२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६
किताब अंश

मार्क्सवादमाथि नयाँ बहस

१७० वर्षे मार्क्सवादी यात्राको समीक्षा सुरु गर्नुपर्छ । केही वर्षमै हामी सबै निष्कर्ष निकालिसक्छौं भन्ने होइन, तर समीक्षा सुरु गरौं ।
राम कार्की ‘पार्थ’

मार्क्सवाद धेरै पुरानो भयो । मार्क्स जन्मिएको दुर्ई सय वर्ष पुगिसकेको छ । मार्क्सका कृतिहरू आएकै पनि एक सय सत्तरी वर्षभन्दा बढी भएको छ । मार्क्सले तीस वर्षको उमेरमै महत्त्वपूर्ण कृतिहरू लेखिसक्नुभएको थियो । तैपनि पछिल्ला विकासले मार्क्सवादको आधारभूत प्रस्तावनालाई निषेध गरेको छैन । इतिहास र समाजबारे त्योभन्दा बेग्लै निष्कर्ष निक्लेको छैन ।

मार्क्सवादमाथि नयाँ बहस

मार्क्सवादी दर्शन र अरू दर्शनहरू मौलिक रूपले नै भिन्न एवम् फरक छन् । वेदको जतिसुकै जानकार भए पनि, संस्कृतको विद्वान् भए पनि त्यसमा दुर्ई लाइन थप्ने अधिकार कसैमा हुँदैन । बेदमा दुर्ई लाइन थपियो भने त्यो ‘अशुद्ध’ हुन्छ । इस्लामको ग्रन्थमा दुर्ई लाइन थप्न पाइँदैन, न किरातको मुन्धुममै दुर्ई लाइन थप्न पाइन्छ । बाइबलमा पनि दुर्ई लाइन थप्नासाथ त्यो ‘अपवित्र’ भइहाल्छ । मार्क्सवादमा चाहिँ थप्न सकिएन भने त्यो ‘अपवित्र’ हुन्छ । यसमा केही जोड्न वा थप्न सकिएन र फेरिएको परिस्थितिअनुरूप विकसित गर्न सकिएन भने त्यो रहँदैन । अतः सबैभन्दा पहिले त हामीले मार्क्सवाद र अरू दर्शनबीचको यो आधारभूत र मौलिक अन्तर बुझ्नुपर्छ ।

पुँजीवाद रहँदासम्म मार्क्सवाद

एउटा सत्य के भने कमसेकम पनि पुँजीवाद रहँदासम्म मार्क्सवाद रहन्छ । पुँजीवादमाथि धेरै बहस भइसकेका छन् । अब कम्युनिस्ट तरिकाले क्रान्ति हुँदैन र कम्युनिस्ट तरिकाले अर्थतन्त्र लागू हुँदैन भनेर धेरै ‘मार्क्सवादी’ ले गरेको बहस सुन्न थालिएको छ । तर, पुँजीवाद भनेको अर्थतन्त्र मात्र होइन, त्यो त संस्कृित मूल्य–मान्यता समेत हो । जबसम्म पुँजीवादी मूल्य–मान्यता, संस्कृति, अर्थतन्त्र र राजनीति रहन्छ, मार्क्सवाद पनि रहिरहन्छ । मार्क्सवाद समाप्त हुँदैन, जीवन्त रहिरहन्छ ।

पुँजीवादको असाध्यै अमानवीय संस्कृति र मूल्य–मान्यता आज संसारभरि हावी छ । त्यसको बहाव नेपालमा पनि छ । पुँजीवादको मानवमैत्री विकल्प भनेकै साम्यवाद मात्र हो । कतिपय इस्लामिक देशमा इस्लाम सभ्यतालाई पुँजीवादको विकल्पका रूपमा ल्याउन खोजिएको छ । तर, त्यो मानवमैत्री छैन र त्यो स्त्रीमैत्री एवम् जनमैत्री पनि छैन । जनमैत्री, स्त्रीमैत्री, पर्यावरणमैत्री र उत्पीडितमैत्री दर्शन भनेको मार्क्सवाद नै हो । त्यसैले कमसेकम पुँजीवाद रहुन्जेलसम्म मार्क्सवाद रहन्छ । पुँजीवादलाई प्रतिस्थापन गरेपछि मार्क्सवाद कसरी अगाडि बढ्ला ? योचाहिँ अहिल्यै भनिहाल्न सकिँदैन ।

कोही डराउँदैमा वा कसैले आफू परिपक्व बनेको नाटक गरेर मार्क्सवादलाई ‘उग्र’ देख्दैमा उत्पीडन समाप्त हुँदैन, भेद्भाव र असमानता समाप्त हुँदैन, पुँजीवादको अमानवीय पक्षमा फरकपन आउँदैन । त्यसैले आज पनि संसारभरका लाखौं–करोडौं उत्पीडितलाई वाणी दिने अस्त्र र शास्त्र भनेकै मार्क्सवाद हो ।

मार्क्सवादका अनेक प्रयोग

मार्क्सवादको प्रयोग विभिन्न ढङ्गले भएका छन् । रुस, चीन आदि देशका आ–आफ्नै अनुभव छन् । तिनलाई लिएर कतिपयको भनाइ छ– त्यहाँ मार्क्सको मार्क्सवाद लागू नै गरिएन । रुसमा पहिले ‘लेनिनको मार्क्सवाद’ र पछि ‘स्टालिनको मार्क्सवाद’ लागू गरियो । चीनमा ‘माओत्से तुङको मार्क्सवाद’ लागू गरियो र पछि ‘देङ सियाओपिङको मार्क्सवाद’ लागू गरियो ।

हामी ठान्छौं– ती सबै नै कम्युनिस्ट आन्दोलनका धरोहर हुन् । जे–जति सफलता भए, संसारलाई हल्लाउने क्रान्ति भए, वीरता–त्यागका जे–जस्ता कीर्तिमान कायम भए, ती सवैको दायित्व लिनुपर्छ हामीले । सगौरव हामी नै त्यसका उत्तराधिकारी हौं– यो घोषणा हामी गर्छौं र गर्नुपर्छ । साथसाथै, जे–जति कमी–कमजोरी भए, विचलन भए, नोक्सानी भए, तिनको जिम्मेवारीसमेत हामीले नै लिनुपर्छ । किनभने, विश्वमा मानवताको पक्षमा जे–जति आन्दोलन भए, समग्र समाजवादी आन्दोलन र कम्युनिस्ट आन्दोलनकै विषयवस्तु हुन् ।

त्यसकारण, अब १७० वर्षे मार्क्सवादी यात्राको समीक्षा सुरु गर्नुपर्छ । यी दुर्ई वर्षभित्रमा हामी सवै निष्कर्ष निकालिसक्छौं भन्ने त होइन, तर समीक्षा भने सुरु गरौं । यो छलफलमा हामी ल्याटिन अमेरिका, युरोप, चीन, दक्षिण एसिया, पूर्वी एसियाका सबै मुलुकलाई सहभागी गराउन चाहन्छौं ।

जहाँ–जहाँ कम्युनिस्ट पार्टी प्रभावी छन्, त्यहाँ–त्यहाँ सिद्धान्तको क्षेत्रमा एकदमै कम मात्र काम भएका छन् । राम्रा साहित्य सिर्जना पनि भएका छैनन् र सङ्ख्यात्मक रूपमै पनि निकै कम मात्र काम भएका छन् । यस्तो किन भइरहेको छ त ? समीक्षा गर्न तयार हुनुपर्छ । तर, जहाँ कम्युनिस्ट पार्टी प्रभावी छैन, त्यहाँ भने सिद्धान्तको क्षेत्रमा धेरै काम भएका छन् । कम्युनिस्ट पार्टी प्रभावी नरहेको ठाउँमा सिद्धान्तको क्षेत्रमा सोच्ने, विकास गर्ने र नयाँ–नयाँ अन्वेषण गर्ने काम भइरहेका छन् ।

बृहत् योजना

सोच्ने, नीति बनाउने र छलफल गर्ने स्वतन्त्रताबाट मानिसलाई वञ्चित गराइदियो भने उसले आत्मविश्वास र सिर्जनशीलता गुमाउँछ । कम्युनिस्ट पार्टीले यो विषयमा सोच्न अबेर गर्नु हुँदैन । कम्युनिस्ट पार्टीभित्र काम गरेपछि स्वतन्त्र ढंगले सोच्ने, पहल गर्ने सिर्जनशीलता र आत्मविश्वास गुमाउन पुग्नुले कम्युनिस्ट पार्टीभित्र राजनीतिक स्वतन्त्रताको अभाव रहेको तथ्य उजागर गर्छ । अतः हामी कम्युनिस्टले यो प्रश्नमाथि घोत्लिनुपर्ने भएको छ । नेपालमा कम्युनिस्ट पार्टी कमजोर रहँदासम्म क्रान्तिकारी देखिने अनि जब बलियो स्थितिमा पुग्छ, त्यसपछि त्यो क्रान्तिकारिता नरहने स्थिति बारम्बार देखिँदै आएको छ । के कारणले यसो भइरहेको छ त ? अन्वेषणपछि मात्रै हामी एउटा निष्कर्षमा पुग्ने गरी समीक्षा गर्न सक्छौं ।

ल्याटिन अमेरिका, चीन, रुस र एसियाका अनुभवका दस्तावेज हामीकहाँ आऊन् भन्ने हाम्रो सोचाइ छ । हामीले यस विषयमा नेपालका सातवटै प्रदेशमा र सम्भव भएसम्म बेइजिङ र दिल्लीमा पनि एक–एकवटा बहस कार्यक्रम चलाउनेतर्फ सोचेका छौं । यो त्यहाँका पार्टी, शुभेच्छुक र वामपन्थीहरूसँग मिलेर त्यस्तो काम गरिनुपर्छ ।

मन्थन आफैंभित्र पनि

मार्क्सवादको विकास र लागू गर्ने सवाललाई लिएर एमालेको आफ्नै र हाम्रो पनि आफ्नै पोजिसन छ । एमालेका साथीहरू जुन प्रकारको निष्कर्ष लिएर आइरहनुभएको छ, त्योसँग हाम्रो विचार पटक्कै मिल्दैन । जस्तो– नेपालको जनयुद्धलाई हेर्ने विषयमा एमालेका साथीहरूको र हाम्रो निष्कर्ष ठ्याम्मै मिल्दैन । यहाँ जनयुद्धको आवश्यकता नै थिएन, त्यो हठात्, बलात् रूपमा भित्रियो, त्यसले स्वाभाविक रूपमा अगाडि बढिरहेको नेपाललाई एक प्रकारले डिरेल गरिदियो भन्ने खालको सोच छ उहाँहरूमा । तर, हामी जनयुद्ध अनिवार्य थियो, त्यो इतिहासको आवश्यकता थियो र नै त्यो टिक्यो अनि अगाडि बढ्यो भन्छौं । त्यसले नेपालमा जुन प्रकारको उद्वेलन ल्यायो, त्यस्तो उद्वेलन नेपालको इतिहासमा कसैले ल्याउनै सकेको थिएन । पछि जे हविगत भए पनि नेपालमा जनयुद्धले जे गर्‍यो त्यो अतुलनीय छ, अविष्मरणीय छ अनि प्रशंसा र अभिनन्दन गर्नलायक छ भन्ने हामी ठान्छौं ।

जनयुद्धपछि माओवादीमा विचलन र विकृति पनि देखा परेका छन् । जनयुद्धका नकारात्मक पक्षबाट जोगिने नाममा कतिपय साथी ‘नयाँ शक्ति’ भन्दै बाहिर जानुभयो । हाम्रै पार्टीभित्र पनि अहिलेको मार्क्सवादी आन्दोलन र भविष्यमा यसलाई कसरी लैजाने भन्नेबारे थुप्रै मतभेद छन् । तथापि, विमति राख्ने साथीहरूकै बीच गम्भीर छलफल गरेर हामी नेपालका निम्ति पनि एउटा नयाँ बाटो तय गर्न सक्छौं भन्ने विश्वासमा छौं । सबैभन्दा बढी मतभेद राख्ने साथीहरू बसेर काम गरौं भन्ने हाम्रो उद्देश्य हो । अरू देशसँग पनि हाम्रा अनुभव साटासाट गरौं । त्यसक्रममा स्वाभाविक रूपमा हामीबीचको सम्बन्ध पनि प्रगाढ बन्नेछ । यसरी विश्वभरिको एउटा समवेत प्रयासबाट नै हामी धेरै कुरा बुझ्न र बुझाउन सफल हुनेछौं ।

(राम कार्की ‘पार्थ’ को प्रकाशोन्मुख किताब ‘विकल्प : समता, समाजवाद र मुक्त दुनियाँ’ को अंश)

प्रकाशित : आश्विन २०, २०८० १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?