२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

इबरा : केही फुटकर सम्झना

इन्द्रबहादुर राई भन्नुहुन्थ्यो– नेपाली भाषामा साहित्य गर्नु भनेको फोकटको रमाइलो मात्र, बित्थाको सेवा मात्र ! सधैं रित्तो गोजी–जहिलेसुकै रित्तो भुँडी !
अविनाश श्रेष्ठ

काठमाडौँ — इन्द्रबहादुर राईबारे आजभन्दा झन्डै पैंतीस वर्षअघि मैले लेखेको थिएँ : ‘इन्द्रबहादुर राई हाम्रो युग र समयले जन्माएको सबैभन्दा ठूलो प्रतिभा हुनुहुन्छ । लेखनाथ, सम, देवकोटाको हाराहारी राख्न सुहाउने अहिले हामीसित इन्द्रबहादुर राई एउटै मात्र नाम छ । अहिले हामी इन्द्रबहादुर राईको समयमा बाँचिरहेका छौं । यो कुरा भोलि हाम्रा निम्ति गौरवको विषय बन्नेछ ।’

इबरा : केही फुटकर सम्झना

मधुपर्क, वर्ष २२ : अंक ११, चैत २०४६

‘मधुपर्क’ मा मेरो त्यो लेख प्रकाशित हुँदाताक नेपालमा ऐतिहासिक जनआन्दोलन भर्खरै सकिएर प्रजातान्त्रिक व्यवस्था पुनर्स्थापित भएको बेला थियो । तिनताक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा ‘समकालीन साहित्य’, ‘प्रज्ञा’ आदि पत्रिकाको कार्यकारी सम्पादक नयाँ–नयाँ नियुक्त भएको म— कवि–लेखकहरूको सम्पर्कमा नित्य रहनुपर्ने जवाफदेहिताको अपेक्षा गरिने पदमा आसीन थिएँ ।

३५–३६ वर्षअघि इन्द्रबहादुर राईबारे त्यसरी लेख्दा तरंग उब्जनु स्वाभाविकै थियो किनभने त्यतिबेलासम्म नेपालभित्र उहाँ अहिलेजस्तो फराकिलो दायरामा सर्वस्वीकार्य व्यक्तित्व बनिसक्नुभएको थिएन सायद । मैले समयभन्दा धेरै अगाडि लम्केर इन्द्रबहादुर राईको अधिमूल्यांकन गरिदिएको थिएँ

क्यार ! धेरैले मेरो त्यो अधिमूल्यांकनलाई स्विकार्न नचाहेको टड्कारो सम्झना छ । इन्द्रबहादुर राईलाई ‘लेखनाथ–सम–देवकोटा’ हाराहारी प्रतिभासम्पन्न व्यक्ति मान्न हच्कनेहरूमा मेरा अग्रज र गुरुपुस्ताका व्यक्तित्वहरू नै बढ्ता हुनुहुन्थ्यो त्यतिबेला । मेरा केही समकालीन मित्र र नयाँ छिमलकाहरूबाट पनि अनेकथरी प्रतिक्रिया र प्रश्नहरूको सामना मैले पछिसम्म गर्नुपरेको बिर्सेको छैन— त्यस लेखका कारण ।

‘मधुपर्क’ को त्यो लेखभन्दा चार वर्षअघि इन्द्रबहादुर राईसित मैले लिएको एउटा अन्तरवार्ता पनि चर्चामा थियो । चर्चाको एउटा मुख्य कारण अन्तरवार्ताको शीर्षक पनि थियो ः

‘मार्क्सवाद शतप्रतिशत भूल छ भन्दिनँ

मार्क्सवाद शतप्रतिशत ठीक छ भन्दिनँ’

– इन्द्रबहादुर राई (‘गरिमा’, वर्ष ४ : अंक ३, फागुन २०४२)

इन्द्रबहादुर राईसित यो अन्तरवार्ता लिँदाको नेपथ्यको किस्सा पनि कम रमाइलो छैन । यो अन्तरर्वार्ता लिन दार्जिलिङ जाँदाताक म त्रिभुवन विश्वविद्यालयमा एमए (नेपाली) प्रथम वर्षको विद्यार्थी थिएँ भने पदीय हिसाबले ‘नेपाली साहित्य परिषद् असम’ को अध्यक्ष । इन्द्रबहादुर राई तिनताक ‘साहित्य अकादेमी, दिल्ली’ का नेपाली परामर्श समितिका संयोजक हुनुहुन्थ्यो । ‘ने.सा. परिषद्, असम’— ‘साहित्य अकादेमी’ द्वारा मान्यता प्रदान गरिएका भारतभरिका सात नेपाली साहित्य सम्बन्धी संस्थामध्ये एउटा भएकाले पदीय हिसाबले उहाँ र ममाझ बेलाबेला पत्राचार र भेटघाट भइरहन्थ्यो तिनताक । मेलै अन्तरवार्ताका लागि अनुरोध गरेर पत्र पठाएपछि ‘अगस्त, १९८५ (भदौ २०४२) को कुनै दिन समय अनुकूलतामा भेटौं’ भन्ने जवाफ पठाउनुभएको थियो उहाँले मलाई ।

प्रत्येक पटक दार्जिलिङ जाँदा केही फेरिएको दार्जिलिङसित साक्षात्कार हुन थालेको थियो ती दिनहरूमा । दार्जिलिङको हावामा आउँदै गरेका खतरनाक दिनहरूको गह्रुंगो हलचल र सनसनाहट सुन्न सकिन्थ्यो— तर, निकै मधुरो दूरागत पिचमा । अघिल्लो साँझ म दार्जिलिङ पुग्दा चोकबजार, साझा पुस्तक पसलमा जगत छेत्री, राजनारायण प्रधान, हरेन आले अनि एकदुई जना नयाँ कवि भाइहरूसित भेटघाट, भलाकुसारी भएको थियो । राज सरले आउनुको प्रयोजन सोध्नुहुँदा— ‘आईबी सरको अन्तरर्वार्ता लिन’ भनेको थिएँ ।

भोलिपल्ट बिहान दिलखुशाबाट क्यापिटोलको उकालो बाटो छिचोल्दै चौरस्ता निस्की आईबी सरलाई भेट्न तुङसुङ झर्ने योजना बुन्दै म हिँडेको थिएँ । आकाशमा बादल धुम्मिए पनि पानी पर्ने छाँटकाँट थिएन । दिन चिसोचिसो थियो । बाटोमा बीचतिर पर्ने श्याम ब्रदर्स अगाडि रामलाल अधिकारी मैले चिनेका अन्य दुईतीन जना साहित्यकारहरूसहित उभिएर कुार गरिरहनुभएको देखें । रामलाल अधिकारीले मलाई देख्नेबित्तिकै कटाक्ष गर्दै प्याच्च भनिहाले— ‘भाइ, आईबी सरसित अन्तरवार्ता लिन आउनुभएको भन्ने सुनियो । तपाईंलाई उहाँले पत्याउनुहोला के ?’

अर्को एकजनाले थप्नुभयो, ‘आईबी सरले इन्टरभ्यु गर्न गाको एक जनालाई त गेटबाट छिर्नै पो दिएन रे !’

‘यति थाहा पाई पाई आफ्नो अपमान गराइमाग्न बिनाबित्थामा किन जानुहुन्छ साथी !’ अर्का मित्रले सुझाउनुभयो ।

उहाँहरूले यति बोलिसकेपछि— दुइटा कुरा मलाई प्रस्ट भयो । पहिलो, दार्जिलिङ सहर सानो भए पनि कति सजग र संवेदनशील रहेछ— कति छिट्टै म आएको र आउनुको उद्देश्यसमेत थाहा पाइसकेछ यस सतर्क सहरले, अनि दोस्रो— इन्द्रबहादुर राई नामको वर्चस्व र आतंक कति घनीभूत रूपमा व्याप्त रहेछ दार्जिलिङको मनमस्तिष्कभरि । अर्थात्— उनीहरूले मलाई नपत्याएर अन्डरस्टिमेट गर्दै थिए भन्ने बुझ्न कठिन थिएन । मैले ठूलो कुनै प्रतिक्रिया दर्साउनु आवश्यक ठानिनँ र भनें— ‘यति टाढा आइसकेपछि कोसिस त मैले गरेकै राम्रो होला...।’

अनि म उहाँहरूसित फर्केर भेट्ने वाचा गर्दै हाँस्दै छुट्टिएको थिएँ ।

तुङसुङको उही चिरपरिचित परिवेश । पानी पर्न नसकेर दिन बादलिए पनि घरीघरी घामले बादलबाट चियाउने गरिरहेको थियो । म पुग्दा नपुग्दै मज्जैले घाम लाग्यो । घरबाहिर घाममा कुर्सी राखियो । आईबी सर र म त्यहीँ घामको न्यानोमा बस्यौं । चिया आयो । चियासँगसँगै कुराको सिलसिला थालियो ।

सरको तुङसुङको यस घरमा आउँदा जहिले पनि मलाई उहाँको सन् १९७२ मा प्रकाशित कथासंग्रह ‘कथास्था’ भित्रको पहिलो कथा ‘एउटा दिनको सामान्यता’ को सम्झना भइहाल्छ । त्यस कथामा सर आफैं र सरकी जीवनसंगिनी ‘माया’ गुरुआमा मुख्य पात्र छन्, गौण पात्रका रूपमा सरका छोरा ‘देशपद’ को नाम पनि कथामा उल्लेख छ । तेस्रो आयामेली सिद्धान्तमा आधारित भनिएको यस कथामा कथा भने छैन । खेतीकिसानीमा रमाएका राई दम्पतीको एक दिनभरिको दिनचर्याको सूक्ष्म डिटेल निकै सशक्त ढंगबाट यसमा बुनिएको छ । त्यही सूक्ष्म बुनोट नै मलाई मन परेको हो त्यस कथामा । इबरा सरको तुङसुङस्थित यस घरमा पहिले पनि पटकपटक आएको छु । विशेष— ‘नेपाली साहित्य परिषद्, असम’ लाई ‘साहित्य अकादेमी, दिल्ली’ बाट मान्यता दिलाउने कामको सिलसिलामा कहिले एक्लै त कहिले कसैलाई साथमा लिएर सरलाई भेट्न कैयौं पटक यहाँ आएको छु । सन् १९८३ तिर यस्तै एक पटकको भेटमा ‘ने.सा.प., असम’ को वार्षिक पत्रिकाको नाम ‘ब्रह्मपुत्र’ राख्ने निर्णय भएको सुनाउँदा आईबी सरले तुरुन्तै प्रतिवाद गर्दै ‘संस्थाको पत्रिकाको नाम ‘ब्रह्मपुत्र’ राखेको उपयुक्त भएन, बरु ‘परिषद्–पत्र’ राख्दा राम्रो होला’ भनी सुझाउनुभएको थियो । हामीहरूले सरको सल्लाहबमोजिम पूर्णनिर्णय सच्याई पत्रिकाको नाम ‘परिषद्–पत्र’ नै राखेका थियौं ।

आईबी सरले अन्तरवार्ताका लागि मैले लेखेर लगेका प्रश्नहरू निकै गमेर गहिरिएर हेर्नुभयो र विनम्रतासाथ भन्नुभयो— ‘उत्तरहरू लिखित नै दिन्छु है भाइ !’

‘गरिमा’ का लागि त्यो अन्तर्वार्ता लिएको पनि चालै नपाइ ३९ वर्ष बितिसकेछन् ।

...

इन्द्रबहादुर राईसित मेरो पहिलो भेट र चिनजान— १३ मार्च सन् १९७३ का दिन नयाँदिल्लीको पाँचतारे लोधी होटलमा भएको हो । अवसर थियो— नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा मान्यताका निम्ति आन्दोलनरत पक्ष र भारत सरकारमाझ हुन गइरहेको पहिलो ऐतिहासिक वार्ताको । त्यसै वार्ताका लागि दार्जिलिङभरिबाट २४ जना, देहरादून र दिल्लीबाट १–१ जना, अनि असमसाथै समग्र उत्तरपूर्वी राज्यहरूको प्रतिनिधित्व गर्दै म एक जना ।

त्यतिबेला मेरो उमेर १८ वर्ष मात्र थियो । बीएस्सी प्रथम वर्षको छात्र म ‘बृहत्तर गुवाहाटी नेपाली विद्यार्थी संघ’ को महासचिवको हैसियतले त्यस ऐतिहासिक वार्तामा सदस्यका रूपमा आमन्त्रित थिएँ । भोलिपल्ट १४ मार्च सन् १९७३ का दिन भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीसित संसद् भवनमा हुने वार्ताको सबैभन्दा कम उमेरको सदस्य मसित इन्द्रबहादुर राईले विशेष चासो र अभिरुचि राख्दै कुराकानी गर्नुभएको मलाई सम्झना छ । त्यतिबेलासम्म इन्द्रबहादुर राईको मैले नाम सुनेको थिएँ, तर उहाँको साहित्यिक कद र योगदानबारे म अनभिज्ञ नै थिएँ । दिल्लीमा एउटै होटलमा वल्लोपल्लो कोठामा ४–५ दिनको बसाइ, सँगै खानु, सँगसँगै हिँड्नु, अनि सद्भावपूर्ण उहाँको बोली–वचन र व्यवहारले इन्द्रबहादुर राईसित पहिलो भेटदेखि नै एक किसिमको आत्मीयताले तानिएर आकर्षित बनें । भनौं उहाँको जोखेर बोल्ने, सटीक बोल्ने गम्भीर व्यक्तित्वको पहिलो छाप— ममा राम्रै पर्न गएको हो । नयाँदिल्लीको त्यस बसाइमा इन्द्रबहादुर राईबाहेक रतनलाल ब्राह्मण, लक्खीदेवी सुन्दास, प्रेमकुमार आले र गजेन्द्र गुरुङसितको आत्मीयतापूर्ण बोली–वचन, सहृदय व्यवहार सम्झनलायकको रहेको थियो ।

प्रधानमन्त्री श्रीमती गान्धीसित वार्तापछि पनि हामीहरू पश्चिम बंगाल सरकारको पाहुना बनी अझै २–३ दिन लोधी होटलमा सँगै थियौं । ‘साहित्य अकादेमी, दिल्ली’ ले पनि नेपाली भाषा–साहित्यलाई मान्यता प्रदान गर्नुपर्ने मागसहित इन्द्रबहादुर राई, लक्खीदेवी सुन्दास, तुलसी ‘अपतन’, प्रेमकुमार आले आदिको अग्रसरतामा ‘साहित्य अकादेमी’ का तत्कालीन अध्यक्ष, भारतका बहुचर्चित भाषाविद् सुनीतिकुमार च्याटर्जी र अकादेमीका सचिव प्रभाकर माचवेलाई भेटेर स्मृतिपत्र (मेमोरेन्डम) चढाउने र वार्ता गर्ने काम पनि त्यतिबेलै सम्पन्न भयो, जसको फलस्वरूप सन् १९७५ मा भारतीय साहित्य अकादेमीले नेपाली भाषालाई मान्यता प्रदान गरेको थियो ।

‘भारतीय साहित्य अकादेमी’ ले नेपाली भाषालाई मान्यता प्रदान गरेपछि यसको ‘नेपाली परामर्श समिति’ को पहिलो संयोजकमा पारसमणि प्रधान सर्वसम्मतिले स्वीकृत हुनुभयो । सन् १९७७ मा ‘साहित्य अकादेमी, दिल्ली’ ले नेपाली भाषाको पहिलो पुरस्कार इन्द्रबहादुर राईलाई उहाँको समालोचना कृति ‘नेपाली उपन्यासका आधारहरू’ का निम्ति प्रदान गर्‍यो । नेपाली भाषाको कृति साहित्य अकादेमीबाट पहिलो पटक पुरस्कृत हुँदा भारतीय नेपालीहरूले खुसी र गर्वको बोध गरेका थिए । तर, यो खुसी लामो समय टिक्न पाएन । तत्कालीन भारतीय प्रधानमन्त्री मोरारजी भाई देसाईले एउटा भाषणको क्रममा ‘नेपालीहरू भारतमा विदेशी हुन्, अनि नेपाली भाषा विदेशी भाषा हो’ भनी विषवमन गरे । मोरारजी देसाईको त्यस अप्रिय भाषणले भारतभरिका नेपालीहरूमा उग्र प्रतिक्रिया जन्मायो । दार्जिलिङमा जताततै त्यस भाषणको विरुद्ध हडताल, जुलुस र बन्दहरू हुन थाले । विरोधले डरलाग्दो रूप लिन थाल्यो । नेपाली भाषालाई विदेशी भाषा भनिएकोमा खेद प्रकट गर्दै इन्द्रबहादुर राईले आफूले पाउनुभएको ‘साहित्य अकादेमी पुरस्कार’ भारत सरकारलाई नै फिर्ता गरिदिनुभयो ।

मोरारजी देसाईको दुच्छर वचनले कति ठूलो रोष समाजमा देखा पर्‍यो भने दार्जिलिङका राजनीतिक दल र बुद्धिजीवीहरूको भेलाले अब भारतमा नेपालीहरूको आफ्नै प्रान्त बनाउन सशक्त आन्दोलन गर्नुपर्ने निष्कर्ष निकाल्यो । सन् १९८० को सेप्टेम्बरमा भएको सर्वदलीय भेलाले इन्द्रबहादुर राईको अध्यक्षतामा ‘दार्जिलिङ प्रान्त परिषद्’ नामक शक्तिशाली संगठन गठन गर्‍यो र दार्जिलिङलाई छुट्टै नेपालीबहुल राज्यका रूपमा स्थापित गर्ने आन्दोलनको सूत्रपात भयो । इन्द्रबहादुर राईको दमित महत्त्वाकांक्षा बिस्तारै साहित्यबाट राजनीतितर्फ संक्रमित हुँदै जाने पो हो कि भन्ने आशंका गर्न थालियो । तर, सन् १९८४–८५ सम्म आइपुग्दा नपुग्दै ‘दार्जिलिङ प्रान्त परिषद्’ को राजनीतिमा धाँजा फाट्दै जान थाल्यो । प्रान्त परिषद्लाई टुक्य्राएर सुवास घिसिङले छुट्टै बाटो रोजेपछि इन्द्रबहादुर राईको राजनीतिप्रति मोहभंग हुँदै गयो र उहाँ दार्जिलिङ प्रान्त परिषद्बाट अन्ततः टाढिनुभयो ।

राजनीतिबाट अलग्गिएपछि इन्द्रबहादुर राई आफ्नो पूरा शक्तिसहित साहित्य–लेखनमा फिर्ता हुनुभयो र केही वर्षअगाडि घोषणा गरी निकै सुस्त गतिमा अगाडि बढाइरहनुभएको लीला–लेखनको सिर्जन र चिन्तन–मननलाई व्यापकता र व्याप्ति दिने कार्यमा गम्भीरतासाथ लाग्नुभयो । उहाँको लेखन–जीवनको यस कालखण्डले इन्द्रबहादुर राईको साहित्यिक व्यक्तित्व र करिअरलाई विस्तारित गर्दै लैजानमा चूडान्त भूमिका निर्वाह गर्‍यो । यसले गर्दा आफ्नो जीवनको अन्तिम तीन दशकमा नेपाली साहित्य र सामाजिक जीवनमा आजसम्म कुनै अर्को नेपाली लेखकले हात पार्न नसकेको अभूतपूर्व सफलता उहाँले हात पार्नुभयो तथा भारत–नेपाल दुवैतिरको साहित्यजगत्मा सर्वस्वीकृत व्यक्तित्वका रूपमा उहाँको स्थापना सम्भव बन्न सक्यो ।

...

अखिल भारतीय नेपाली भाषा समितिको आन्दोलनमा मेरो निरन्तरको आबद्धता अनि ४ जनवरी १९७४ मा ‘नेपाली साहित्य परिषद्, असम’ को स्थापनापछिका दिनहरूमा साहित्यिक–सामाजिक सक्रियताका कारण अन्य धेरैका साथै इन्द्रबहादुर राईसित मेरो सम्बन्ध सूत्रमा प्रगाढता थपिँदै गएको हो । असम छँदा होस्, त्रिभुवन विश्वविद्यालयबाट एमए गरिरहँदा होस् अथवा पछि नेराप्रप्रमा सम्पादक रहँदाको लामो अवधि किन नहोस्— कुनै न कुनै कारण म उहाँको सम्पर्कमा रहिरहेँ । यसरी उहाँसितको तारन्तारको भेटघाट, सँगै उठबस गर्ने अवसर अनि कुराकानीदेखि पत्रपत्रिका, लेखरचना तथा पुस्तकहरूका आदानप्रदान आदिले उहाँको अन्तरंग संसारमा चियाउने र उहाँलाई अझ नजिकबाट चिन्ने–बुझ्ने अनेक मौका मैले पाउन सकें । चालीसौं वर्षको उहाँसितको निकटतामा उहाँका व्यक्तित्वका अनेकौं पाटा चियाउने घटना–परिघटनाहरू मेरा आँखाअगाडिबाट गुज्रेका छन् । ती सबै समय र परिघटनाको जोड–घटाउ–गुणा–भागका आधारमा म सधैं एउटै निष्कर्षमा पुग्ने गरेको छु— इन्द्रबहादुर राई सर देखावटी कृत्रिमता अनि छलछाम र ठालुपनबाट धेरै टाढा हुनुहुन्थ्यो । उहाँ व्यक्तिगत रूपमा पनि निश्छल, सरल र आडम्बररहित हुनुहुन्थ्यो । त्यसको एउटा उदाहरण तल प्रस्तुत गरेको छु : उहाँका पिता र बाजेबारे मैले एक पटक जिज्ञासा राखें— ‘तपाईंका बाजे र बाबा आफ्नो जमानामा सडक र पुल बनाउने ठेक्का–पट्टाको काम गर्नुहुन्थ्यो भन्ने मैले कतै पढेको थिएँ...।’

सरले भन्नुभयो, ‘होइन नि भाइ,— मेरो आमा–बाबा त साधारण ज्यामी सरहको ढुंगा–गिट्टी फुटाउने काम गर्थे । तर, मेरो आमाको ठूल्दिदी, मेरी ठूलीआमाचैं— बालासन खोलामा पुल बनिन्दा सामान ओसार्ने ठिक्काको काम गर्नुहुन्थ्यो रे ! मेरो आमा–बाबा उनकै पछि लागेर बालासन आएका रे ! त्यही खोलाको बगरमा छाप्रो हालेर बस्थे रे ! सामानको रखवाली गर्ने, ढुंगा–गिट्टी फोर्ने काम गर्दागर्दै म त्यहीँ जन्मन पुगेको रे ! बालासन खोलाको त्यही पुलमा लेखिएको स्थापनाको साल नै मेरो जन्मसाल हो रे ! सबै रे... रे... का कुरा । मेरो बाबाले मलाई बताउनुभएको भाइ !’

...

जहिलेसुकै उहाँलाई भेट्न जाँदा उहाँ पढिरहेको, विचारमा डुबिरहेको भेटिनुहुन्थ्यो । प्रायः आफूले पढ्दै गरेका किताबकै प्रसंगमा कुरा गर्ने उहाँको बानीजस्तै बनेको थियो । त्यस्तै एक पटकको भेटमा उहाँले भन्नुभएको थियो : ‘भाइ, हामीहरू जे पनि टोपल्दा मात्र रहेछौं...। सिकिटोपल्नु...सिकाइटोपल्नु, खाइटोपल्नु..., ख्वाइटोपल्नु मात्र । सक्कली सिकाइचैं खै कहाँ छ ? त्यस्तै यथार्थ खुवाइ खै कता छ ? सबै सक्कलको स्वाङ मात्रै... टोपलाइ मात्रै, टोपल्नु मात्रै । हामीले लगाएको लगाइटोपलेको मात्रै, अनि हामीले बाँचेको चैं बाँचिटोपलेको मात्रै ।...वास्तविक बाँच्नुसम्म हामी पुग्दै नपुग्दो पो रै’छौं । नपुगी, नबुझी, नभोगी हामी सकिँदा रहेछौं । त्यसैले संसारमा टोपल्नु मात्र छ— यथार्थ्य छैन । टोपल्नु अर्थात् गर्नुको भ्रम, हुनुको भ्रम...टोपल्नु अर्थात् मिथ्या, हुनु भइदिनुको प्रोक्सी मात्रै ।’

सायद सरको लीला–दर्शनका कुनै थोक हुँदा हुन्— ‘टोपल्नुहरू’ भित्र । मैले पनि उहाँलाई मात्र सुनिटोपलेको थिएछु । आई.बी. सरजस्ता महाज्ञानीका ‘महाकुरा’ कसरी बुझ्नु— मजस्तो मोरो लद्दू अज्ञानीले ।

अनि यो अर्को प्रसंग हो— २०५३–५४ सालतिरको ।

दिउँसो आईबी सर र ‘माया’ गुरुआमालाई मेरो कमलादीको डेराघरमा ल्याएको छु । लेखेर मात्र बाँच्न सक्छ कि सक्दैन साहित्यकार–आजको समयमा भन्ने प्रसंगमा कुरा चल्दा आँखा झिमझिम पार्दै सरले भन्नुभएको थियो— ‘...नेपाली भाषामा साहित्य (सिर्जन) गर्नु भनेको फोकटको रमाइलो मात्र, बित्थाको सेवा

मात्र । नेपाली किताब लेखेर कति नै कमाउँछ फलानो त भन्छन् कि, तर नोकरी नगर्नु हो भने वा अरू फाल्टै काम नगरी बस्यो भने किताबको कमाइले मात्र त परिवारलाई एक एक जोर लुगा हाल्नु पनि धौधौ नै परिहाल्छ । त्यसैले म त चर्को ठूलो (स्वर ?) गरी सबैतिर कराइहिँड्छु अचेल— ‘नेपालीमा लेख्नु फोकटको धन्दा हो... सधैं रित्तो गोजी–जहिलेसुकै रित्तो भुँडी...।’

कति मार्मिक कुरा सरका— उहाँले आफ्नो मात्र पीडा बोलेको नभई सम्पूर्ण नेपाली लेखकहरूका साझा समस्या, सधैंको साझा पिरलोबारे कति संवेदनशील बनी गम्नुहुँदो रहेछ भन्ने मैले बुझ्न सकेको हुँ, त्यतिबेला ।

...

विसं २०५१ मा उपकुलपति मदनमणि दीक्षितको नेतृत्वमा १० जना साहित्यकारको शिष्टमण्डल ‘नेपाल राजकीय प्रज्ञा–प्रतिठान’ बाट पूर्वोत्तर भारतको भ्रमणमा गएको थियो, जसको संयोजक–व्यवस्थापक थिएँ म । शिष्टमण्डल सबैभन्दा पहिले दार्जिलिङ पुगेको थियो र ‘नेपाली साहित्य सम्मेलन, दार्जिलिङ’ को आतिथ्य ग्रहण गर्दै तीन दिन, तीन रात त्यहाँ बिताएको थियो । सम्मेलन भवनबाट पाँच–सात मिनेटको हिँडाइमा पुगिने भएकाले पुगेकै साँझ इन्द्रबहादुर राई सरलाई भेट्न उहाँको लोचनगरको घरमा म एक्लै सुटुक्क पुगें । मलाई देखेर सर खुसी हुनुभयो र बैठकमा बसालेर ‘एक्कै छिन है भाइ !’ भन्दै बाहिरिनुभयो । फर्कंदा प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित मेरो नाटक संग्रह ‘अश्वत्थामा हतोहत’ र केही कागज थिए उहाँको हातमा ।

‘तपाईंकै नाटकहरू पढ्दै थिएँ भाइ । यी खेस्रा टिपोट पनि गर्दैछु । छोटै भए पनि केही लेखूँ भन्ने छ तपाईंका नाटकमाथि,’ सरका कुरा सुनेर म आह्लादित नबन्ने कुरै हुँदैनथ्यो । त्यसबेला मलाई सबैभन्दा आश्चर्य लागेको कुरो थियो— लगभग एक वर्षअघि माघ २०५० मा प्रकाशित ‘अश्वत्थामा हतोहतः’ कति छिट्टै मगाएर उहाँले पढिसक्नुभएछ ! अझ त्योभन्दा पनि आश्चर्य लाग्ने कुरो थियो— मेरा नाटकहरूमाथि उहाँको टिप्पणी ।

‘भाइ, तपाईं आफ्ना नाटकको निर्देशक आफू नै सदाकाल–सधैंलाई रहिरहनेजस्तो गरी ‘अश्वत्थामा हतोहतः’ लेख्नुभएको छ । तपाईंले नाटक–निर्देशकका लागि स्पेस नै छोड्नुभएको छैन,’ उहाँको अनौठो र सर्वथा पृथक् आलोचनाले म अवाक् बनेको थिएँ । अनि मेरो अर्को नाटक ‘समय, समय अनि समय’ बारे उहाँले भन्नुभयो, ‘समयको नबाँडिएको अखण्ड एकत्रित स्वरूप–अर्थात् भूत–वर्तमान–भविष्यलाई जोडेर समष्टिमा तपाईंले ‘महाकाल’ नामको पात्र अन्तमा कल्पना गर्नुभएको चाहिँ विज्ञानसम्मत छ । वैज्ञानिकहरूले पनि भनेका छन्— समय भूत–वर्तमान–भविष्यमा बाँडिएको नभई ओल्लो छेउदेखि पल्लो किनारसम्म एकनास विस्तारित छ । जस्तो हाम्रा धर्मग्रन्थहरूमा ईश्वरको स्वरूप छ— त्रिकालदर्शी । अर्थात् ईश्वर तीनवटै काल एक्कै पटक देख्न सक्छन्, तीनवटै कालमा एक्कैचोटि सँगसँगै सतत रहन, हुन, भइदिन सक्छन् । धर्मग्रन्थहरूले उहिल्यै भनिसकेको वैज्ञानिकहरू आज पत्तो लगाएर भन्दैछ– समय अविभाज्य छ आफैंमा ।’

आईबी सरको नयाँ कुरासम्म पुग्ने, त्यसलाई आत्मसात् गर्ने र त्यसबारे आफ्ना धारणा मिसाएर नौलो थोक बोल्ने सामर्थ्यको म कायल बनेको थिएँ त्यस साँझ पनि ।

...

इन्द्रबहादुर राई सरबारे सम्झेर लेख्नुपर्ने अरु पनि छन् केही घटनाहरू । ती सबैको चर्चा यहाँ अहिले सम्भव भएन । एउटा शृंखलाबद्ध प्रकरण छ उहाँसम्बन्धी— सम्झनामा उत्रिरहेको यस बेला । त्यस प्रकरणलाई शब्दबद्ध गरेर यस संस्मरणको बिट मार्ने मन बनाएँ ।

आईबी सरले सन् १९७७ मा ‘साहित्य अकादेमी पुरस्कार’ पाउनुभएपछि उहाँको चर्चा निकै चुलियो । साहित्य अकादेमी पाएको लगभग अठार वर्षपछि नेपाली वाङमयको श्रीवृद्धिका निम्ति अति विशिष्ट भूमिका निर्वाह गरेबापत मदन पुरस्कार गुठीबाट विसं २०५२ मा उहाँलाई ‘जगदम्बाश्री पुरस्कार’ द्वारा सम्मानित गरियो । लगत्तै सन् १९९६ मा ‘अगम स्मृति पुरस्कार’, ‘भानु पुरस्कार’ आदिबाट पनि विभूषित हुँदै जानुभयो । यसै मेलोमेसोमा नेपालतिर पनि उहाँलाई पुरस्कृत गर्ने, उहाँबाट आफ्ना कृति विमोचन गराउने, वक्ताका रूपमा उहाँलाई बोल्न लगाउने, आफ्ना कृतिमाथि उहाँबाट लेखाइमाग्ने लामै लहर चलेको सम्झन्छु । सर पनि कुन बाध्यतामा परेर हो आइरहनुहुन्थ्यो गुरुआमासहित । कहिले कतै यस्ता पुरस्कृत गर्ने संस्था/व्यक्तिको दोधारे व्यवहारका कारण सर आहत बन्नुभएको, अपमानित महसुस गर्नुभएका एकाध घटना पनि छन् ।

एकपटक एउटा संस्थाले दिएको निकै कम धनराशिको पुरस्कार थाप्न गुरुआमासहित सर काठमाडौं आउनुभयो । सरलाई पुरस्कार प्रदान गर्नुबाहेक पनि त्यस संस्थाका अरू अनेकथरी कार्यक्रम भएकाले समारोह निकै तन्किँदै–लम्बिँदै गएको थियो । बूढो उमेरका कारण होला— सरले मञ्चमा अति सहज नमानिरहेको मलाई महसुस भइरहेको थियो । बल्लतल्ल कार्यक्रम सकियो अनि आमन्त्रितहरू, आयोजक सबै खाजाका लागि कुदाकुद गर्दै त्यसैमा अलमलिन पुगे ।

मैले देखिरहेको थिएँ सर र गुरुआमा दर्शकदीर्घाका कुर्सीमा एक्लै उपेक्षितजस्तै चुपचाप बसिरहनुभएको थियो । म हात जोड्दै उहाँहरू नजिक पुगेर सोधेको थिएँ, ‘सर–गुरुआमालाई खानेकुरा केही ल्याइदिऊँ कि ?’ सरले भन्नुभो, ‘भो पर्दैन भाइ, हामीले खानेजस्तो त्यहाँ केही नहोला ।’ सर खिन्न हुनुहुन्थ्यो त्यतिबेला भन्ने मलाई लागिरह्यो । कुरैकुरामा सरले भनी पनि हाल्नुभयो, ‘भाइ, अब यही मेरो अन्तिम काठमाडौं आगमन हो । अबचैं (मलाई) कसैले निम्ता नगरोस् (भन्ने) चाहन्छु म ।’

...

तर, सरले त्यसो भन्नुभएको केही महिना नबित्दै अर्को संस्थाको लाख रुपैयाँभन्दा बढी राशिको पुरस्कार थाप्न उहाँ फेरि काठमाडौं आउनुभएको थियो । समारोह सकिएपछि हाँसेर उहाँलाई उहाँको वचन स्मरण गराउँदै कटाक्ष गरेको थिएँ, ‘सरले अब कहिल्यै काठमाडौं आउँदिनँ भनेर जानुभएको थियो नि...!’

सरले मुस्कुराउँदै जवाफ फर्काउनुभयो, ‘भनेको त थिएँ कि भाइ, यी यस्तै भयो । ज्यादै करकापलाई पन्छाउन नसकेर आएको हुँ,– तर अब भने पुग्यो । म काठमाडौं फरि आएको (तपाईंले) देख्न–सुन्न पाउनुहुनेछैन भाइ ।’

...

त्यस घटनाको सम्भवतः तीन–चार वर्षपछि सन् २००२ मा काठमाडौंमा आयोजित एउटा कार्यक्रममा दार्जिलिङ, सिक्किम, असमतिरबाट नेपाली साहित्य–सर्जकहरूको तीस–पैंतीसजनाको डफ्फा आइपुगेको सम्झन्छु । त्यस डफ्फामा मेरो पूर्वपरिचित— ड. कुमार प्रधान, सानु लामा, शरद छेत्री, बिन्द्या सुब्बा, केबी नेपाली, मनप्रसाद सुब्बा, जीवन नामदुङ, सुवास दीपक, दुर्गाप्रसाद श्रेष्ठ, सञ्जय बान्तवा, मनोज बोगटी र अन्य हुनुहुन्थ्यो । कुमार प्रधान सरले फोन गरेर डाक्नुभएकाले दिउसोतिर बागबजारको उहाँहरूलाई राखिएको होटलमा म पुगेको थिएँ । सबैसितको भेटघाट र कुराकानीले मेरो मन पुलकित बनेको थियो ।

कुराकानीको बीचमा एक्कासि केही सम्झेझैं कुमार सरले भन्नुभयो, ‘भाइ, आईबी दाजु पनि आउनुभा’छ । तपाईंलाई सम्झँदै हुनुहुन्थ्यो ।’ सरलाई भेट्न उहाँहरू बस्नुभएको कोठामा कुमार सर, मनप्रसाद सुब्बा, सञ्जय बान्तवासहित म गएँ । यसपालि आईबी सर आफैंले ठट्यौली पारामा शुरुतिरै भनिहाल्नुभो, ‘लु, यी म फेरि आई पो हालें त हो भाइ काठमाडौं । मैले चाहेर मात्र नहुने रै’छ— काठमाडौंले पनि नआओस् नचिताएसम्म नआई सुख नपाइने रै’छ ।’ आँखा चिमचिम गर्दै सर बोलिरहनुहुँदा गुरुआमा पनि छेउमै हुनुहुन्थ्यो । अनि त्यस भेटको अन्ततिर आईबी सरले भन्नुभयो, ‘यो कार्यक्रमको आयोजकलाई निम्तो गर्ने बेलामै भनेको थिएँ— हेर्नुस्, म एक्लै आउन सक्दिनँ, श्रीमती पनि मेरो साथमा हुनेछिन् । त्यतिबेला हुन्छ ल्याउनुस भनी सकारेको थियो । अहिले श्रीमतीको प्लेनको टिकट आफैं गर्नोस्, हामीले दिन नसक्ने भयौं पो भन्दैछ...!’ सरले साह्रै चित्त दुखाउँदै थप्नुभो, ‘नेपाली साहित्यमा बोलेर पछि कुरा फेर्ने यस्तैहरू बेसी छ भाइ । त्यसैले यो काठमाडौं अबचैं नआऊँ भनेर सल्लाह पो गर्‍यौं तपाईंको गुरुआमाचैं र मैले ।’ फर्कने बेलामा राति बागबजार मूलबाटोसम्म केही साथीभइका साथ मलाई पुर्‍याउन आउनुभएका कुमार सरले ठट्यौली पारामा भन्नुभयो, ‘अघि आईबी दाजुले भाउजूको भाडा नदिएको कुरा गर्दा आयोजकले हिजो उहाँलाई दिएको दुई लाख पुरस्कारलाई चाहिँ बिर्सिपठाउनुभयो ।’ कुमार प्रधान सरले ठट्टाका लागि मात्र भन्नुभएका ती कुराले इन्द्रबहादुर राई सरबारे केही त तथ्य बोकेकै थिए ।

त्यसपछि पनि आईबी सर एकदुई पटक काठमाडौं आउनुभएको थाहा पाएको हुँ, तर भेट्ने सौभाग्य भने जुरेन । सन् २००९ अप्रिलमा ‘आधुनिक भारतीय नेपाली कथा’ को लेखकप्रति बाँड्न म पत्नी ‘मन’ सहित दार्जिलिङ जाँदा दाजु मोहन ठकुरीलाई पनि साथमा लिएर दुई–दुई पटक इन्द्रबहादुर राई सर र गुरुआमालाई भेट्न उहाँहरूको घरमा गएका थियौं । यी दुई भेट नै सर र गुरुआमासितका मेरा अन्तिम भेट बन्न पुगे ।

प्रकाशित : कार्तिक ४, २०८० १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?