठक बढे । सन् २००४ मा ‘ई–रिडर’ को विकास भयो भने सन् २००७ मा अमेजनले किन्डल बेच्न सुरु गर्‍यो ।

ढुंगा, माटो, पात हुँदै विकसित भएको छापा उद्योग निकै परिष्कृत भइसकेको छ । त्यससँगै किताबका गातामा पनि खस्रा, चिल्ला, इम्बोस्ड कलासहित व्यापक परीक्षण भइसकेका छन् । पछिल्लो समय किताबका गातामा नेपाली लेखकहरूले पनि ध्यान दिन थालेका छन् ।

गाता–कथा

प्राचीन समयमा प्रकाशित ‘इट्रुस्कन गोल्डेन बुक’ गाता र कागज सुरक्षित भएको पुराना पुस्तकमध्येकको एक मानिन्छ । लेखक र प्रकाशक थाहा नभएको यस पुस्तकको गाता सुनको लेपनसहित बनाइएको इतिहासविद्हरूको भनाइ छ । सन् ७१० देखि ७२० को बीचमा प्रकाशित ‘सेन्ट कथबर्ट गोस्पेल’ को कभर काठ, माटो र बाख्राको छालाले बनाइएको छ । बाइन्डिङ गरिएको पुरानोमध्येको उक्त पुस्तक झन्डै ३ सय वर्षपछि सेन्ट कथबर्टको समाधिस्थलमा सन् ११०४ मा भेटिएको थियो । गातामा शीर्षक छैन, तर क्रिस्चियन सेन्ट भने लेखिएको छ ।

सन् ७१० देखि ७२० को बीचमा प्रकाशित भएको 'सेन्ट कथबर्ट गोस्पेल'को गाता । तस्बिर : ब्रिटिस लाइब्रेरी

अलि पछिको कुरा गरौं, सन् १८१३ मा जेन अस्टिनको चर्चित पुस्तक ‘प्राइड एन्ड प्रेजुडिस’ प्रकाशित भयो, जसको कभर बाच्छाबाच्छीको छालाबाट बनाइयो । गाताको अगाडिपट्टि खाली छ, स्पाइनमा भने पुस्तक र लेखकको नाम सुनौलो अक्षरले कुँदिएको छ । सन् २००५ मा यस पुस्तकमाथि चलचित्रसमेत बन्यो । यो पुस्तकलाई पछिल्लो समय विभिन्न प्रकाशन–गृहले कपडा, कागजका पातलो र मोटो गातासहित चित्ताकर्षक ढंगले बजारमा ल्याएका छन् ।

सन् १८१३ मा प्रकाशित जेन अस्टिनको 'प्राइड एन्ड प्रेजुडिस'को गाता । तस्बिर : ह्वाइटमोर बुक्स

‘प्राइड एन्ड प्रेजुडिस’ प्रकाशित भएको ४ वर्षपछि अहिलेसम्म पनि तहल्का पिटिरहेको ‘फ्र्यांकनस्टाइन’ उपन्यास प्रकाशित भयो । मेरी शेलीको उक्त उपन्यासको पहिलो संस्करणको गाता पनि चर्चायोग्य छ । डाई गरिएको छाला र २२ क्यारेटको सुनसहित उक्त पुस्तकको गाता बनाइएको थियो । अगाडिपट्टि सुनौला बोर्डरहरू भए पनि लेखक र पुस्तकको नाम भने साइडमा मात्रै लेखिएको छ । यसो हेर्दा धार्मिक पुस्तकझैं देखिने गरी गाताको सजावट छ ।

सन् १८१७ मा प्रकाशित मेरी सेलीको 'फ्र्यांकन्स्टाइनको 'छाला र सुनको प्रयोगमा बनाइएको गाता । तस्बिर : रेयरबुक सेलर

पुस्तककै गाताको कुरा गर्दा भर्जिनिया वुल्फ र बहिनी भेनेसा बेलको सहकार्यको चर्चा पनि भइरहन्छ । सुरुवाती चरणमा भर्जिनियाका अधिकांश पुस्तक–गाताको डिजाइन बहिनी भेनेसाले नै गरेकी हुन् । ‘मिसेस ड्यालावे’, ‘टु द लाइटहाउस’, ‘अ रुम अफ वन्स ओन’ लगायतका पुस्तक–कभर भेनेसाले बनाएकी हुन् । भर्जिनिया र उनका श्रीमान् लियोनार्ड मिलेर स्थापना गरेको प्रकाशन–गृह ‘होगार्थ प्रेस’ बाट प्रकाशित ३८ वटा पुस्तकका गाता बनाइन् भेनेसाले । लियोनार्डलाई ती कला मननपरे पनि भर्जिनिया भेनेसासँग भन्ने गर्थिन्, ‘तिम्रो शैली एकदमै आकर्षक छ, निकै यथार्थवादी पनि ।’

बहिनी भेनेसा बेलले भर्जिनिया वुल्फको 'अ रुम अफ वन्स ओन' को गाता । तस्बिर : लिटहब

सन् १९२५ मा प्रकाशित एफ स्कट फिजराल्डको किताब ‘द ग्रेट ग्याट्स्बी’ को गाता बनाएका हुन् प्रकाशकसमेत रहेका फ्रान्सिस क्युगटले । सन् १९२० को दशकको ‘अमेरिकी सपना’ लाई प्रतिविम्बित गर्ने ‘दिव्य दृष्टि’ सहितको गातालाई ‘आइकोनिक’ मानिन्छ । फिजराल्डले उपन्यास लेखिनसक्दै क्युगटले कभर बनाइसकेका थिए ।

सन् १९२५ मा प्रकाशित एफ स्कट फिजराल्डको 'द ग्रेट ग्याट्स्बी' को गाता । तस्बिर : द ब्रोकडाउन प्यालेस

पुस्तककै गातामा भएको कलाबारे साहित्यका अनुसन्धाताले विभिन्न लेख पनि लेखेका छन् । यस्तै–यस्तै कभरहरू धेरै छन् । एकै लेखमा यिनको चर्चा सम्भव छैन । अन्तिममा मान्छेकै छालाबाट बनाइएको एउटा पुस्तकको चर्चा गरौं । मृग, बाख्रा, बाच्छा–बाच्छीका छालाबाट किताबको कभर बनाइनु त सामान्य नै भइगयो । तर, मान्छेको छालाबाट किताबको गाता बनाइनुचाहिँ अलि अनौठै हो । आजभन्दा करिब २ सय वर्षअघिकै कुरा हो, बेलायतको ब्रिस्टोलमा एक जना १८ वर्षीय युवकलाई फाँसी दिइयो । आफ्नै समवयकी युवतीको हत्या अभियोगमा उनलाई ब्रिस्टोलको नयाँ जेलमा फाँसी दिइएको थियो । जोन हरवुड नाम गरेका ती युवकलाई एलिजा बाल्समको मृत्यु प्रकरणमा दोषी ठहर्‍याइएको थियो । एलिजालाई जोन खुबै मन पराउँथे, एलिजा उनीसँग तर्किएर हिँड्थिन् । त्यही रिसमा जोनले एक दिन एलिजाको टाउकोमा ढुंगाले हान्छन् । झन्डै एक वर्ष उपचार गरे पनि टाउकोको चोटकै कारण एलिजाको मृत्यु हुन्छ । फाँसी भइसकेपछि रिचर्ड स्मिथ नाम गरेका सर्जनले ब्रिस्टोल रोयल इन्फर्मरीमा जोनको शव चिरफार गर्छन् । उनले जोनको शवबाट छाला निकाल्छन् ।

सन् १८२१ मा प्रकाशित 'द जोन हरवुड बुक' को गाता । तस्बिर : ब्रिस्टोल म्युजियम

यही घटनाबारे विभिन्न दषी–प्रमाणसहितका दस्ताबेज जोडेर सन् १८२१ मा तयार भएको किताब हो–‘द जोन हरवुड बुक’ । सामान्य अन्य छालाका गाताझैं लाग्ने उक्त पुस्तकमा जोनकै छाला प्रयोग गरिएको छ । अझ गातामा ‘कलात्मक’ ढंगले लेखिएको छ, ‘जोन हरवुडको असली छाला ।’ उक्त पुस्तक धेरै समय ब्रिस्टोल संग्रहालयको अभिलेखालयमा प्रदर्शनमा राखियो । विस्तारै सुरक्षित राख्न नसकिएकाले अभिलेखालयमा ‘डिजिटल भर्सन’ राखिएको संग्रहालयले जनाएको छ । अहिले त्यो पुस्तक संग्रहालयको ‘एम सेड’ खण्डमा राखिएको छ ।

आजकल हजारौं शीर्षकबीच किताब छान्न ‘एक झलक’ नै काफी हुन्छ । कुनै पुस्तक पसल वा पुस्तकालय पस्दा तपाईंलाई त्यही ‘एक झलक’ ले तानेको हुन सक्छ । पछिल्लो समय पुस्तकले तपाईंलाई तान्नु र पुस्तक तपाईंबाट छानिनुमा गाताको थोरबहुत भूमिका पक्कै होला ।

प्रकाशित : पुस १४, २०८० ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?