१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

जाँड युनिभर्सिटी 

म आफूलाई ‘सोबर’ अवस्थामा किन असफल मान्छे ठान्छु? किन जाँड खाएपछि मात्रै मुटु फुट्ने गरी पुरानो प्रेमिकाको सम्झना आउँछ? के मेरो चिन्तन प्रणालीमै रक्सी घुसिसकेको हो?
विनोदविक्रम केसी

काठमाडौँ — शिव दिदीको ज्वाइँले मदिराका नाममा जीवन उत्सर्ग गरे । भन्न त यस अभिव्यक्तिलाई यसरी पनि भन्न सकिन्थ्यो, ‘शिव दिदीको ज्वाइँ जाँड धेरै खाएर मरे ।’ तर, यी दिवंगतप्रति म आभारी छु । त्यसैले उनका प्रति छुद्रताको गन्ध (करिब–करिब बिग्रेको जाँडको जस्तै) ठ्वास्स आउने भाषा अख्तियार गर्न मलाई अलिक असहज लाग्यो ।

जाँड युनिभर्सिटी 

हुन त कसैउपर महक (करिब–करिब किम्मती ह्विस्कीको जस्तै) आउने भाषा प्रयोग गर्नुपर्ने बाध्यता मलाई छैन । त्यस्तो बाध्यता त केही पेसेवर अतीतस्रेस्ताकारलाई छ, जो दिग्गज दिवंगतहरूप्रति चापलुसीका नयाँ–नयाँ प्रकरण उत्खनन गर्न मथिङ्गललाई रातोदिन पिक–साबेल चलाउन लगाइरहेका हुन्छन् । यदाकदा (करिब–करिब एक हाफ ओल्ड दरबार रित्याएपछि) म ती तमाम दुर्भाग्यग्रस्त विगतवेत्ताप्रति सहानुभूतिशील भइदिन्छु, जो इतिहासका नाममा सिनोको महिमामण्डन गर्नुपर्ने विवशतामा जाकिएका छन् ।

मेरा स्मृति–पात्र टोलभरि ‘ज्वाइँ’ का नामले सुविख्यात थिए । किनभने, घरज्वाइँ बसेका थिए । झोलशास्त्रमा त ख्यातनाम छँदै थिए ।

बाउन्न/त्रिपन्न सालको तत्कालीन नेपालमा तत्कालीन म, उच्चशिक्षा हासिल गर्न तत्कालीन भाउबेसाहामुताबिक रू. पाँचको कापी र रू. पाँचकै मोनामी डटपेन तत्कालीन जिन्स पाइन्टको पछाडिको खल्तीमा भिरेर हरेक बिहान पाँच बजे काँठग्राम चाल्नाखेलबाट कालिमाटी नगर आइपुग्थें । खहरे, चौतारोमा हामी उच्चशिक्षा आकांक्षी र दूध, फलफूल र तरकारी लिएर बजार जान लागेका सर्वकालीन बेफुर्सदमग्न दुखिया काँठे महिला बस कुरिरहेका हुन्थ्यौं । कहिलेकाहीं चौतारोमा ज्वाईं भेटिन्थे, झिसमिसेअघि नै भट्टीसम्मको यात्रा तय गर्न लागिरहेका !

‘कता हो भिनाजु यति सबेरै ?’ सोध्थ्यो कसैले ।

‘कहाँ हुनु नि ? त्यही जाँड युनिभर्सिटीसम्म त हो । तिमीहरूजस्तो क्याम्पस को गइराखोस् ? आफू त डाइरेक्ट युनिभर्सिटी ! तिमीहरूलाई दिनमा एक चोटि गए पुग्छ, आफूलाई पाँचछ चोटि हाजिर लाउनुपर्छ ।’

जाँड युनिभर्सिटी !

(सत्ताइस/अट्ठाइस वर्षअघि उनले गरेको त्यो ‘क्वाइनेज’ आज यसरी म आफ्नो निबन्धमा प्रयोग गरिरहेको छु । माथि सिरानमा उनीप्रति मद्वारा व्यक्त आभार प्रतिलिपि अधिकारको उच्च सम्मान हो ।)

यी अक्षरहरू टंकन गरिरहँदा, यतिखेर स्मृतियानमा सवार भएर म आफ्नै जाँड युनिभर्सिटीका अनेकन् दीक्षान्त समारोहमा पुगिरहेको छु । हेटौंडादेखि भोटाहिटीसम्म, घोराहीदेखि वसन्तपुरसम्म, काँकडभिट्टादेखि फर्पिङसम्म, चितवनदेखि खोकनासम्मका असंख्य भट्टीहरू (यसो भनम्, जाँड युनिभर्सिटीका सम्बन्धनप्राप्त शिक्षालय) मा मेरा अगणित दीक्षान्त समारोह सम्पन्न भएका छन् ।

मेरी आमाका अनुसार, दसएघार वर्षकै उमेरमा मेरो जात गएको थियो । कान्छी नगरकोटी फुपूकोमा उनीहरूको देवालीको मौकामा, खै कुन संयोगले हो, मकैको जाँड खाएर दुईतीन दिनसम्म मातेको थिएँ ।

‘अब तँ क्षत्री रहिनस् !’ आमाले भनेकी थिइन् ।

दुई बटुका जाँडले मलाई प्रथम पटक मदहोसीको बटुक बनाएको थियो । यसरी मातको वर्णमाला खार्न पुगेको थिएँ । र, आमाबाट जातच्युत करार गरिएको थिएँ ।

म जीवनभर क्षत्री नरहन प्रयत्नरत छु । जाँडले मेरो क्षत्रीपना पखाल्न मद्दत गरेको छ । (एक हिसाबले जात व्यवस्थाको बर्बरताविरूद्ध जाँड मेरातर्फबाट आफ्नो हद–औकातको कारबाही पनि हो ।)

एसएलसी दिएर बसेको बेला, साल २०५१ मा मैले जाँड जगत्मा सचेत किशोरकालीन पाइला टेकें । छ्याङ, बियर, दुधिया, भोड्का, अयलाहरूको नौलो संसारमा प्रवेश गरें । बाल्यकालमा चाखेको मदहोसीको स्वादले नवीकरण प्राप्त गरेको थियो ।

त्यही सालको एक मध्याह्न, गाउँनजिकको चुइगाउँ नामक नेवार बस्तीमा साथी रवि महर्जनको घरमा मैले जाँड युनिभर्सिटीको पहिलो कक्षा लिएँ । लौहद्वार

(आइरन गेट) भनिने एसएलसीको आतंक सकिएको ‘बहाना’ मा हामी चारपाँच जनाको जमघट अयलाउत्सवमा सरिक थियो । बहाना किन भनेको भने बिनाबहाना जाँड खानु मात–परम्पराको उल्लंघन हो ।

त्यस साँझ म सिकन्दर भएको थिएँ । जित्न बाँकी केही नराखेको, जित्न बाँकी केही नरहेको सिकन्दर !

ढलपल–ढलपल हालतमा साथी राजकुमारको अँगालोमा थाङ्ग्रो लागेर म घर पुगेको थिएँ । आमाका गालीहरूको उल्कापातको सारभूत निष्कर्ष थियो, ‘अब तँ मान्छे रहिनस् !’ उनको आक्रोशको घानमा राजकुमार परेको थियो । स्कुलमा मभन्दा दुई ब्याच ज्येष्ठ उसैले मलाई जाँड खुवाएको हो र कुमार्गमा प्रवृत्त गराएको हो भन्नेमा आमा विश्वस्त थिइन् । उनले ‘यो जँड्याहालाई मेरो घरमा पस्न दिन्नँ, तेरै घरमा लैजा,’ भनेपछि राजकुमारले उर्दी शिरोपर गरेर मलाई उसको घर लगेको थियो ।

भोलिपल्ट बिहान, साँझको सिकन्दर म पुनर्मुसिको भइसकेको थिएँ । अब आमाको सामना कसरी गर्ने ? उनले खसाल्ने आँशुविरूद्ध कुन हतियार चलाउने ? म निरूपाय थिएँ ।

अपराधीझैं घर पुगें । अनुमानविपरीत आमाले कुनै अनिष्ट घटित गराइनन् । तर, एक हप्तासम्म नबोलेर मेरा नाममा कठोर सजाय इन्तजाम गरिदिइन् । आमाहरूले यसरी जब सन्नाटा आत्मसात् गर्छन्, सन्तानहरू एक पलमै सत्र बाजि मर्छन् । त्यो एक हप्ता मैले पृथ्वीभरिका मृतकहरूको मृत्युवरण गरेको थिएँ ।

त्यसपछि एसएलसी पास गरियो । लब्धाङ्कपत्रले तोकिदिएको ‘जात व्यवस्था’ (फस्ट/सेकेन्ड/थर्ड डिभिजन) अनुसार म विज्ञानको विद्यार्थी हुन लायक भएँ (जात व्यवस्था यति जब्बर छ कि, यति जन्ड थियो कि, जता हेर्‍यो श्रेणी र सोपान मात्रै निर्माण भइरहेका हुन्छन्, जता जाऊ तह र खुट्किला मात्र निर्माण भइरहेका

हुन्थे) । र, टी–स्केल बोकेर म लागें, इन्जिनियरिङ पढ्न ।

आधा वर्षजति पुल्चोक क्याम्पस पढेपछि, एक दिन क्याम्पसको ठीक च्यापुमुनि अवस्थित नेवारी खाजाघरमा करिब–करिब आधा जग छ्याङ हानेपछि (तत्कालीन जनव्याकरणमा छ्याङसँग हान् धातु सुहाउँथ्यो, जसले कुनै पनि खालको हिंसात्मक गतिविधि जनाउँदैनथ्यो, छ्याङ सेवनकर्ताले यदाकदा उत्पात मच्चाउने प्रवृत्तिको पाटो भने बेग्लै थियो) मलाई तत्वज्ञान भयो, ‘मबाट घर, सडक र पुल निर्माणजस्तो तुच्छता सम्भव हुन सक्दैन । किनभने, मेरो जन्म त कुनै महान् कार्य सम्पन्न गर्न भएको हो ।’ त्यतिन्जेलसम्म मैले दुईतीन बोतल भूपी शेरचन र दुईचार पेग पारिजात पिइसकेको थिएँ । ज्योति कोइराला, श्यामबाबु पोखरेल, मञ्जरी शर्मा, ईश्वरीप्रसाद गैरेजस्ता स्कुले सर–मिसका सौजन्यमा अनि राजकुमार र रामजस्ता साहित्यलगावी साथीहरूको सरसंगतले म ‘अर्कै दुनियाँ’ मा पुगिसकेको थिएँ ।

राजकुमार प्रतिभाशाली कवि थियो । मेरो साहित्यिक जगमा उसका प्रेरणाका ईंटाहरू परेका छन् । उसको ‘नगरपालिका’ शीर्षकको कविताका केही हरफ आज पनि मेरो मस्तिष्कमा छापिएकै छन् ः ‘आमा, अब हाम्रो गाउँ पनि नगरपालिका हुन्छ/ यहाँ एउटा पानपसल थपिनेछ/ र, थपिनेछन् दुःखका नयाँ नयाँ पसलहरू ।’

ऊ र म फर्पिङ, बुङ्मती, खोकना, वसन्तपुरका भट्टीमा घण्टौं बस्थ्यौं । एकअर्काका डायरीभित्र पस्थ्यौं । यो राम्रो लेखिस्, यो झुर लेखिस्, यसमा यो पुगेन, यसमा यो बढी भयो भन्दै आफ्नै गच्छेको डा. वासुदेव त्रिपाठी बन्थ्यौं ।

पछि दालभातको दुःख र भैपरी आउने जटिलताले उसले कविता छोड्यो । त्यसपछि कविताले उसलाई छोड्यो । राम पनि राम्रो कविता लेख्थ्यो । उसको कवितालाई पनि उही विडम्बनाले खाइदियो । (अचेल हामी त्रिसखा कहिलेकाहीं जाँड खाँदै समयले खाइदिएका आफ्ना सपनाहरूमाथि गम खान्छौं ।)

राजकुमारकै भनसुन र सिफारिसमा २०५७ सालतिर म कोसान नामक प्लान इन्टरनेसनलको पार्टनर एनजीओमा जागिर खान पुगें । अनौपचारिक शिक्षाको सुपरभाइजर भएर मैले मकवानपुरका इपा, बूढीचौर, कोगटे, ठिंगन, राक्सीराङ, घैराङजस्ता गाउँका डाँडाकाँडा टेकें । मेरो जीवनले नितान्त नौलो पाठशालामा दाखिला पायो । त्यतिबेलासम्म मैले गरिबीका कविता त लेखेको थिएँ, तर गरिबीको भयावह पर्यावरणलाई आत्माले स्पर्श गरेको थिइनँ ।

इपा पञ्चकन्या गाउँमा कम्युनिस्ट नेता रुपचन्द्र विष्टका किंवदन्तीहरू यत्रतत्र छरिएका थिए । एक जना कठायत वृद्धको घरको दलिनमा ‘थाहा’ कुँदिएको थियो । रुपचन्द्रले आफ्नै हातले यी दुई अभियानी अनि अभिमानी अक्षर कुँदेको ती वृद्धले मलाई आँखामा कस्तो चमक भरेर बताएका थिए ! प्रकरण–सार यस्तो थियो ः एक दिन रुपचन्द्र घुम्दैफिर्दै उनको आँगनमा आइपुगे । प्रौढ कठायत श्रीमतीलाई डोकोमा मलको भारी हालिदिंदै थिए ।

‘ए भाते, तेरा छोराछोरी मरे ?’ रुपचन्द्र मौलिक शैलीमा गर्जेछन् ।

‘हैन हजुर, जेठो हेटौंडामा छ, कान्छो काठमाडौंमा,’ श्रीमती चाहिंले भनिछन् ।

‘तँ ढिंडो पकाउन थाल्, म मल बोक्छु ।’

त्यसपछि रुपचन्द्रले एक घण्टाजति मल बोकिदिएछन् ।

‘अनि, रुपचन्द्रले रायोको सागसँग एक कन्ती ढिंडो खाए । जानुअघि खुकुरी मागेर दलिनमा ‘थाहा’ खोपिदिए,’ कठायतले मलाई बताएका थिए ।

इपाको छ सात वटा तामाङ बस्तीमा हाम्रो संस्थाको नेपाली भाषाको अनौपचारिक शिक्षाको कक्षा चल्थ्यो । राति सात बजेदेखि नौ बजेसम्म पेट्रोम्याक्सको उज्यालोमा स्थानीय सहजकर्ताले स्कुलमा दसबाह्र जना तामाङ महिलालाई पढाउँथे/लेखाउँथे ः काका, मामा । अनि, जँड्याहा बिर्खे र मेहनती सुन्तलीको कथा । केही–केही स्कुलले प्लान इन्टरनेसनले दिएको निलो जस्ताको छानो पहिरिएका हुन्थे । हामी प्लानकै ‘सिस्टर अर्गनाइजेसन’का कारिन्दा भएकाले दिउँसो यसो स्कुलहरूको हालखबर लिन पनि पुग्थ्यौं ।

स्कुलहरूको हाल गजब थियो । गजब भन्नाले बेहाल ! दुर्भाग्य, त्यतिबेला मैले यशस्वी कवि मीनबहादुर विष्टको बेजोडतम कविता ‘गाउँको पाठशाला’ पढ्नै पाएको थिइनँ । मकवानपुरी पाखाभित्ताका स्कुलहरूका बद्हालत र वेदनाको मौन साक्षी बसेको दुईतीन वर्षपछि मात्रै मैले यो कविता पढें । र, विस्मित भएँ । मानौं, कवि मीनबहादुरलाई मैले नै स्कुलको सिंगै दृश्य र दशा बताएको थिएँ र उनले केवल शब्दचित्र उतारे । मानौं, मैले नै उनलाई ‘घामले पोलेर छहारी खोज्दै पाठशालाभित्र पसेर/ मौनवाचन गरिरहेका गाईबाख्रा र गोठालाहरू’ को सग्लो विवरण टिप्न लगाएको थिएँ । मानौं, मैले नै उनलाई ‘मास्टरहरूको आदेशबमोजिम लोरी गाइरहेका’ ती ‘साना, दुब्ला र ख्याउटे विद्यार्थीहरू’ को हुलिया दिएको थिएँ । मानौं, मैले नै उनलाई सोधेको थिएँ, ‘मीनबहादुर दाइ, कसरी चलिरहेछ गाउँको पाठशाला ?’ मानौं, कविताका सप्पै पङ्क्ति मेरा हुन् । बस्, अन्तिम पङ्क्ति मात्रै उनको हो, ‘जसरी चलिरहेछ यो देश ।’

मकवानपुरले मलाई देश पढायो, बुझायो ।

अनि, यहाँ पनि जाँड युनिभर्सिटीका दीक्षान्त समारोहहरू सम्पन्न हुने क्रम चल्यो ।

अनौपचारिक शिक्षा पढाउने चन्द्रामकी पानमाया योञ्जनका बाउ मेरा जाँडसहयात्री बने । जंगली च्याउको सितनसँग मकैको जाँडको दिव्य मिलन ! यी तामाङ बूढाले मलाई दिएको दीक्षा थियो, ‘एक डबका खाए शिरमा, दुई डबका खाए भीरमा ।’ उनी मलाई भनिरहन्थे, ‘सर, मेरो कुरा मनमा लिनुहोला । दुई डबकाले भीरबाट खसाल्छ ।’ कति शाश्वत !

अर्को एउटा दीक्षान्त समारोह हेटौंडाको एउटा भट्टीमा सुसम्पन्न भयो ।

होटल एभोकाडोको ओरालोमा, भीमफेदी बसपार्कको ठीक सामुन्ने एउटा भट्टी थियो । लामो प्रतीक्षापछि पनि बस आएको थिएन र म त्यस जाँडालय छिरेको थिएँ ।

सान मिगेल बियर र एक प्लेट कुखुराको पांग्रा लिएर म विराजमान भएँ, एउटा टेबलमा । सामुन्ने एक जना पियक्कड थियो, बेसार बढी हालिएको लाग्ने आलुसँग लोकल रक्सी खाइरहेको ।

बियरको प्रथम चुस्कीपछि एक टुक्रा पांग्रा के मुखमा हालेको थिएँ, अगाडिको धोद्रो गलाबाट निक्लियो, ‘तुम्हारा जिस्म एक गुलदस्ता है, इस में गुलाब डालो, कचरा नहीं ।’

पछि थाहा भयो, उसको नाम अब्दुल थियो । रिक्सा चलाउँथ्यो । सायरीमा गहिरो अभिरूचि राख्दो रहेछ । म अत्यन्त असहज भएँ । किनभने, सिर्जनशीलता त पढेलेखेकाहरूको पेवा थियो । म यस्तै सोच्थें ।

म एनजीओकर्मी, ‘मधुपर्क’ तिर छापिइसकेको कवि, ‘द वेस्ट ल्यान्ड’ रट्टा मारिरहेको मेजर इंग्लिसको विद्यार्थी ! अनि, सायरी गरिरहेको छ, बिहारतिरको अब्दुल रिक्साचालक !

‘कसको हो, मिर्जा गालिबको ?’

‘मेरै मानिलिनुस् न हुजुर !’

‘अँ होला ?’ म पत्याउन तयार थिइनँ ।

अब्दुलसँग मेरो मित्रता कायम भयो ।

‘साम ढला तो अब्दुल मयखाने पे हाजिर ! हेटौंडा आएको बेला यहाँ पस्नू नि ।’

अब्दुल कट्टर शाकाहारी थियो । ‘भागलपुर दंगामा यति खुनखराबा देख्यो कि मांस खान छोडिदियो मैले,’ उसले भनेको थियो ।

तीन महिनाको बीचमा उसले र मैले चारपाँच चोटि सहजाँडपान गर्‍यौं । थुप्रै सायरी सुनाउँथ्यो । कसको हो भनेर सोध्दा उही जबाफ हुन्थ्यो, ‘मेरै मानिलिनुस् न ।’

एक साँझ मैले उसको उपस्थिति पाइनँ ।

‘ऊ अब यहाँ आउँदैन,’ भट्टीपसल्नी दिदीले अशुभ खबर दिइन्, ‘अस्ति एक जना ज्यांगो मान्छेलाई कचरा र सचरा नखाऊ भनेछ । मैले जे खाए पनि तँ धोतीलाई के मतलब भनेर मार धुलाई गर्‍यो नि ।’ त्यही गुलदस्तावाला पंक्तिले बित्यास निम्त्याएछ ।

चौधपन्ध्र महिनापछि प्रोजेक्ट सकियो । मेरो जागिर पनि सकियो ।

जाँड युनिभर्सिटीबाट नयाँ–नयाँ दीक्षा पाउने क्रम भने चलिरहेकै थियो ।

अन्ठाउन्न र उनान्साट्ठी साल गरी यी दुई वर्ष मेरो जीवनको असफल कालखण्ड थियो । सानोतिनो जागिरमा दुईतीन महिना अल्झिन्थें र छोडिदिन्थें । मारवाडीको खाद्यान्न पसलदेखि स्टेसनरीसम्ममा काम गरें । आफूलाई देशको फ्लप नागरिक ठान्थें । प्रेममा असफल, करिअरमा असफल, विदेश जान असफल । म आफूलाई असफलताहरूको संग्रहालय ठान्थें । तर, मलाई ‘भिजिट’ गर्न कसैले टिकट काट्दैनथ्यो । किनभने, शहरमा असफलताका लाखौं संग्रहालय डुलिरहेका हुन्थे ।

असफलताले जाँडबाजीलाई जायज ठहर्‍याउँथ्यो । बोतलदेखि बोतलसम्मको लायक पदयात्री बनाउँथ्यो । यसको मतलब म खुँखार जाँडभक्षक थिएँ भन्ने होइन । हुन्थें पनि होला, तर मेरा बालसखा रघु र शिव अनि भाइमित्र विश्वदर्शनले मलाई पूरै असफल हुन दिएका थिएनन् । यी मलाई गाउँसाग जोडिराख्ने तत्वहरू थिए

(मलाई गाउँसाग कहिल्यै लगाव भएन) । यी मेरा थुप्रै सिर्जना— कविता, कथा, एकांकीका प्रथम पाठक थिए । खासगरी, रघु । उसको एउटै रट हुन्थ्यो, ‘तैंले कुनै पनि हालतमा लेख्न छोड्नु हुँदैन ।’ रघु र म हप्तापन्ध्र दिनमा यसो मदहोसीको गल्लीमा भौंतारिन पुग्थ्यौं ।

म पत्रपत्रिकामा बेलाबखत छापिइन थालेको थिएँ । साहित्यकार र मेरो समयको सबैभन्दा अब्बल साहित्य–सम्पादक अविनाश श्रेष्ठको प्रेमोर्जा प्राप्त गरिसकेको

थिएँ । तर, अपरिभाषित रूग्णतामा जेलिएको थिएँ ।

जागिरमा म कहिल्यै स्थिर भइनँ । किन हो, दुईतीन महिनापछि जागिर छोड्न बेचैन भइहाल्थें । यसै गरी, तीन वर्ष बिते ।

जनआन्दोलन–२ को पृष्ठभूमि तयार भइरहँदा म नागार्जुन साहित्यिक प्रतिष्ठानसँग जोडिन पुगें । सडकमा कविता भन्न थालियो । सरसंगत विस्तारित हुँदै गयो ।

गणतन्त्र आयो । अब गरिखाने असंख्य बाटो खुल्नेछन्, यस्तै सोचियो ।

र, गरिखाने बाटो पहिल्याउँदै म पुगें, एउटा खबरगृहमा ।

र, जाँड युनिभर्सिटीको अर्को सम्बन्धनप्राप्त निकायमा पुगियो । भातको संकटले जाँडको बाध्यतामा पुगेका थुप्रै पत्रकार साथीसँग संगत हुन थाल्यो ।

त्यस संस्थामा आन्तरिक लोकतन्त्र भव्य थियो । तर, पैसा थिएन । पर्यावरण प्रस्ट्याउन एउटा संवाद नै काफी नहोला र ?

‘आज कति गते रे ?’ एउटा सोध्थ्यो ।

‘पन्चान्नब्बे गते,’ अर्को फ्याट्टै भनिहाल्थ्यो ।

अर्थात्, तलब नआएको तीन महिना, चार दिन भइसक्यो ।

यही समयमा हो, मेरो भेट भएको आफूले पढेका नामहरूसँग । सर्वश्री श्यामल, नारायण ढकाल, विमल निभा, गोविन्द वर्तमान र शार्दूल भट्टराई । यीबाट साहित्यिक ऊर्जा, व्यक्तिगत प्रेम र प्रेरणा त पाएँ नै, मदिरामार्गका नयाँ–नयाँ घुम्ती र गन्तव्य पनि पुगें । धेरथोर नाम बन्न थालेको थियो । अनि, धेरथोर बदनाम हुन थालेको थिएँ । भोटाहिटी, असन, वसन्तपुरका केही भट्टीपसलेले मेरो अनुपस्थितिको अन्तरालमा न्यास्रो मान्न थालेका थिए र खबर पठाउन थालेका थिए, ‘गोपाल दाइले सम्झेको छ है, भन्दिनू !’

एउटा प्रकरणपछि मेरा केही साथी मेरा सन्दर्भमा चिन्तित हुन थालेका थिए ।

एउटा झुर लेखक, ‘झुरर’ निजामती कर्मचारी र ‘झुरेस्ट’ मान्छेसँग बसेर एक साँझ जााड खाइयो । ऊबारे म त्यति जानकार थिइनँ । पछि स्रोतहरूबाट उसको झुरत्व पुष्टि भएपछि पो पछुतो लाग्यो ।

त्यसको एक हप्ता नबित्दै साथीहरू राजेश राई, अकृन, दीपक सापकोटा र सङ्गीतको टोलीले मलाई नगाउँ, पाँगा दोबाटोमा जमघटार्थ बोलाए । एक हाफ रोयल स्ट्याग छ, हामी रक्सी खान बानी परेका तीन जना छौं— म, अकृन र दीपक । यो कस्तो गरिबतम आयोजन ! म छक्क परिरहेको थिएँ । तर, साथीहरूको ध्येय अर्कै रहेछ ।

केबल मेरा निम्ति गिलास आयो । ठीकै छ, कहिलेकाहीं एकलवाचनजस्तो एकलमदिरापान पनि त चल्नुपर्छ !

तर, जमघटको एजेन्डा अर्कै थियो ।

‘दाजु, तिमी अल्कोहोलिक भइसक्यौ,’ राजेशले भन्यो, ‘तिमीले त्यो झुर मान्छेसँग बसेर पनि खाएछौ ।’ त्यसपछि मण्डलीले मेरो छाला काढ्न एक अम्मल पनि बाँकी राखेन । मजबुन थियो, ‘तिमी अल्कोहोलिक भइसक्यौ । अब सुध्रेनौ भने तिमीसँग हाम्रो मित्रता नरहन सक्छ ।’ संसारभरिका धम्कीशास्त्र, चिन्ताग्रन्थ र पर्वाहपुस्तकका एक–एक हरफ मप्रति समर्पित भइरहेका थिए ।

राजेशले मलाई ‘सर्कल, फ्रिक्वेन्सी, भोल्युम’ को हेक्का राख्नुपर्ने प्रवचन दियो । अर्थात्, आफूले जाँड खाने सर्कलमा को–को छन्, हप्तामा कति पटक खाने अनि कति खाने ? अर्थात्, वृत्त, आवृत्ति र मात्रा !

जमघट विसर्जनपश्चात् म चोभारको बाटो हुँदै घर जान हिंडिरहेको थिएा । र, सोचिरहेको थिएँ, के म साँच्चै अल्कोहोलिक भइसकें ? भएँ कि क्या हो ? किन मलाई केही सुन्दर सिर्जना फुर्न रक्सी चाहिन्छ ? टेनेसी विलियम्सको नाटक ‘क्याट अन ए हट टिन रूफ’ को उल्कै जँड्याहा पात्र ब्रिकजस्तै म पनि मस्तिष्कमा ‘क्लिक’ घटित नहुन्जेल धोक्नुपर्ने अवस्थामा त पुगिनँ ? म आफूलाई ‘सोबर’ अवस्थामा किन असफल मान्छे ठान्छु ? किन जाँड खाएपछि मात्रै मुटु फुट्ने गरी पुरानो प्रेमिकाको सम्झना आउँछ ? के मेरो चिन्तन प्रणालीमै रक्सी घुसिसकेको हो ?

निचोडमा पुगें— यति पर्वाह गर्ने साथीहरूको मान राखिदिन मैले आफूलाई सुधार्नैपर्छ । यसको मतलब, तत्पश्चात् म ‘टिटोटलर’ बनें भन्ने होइन । वृत्त, आवृत्ति र मात्रामा अभूतपूर्व सचेत हुन थालें ।

मेरी आत्मीय साथी सप्रिसाले एक दिन भनेकी थिई, ‘तिमी खाऊ, म नखाऊ भन्दिनँ । तर, आफ्नो कोटाप्रति बफादार होऊ । अनि, सित्तैको रक्सी खाँदै नखाऊ । फोकटको बोतल बदनामीको निम्तोपत्र हो ।’

मेरो जीवनका घोर निराशापूर्ण क्षणहरूमा सप्रिसाले मलाई साथ दिएकी छे । जब म अन्धकारको जंगलमा फसेको हुन्छु, ऊ लालटिन बनेर आइपुग्छे । ‘ह्या... के तनाव लिइरहेको ?’ भनेर मेरा काँधमा पर्ने उसका औंलाका टुप्पाहरूको मुलायम प्रहारले म पुनर्जीवित हुन्छु । कहिलेकाहीं त लाग्छ, उसको यस प्रहारको मिठासमा ज्यानै दिइदिऊँ । तर, मिठासका नाममा ज्यान दिन पाइने देश कहाँ हो र यो ? दलित मायालुहरूको गला काटिने देशमा कति असम्भव छ यस्तो महान् कुरा !

जब–जब म जाँडमय जमघटमा सरिक हुन्छु, लाग्छ— पानमायाका बाउ र सप्रिसा मलाई एउटा कुनामा बसेर हेरिरहेका छन् । र, म मनमनै सम्बोधन गरिरहेको हुन्छु, यी दुईलाई ।

पानमायाका बाउ ! म तिम्रो डबका–संहिता पालन गर्न सदा प्रयत्नरत रहनेछु ।

सप्रिसा ! म आफ्नो कोटाप्रति बफादार हुन सदा प्रयत्नरत रहनेछु ।

प्रकाशित : कार्तिक ४, २०८० १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?