२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

ईश्वरी र ईश्वरीहरूको गोधूलि

स्कुल छाडी छापामार बनेकी ईश्वरीको संघर्ष र उतारचढावको एकसरो डायरी हो किताब
दिनमान गुर्मछान

१० वर्षे युद्धले नेपाली मन, मुटुलाई छियाछिया पारेपछि नागरिकको दुःख र पीडाले स्थापित भएको हो– नेपाल गणतान्त्रिक मुलुक । जतिबेला युद्ध चलेको थियो, आम नागरिकको मानसिकता नै युद्धले गाँजेको थियो । यही युद्ध–काललाई उपन्यासमा लेखेका छन्, आख्यानकार भानु बोखिमले । हालै प्रकाशित उपन्यास ‘गोधूलि गीत’ त्यही कालखण्डको एक चित्र हो । उपन्यास नेपाली नागरिकले विगतमा भोगेको एक कालखण्डको कथा हो, जतिबेला नेपालीलाई दुई धारमा मात्रै चिनाइन्थ्यो– कि माओवादी कि सरकारपक्षका मान्छे वा सुराकी ।

ईश्वरी र ईश्वरीहरूको गोधूलि

ती कष्टकर दिनलाई ‘गोधूलि गीत’ ले आफ्नै लयमा गाउन खोजेको छ । अझ लेखकले युद्धको उद्गमस्थलबाटै कथाको बीजारोपण गरेर पूर्व नेपाल र पश्चिम नेपाल देखाइदिएका छन् । नेपालैभरि माओवादी युद्धको चरम परिस्थिति सिर्जना भएको त्यो बेलाको कथा भन्छ उपन्यास ।

उपन्यास ईश्वरीको कथा हो वा रोल्पाको दुर्गम पहाडी भेगमा निर्धक्क पढिरहेकी एक चेलीको इतिहास । बा–आमा र दाजुको इच्छाअनुसार पढेर नर्स बन्ने सपना छ, ईश्वरीको । यो उसको जीवनकथा पनि हो । कक्षामा पहिलो भइरहेकी ईश्वरीले विद्यालय परिवर्तन गरेपछि दोस्रो हुनुपरेको घटनाबाट सुरु भएको यो उपन्यास उसको संघर्ष र उतारचढावको एकसरो डायरी हो । किशोरावस्थामै क्रान्ति, परिवर्तनजस्ता शब्दजालमा फसेकी एक किशोरीको कथा हो भने पनि हुन्छ उपन्यासलाई । उसले किशोरावस्थामै भयंकर दुःखकष्ट भोग्नुपरेको छ । यो त्यतिबेला उतारिएको कथा हो, जतिबेला देश युद्धको भयानक चपेटामा थियो । त्यसैले यो तमाम पीडितको पनि प्रतिनिधि कथा हो, जसले बुर्जुवा शिक्षाको विरुद्धमा पढाइ र सपना त्यागेका थिए । पढिरहेको शिक्षा ‘बुर्जुवा’ सोचेर त्यो बहिष्कार गरी माओवादी–युद्धमा होमिएर स्कुल छोड्नेको कथा भने पनि हुन्छ ‘गोधूलि गीत’ लाई ।

माओवादी आन्दोलनको सुरुवाती बेला धेरैजसो विद्यार्थी नै थिए– लडाकु । उपन्यासमा ईश्वरीलाई विभिन्न समय र परिस्थितिले युद्धमा जान बाध्य बनाएको छ । उसको नर्स बन्ने सपनामा बीचैमा बादल लागेको छ । ईश्वरीका बुबा एक असल शिक्षक हुन् । उनलाई पुलिसले सामान्य राजनीतिक इवीकै कारण समातेर लैजाँदा र हत्या गरिँदा ईश्वरीको घरमा ‘जनयुद्ध’ को गहिरो बीजारोपण हुन्छ ।

दाजु जीवन माओवादीमा लाग्नु र उसको मृत्यु हुनु, ईश्वरीको घरमा पुलिसले छापा मार्नु, ईश्वरी र उसकी छिमेकी भाउजूलाई पुलिसले बलात्कार गर्न खोज्नु ! यहि ज्यादती नै थियो– माओवादीप्रतिको आकर्षणको बाटो । यी र यस्ता कारण ईश्वरीबाट एक युवती निर्जला बन्न पुगेकी छ ।

माओवादी छापामार बनिसकेपछि निर्जलाको कथा सुरु हुन्छ । तालिम पाएपछि गाउँलेको मन जित्न उसले गरेका अनेक प्रयासको स–साना किताबमा छ । हुन त चाप्लुसीबाज जहाँ पनि छ भन्ने पुष्टि उपन्यासका केही घटनाले गर्छन् । माओवादी भएपछि चामलको भात खान पाइन्छ सोच्ने र माओवादीमा लाग्ने ११ वर्षे बालकको कथा पनि छ । खड्गबहादुर पुन, जो मीठो खान पाइन्छ भनेर माओवादीमा हिँडेको छ । यो पढिरहँदा बोध हुन्छ– नेपालमा गरिबीले मान्छे पीडित छन् र भोकले मान्छेलाई जे गर्न र जे बन्न पनि बाध्य बनाउँदो रहेछ । एक दिन त्यो ११ वर्षे बालक अचानक हराउँछ । सधैं चामलको भात खान नपाएको तिक्तताले ऊ विरक्तिएको थियो, त्यसैले ऊ कतै फेला पर्दैन । तर, जे भए पनि नेपालको युद्धले ऊ हराएको हो भन्ने महसुसचाहिँ गराउँछ ।

‘गोधूलि गीत’ मा ईश्वरीको मात्र कथा छ भन्दा पनि हुने हो । ईश्वरीसँग भेटिएकाहरूको कथा निकै साना छन् । त्यसैले पाठकलाई यो ईश्वरीको मात्रै कथा हो भन्ने छुट पनि छ । तर, उपन्यासमा एक पात्र छ, जो बेलाबेला झुल्किरहन्छ । कथाको सुरुदेखि अन्त्यसम्म बेलाबेला आउने त्यो पात्रको पनि विशेष स्थान छ । सरकारी सेना कुमार ओलीको पत्र छापामार ईश्वरीलाई बेलाबेला आउँछ र युद्धका बेला यी दुईको भेट पनि हुन्छ । तर, दुबै बाँच्छन् । एकले अर्कोलाई कारणवश मार्दैनन् र उपन्यासको अन्त्यमा यी दुवैको भेट भएको छ । युद्धमा नेपाली सेना र माओवादीको भेट हुँदा एकअर्काको ज्यान लिने समय थियो त्यतिबेला । कुमार ओली नेपाली सेनका अफिसर र ईश्वरी माओवादी । तर, परिस्थितिवश एकले अर्कोको ज्यान बचाएको घटनाले भन्छ– प्रेम नै स्थायी हो । र, युद्धविरामपछि तराईमा भेट हुँदा ईश्वरी उनै कुमार ओलीसँग तर्किएको घटनाले एउटा बेग्लै विचारको सिर्जनाचाहिँ गर्छ । जे होस् बेलाबेला आइरहने यी कुमार पनि उपन्यासका जीवन्त पात्र हुन् ।

मीनबहादुरको छुट्टै कथा छ । द्वन्द्वले एक होनहार विद्यार्थीको शिक्षक बन्ने सपना उडेको छ । हिमाली, बतास, प्रेमकलाको समेत महत्त्वपूर्ण भूमिका छ आख्यानमा । प्रेमकलाको छलाङले आजको वास्तविकतालाई देखाएको छ । असीममाथिको विश्वास कहिल्यै चुलिएको देखिएन । बरु शान्ति सम्झौता पछि असीमले पार्टीप्रति विश्वास गर्न छाडेर परदेश पलायन हुन खोजेको छ । समग्रमा आफू हिँडेको बाटो धेरैलाई कष्टकर लागे पनि यसले दिएको चोट बोकेर पलायन हुन खोजिएको छ । यसले समग्र युद्धभन्दा शान्ति नै सत्य हो भन्ने प्रस्ट पारेको छ ।

उपन्यासको एउटा अध्याय छ– हिँडेर आएको बाटो, जसले उपन्यासको सारांश नै भनिदिन्छ । यो सारांश पाठकले महसुस गर्ने पक्ष हो, तर यहाँ लेखक आफैंले पाठकलाई मज्जाले बताइदिएका छन्, त्यो पनि टिपोटका रूपमा । पाठकले बुझ्ने, महसुस गर्ने विषय लेखकले किन आफैं लेखे ? पेन्सन हुनु एक–दुई वर्षअघि नै बितेका शिक्षक अर्थात् ईश्वरीका बाबुको पेन्सन उसकी आमाले निकै झमेलापछि पाएकी छन् । सरकारी नियमअनुसार यो हुनै सक्तैन । पाठकले यस उपन्यासमा माओवादी युद्धको त्राही कतै भेट्दैनन् । युद्ध गर्न गएका लडाकु फर्किएका छन्, रमाइलो गरिरहेका छन् । युद्ध–कथामा रातभरि गोली चलेको घटना कतैकतै निकै सामान्य तरिकाले प्रस्तुत भएको छ । छापामार वा लडाकुको तालिमको जिकिर भए पनि तालिम निकै सामान्य छ । श्रम शिविरमा राखिएको व्यक्ति अपराधी ठहर भएर राखिएको मानिन्छ । तर, यहाँ उनै व्यक्तिको रमाइलोमा छापामार सरिक भएको छ । सामान्य भाषा–शैलीमा लेखिएको ईश्वरीको कथा बुझ्न ‘गोधूलि गीत’ पढ्दा कुनै घाटा छैन ।

प्रकाशित : भाद्र ९, २०८० १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?