मन्दिरदेखि घाटसम्म
मूर्तिदेखि लाससम्म
निमोठेर मेरो अस्तित्व
चढाइरह्यौ तिमीहरुले मलाई
चुपचाप सहिदिएँ
किनकि
मन्दिर र मन्दिरभित्र बस्ने
दुवै निर्जीव लागे मलाई
उसरी नै
घाट र लास पनि
निष्प्राण लागे
सोचो
कसैको मनको शान्तिका लागि
कसैको आत्माको शान्तिका लागि
निमोठिएरै भए पनि आफू
काममा त आएँ !
जब निमोठेर मलाई कसैले
थुँगा थुँगा जम्मा पारी
सुन्दर माला बनाएर बेच्छ
सोचें
कमसेकम कसैको
रोजीरोटी त बनिरहेछु !
भाइटीकामा जब म
दाजुभाइको गलामा सजिन्छु
मभित्र
भ्रातृत्व भरिएर आउँछ
बिहेको दिन
नवजोडीको गलामा सजिन्छु
मभित्र
प्रेमको सागर उर्लन्छ
र म
निमोठिएरै भए पनि
आफूलाई गौरवान्वित ठान्छु
कमसेकम कसैको
खुसीमा त काम लागो !
तर
जब म
मालामा उनिएर
कतै
बलात्कारको अभियोग लागेर
जेल गएको बलात्कारी
जेलबाट छुट्दै गर्दा
विवेकहीनहरुको हातबाट
उसको गलामा पहिराइन्छु
म
आफैं बलात्कृत भएको महसुस गर्छु
कतै
हत्याको अभियोगमा
जन्मकैद भोग्दै गरेको जघन्य अपराधी
अचानक माफीनामा लिएर
जेलको ढोकाबाट निस्कादै गर्दा
मानवता हराएकाहरुको हातबाट
उसको गलामा पहिराइन्छु खातैखात हुनेगरी
अनि म
आफ्नै गला घोटिएझैं निसास्सिन्छु
कतै
गलाले धान्ने नसक्नेगरी पहिराइन्छु
भ्रष्टाचारी र देसघातीहरुका गलामा
चाकरीबाजहरुको हातबाट
म
अपमानको पीडाले मूर्च्छित हुन्छु
र मैले
आफू हुनुको अस्तित्वबोध गर्न सक्दिना
संसारकै विवेकशील प्राणी ठानिएका
हे मान्छेहरु !
तिमीहरुले मेरो हुर्मत लियौ
मेरो अपमान गर्यौ
दुरूपयोग गर्यौ
यसरी इज्जत लुटिएर
अपमानित भएर
यो लोभी, पापी र ढोंगी दुनियाँमा
अब मलाई पटक्कै बाँच्न मन छैन ।
जाादाजाादै बिन्ती !
‘आत्महत्या दुरूत्साहन’ मुद्दामा यदि
तिमीहरु जेल गएछौ भने पनि
निक्लने नै छौ छिट्टै
र निक्लँदै गर्दा
कमसेकम फेरि पनि
मेरो अपमान नगरिदिनू है !
प्रकाशित : आश्विन २७, २०८० ०९:२९