२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

एक इमानदार आत्मालोचक

उनी आत्मकेन्द्रित र आत्ममुग्ध थिएनन् । आफ्नै पनि कटु आलोचना गर्थे । आफैंसँग आत्मालोचित हुनु साधुता हो, तर उनी साधु होइनन् ।
नारायण ढकाल

चार दशकअघिका दिनहरू सम्झिन्छु म । अहिले मेरा स्मृतिमा ती दिनहरू धमिला भएका छन् । उबेला मूलपानी र कोटेश्वर सामाजिक–भावनात्मक वा अरु धेरै हिसाबले जोडिएका थिए । उपत्यकाभित्रको काँठको चरित्र सामान्यतया सबै ठाउँमा उस्तैउस्तै नै छ । विशेषगरी काठमाडौं महानगर विस्तार नभएको त्यो समयमा मूलपानी र कोटेश्वरमा धेरै अन्तर थिएन । उस्तै भूगोल, उस्तै मानिस र उस्तै संस्कृति !

एक इमानदार आत्मालोचक

मूलपानी सहर–केन्द्रको हिसाबले अलि टाढाको बस्ती हो । पञ्चायती शासनको माझतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका बेला कोटेश्वर सीमान्तीकृत हुने भूगोलका रूपमा चिनिन्छ । तर, मूलपानीले त्यो किसिमको त्रासदी बेहोर्नुपरेन । मूलपानीको परम्परागत कृषि व्यवस्था यथावत् थियो । कोटेश्वर चाहिँ भत्किन थाल्यो । त्यसपछि कोटेश्वरका थोरै जमिन भएका जनतालाई यताबाट उठाएर उता, उताबाट उठाएर यता लैजाँदा उनीहरूको अवस्था बिग्रियो । विमानस्थल विस्तारले देशका अरू बासिन्दालाई लाभ भयो होला, तर कोटेश्वरवासीलाई त्यो विकास धेरै नै चुनौतीपूर्ण बन्यो । कतिपय धनी र मध्यम किसानहरू गरिब किसानमा परिणत भएको म सम्झन्छु । त्यस घटनाको अलि टाढाको द्रष्टा म पनि हुँ । लेखक राजेन्द्र पराजुलीले संस्मरणात्मक किताब ‘कोटेश्वरको केटो’ मा त्यस इतिहासलाई निकै प्रामाणिक रूपमा प्रस्तुत गरेका छन् । यो पुस्तक उनका सम्पूर्ण रचनाहरूको सूचीमा निकै महत्त्वपूर्ण छ । यसले कोटेश्वरको पीडा र संघर्षको इतिहास झल्काएको छ ।

इतिहास लेखनका धेरै पद्धति छन् । हाम्रोमा सरदार भीमबहादुर पाँडेको एउटा बान्की छ– त्यस बखतको नेपाल । त्यस्तै, तर साहित्यिक बान्कीमा छ– कोटेश्वरको केटो । नयाँ किसिमको इतिहास वर्णन र नयाँ प्रकारको फरक दृष्टिविन्दुमा यो किताबको धेरै महत्त्व छ ।

‘कोटेश्वरको केटो’ लेख्ने साहित्यिक स्रष्टा राजेन्द्र पराजुली अब रहेनन् । उनको निधन म र मजस्ता नेपाली साहित्यका अरु धेरै पाठकका निम्ति एउटा असह्य समाचार हो । तर, यो समाचार जतिसुकै असह्य भए पनि त्यसको वियोगान्तबाट हामी मुक्त हुन सक्दैनौं । राजेन्द्र पराजुली हाम्रो समयका एउटा संघर्षशील, प्रयोगशील र जीवनलाई सरलतापूर्वक सन्धान गरिरहेका कवि, कथाकार, उपन्यासकार थिए । त्यसबाहेक नेपाली छापा पत्रकारिताको इतिहासमा पनि उनी उत्तिकै लोकप्रिय र स्वाभिमानी पत्रकार तथा टिप्पणीकारका रूपमा परिचित थिए ।

मैले सुरुवातमै मूलपानी र कोटेश्वरको सानो दृश्य लेखें । त्यो किनभने म काठमाडौं मूलपानीको बासिन्दा हुँ, राजेन्द्र पराजुली सहरको अलि नजिक कोटेश्वरको । करिब चार दशकअघि उनीसित मेरो भेट भएको हुनुपर्छ, खास दिनबारे म त्यति स्पष्ट छैन । उनी ‘वन्दना’ नामको साहित्यिक पत्रिका सम्पादन गर्थे त्यसबेला । ‘वन्दना’ मा मेरा दुईवटा कथा छापिएका छन्, त्यो उनकै कारण हो ।

म राजेन्द्र पराजुलीसँग मित्रताको हिसाबले धेरै आत्मीय थिएँ । तर, विश्वदृष्टि र विचारमा थुप्रै भिन्नता पनि थिए । किशोरकालमा उनी साम्यवादी–वामपन्थी थिए, तर पछि उनी त्यस क्षेत्रको कडा आलोचक भए । खासगरी वामपन्थी आन्दोलनमा देखिएका विकृति र विसंगतिले उनलाई उग्र आलोचक बनाएको देखिन्छ । त्यस्तै उनी अरूखाले भ्रष्ट राजनीतिको प्रतिपक्षमा पनि देखिन्छन् । यो कुरा उनका अधिकांश कथाहरूमा पाइन्छ । राजनीतिक विषयवस्तुका उनका कथाहरू यही दृष्टिकोणका साक्षी हुन् । म पनि साम्यवादी आन्दोलनको राष्ट्रिय र विश्वको अनुहार देखेर उत्तिकै असन्तुष्ट छु । तर, यसको पुनर्संरचना हुनुपर्छ र यसले नयाँ बाटो पहिल्याउनुपर्छ भन्ने मत राख्छु । मैले आफ्ना साहित्यिक निबन्धहरूमा त्यो कुरा भन्दै आएको छु ।

हाम्रा यी अन्तरका बावजुद पनि राजेन्द्र र म धेरै नजिकका मित्र हौं । उनको मित्रता मसित मात्र होइन, आजका प्रख्यात आख्यानशिल्पी नयनराज पाण्डेसँग पनि गाढा रहेको हामी बुझ्छौं । यो सूची निकै लामो छ । विशेष गरी नयाँ पुस्ताका धेरै होनहार लेखक र पत्रकारहरूसँग उनको निकै गहिरो सम्बन्ध रहेको थियो । उनीहरूमाझ उनी एकदमै लोकप्रिय थिए । त्यो आत्मीयता हेर्दा म त्यो गुणमा उनीभन्दा निकै कमजोर र होचो छु जस्तो लाग्छ । नयाँ पुस्ताका साहित्यिक स्रष्टाहरू र पत्रकारहरूलाई उनले दिएको हौसला र प्रेम देख्दा अहिले पनि म अभिभूत हुन्छु ।

म राजेन्द्र पराजुलीबाट प्रभावित भएको अर्को पक्ष हो– उनको सम्झौताहीन संघर्षशील चरित्र । उनले आफ्नो व्यक्तिगत स्वार्थ–लाभका निम्ति कहिल्यै कसैसित सम्झौता गरेनन् । उनी जुन–जुन संस्थासित आबद्ध भए, ती संस्थासँग नीतिगत विवाद हुँदा सम्झौता नगरि छोडिदिए । उनी लामो समय एक ठाउँमा स्थिर हुन सक्दैनन् भन्ने आरोप पनि लगाइन्थ्यो । हाम्रो पत्रकारिता क्षेत्रमा संस्थागत रूपमा जुन विकृति आएका छन्, तीसित उनले सम्झौता नगरेकै कारण त्यस्तो स्थिति उत्पन्न भएको मलाई लाग्छ । एउटै संस्थामा लामो समय नरहने र आफ्नो लाभका निम्ति सम्झौता नगर्ने कारणले उनलाई आर्थिक जीवनमा धेरै समस्या र अप्ठ्याराहरू परे । घरव्यवहार चलाउन उनले निकै संघर्ष गर्नुपर्‍यो । उनका एक पत्नी, एक छोरा र एक छोरी छन् । समय समयमा बेरोजगार रहँदा परिवारको रथ गुडाउन उनलाई साह्रै असजिलो परेको मैले नजिकबाटै देखेको छु ।

समाजमा अहिले केही मानिसमा दुई–तीनवटा अनुहार भएको हामी पाउँछौं, जस्तो कि भित्रभित्रै एकदम अवसरवादी र अचाक्ली स्वार्थी, तर बाहिर चाहिँ उद्भट् क्रान्तिकारी । त्यस्तो दोहोरो रूप उनमा मैले कहिल्यै देखिनँ । म स्पष्ट भन्न सक्छु– उनको समग्र जीवन–दर्शन यस्तो पाखण्डका विरुद्धमा थियो ।

उनी आत्मकेन्द्रित र आत्ममुग्ध थिएनन् । उनी आफ्नै पनि कटु आलोचना गर्थे । आफैंसँग आत्मआलोचित हुनु साधुता हो, तर उनी साधु होइनन् । वास्तवमा उनलाई आफ्नो हैसियत कति हो भन्ने थाहा हुन्थ्यो । उनले आफू धेरै ठूलो प्रतिभाशाली लेखक होइन भनेर धेरैचोटि लेखेका छन् । बरोबर भनिरहन्थे– म मध्यम खालको मान्छे हुँ । उनको यो अभिव्यञ्जनामा ती खलनायकहरूलाई व्यंग्य वा कटाक्ष छ, जो आफू जति होचो भए पनि असीम अग्लाइको दाबा गर्छन् । उनले आफूलाई जे भने पनि उनी इमान–जवानले जीवनलाई हेर्न चाहने अविश्रान्त स्रष्टा थिए ।

मेरो आफ्नो जीवनमा उनीसित जोडेर कुरा गर्दा मेरा बहुरूपहरू छन् । जस्तो : म कहिले शिक्षक भएको छु, कहिले पत्रकार भएको छु, कहिले पुर्खाको खेती–किसानी पेसाले गर्दा किसान पनि भएको छु । र, कहिले राजनीतिज्ञ भएको छु । म २०५३ सालमा तत्कालीन प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नं. १ को उपनिर्वाचनमा उम्मेदवार थिएँ । मेरो प्रचार अभियानमा उनी खुलेरै लागेका थिए । उनी मेरो पार्टीको सदस्य थिएनन्, त्यसबखतसम्म आइपुग्दा साम्यवादी वामपन्थतिर उनको त्यति धेरै अनुराग पनि थिएन । तर, उनी मेरो प्रचारमा निस्किए ।

मेरा प्रतिस्पर्धी उम्मेदवार लोकेश ढकालसित पनि उनको एकदमै आत्मीयता थियो । तर, उनले मलाई नै छाने । उनले ‘तन्नेरी’ मा लामो समय सम्पादकको हैसियतले काम गरे । नेपाली राजनीतिक कथाको संकलन र सम्पादन गरे । उनको यो जीवनीमा म लेखक भएर जोडिएकाले उनी मसित ज्यादै नजिक भएका हुन् । पार्टीभन्दा बाहिरको मान्छेले सघाएको कुराले उम्मेदवारलाई बलियो हुन निकै मद्दत मिल्दो रहेछ । त्यसैले सुविधानगर बुथमा मैले निकै राम्रो मत पाएँ ।

जस्तो : मनमोहन अधिकारीजीसँग मेरो तुलना हुँदैन । उनी मेरा आदरणीय नेता थिए, तर मध्यावधि निर्वाचनमा सुविधानगर बुथमा मनमोहनजी हारेका थिए, त्यहाँ नेपाली कांग्रेसका हरिबोल भट्टराईजीले जितेका थिए । मनमोहनजीले हारेको त्यो ठाउँमा मेरो जित हुनुमा राजेन्द्रको परिश्रमले काम गरेको थियो । त्यसका निम्ति उनलाई म कहिल्यै बिर्सिन सक्दिनँ ।

राजेन्द्र पराजुलीको व्यक्तित्वका धेरै आयाम छन् । हामीहरू कैयौंचोटि सँगसँगै यात्रामा हिँडेका छौं, एउटै कार्यक्रममा आबद्ध भएका छौं । उनको किताब प्रकाशित हुँदा धेरैपटक ती किताबमाथिको वक्ता पनि भएको छु म । तर, हाम्रो सम्बन्ध एकले अर्कोलाई फोस्रो तारिफ गर्ने र उचाल्ने वा निम्छरो गुट बनाउने खालको कहिल्यै रहेन । मैले कतिपय विषयमा उनको आलोचना गर्दा उनले एकदमै सहर्ष र सुखद् रूपले लिएको मैले थाहा पाएको छु ।

उनको व्यक्तित्वका राम्रा पाटा थुप्रै छन् । उनको परिवार र छरछिमेकसँगको असल सम्बन्धबारे पनि उनीनजिक भएकाले म अनुभूत गर्न सक्छु । यी सबैको सूची बनाउन सकिँदैन, तर छोटकरीमा उनको जीवनयात्राको मूल्य र अर्थ खोज्दा करिब एक महिना अघिको एउटा घटना म सम्झन्छु । त्यो घटनामा म उनका थुप्रै मित्रहरूसँगै थिए । उनको पछिल्लो कथासंग्रह ‘जन्तरमन्तर’ को विमोचन समारोह थियो– नगरकोटमा । त्यस समारोहमा मैले भनेको थिएँ, ‘साहित्यको मुख्य काम मानिसलाई असल, इमानदार र आदर्शवान् बनाउनु हो, राजेन्द्र पराजुली यी गुणमा आफैं अनुपम दृष्टान्त हुन् ।’

यसो भनिरहँदा मैले नेपाली साहित्यका अर्का सारथि र नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झेको थिएँ । देवकोटाको रचनात्मक जीवनमा धेरै सीमाहरू थिए । उनी एकदमै संघर्षशील, प्रयोगशील र आफैंलाई परीक्षण गरिरहने एक स्रष्टा थिए । त्यसका बावजुद पनि मानिसका रूपमा उनी असाध्यै सरल र एकप्रकारले भन्ने हो भने एकदमै असल व्यक्तित्वको प्रतिविम्ब थिए ।

राजेन्द्रमाथिको मेरो त्यो मूल्यांकनमा कुनै अतिरञ्जना थिएन । देवकोटाले पनि आफ्नो जीवनको धेरै लामो समय गुजार्न पाएनन् । राजेन्द्रले पनि जम्मा ५९ वर्ष मात्रै जीवनलाई भोगे । करिब १८ वर्षअघि ठूलो दुर्घटनामा परेर उनले पुनर्जन्म पाएका थिए । त्यसपछि उनी उत्तिकै उर्जाशील र शक्तिशाली भइरहेका थिए । तर, राजेन्द्रको असामयिक महाप्रस्थानले असल र आदर्श मूल्य निरूपणको उनको जुन एउटा सतत अभियान थियो, त्यसमा पूर्णविराम लागेको छ ।

प्रकाशित : भाद्र ३०, २०८० ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?