१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

प्यालेस्टिनी फिल्मको फरमान 

प्यालेस्टिनी फिल्महरूको उद्देश्य हो– गुमिरहेको अस्तित्वको पुनःस्मरण वा पुनर्जगेर्ना । ती फिल्मले कथाभित्र र बाहिर दर्दनाक यथार्थवादकै वरिपरि रही अस्तित्व, न्याय र स्वाभिमानको लडाइा लडिरहेका छन् । 
सचिन घिमिरे

लेखक एडवार्ड सइदले अर्का लेखक हमिद दावासीको पुस्तक ‘द ड्रिम्स अफ द नेसनको’ भूमिकामा लेखेका छन्, ‘प्यालेस्टिनीहरू संसारभर छरिएर बसेका मान्छे हुन् । उनीहरूको फिल्म विभिन्न स्थान (पश्चिम किनारा, गाजा, युरोप र अमेरिका) बाट बनिरहेका छन् ।

प्यालेस्टिनी फिल्मको फरमान 

’ निर्देशक चार्ल्स ब्रुसले निर्देशन गरेको र सइद आफैंले प्रस्तुत गरेको वृत्तचित्र ‘इन सर्च अफ प्यालेस्टाइन’ बारे उनी भन्छन्, ‘जहाँ प्यालेस्टिनी फिल्म निर्माण भए पनि त्यसको उद्देश्य सन् १९४८ देखि प्यालेस्टिनीले हरेक दिनझैं व्यक्तिगत र सामूहिक रूपमा भोगिरहेको पीडा र गुमाइरहेको अस्तित्वको पुनःस्मरण वा पुनः र्जगेर्ना गर्नु हो ।’ सइदले भनेझैं प्यालेस्टिनी फिल्महरूले आज कथाभित्र र बाहिर दर्दनाक यथार्थवादकै वरिपरि रही अस्तित्व, न्याय र स्वाभिमानको लडाइँ लडिरहेका छन् ।

स्वतन्त्रता, स्वायत्तता, जमिन र अस्तित्वका लागि गरिएका संघर्षसँग जोडिएका विषयवस्तु प्यालेस्टिनी सिनेमाका मूलभूत विषयवस्तु हुन् । यद्यपि, हालसम्म कुनै पनि हलिउड फिल्मले प्यालेस्टिनी जनताको वास्तविक सबालमाथि विश्व दर्शकलाई सुसूचित गर्ने गरी फिल्म नबनाएको लेखक टेरी जिन्सवर्गले आफ्नो पुस्तकमा उल्लेख गरेकी छन् । तर, प्यालेस्टिनी निर्देशकहरूले भने प्यालेस्टाइनको पीडा पर्दामा उतार्ने कर्मलाई निरन्तरता दिइरहेकै छन् । निर्देशक मिचेल खेलइफीले सन् १९८० मा निर्देशन गरेकी वृत्तचित्र ‘फर्टाइल मेमोरी’ मा इजरायली अतिक्रमणले जमिन गुमाएकी एक महिलाको पीडा उजागर गरेकी छन् । निर्देशक अब्दुल वलाम सेहजादाको ‘डेव्रिस’ जस्ता वृत्तचित्रले प्यालेस्टाइनको ग्रामीण जनजीवन चित्रण गरेर मलिलो माटो, स्वच्छ हावा र जैतुनको रूखहरूको चित्रण गरेको छ । यी पर्यावरणीय बिम्बमार्फत निर्देशक शेहजादा नयाँ पुस्तालाई जमिन र पर्यावरणसँगको आत्मीयता बुझाउन र इतिहासको संस्मरण गराउन सफल छन् ।

निर्देशक मोहम्मोद वाक्रीले ‘जेनिन’ फिल्ममा शरणार्थी शिविरमा भएको आमहत्याको साक्षीका रूपमा बोल्न र सुन्न नसक्ने मूलपात्र खडा गरी सांकेतिक रूपमा कथामार्फत प्यालेस्टिनीले भोगिरहेको उत्पीडनलाई उजागर गरेका छन् । यही पीडामध्ये सन् १९४८ मा इजरायलले यहुदी राज्य घोषणा गरेर आफ्नो भूमिबाट बेदखल गरेको घटनालाई प्यालेस्टिनीहरू नक्वा अर्थात् प्रलयका रूपमा व्याख्या गर्छन् । आजको दिनमा प्यालेस्टिनीहरूले फिल्ममार्फत खोजिरहेको व्यक्तिगत र सामूहिक पहिचान नै नक्वाको पीडाबाट जन्मिएको छ । इतिहासमा गुमेको स्वाभिमान र राज्य फर्काउने म्यान्डेटलाई नै मूल तत्त्व मानेर प्यालेस्टिनी सिनेमाको वर्तमान सौन्दर्यचेतको निर्माण हुँदै गएको छ । तसर्थ, दोस्रो विश्वयुद्घपछिको सामाजिक, आर्थिक अवस्थाले इटालियन नवयथार्थवादको जन्म भएजस्तै प्यालेस्टिनी फिल्मले सिनेदर्शनको संसारमा नक्वाको पीडाबाट ‘ट्रम्याटिक रियालिज्म’ अर्थात् दर्दनाक यथार्थवाद जन्माउन भूमिका खेलिरहेका छन् । कथानक फिल्मले मात्रै होइन प्यालेस्टिनी वृत्तचित्रले पनि केही गुमाउनुको भय, सामूहिक रूपमा नक्वाको कारण भोगेका पीडादायी सम्झना अभिव्यक्त गरेर दर्दनाक यथार्थवादको वकालत गरिरहेको आभास हुन्छ । यही मर्मलाई आत्मसात् गर्दै प्यालेस्टिनी निर्देशक फिडा क्युस्टाले सन् २००७ र २००८ मा इजरायलले गाजामा गरेको अतिक्रमणको विषयमा ‘व्वेहर सुड द वर्डस फ्लाई’ ? नामक वृत्तचित्र निर्माण गरेकी थिइन् ।

यो आलेख फिलिस्तिनी अर्थात् प्यालेस्टिनीले फिल्ममा अभिव्यक्त गरेका भावना र अस्तित्वको खातिर जारी भएका फरमानसँग केन्द्रित छ ।

οοο

‘फिलिस्तिनी’ शब्द हेब्रु बाइबलबाट आएको हो, जसले फलामे युग अस्तित्वमा रहेको आदिम मानिसलाई जनाउँछ । १२ औं शताब्दीतिर फिलिस्तिनीहरूले आसदोद, आस्केलोन, एक्रोन, गाथ र गाजा गरी पाँच सहरको स्थापना गरे । समकालीन ग्रिकहरूको भाँडाकुँडा बनाउने संस्कृतिमा पनि फिलिस्तिनी सेरामिक्स लोकप्रिय थियो । धेरै पछि मात्रै ग्रिक भाषामा फिलिस्तिनीलाई प्यालेस्टिनी भन्न थालियो । केही समयअघि मात्रै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक पुरातात्त्विक अनुसन्धानको निष्कर्षलाई हवाला दिँदै आदिम फिलिस्तिनी र वर्तमानका प्यालेस्टिनीबीच कुनै जैविक सम्बन्ध नरहेको बताएका थिए । यद्यपि, अनुसन्धानकर्ता मान्छन्– इतिहासमा समुद्री मानिसका रूपमा चिनिएका आदिम फिलिस्तिनीहरूको वर्तमान पुस्ता नै प्यालेस्टिनी हुन् ।

οοο

सन् १९११ मा निर्देशक मुर्रे रोजनवर्गले अटोमान प्यालेस्टाइनमाथि वृत्तचित्र निर्माण गरे पनि उनी प्यालेस्टिनी थिएनन् । सन् १९३५ मा साउदी अरेबियाका राजा इब्न साउदले प्यालेस्टाइन भ्रमण गर्दा निर्देशक इब्राहिम हसन सिरहानले बनाएको वृत्तचित्र नै पहिलो प्यालेस्टिनी फिल्म मानिन्छ । सिरहानले त्यसउप्रान्त निर्माता जमाल अल अस्परसँगको सहकार्यमा टुहुरा बालबालिकाको सबालमा ‘द रियालाइज्ड ड्रिम्स’ र छोटो समय मात्रै सत्तामा रहेको अल प्यालेस्टाइन सरकारका प्रधानमन्त्री अहमद हिल्मी पासाबारे पनि वृत्तचित्र निर्माण गरेका थिए । सन् १९४० मा प्यालेस्टाइनको हालहुल गाउँमा खुला आकाशमुनि फिल्म हेर्न जम्मा भएका दर्शकबारे खिचिएको चर्चित श्यामश्वेत तस्बिर अमेरिकाको लाइब्रेरी अफ कंग्रेसको अर्काइभमा अझै सुरक्षित छ । सिरहानले सन् १९४५ मा अहमद हिल्मी अल किलानीसँगको सहकार्यमा अरब फिल्म कम्पनी नै स्थापना गरेर ‘द होलिडे इभ’ फिल्म पनि निर्माण गरे । सोही कम्पनीबाट ‘द स्ट्रोम एट होम’ फिल्म निर्माण गर्ने तयारी हुँदै गर्दा जाफ्फामा भीषण बमबारी भयो । त्यसपछि सिरहानले सहर छाडी अन्तै गएको अवधिसम्मलाई प्यालेस्टिनी फिल्म इतिहासको पहिलो काल मानिन्छ । सन् १९४८ मा इजरायलले प्यालेस्टाइनमाथि हमला गरे पनि झन्डै सात लाख प्यालेस्टिनी आफ्नो भूमिबाट विस्थापित भएका थिए । फलस्वरूपः बामे सर्न थालेको प्यालेस्टिनी फिल्मले झन्डै दुई दशकसम्म गम्भीर क्षति भोग्यो ।

निर्देशक सिरहान सन् १९५७ मा छिमेकी देश जोर्डनको पहिलो फिल्म ‘द स्ट्रगल इन जरास’ को निर्माणमा जोडिए । यसबीच अर्का प्यालेस्टिनी निर्देशक अवदल्लाह कवासले सन् १९६४ मा दोस्रो जोर्डनियन फिल्म ‘माई होमल्यान्ड माई लभ’ निर्देशन गरेको समयसम्मलाई प्यालेस्टिनी फिल्मको दोस्रो काल मानिन्छ । सन् १९६७ पछि प्यालेस्टिनी लिवरेसन अर्गनाइजेसन, प्यालेस्टाइनको राष्ट्रिय र समाजवादी पार्टी फताहाको सहयोगमा ६० भन्दा बढी वृत्तचित्र निर्माण भएको थियो । यसबीचमा सन् १९७६ र १९८० मा इराकको बगदादमा प्यालेस्टिनी फिल्म महोत्सवहरू सम्पन्न भए । निर्देशक मुस्तफा अबु अलीको सहयोगले लेबनानको बेरुतमा सन् १९७३ मा प्यालेस्टिनी सिनेमा एसोसिएसन स्थापना भयो । वृत्तचित्रभन्दा कथानक फिल्महरूले मानवीय संवेदनालाई कलात्मक र शक्तिशाली पस्किन सक्छ भन्ने बहस पनि त्यसताका प्यालेस्टिनी फिल्मकर्मीमाझ भएको थियो । फलस्वरूप सन् १९८२ मा ‘रिर्टन टु हाइफा’ फिल्म निर्माण भएको समयसम्मको अवधिलाई प्यालेस्टिनी सिनेमाको तेस्रो काल मानिन्छ ।

οοο

सन् १९९६ मा निर्माण भएको फिल्म ‘क्रोनिकल अफ डिस्यापेरेन्स’ अमेरिकामा प्रदर्शन भएपछि यसले अन्तर्राष्ट्रिय जगत्मा चर्चा बटुल्यो । यस फिल्मले सियाटल फिल्म महोत्सवमा नवनिर्देशकका लागि अवार्ड प्राप्त गर्‍यो र इटालीको भेनिस फिल्म महोत्सवमा समेत छनोट भयो । यस कालखण्डमा प्यालेस्टिनी निर्देशकमध्ये मिचेल खेलइफी, रसिद मासरवी, अली नासिर र एलिया सुलेमानहरूले सिनेवृत्तमा चर्चा बटुल्न सफल भएका थिए । निर्देशक खेलइफीले निर्देशन गरेको फिल्म ‘वेडिङ इन गलिली’ ले सन् १९८७ को क्यान्स फिल्म महोत्सवमा अन्तराृष्ट्रिय क्रिटिक अवार्ड पाउन सफल भएको थियो । यसको निकै वर्षपछि सन् २००६ मा निर्देशक हानी अबु असदले निर्देशन गरेका फिल्म ‘प्याराडाइज नाउँ’ले उत्कृष्ट विदेशी भाषाका लागि गोल्डन ग्लोब अवार्ड जित्न सफल भएको थियो । यसैबीच प्यालेस्टाइनको पश्चिम किनार क्षेत्रमा अवस्थित जेनिन सहरको शरणार्थी शिविरमा जर्मनीको गोथे इन्स्टिच्युटको सहयोगमा ‘जेनिन’ नामको फिल्म प्रदर्शन केन्द्र सञ्चालनमा आयो । यस केन्द्रमा प्यालेस्टिनी जनतामा फिल्ममाथि रुचि बढाउन आख्यान, गैरआख्यान, वाल फिल्म, वृत्तचित्र, अन्य शास्त्रीय अरबी र समकालीन फिल्म प्रदर्शन गरिन्थ्यो । सन् २००८ मा मात्रै तीन ठूला र आठा छोटा फिल्म निर्माण भएर प्यालेस्टिनी फिल्मले आफ्नो सक्रियता बढाएका थिए । सन् २०१० मा इजरायलले कसरी प्यालेस्टिनीहरूको ध्वंस गरिरहेछ ? त्यो जानकारी दिन ‘द ग्रेट लिबरेसन’ फिल्म तयार गरेको जानकारी दिइएको थियो । यद्यपि सन् २०१० मा क्यान्समा छनोट भएको निर्देशक खाली अल मुँजायको छोटो फिल्मको चार सेकेन्ड लामो दृश्यमा महिलाले टाउको नछोपेको भन्ने आरोपमा प्यालेस्टाइनमा प्रदर्शनमा रोक लगाइयो । त्यसपछि पनि ‘मारियाज ग्रोटो’, ‘काफ्फा’, ‘द भ्यु’, ‘टिल ह्वेन’ र ‘वियोन्ड द सन’ जस्ता फिल्मले अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड जितेका थिए । यस अलाबा प्यालेस्टिनी फिल्मलाई केन्द्रमा राखेर वोस्टन प्यालेस्टिनी फिल्म महोत्सव, सिकागो प्यालेस्टिनी फिल्म महोत्सव, लन्डन प्यालेस्टिनी फिल्म महोत्सवहरू हुने गरेका छन् ।

οοο

राज्यले आधिकारिकता नपाएको घटनामा प्यालेस्टिनी फिल्मकर्मी पनि प्रताडित छन् । सन् २००२ को ओस्कर अवार्डका लागि निर्देशक एलिया सुलेमानलाई उनी राज्यविहीन मानिस भएको कारण देखाई उनको फिल्म ‘डिभाइन इन्टरभेन्सन’ लाई सहभागी हुनै वञ्चित गरिएको थियो । एकातर्फ संयुक्त राष्ट्रसंघले मान्यता नदिएको देशबाट पठाएको फिल्म ओस्कर अवार्डमा सहभागी हुन नसक्ने अर्कोतर्फ सम्बन्धित देशमा पनि प्रदर्शन भएको हुनुपर्ने सर्तहरू नै निर्देशक सुलेमानका लागि तगारो बन्न पुगेको थियो । प्यालेस्टाइनका सांस्कृतिक संस्थाहरू लगायत फिल्मसम्मलाई इजरायलको अतिक्रमण र लगातारको कर्फ्युले ध्वस्त वनाइसकेपछि घरेलु सिनेमा घरमा उनको फिल्मको व्यावसायिक प्रदर्शन हुनु नै असम्भवप्रायः थियो ।

सन् २००२ मा जेरुसेलममा आयोजना गरिएको प्यालेस्टिनी फिल्म महोत्सवमा सहभागी हुन गएका दर्शकसमेत इजरायली सैनिकको अनावश्यक सोधखोजको सिकार भएका थिए । सन् २०१४ मा इजरायलले गाजामा गरेको ५१ दिन लामो हमलापछि फिल्म निर्माण गर्ने उपकरण, आफ्नो कार्यस्थल लगायत फिल्मका अर्काइभसमेत ध्वस्त भएको निर्देशक खालिल अल मोजाँयले अल जजिरालाई दिएको अन्तर्वार्तामा बताएका थिए ।

सन् १९७२ मा डमास्कसमा आयोजना गरिएको पहिलो अन्तर्राष्ट्रिय युवा महोत्सवमा प्यालेस्टिनी फिल्मको खास चरित्र दुनियाँलाई बुझाउन फरमान अर्थात् मेनिफेस्टोहरू जारी गरिएको थियो । प्यालेस्टिनी जनताहरूले भोगेका पीडा र संघर्षलाई फिल्ममा मुखरित गरी तोडमोड गरिएको इतिहासविरुद्घ सशक्त तरिकाले निर्माण भएका कलात्मक र वैचारिक पाटोसहितको श्रव्यदृश्य सिर्जनालाई प्यालेस्टिनी लडाकु सिनेमाका रूपमा बुझिनुपर्ने फरमानहरूमा लेखिएको छ ।

झन्डै पचास वर्षअघि जारी भएको फरमानहरूको पालना गरेर आजको दिनमा पनि प्यालेस्टिनी फिल्म निर्देशकहरूले आफ्नो गुमेको राज्य फिर्ता पाउन फिल्म निर्माण गरिरहेको आभास हुन्छ । सन् २०२३ कै इजरायल–प्यालेस्टाइनको युद्घपछि तयार भएको निर्देशक हसन मायासीको छोटो फिल्म ‘द की’ मा प्यालेस्टिनीले आफ्नो भूमि फिर्ता हुन पाउने अधिकारलाई इजरायली पात्रको दृष्टिकोणबाट देखाउन खोजेका छन् । अर्का प्यालेस्टिनी निर्देशक नवरस अबु सलेहले इजरायली अतिक्रमणविरुद्घ जुध्न क्यामरा एक शक्तिशाली हतियार भएको बताएका छन् । इजरायली अधिकारीहरूले गुमराह बनाएका अल क्विक अनशनबारेमा निर्देशक सलेहले निर्देशन गरेको छोटो फिल्म ६९ क्यान्स फिल्म महोत्सवमा छनोट भएको थियो ।

οοο

आमजनजीवन पूर्ण तहसनहस भएको वर्तमान अवस्थामा प्यालेस्टिनी भूमिभित्रै कथानक फिल्मको निर्माण असम्भवप्रायः भए पनि प्यालेस्टिनी पीडालाई क्यामरामा कैद गर्ने प्रयास जारी छ । निर्देशक खलिली अल मोजाँयले आफ्नो बोल्न पाउने अधिकारबारेमा वकालत गर्न फिल्म सशक्त हतियार भएको एक अन्तर्वार्तामा बताएका छन् । उनले ग्रिक मिथकमा भएको फिनिक्स चराजस्तो फेरि प्यालेस्टिनी फिल्म युद्घको चपेटाबाट ब्युँतिएर अघि बढ्नेछ भन्ने धारणा व्यक्त गरेका थिए । निर्देशक मोजाँयले भनेजस्तै फिल्मकर्मीहरू मानवीय पीडालाई श्रव्यदृश्य चित्र, आवाज, संगीत, ध्वनि, अभिनय र रंगको सहायताले मुखरित गरी युद्घको त्रासदी, जर्जरता, ध्वंस र अमानवीय घटनाको दस्ताबेजीकरण गर्ने सामार्थ्य राख्छन् ।

प्यालेस्टाइनमा हरेक दिनजसो भइरहेको नरसंहारको खातिर हाम्रा कलमहरू निष्क्रिय छन्, सम्पादकीय चासो शून्य छ अनि सामाजिक सञ्जाल चिसिएका छन्, श्रव्यदृश्य माध्यम मौन छन् अनि अन्तर्राष्ट्रिय समुदायअघि बोल्ने कुनै शब्द नै नभएझैं हामी निःशब्द र लाचार भएका छौं ।

प्रकाशित : पुस १४, २०८० ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?