कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

लुङ्माहिम साइँलाको मेटामोर्फोसिस

पोकामा छ– सिरिजङ्गा लिपिमा लेखिएको ठेली, कविता र लेख ! कविको नाम छ– लुङ्माहिम साइँला । बुबा बितेको लामा वर्षहरू पछि उनको नयाँ नाम र पहिचानसँग परिचय भएको छ ।
प्रकाश थाम्सुहाङ

चालीसको दशक
पान्थरको कुनै एक गाउँ । साँझ गाढा हुँदै छ । हामी चार थान शरीरहरू चुपचाप हिँडिरहेछौँ । अगाडि हिँड्ने हाम्रो टोली नेतासँग लालटिन छ, हामी उज्यालो पछ्याउँदै छौं । यात्राको सबैभन्दा कान्छो सदस्य म, भात खाएर घुप्लुक्क सुत्न छाडेर अँध्यारोमा हिँड्नुको सास्ती भोगिरहेछु । मनमा डर छ भूतको, घर छाडेदेखि एकनास कीराले पछ्याइरहेछ । त्यसकारण बीचमा छिरेर हिँडिरहेछु ।

लुङ्माहिम साइँलाको मेटामोर्फोसिस

रोकिँदा शान्त हुने, हिँड्दा पछ्याउने यो कीरासँग पनि डराउँछु । आमा भन्नुहुन्छ– कसैको अतृप्त आत्मा हो यो । बाटामा राँको बालेर घर फिर्नेहरू एकाध भेटिन्छन्, जो जाँडको मातमा मस्तराम छन् । तीहरू फर्किरहेछन् पालाम गाउँदै । अन्ततः करिब एक घण्टाको यात्रामा हाम्रो गन्तव्य एउटा घर आइपुग्छ ।

हामी पुग्दा केही मानिस भेला भइसकेका छन् । हामी सबै छिर्छौं एउटा कोठामा । कोठा सोचेभन्दा ठूलो र सफा छ । कोठाको एउटा कुनामा छ, भव्य कुर्सी । म अचम्भित भएर कुर्सीमाथि टाँगिएको देउता र अपरिचित अनुहारको दिव्यता एकटकले हेरिरहेको छु । कोठाभरि फैलिएको छ, धूपको सुगन्ध । यसैबीच कोठाको अर्को ढोकाबाट गेरुवा साडी लगाएर आउँछिन् एक सुन्दर युवती । लालटिनको हल्का उज्यालोमा उनको अनुहार धपधप बलेको छ । म उनलाई देखेर पहिलो भेटमै सम्मोहित भएको छु । सबै जना उनको खुट्टामा नतमस्तक ढोग्दै छन् । हाम्रो लिडरले मलाई पनि कोट्ट्याउँछन् ।

लाग्छ, उनी साच्छात् देवी हुन्, सादा टेलिभिजनमा देखेको सीताभन्दा कलरफुल । उनको आवाज उस्तै मधुर । उनको प्रवचनमा सबै निमग्न छन् । मैले भने केही बुझिरहेको छैन । प्रवचनपछिको भजन र अन्तिमको गुलियो मिठाईको प्रसाद मेरा लागि रुचिको विषय छ । म पल्केको छु । यसर्थ, पहिलो साँझ दोस्रो–तेस्रो हुँदै जान्छ । खासमा हामी सत्सङमा छौं । आध्यात्मिक सत्सङ । बैंसमै सांसारिकताबाट बिरक्तिएकी एक विदुषी आत्मा, कर्म, पाप–पुण्य, परमात्मा आदि माथि धाराप्रवाह बोलिरहेकी छन् । कुराको मेलोमेसो नपाए पनि म उनको दिव्य मुहार हेरिरहेछु । कति कोकिल कण्ठ भएकी देवी ! पोस्टरमा देखेको सरस्वती माताझैं । अथवा, झापा मावल जाँदा हेरेको सिनेमाको हिरोइन मन्दाकिनीझैं । म सबैभन्दा सानो फुच्चे, उनको नयाँ अनुयायी भएको छु ।

‘ए फुच्चे उठ,’ मिर्मिरेमै लिडरले उठाउँछन् । लिडर उर्फ बुबा । धीत मर्ने गरी सुत्न नपाएको म, बलजफ्ती उठिदिन्छु । मैले बुबासँगै ध्यान गर्नुपर्ने हुन्छ ।

रातो खोल भएको किताब छ बुबाको सिरानीमुनि । त्यसलाई जानीनजानी पढी ढोगेर जतनले राखिदिनु छ फेरि । बुबाको दराजमा छ रुद्राक्ष माला, कहीँकतै नदेखेको बडेमानका पुस्तकहरू । महिना दिन बिराउँदै आमा धूलो टक्टक्याइदिनुहुन्छ । हाम्रो पूजाकोठामा छन् थरीथरीका भगवान्हरू । शिवजी, गणेश, लक्ष्मी, सरस्वती, फाल्गुनन्दसँगै टाँगिन पाएको छ एउटा जुँगे मानिस । बुबा महाराज भनेर चिनाउँछन्, भगवान् भन्छन् । आमा र म मानिदिन्छौं ।

यी भगवान् कहाँ बस्छन् ?

– हिमालको फेदमा । भगवान्सँग भेट गराउन एक दिन लान्छु तिमीहरूलाई ।

टाढा पढ्न बसेका दाजु–दिदीहरू घर आएका छन् । पूरै गाउँमा उत्सव छ । धेरैजसोको घरमा सुङ्गुर, खसी वा समूहका लागि ढल्दै छ राँगा । हाम्रोमा चाहिँ बिहानै आउँछन् पण्डित, दुर्गा भवानीको पूजा गर्छन् । फर्सीको राँगा र केराको खसी बनाएर मार हान्छौं । बुबाको खुसीमा हामी सपरिवार सामेल हुन्छौं । केटाकेटीका लागि समूहमा ढलेको सुङ्गुर र राँगाको मासु आउँछ । बुबालाई मांस र मद्यपान मननपर्ने भएको छ । गाउँमा हामी केही घर छाडेर अधिकांशभन्दा बेगल भएका छौं ।

टोली नेतासँग लालटिन छ– हामी उज्यालो पछ्याउँछौं । मनमा डर छ– भूतको । घर छाडेदेखि कीराले एकनास पछ्याइरहेछ । आमा भन्नुहुन्छ– कसैको अतृप्त आत्मा हो यो ।

घरमाथि देवीथानमा अरूले बलि चढाएर पूजा गर्दा हाम्रो बेग्लै सादा पूजा हुन्छ । आमाले फेदाङ्मा बोलाएर हाम्रो माङ्गेना गरिदिनुहुन्छ, तर भोग नलगाई सादा, फूल र नैवेद्यले । अरू आफन्तले मूल खाँबोमा सुङ्गुरको रगत चढाउँदा हामी दूध चढाउँछौं । गाउँले परम्पराइतर नयाँ बाटामा हिँड्दै छन् बुबा । त्यो बाटो धर्मको हो, मानव धर्मको ।

घरमा टाँगिएको छ– बिलकुलै नौलो झन्डा, जसले हाम्रो घरलाई पृथक् बनाएको छ । हाम्रो घर साधुको घर हो, जहाँ हिंसा वर्जित छ । घरमा बिहानै ध्यान गरिन्छ, साँझमा सत्सङ, सत्सङ नभएको दिन आरती । घरमा महाराजको प्रकाशनगृहबाट आउँछ पत्रिका, जहाँ उनको सपरिवार नै भगवान्को उपाधिले विभूषित भएका हुन्छन् ।

भगवान्ले बिहे गर्छन् ? परिवार हुन्छ ?

– गर्छन् जसरी शिवजीले गरे । उनको परिवार छ ।

समयक्रमसँगै बुबाका साथीहरू बढोत्तरी हुँदै छन् । बुबा राजनीतिमा पनि जोडिनुहुन्छ, भाषण अरूभन्दा फरक गर्नुहुन्छ । जस्तो कि बोल्नुअघि, खाना खानुअघि मन्त्र पढ्नुहुन्छ । हिन्दी आउँछ, कामचलाउ गणित, अलिअलि अङ्ग्रेजी पनि आउँछ । कहिल्यै स्कुल नगए पनि पढ्न–लेख्न आउँछ । नेपाल सरकारको भूतपूर्व कर्मचारी भारत प्रायः घुम्नुभएको छ । त्यसो र उनको धार्मिक अनुष्ठान र सत्सङका लागि, माताहरूको प्रवचनका लागि त्यो कोठा साँघुरो भएको छ ।

बुबाको अगुवाइमा बन्छ मन्दिर । भक्तहरू श्रमदान गर्छन्, चन्दा उठाउँछन् हैसियतअनुसार । हेर्दाहेदै पुरानो प्रवचन कोठा भएको घरभन्दा केही माथि बनाइन्छ–सुन्दर मन्दिर । समय बित्दै छ । माताहरू फेरिँदै आउँछन्, कहिले पुरुष कहिले महिला ! रोचकचाहिँ पुरुषलाई पनि ‘माता’ नै सम्बोधन गर्नुपर्छ । उनीहरूको गाँसको जिम्मा भक्तहरूको छ । कसैले चामल दिन्छन्, कसैले सब्जी, कसैले दूध । पत्रिकाको वार्षिक ग्राहकको पनि पैसा दिनुपर्छ । म पनि ठूलो हुँदै छु । अलिअलि कुरा बुझ्ने भएको छु ।

इलाममा पनि छ हाम्रो घर । यहाँ पनि छन् बुबाका साथीहरू । भारत, नेपालका आश्रमबाट आउँछन् बुबालाई भेट्न माताहरू । बास बसेर जान्छन् पान्थरको मन्दिर । एक दिनको कुरा हो, माताहरू बास बस्न आउँछन् । म हतारहतार अँगेनाको सिकुटी लुकाउँछु । मातामध्ये एक छिन् अधेढ, अर्को छिन् युवा । युवा सुन्दरी छिन् । उनले मलाई बोलाएर एक डेमो देखाउँछिन्– यो बल्भको स्विच यहाँ छ, (स्विच थिच्दै बत्ती बाल्छिन्) लु भन त मनुष्य चेतनाको स्विच कहाँ छ ?

म ट्वाँ पर्छु । थाहा छैन को संकेतमा मुन्टो हल्लाउँछु । उनी पद्मासनमा बस्छिन् । बूढीऔंलालाई चोर औंलाले हल्का दबाउँछिन् । र, भन्छिन्– मानिसको चेतनाको स्विच यहाँ छ । बुद्घलाई पढ, बुझ । उनले बुद्घत्व प्राप्त गर्नुमा यही सूत्रले काम गरेको छ ।

जागिरबाट अवकाशपछि बुबाले सुरु गर्नुभएको राजनीति सायद उनले सोचे जति गति लिएन । गाउँको चुनाव हार्छन् । पछि एक पार्टीको जिल्ला सदस्यसम्म बन्छन् । संसद् टिकटको आकांक्षी उनी नपाएपछि राजनीतिबाट विरक्तिन्छन् । यही बेला माताहरूको आउजाउ बाक्लो हुन्छ । बुबाको अध्यात्म चुलिएर जान्छ ।

असीको दशक

एउटा विरक्तलाग्दो दिन । बुबा हुनुहुन्न । आमा हुनुहुन्न । म आफैं बुबा भएको छु । एउटा पुरानो, धूलाम्य दराज खोल्दै छु, जुन बुबाको हो । म बसेको घर पनि त बुबाले नै बनाएको हो । बुबाआमा बित्नुभएको पनि त दशक नाघ्यो । किनकिन यो दराज मलाई खोल्न विगतमा मन लागेन । तर, आज खोल्दै छु । माकुराको जालो हटाउनु छ । धूलो टकटक्याउनु छ ।

दराजमा भेट्छु, तमसुकको ढड्डा, केही पुराना चिठी । दाह्री पालेको, रुद्राक्ष माला लगाएको बुबाको रङ्गीन तस्बिर । रातो खोल भएको बुबाको प्रिय पुस्तक । महाराजका प्रकाशनगृहबाट प्रकाशित पत्रिकाहरू । बुबाको घडी, रेडियो, खुकुरी । खुकुरी किन सङ्ग्रह गर्नुभयो ? उहाँलाई त हिंसा मन पर्थेन । छ एउटा पुरानो ब्याग । नयाँमा यो ब्याग नीलो थियो ।

मलाई धूमिल सम्झना छ । अहिले झन्डै बेरङ्ग भएको छ । जतनले झिक्छु झोला । धूलाका कणहरूको कारण हाछ्युँ आउन खोज्छ । ब्यागभित्र छ, कागजको पोका, जुन पहाडे कागजको डोरी बनाएर बाँधिएको छ । तमसुक होला कल्पिन्छु, पोका खोल्छु । सुरुवातमै एउटा नाममा मेरो आँखा ठोकिन्छ । नाम लेखिएको छ– लुङ्माहिम साइँला ।

पोकामा छ– सिरिजङ्गा लिपिमा लेखिएको ठेली । छन् देवनागरी लिपिमा लेखिएका पालाम ख्यालीहरू । छन् खस भाषाका कविता र लेखहरू पनि । कविको नाम छ– लुङ्माहिम साइँला । म चकित हुन्छु । खासमा को हुन् लुङ्माहिम साइँला ? यिनका पाण्डुलिपि जतनले राख्नुको पछाडि बुबाको के स्वार्थ छ ?

हाम्रो बाजे जहरमान अमाली सुब्बा थिए रे । मेलै देख्न पाइनँ । बाजेका छ भाइ छोराहरू भए । छ भाइ छोरामध्ये हाम्रो बुबा साइँला हुन् । हाम्रो बुबा साइँला भनेपछि, अहो ! लुङ्माहिम साइँला त हाम्रै बुबा गणेशबहादुर थाम्सुहाङ नै हुन् । बुबा बितेर गएपछि उनको नयाँ नाम र पहिचानसँग परिचय भएको छ । मलाई छटपटी हुँदै छ । औडाहा हुँदै छ । मैले बुझेको, देखेको भन्दा पृथक् बुबाको पहिचान उनले बाँचुन्जेल मलाई खुलाएनन् ।

सोध्छु, जीवित बुबाका दौंतरीहरूलाई । मभन्दा माथिका दाजुदिदीहरूलाई सोध्छु । हाम्रा बुबा त विसं २०१३ सालमै लिम्बुवान प्रतिनिधिमण्डलमा सामेल भएर काठमाडौं गएका रहेछन् । राजा महेन्द्रलाई लिम्बुवान राज्यको स्वायत्तता मागेछन् । पान्थरको गाउँमा बुबाकै अगुवाइले किरात पुस्तकालय खोलिएको रहेछ । सिक्किमबाट छापिएर आउने लिम्बू पत्रिकामा बुबाको लिम्बू कविता छापिँदो रहेछ ।

अहिले गम्छु, आफ्नो पहिलो, दोस्रो सन्तानको नाम लिम्बू भाषामै राखेका छन् । माइला छोराको नाम पनि लिम्बू भाषामै राखेका छन् । मैले सङ्गत गर्न नपाएको लुङ्माहिम साइँलाको नयाँ अवतार अवतरणले म चकित भएको छु । खासमा गणेशबहादुर थाम्सुहाङभन्दा लुङ्माहिम साइँला मलाई प्यारो लाग्न थाल्दै छ ।

र, एउटा प्रश्नले मथिङ्गल हल्लाइरहेछ– याक्थुङ लुङ्माहिम साइँलाको हिन्दु मेटामोर्फोसिस कहिले र किन भयो ? लिम्बू लिपि, साहित्यमा काम गर्ने लुङ्माहिम साइँलालाई किन सतपालजी महाराज मनपर्न थाल्यो ? बाटो नपुगेको, सञ्चार, बिजुली नपुगेको सुदुर गाउँमा परम्परा बिथोल्ने गरी कहाँबाट घुस्यो महाराज ? त्यो त धार्मिक अतिक्रमण थियो । कि त अराष्ट्रिय तत्त्वको आरोप लागी निर्वासनबाट जोगिन धर्मको सहारा लिए लुङ्माहिम साइँलाले ? किनकि ७ सालदेखि नै साइँला रेडलिस्टमा थिए रे ! यी प्रश्नहरूको जवाफ अब म सायदै भेट्टाउँछु ।

तर, एउटा जवाफ कथामा भेट्टाएको छु । जस्तो कि बुबाको देहान्त हुनु करिब १० वर्षअघिदेखि नै उनमा दुविधा पलाएको थियो । माताहरू हाम्रो घर आउने क्रम रोकिएको थियो । नवीकरण नगरेपछि सतपालजी महाराजको पत्रिका आउन छाडेको थियो । ध्यान गर्ने समय र सिलसिला टुटेको थियो । उनले फेरि सुङ्गुरबाहेक अरू मासु खान थालेका थिए । परित्यक्त मदिरा र चुरोट फेरि प्रिय हुँदै थियो ।

कथा यस्तो छ– मन्दिरमा सुन्दर माता आइन् । उनी अधबैंसै थिइन् । उनलाई बिहानै दूध पुर्‍याउन एक युवक आउँथे । युवक पुरानो मन्दिर घरका छोरा थिए । प्रत्येक दिन युवक र माताको आँखा जुधाइ र भेटले ती दुईबीच प्रेम बस्यो । युवकले माता हुन् भन्ने ख्याल गरेन । माताले म माता हुँ भन्ने बिर्सिन् । उनले ब्रह्मचार्य धर्म बिर्सिन् । बाँकी के रह्यो ? ती दुईले सांस्कृतिक कर्म गरे । एक कान दुई कान गाउँलेहरूले थाहा पाए । युवकको श्रीमतीले थाहा पाइन् । मातालाई मन्दिरबाट रातारात भगाइयो । तत्काललाई दुर्घटना टर्‍यो । तर, आम गाउँलेमाझ धर्म र अनुयायीको घोर बेइज्जत भयो । मन्दिर क्रमशः सुनसान हुँदै गयो ।

प्रकाशित : भाद्र २, २०८० १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?