१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१
ती दिन

आमाको ‘बाङ्गी’ सम्झना

सँग केवल आमाको ‘बाङ्गी’ स्मृति बाँकी छ । जीवनमा झरीबादल आउँदा आमा सम्झन्छु । घरको छतमा घाम लाग्दा पनि आमा सम्झन्छु ।
केशव सिलवाल

मेरी आमाको खास नाम छैन । हजुरआमा गाली गर्नुपर्दा भन्थिन्– तँलाईं ‘बाङ्गी’ । त्यसै नामले बोलाउँथिन्, कुरा काट्थिन्– यस्ती ‘बाङ्गी’, उस्ती ‘बाङ्गी’ । हाम्री हजुरआमा थिइन् साह्रै कडा मिजासकी । डल्ली डल्ली, तर जिरे खुर्सानीजस्ती । बुहारी कसरी तह लाउनुपर्छ, उनी विज्ञ थिइन् । बुहारी भनेपछि फुटेको आँखाले देख्न नसक्ने । घर नजिकको ढिस्कोबाट उभिएर बारीमा काम गरिरहेकी बुहारीलाई बेस्मारी हपार्थिन्– काम नगरेर के गफ गरिरहन्छन् बाइफालेहरू । बुहारीहरू हजुरआमाको छाया देखेर पनि तर्सिन्थे ।

आमाको ‘बाङ्गी’ सम्झना

हामी हजुरआमा र आमालाई तपाईं भन्ने थिएनौं, तिमी भन्थ्यौँ । यहाँ मैले तिमी नै लेखेको छु । पाठकवृन्द, अप्ठ्यारो नमान्नुहोला । मसँग आमाको ‘बाङ्गी’ सम्झना मात्रै बाँकी छ , धमिलो सम्झना । आमा छैनन् । आमा हुनु भनेको के हो ? म अनुमान मात्र गर्न सक्छु । बस्, अनुभूतिले कोतर्छ कहिलेकाहीं मुटुको कुनामा । आँखा रसिलो बन्छ ।

मेरो बा कान्छा भएपछि स्वाभाविकै आमा कान्छी हुने भइन् । सबैकी कान्छी । छिमेकीले कान्छी आमा भन्थे । नाम अझसम्म मलाई थाहा छैन । सायद, आमालाई पनि थाहा थिएन । एक पटक बालाई मैले आमाको नाम सोधेको थिएँ, उनले बताउन सकेनन् । कान्छी कुनै नाम थिएन । झन्, ‘बाङ्गी’ त नाम हुन सक्ने कुरै भएन । तर, मेरी आमा कान्छी पनि थिइन् र ‘बाङ्गी’ पनि ।

आमाको नाम कसरी ‘बाङ्गी’ रहन गयो ? सोधौँ, आमा छैनन् । हजुरआमा र बा पनि बिलाइसके अब त । अरू आफन्तलाई सोधिएको छैन, आमा नभएपछि के सोध्नु अब, अर्थ पनि छैन । एउटा अनुमान, आमाको दाहिने हातको चोर औँला बाङ्गो थियो । सायद ढिकीले किचेको हुन सक्छ । मलाई आमाभन्दा पनि त्यो औँला अधिक याद आउँछ । म त्यसलाई पटक पटक देख्थेँ । त्यो औँला आमाको दुःखको निसानी थियो । दुःखिया थिइन् मेरो आमा । तर, मनको एकदम सफा । छिमेकी भन्थे– सोझालाई नै टिपेर लाने रहेछ कालले ।

आमाको हिँडाइ अलि बाङ्गो खालको थियो । अग्ली थिइन् र खुट्टा अलि मिलेका थिएनन् । त्यसैले पनि आमालाई ‘बाङ्गी’ भनिएको हुनुपर्छ । हे आमा, मसँग तिम्रो ‘बाङ्गी’ सम्झना मात्र बाँकी छ । आमा हामी नहुर्कंदै बितिन् । म केवल सात कक्षामा पढ्थें, बाह्र वर्षको थिएँ । एउटी बहिनी त दूध खाँदै थिई, हजुरआमाले नै हुर्काइन् । आमा कसरी बितिन् हामीलाई धेरै पछि थाहा भयो ।

आमाको हत्या ?

खासमा म यो कष्टप्रद सम्झनाको शीर्षक राख्न चाहन्थे– ‘मेरो आमाको हत्या’ । तर, यो अलि भयानक शीर्षक हुन्थ्यो, हिरोसिमा र नागासाकीमा खसेको एटम बमजत्तिकै भयानक । कर्णालीको भीरबाट खसेजत्तिकै भयानक । ‘मेरो आमाको आत्महत्या’ भन्दा पनि भयानक । मेरो आमाले कायर भएर कवि ईश्वर वल्लभको आमाझैँ आत्महत्या गरेकी थिइनन् । उनको हत्या भयो, एक अनौठो हत्या । स्मृतिको यो अंश लेख्न सुरु गर्दा मेरो औँला ज्वरो आएझैँ कापिरहेछन् । म हुरीले हल्लिएको रूखझैँ हल्लिरहेछु । कसरी लेख्न सकुँला यस विषयमा ? मेरो हृदयमा आवेगका ज्वारभाटा उर्लिरहेछन्, आँखामा कर्णालीका मुहान रसाउँदै छन् ।

यो विषय जति भयानक हो, मैले भोगेको यथार्थ त्यतिकै भयानक छ, सायद अझ दोब्बर बढी । सोच्छु, कसरी बिताएँ होला आमाबिनाका पैंतीस वर्ष । यसबीच मसँग आमाबिना रसाएका अनेकौँ रात छन् । भव्य समारोह, सम्मेलनमा आमा सम्झेर भित्रभित्रै सुकसुकाएका अनेकौँ पल छन् ।

आमाको हत्या भएको सन्तानको आँसु रुँदारुँदा रित्तिइसकेको हुन्छ वा आमाको लाडप्यारमा रुन नपाएको सन्तानले रुने तरलता गुमाइसकेको हुन्छ । आमाको हत्या बराबर अरू कुनै अपराध हुन सक्दैन । म्याक्सिम गोर्कीको ‘आमा’ पढ्दा मलाई आफ्नै आमाको सम्झनाले सतायो । सोच्छु, सायद मेरी आमा पावेलको आमा हुन् । सन्तानका लागि लड्न सक्ने आमा । खूब लडिन् मेरो आमा सन्तानको लागि । तर, सन्तान नहुर्किंदै उनको हत्या भयो ।

म सम्झिरहेछु, आमा नभएका ती निरीह बालबालिकाहरू ! कति टीठलाग्दा हुन्छन् ! कति मायालाग्दा हुन्छन् !

तपाईं पत्याउनुहोस्– मेरो आमाको हत्या भएको हो ।

तपाईंको आमाको हत्या भएको भए तपाईं के गर्नुहुन्छ ? तपाईं के ठान्नुहुन्छ ? सायद तपाइँ तपाईं रहनुहुन्न ।

आमा ! मैले यो शब्द प्रयोग नगरेको दशकौँ भयो । भनेँ हुँला कसैलाई, तर आफ्नै आमालाई यसरी पुकार्न पाएको छैन । मैले आमालाई देख्न मात्र पाएँ र मसँग आमाका केही ‘बाङ्गी’ सम्झना मात्र बाँकी छन्, धमिलो धमिलो । तर, मेरा बहिनीसँग त्यही सम्झना पनि छैन । आमाको सम्झनै नहुनु अभावको सबैभन्दा गहिरो खाडल हुनु हो, जुन जीवनभर पुरिँदैन ।

आमाको स्नेह कहिले चाहिन्छ मानिसलाई ? बच्चामा ? गलत । बच्चामा त आमा आवश्यकता हो । आमाको स्नेह मानिसलाई आफू केही गर्न सक्षम भएपछि चाहिन्छ । मैले आमासँग न आफ्नो दुःख बाँड्न पाएको छु न त खुसी । दुःख त मैले झेलेँ, तर कैयौँ दुःखपछि बल्लतल्ल कमाएको एक टुक्रा खुसी आमालाई सुनाउन नपाउँदा भित्रभित्रै कुँडिन्छु । खुसी पनि बादलझैँ डाँडापारि उडेर बिलाउँछ । कारण, मेरो आमा छैनन् । यो सामान्य अवस्था होइन । आमा नहुँदा एउटा सन्तानलाई के पर्छ ? के ऊ जीवनको त्यस अधुरोपनलाई अन्य कुराले पूर्ति गर्न सक्छ ? अहँ, सक्दैन । सक्ने कुरै हुँदैन ।

मानिस मरेपछि सकिन्छ, उडेर जान्छ धूवाँ । सबैको आआफ्नो संस्कार हुन्छ । मेरो आमालाई मैले सानैमा आगो लगाएको हुँ । मेरो आमालाई पोलेन होला, तर मैले जीवनमा कहिल्यै नफर्किने स्नेह पोलिरहेको रहेछु ।

लुकाइएको यथार्थ

धेरै वर्षसम्म पनि हामीलाई आमाको निधनबारे यथार्थ भनिएन । बा भन्थे– तिमीहरूकी आमा जन्डिस लागेर बितेकी हो । बाले भनेपछि हामीले पत्याइरह्यौँ, पत्याउनुको विकल्प थिएन । हाम्रो भन्नु बा मात्रै त थिए । हजुरआमा, माइलाबा, मामा र अरू आफन्त कसैले हामीलाई के भएको हो, यथार्थ खोलेनन् । खोल्ने हिम्मत गरेनन् ।

त्यतिबेला गाउँ छोडेर सहरको एउटा सरकारी स्कुलमा पढ्थ्यौँ । त्रिपुरेश्वरको विश्व निकेतन स्कूल । डेरा थियो कुपण्डोलमा । हामी हिँडेर स्कुल जान्थ्यौँ । हिउँदमा बागमती नदी तरेर स्कुल पुग्थ्यौँ र बर्खामा अलि घुमाउरो बाटो हुँदै थापाथलीको फलामे रातो पुल तरेर जान्थ्यौँ । भीमसेन थापाले बनाएको त्यो पुल अहिले भत्काएर मोटर गुड्ने पक्की पुल बनाइएको छ । त्यतिखेर हामी माउसँग बिछोडिएका बचेरा थियौँ । कहिलेकाहीं एकदुई वर्षमा एकपल्ट आमा हाम्रो डेरामा आउँथिन् । आमाको काख र स्याहारसुसार पाएर मख्ख पर्थ्यौं । तर, उनलाई खेतीपातीको चाप हुन्थ्यो र हाम्रो डेरा शून्य बनाएर एक दुई हप्तामै फर्किन्थिन् ।

एक दिन आमा बिरामी भइन् भन्दै बाले गाउँको विष्णे दाइलाई बोकाएर ल्याएछन् । कुपण्डोलको हनुमानथानमा आमालाई बसालेर हामीलाई बोलाइयो । हामी हतारहतार पुग्यौँ । पहेँलो भइसकेको थियो उनको शरीर, शुष्क भइसकेका थिए उनका आँखा । आमाले बन्द हुँदै गरेको आँखाबाट हामी दाजुभाइलाई मायालु नजर घुमाइन् । सायद, भनिन्– म जान लागेँ, राम्रोसँग बसेस् ।

अस्पताल पुर्‍याइहाल्ने कुरा भयो । उठ्न लाग्दा मैले आमालाई भनेँ– आऊ । मेरो यो अन्तिम शब्द थियो आमाका लागि । उनी आराम गरेर बसिरहेझैँ लाग्यो मलाई । तर, उनी त हल न चल भइसकेकी रहिछन् । विष्णे दाइले फेरि बोके र हामीसहित गाउँबाट आएको हाम्रो टोली अस्पतालतिर लाग्यो ।

बुबा आर्मीमा भएकाले सैनिक अस्पताल लैजाने कुरा भयो । तर, आमाको अवस्था खराब भइसकेको थियो, त्यसले भर्ना लिन मानेन र टेकु अस्पताल पठायो । टेकु अस्पतालमै मेरी आमाले अन्तिम सास फेरिन्, उनी बितिन् । आमा बितेपछि बा खूब रोए, केही पछुताउ लागेझैँ सुँकसुँक गर्दै रोएँ । आमासँगै रगतको एउटा डल्लो पनि खस्यो । अर्को एउटा भ्रूण रहेछ ।

बा रोएपछि मलाई सम्झाउन आएछ– नरुनोस्, हामी छँदै छौँ नि । तर, आफूले गुमाएको कुरामा मेरो होस नै पुगेनछ, अल्लारे जो थिएँ ।

आमालाई टेकुको घाटमै सेलाइयो । अनि ट्याक्सी लिएर हामी चापागाउँसम्म आयौँ । चापागाउँबाट एक घण्टा हिँडेर राति अँध्यारोमा एघार बजे लेले गाउँ पुग्यौँ । त्यतिबेला बस चल्दैनथ्यो, भाडामा गाडी पनि नपाइने बेला थियो । चापागाउँसम्म जङ्गलको बाटो हिँडेरै आवतजावत हुने गर्थ्यो ।

हजुरआमा, माइलाबा, बहिनीहरू सबै पर्खिरहेका रहेछन् । रुवाबासी चल्यो निकैबेर । अरू बेला क्रूर देखिने हजुरआमा पनि रोइरहेकी थिइन् । अब हामी टुहुराको स्नेहको जिम्मा बूढी हजुरआमाले लिने भइन् ।

म बाह्र वर्षको अल्लारे थिएँ । समाल्ने हात र साथ चाहिने बेला । अभिभावकत्वको छाया चाहिने बखत । केही बुझ्न नसक्ने । अबुझ । आमालाई के भएको हो– होसै भएन । जन्डिस भनियो । बस्, हामीले पत्यायौँ, पत्याइरह्यौँ ।

हामीलाई आमाको स्वाभाविक मृत्यु लागिरहेको थियो । तर, बालाई सबै कुरा ज्ञात थियो । उनी हामीसँग हाँस्न छोडिसकेका थिए, उदास थिए, चुरोट उडाइरहन्थे । कुनै प्रकारको दोषानुभूति भइरहेको हुन सक्थ्यो ।

खासमा आमालाई भएको के हो ? कम्तीमा मलाई कुनै सुइँको थिएन । कसैले भनेनन्, सुनाएनन् । हजुरआमा हुनुहुन्थ्यो, मुख खोलिनन् । ठूलो बा, माइला बा, साइँला बा, ठूली आमा, माइली आमा, साइँली आमा कसैले सुनाएनन् । मामा माइजूलाई थाहा थियो, भनेनन् । मलाई पनि खोजी गर्ने सुद्धी आएन । सम्झिरहेँ कि आमा जन्डिसले मरेकी हुन् ।

एकदिन मामाले दसैँमा टीका लगाइदिँदा आफ्नो उकुसमुकुस पोख्नुभो– मलाई सबै थाहा छ, मैले चाहेको भए जेल जान्थे, आफ्नै मान्छे, गर्न सकिएन, मलाई रोके । यति ठूलो उकुसमुकुस रहेछ मामासँग । उहाँलाई लाग्दो रहेछ– हामीलाई सबै थाहा छ । कस्तो हुस्सु रहेछु, दाइ र बहिनीहरू सबैलाई थाहा भइसकेको रहेछ । म मात्र अञ्जान रहेछु, आफैं मग्न, कुनै वास्ता नभएको ।

मामाका कुरा चासो दिएर सुनेँ र झसङ्ग भएँ । मैले जे ठान्थें, त्यो होइन रहेछ । मेरो आमा त अपराधको सिकार भएकी रहेछिन्, एक प्रकारको हत्या भएको रहेछ ।

हामी दाजुभाइ र बहिनी गरेर पाँच जना थियौँ । आमा थप सन्तान नचाहने, बा कुनै उपाय नगर्ने । गाउँमा अलिअलि शिक्षित र सेनाको जागिर खाएपछि बालाई अरूभन्दा जान्ने–सुन्ने मै हुँ भन्ने घमन्डले गाँजेको थियो । छैटौँ सन्तान बसेपछि आमालाई मन रहेन । उनी कुनै उपाय लगाएर त्यसलाई फाल्न सकिन्छ कि भन्ने मूर्खतापूर्ण तरिकामा लागिन् । त्यतिबेला गर्भपतनको सहज व्यवस्था थिएन ।

गाउँमा एकसेएक जान्ने झाँक्री थिए । झाँक्रीकै भर थियो त्यतिबेला । गाउँमा आफन्त नै हुन्छन् वरिपरि । ती सबै आफन्त नै थिए । उनीहरूले अनेक उपाय सुझाए । एक जनाले निकै घातक जुक्ति फुरायो । बहुत उल्लु, अजासु (अति जान्ने सुन्ने) । उफ्, मन्त्र पढ्दै उसले सिसाको धूलो खुवायो आमालाई, ज्यानै धरापमा पार्‍यो ।

आमाको पेटमा सिसाले आफ्नो प्रतिक्रिया देखाउन थाल्यो । आमाशय, आन्द्रा छियाछिया पार्‍यो, रगत बग्न छोडेन । आमा पहेँलो हुँदै गइन् । आमा अशक्त भएपछि बाले सहर ल्याएका रहेछन् । आमा बाँचिनन् । बाले आफूलाई दोषी ठानेर रोएको अझै सम्झन्छु । हो, मेरी आमा त्यतिकै मर्ने रहिनछिन् । एक प्रकारको हत्या नै रहेछ । असमयमै आमाले हामीलाई छोडिन् । टुहुरा बनाइन् ।

के त्यही झाँक्री मात्र दोषी हो ? उसलाई उक्साउने कोको हुन् ? कि त्यो कुप्रथा हो हत्यारा ? त्यो भन्न सक्ने मामा छैनन् अब । झाँक्री र वरिपरिका आफन्त पनि एकएक गरी बितिसके । अब कसैलाई केही भन्नु छैन । न त दोषी करार गर्नु नै यस लेखनको अभीष्ट हो । बस्, आमालाई सम्झने एउटा तरिका । अब त बा पनि छैनन् र यति लेखेर दुःख बाँड्ने हिम्मत बटुलेको हुँ ।

हत्या सामान्य कृत्य होइन । त्यसका लागि निकै ठूलो आपराधिक तानाबाना चाहिन्छ । कहिले हत्यारा व्यक्ति हुन्छ, कहिले व्यवस्था आफैँ । कुरीतिको हत्या पनि निकै विडम्बनापूर्ण हुन्छ । मेरी आमा बाको बेहोसी, केही अन्धविश्वासी मान्छे र कुरीतिको विडम्बनापूर्ण सिकार भइन् । उफ् ।

कतै गएर जब घर फर्किन्छु, आमा नभएको अभावले निचोरिन्छु । मैले देखेको छु– आमा त झरीबादलको ओत हुन् । बस्, महसुस हुन पाइएन, भोग्न पाइएन । जीवनमा झरीबादल आउँदा आमालाई सम्झन्छु । घरको छतमा घाम लाग्दा पनि आमालाई सम्झन्छु ।

यो संसार पठित, पदासीन, रोजगार नारीले मात्र होइन, मेरी अपठित आमाले पनि धानेकी हुन् ।

आमाको काटिएको फोटो

आमा घर सम्हाल्ने गृहिणी थिइन्, बा सेनाको जागिरे । आमा घाँस–दाउरा गर्थिन्, खेती सम्हाल्थिन्, एकछिन फुर्सद थिएन । छोराछोरी हुर्काउन उनलाई हम्मे थियो, तर त्यसलाई कुशलतापूर्वक निर्वाह गरेकी थिइन् । अहिले सम्झिएर उनलाई मृत्युपर्यन्त यो छोरा ‘ह्याटस् अफ’ भन्छ । दिन त म स्नेहको सक्कली अँगालो दिन चाहन्थे, तर आमा छैनन् । यो संसार पठित, पदासीन, रोजगार नारीले मात्र होइन, मेरी आमाजस्ताले पनि धानेका छन् । ती आमाहरूको नर्कसमान घरमा अझै समानताको घाम लाग्न बाँकी नै छ, न्यायको सुवास फैलिन बाँकी छ ।

बा एकपल्ट शान्ति सेना गए, लेबनान । हामी सानै थियौँ, गाउँकै सरस्वती स्कुलमा कक्षा एक, दुईमा पढ्थ्यौँ । रमरम सम्झना छ । छ महिनापछि लाहुरेझैँ बा घर फर्किए । ठूलाठूला सुटकेस खाङ्ग्रे डोकोमा बोकाएर बा

फर्के । आमालाई जापानिज साडी, हामीलाई निलो जिन्सको जाकेट र पाइन्ट, बहिनीलाई रेडिमेड घाँघर ल्याइदिए । अनि ल्याए एउटा ठूलो डेकजस्तो क्यासेट प्लेएर, अर्को क्यासेट बज्ने मध्यम रेडियो र अहिलेको डीएसएलआर क्यामाराजस्तो रिल राखेर चल्ने ठूलो क्यामेरा ।

शान्ति सेनाबाट फर्किएपछि हाम्रो परिवार दक्षिणकाली दर्शन गर्न जाने भयो । दुई बहिनी त जन्मिएका थिएनन्, ठूली बहिनी काखमै थिई । हामी दुई दाजुभाइ डाँडापाखा, ओरालोउकालो डुल्ने भइसकेका थियौँ । टीकाभैरव, डुकुछाप हुँदै बागमती नदी तरेर हामी दक्षिणकाली हिँडेरै गयौँ । सखारै हिँडेका हामी एघार/बाह्र बजेतिर पुग्यौँ । हाम्रो साथमा बाले ल्याएको ढड्डु क्यामरा थियो । खुकुरी जुधाएर, उभिएर, हाँसेर, दाजुभाइको मात्रै र समूहमा थरीथरीका फोटो खिच्यौँ । बा भरखर घर फर्किएको, रमाइलै भइरहेको थियो ।

फोटो धुलाउने बेला अनर्थ भएछ । रिलमा प्रकाश छिरेर फोटो सबै बिग्रिएछ । झन् थरीथरीका फोटा आउलान् भनेको, हामी त हिस्स पर्‍यौँ । बा पनि जिल्लिए । तर, एउटा मात्र फोटो बचेछ, सामूहिक । हाम्री ठूली बहिनी बोकेकी साँहिला बाकी जेठी छोरी, हजुरआमा र हामी दाजुभाइ अनि टाउको काटिएकी हाम्री आमा । कस्तो विस्मात । हाम्री आमाको कुनै राम्रो फोटो रहेनछ । छन त म नजन्मिँदै बा, हजुरआमा, काखे दाइ र आमाको श्यामश्वेत फोटो थियो । तर, त्यो त्यति सम्झनलायक थिएन, अनुहार नै एकदम युवा, कलिलो । आमाजस्तो नभइसकेको, अनि श्यामश्वेत । धेरै खिचेर पनि बचेको त्यो एउटा फोटो रङ्गीन थियो, विशेष थियो । आमाको पछिल्लो फोटो पनि त्यही थियो, तर काटिएको ।

युवावयको श्यामश्वेत फोटोलाई बाले रङ्गीन बनाएका छन् रङ भेरेर । तर, बालाई त्यही आमाको टाउको काटिएको फोटोले धेरै कुत्कुतायो, छटपटायो । आफ्नो जीवनसङ्गिनीको त्यति राम्रो फोटो, तर टाउको काटिएको । त्यसपछि बाले त्यसलाई पहिलो फोटाको फेसकट मिलाएर चित्र भरेर फेरि बनाए । अनि, चर्चित कलाकार कृष्ण मानन्धरलाई एउटा आमाको पोट्रेट चित्र बनाउन लगाए । मैले कोठामा राखेको छु, आमाले हेरिरहेझैँ लाग्छ । बाले आमाको टाउको काटिएको सामूहिक फोटोलाई पूर्ण बनाएर हामी सन्तानलाई एउटा–एउटा दिएका छन् । हामीलाई त्यही फोटो आमा भएको छ ।

प्रकाशित : श्रावण २०, २०८० १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?