कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

महाकविज्यू, पैसा हातको मैला होइन रहेछ !

विश्वव्यापी आर्थिक मन्दी छलफलको विषय त बनेको छ, तर यसले दैनिकी र मानसिकतामा ल्याएको परिवर्तनमाथि बहस भएको छैन । मान्छे चिडचिडे, निराश र रिसाहा भएको छ ।
शिक्षा रिसाल

हुन त महाकवि लक्ष्मीप्रसाद देवकोटाले उहिल्यै पैसाको अस्तित्वलाई ठाडै अस्विकार गर्दै ‘हातको मैला’ सँग तुलना गरेका हुन् । तर, देवकोटालाई के थाहा– पुँजीवादी संसारले हातको मैलालाई यसरी पुज्नेछ भन्ने ! देवकोटाले ‘के नेपाल सानो छ ?’ भनि सोध्दा ‘पक्कै छैन’ भनेर दंग परियो, तर यो पैसाको विषयमा खासै सहमत हुन सकिएन । प्रिय देवकोटा, मलाई माफ गर्नुस् !

महाकविज्यू, पैसा हातको मैला होइन रहेछ !

मान्छु– पैसा अमर होइन । जन्मँदा कोही पैसा बोकेर आउँदैन । मर्दा पैसा बोकेर कोही जाँदैन । न त जन्मिन पैसा लाग्छ, न मर्नै पैसा तिर्नुपर्छ । कात्रोमा गोजी हुँदैन । तर, बच्चाले लगाउने भोटोमा हुन्छ– गोजी । बच्चाले सबैभन्दा पहिले सिक्ने मातृभाषापछि पैसाको भाषा हो ।

एउटा बालकको हातमा पैसा राखिदिनुभएको छ ? सम्झनुस् त, उसले कसरी टपक्क समात्छ ? अनि ८४ कटिसकेका बा–आमाले पैसा लुकाएको देख्नुभएको छ ? कति मायालु हुन्छ त्यो भावभंगिमा ! देवकोटाले भनेजस्तै ‘हातको मैला’ हुन्थ्यो त मान्छे कति फोहोरी हुन्थ्यो ! यो युगमा कोही मान्छे सफा हुन चाहँदैन । अनि सुनका थैला ? साथीभाइ भन्छन्–

‘ओइ सुनमा लगानी गर् है ।’

‘पैसा भएको बेला सुन किनेर राखिहाल्नुपर्छ ।’

‘बिहेमा पाँच तोला सुन चाहिन्छ ।’

‘घाँटी कस्तो बुच्चै देखिएको ! एउटा लकेट बना न ।’

अहिले विश्व आर्थिक मन्दीको चपेटामा छ रे ! चियागफमा टाइम पास गर्न अहिले प्रशस्तै विषय छन् । रुस–युक्रेनको युद्ध र कोभिड महामारीले थलिएको विश्व अर्थतन्त्र अझै उठ्न सकेको छैन । महँगीले जहाँतहीँ ध्वस्तै पारेको छ । बजारमा व्यापारी ‘व्यापार ठप्पै छ’ भन्दै ढाड सेकाउने मूल्य बताउँछन् । उपभोक्ता महँगी ‘बढेको बढ्यै छ’ भन्छन् । अनि तथ्यांकले पनि त्यही देखाउँछ । बिचौलियाहरू दुवैतिरबाट अलि–अलि नाफा लुट्ने बहानामा ‘ठीकै छ, म मिलाइदिन्छु’ भन्दै बिहान सबेरै टोलका चियापसलमा पञ्चायत बसाउँछन् । सत्तामा भएकाहरू ‘आर्थिक मन्दीबाट छिट्टै मुक्त हुनेछौँ’ भन्दै खोक्रा आश्वासन बाँडिरहन्छन् ।

काश, देवकोटा जीवितै हुन्थे ! हुन्थे त पक्कै भन्थे– ‘हातका मैला सुनका थैला सबथोक गर्नु धनले । साग र सिस्नु खाएको बेस छटपटी मनले ।’

पहिले लाग्थ्यो– पृथ्वी सूर्यवरपर घुमिरहेको छ । तर, पृथ्वी पैसाको वरिपरि घुमिरहेको छ । त्यो कागजको खसर खसरमै छ निर्वाण । त्यही नै हो मोक्ष ।

...

वसन्तपुरमा एक साँझ चियाको सुर्की लगाउँदै एक बुद्धिजीवीले भने, ‘अरे यार, यो पैसा भन्ने के चीज रहेछ ? हिजोसम्म केही महिना सुक्को नहुँदा पनि जिन्दगी चलेकै थियो । आज पैसा आयो, फेरि यता तिर्‍यो उता तिर्‍यो, अनि लास्टमा टाट पल्टियो ।’

मैले उनको कुरा सुनेर एक घुट्को चिया घुटुक्क निलेँ । घुट्कीसँगै चियाको बढ्दो मूल्यको चिन्ता पनि घुटुक्क निलें । उनको पनि सायद त्यही दिन तलब आएर सकिएको थियो । मेरो र उनको हाल उस्तै–उस्तै थियो ।

बेलाबेला यसो सोच्छु । पैसाबिना गर्न सकिने चीजहरू के–के छन् संसारमा ? मन्दिर जाउँ– पैसा चढाउनुपर्छ । ल ठीकै छ– पूजा नगरेरै, बाहिर बस्दै यसो जिन्दगीका आयामबारे टोलाऊँ भन्यो, ‘बहिनी चिया पिउने ? पानी पिउने ?’ भन्दै आउँछन् । ल न त त्यो पनि केही गरिएन । एकछिनपछि आँखाभरि आँसु बोकेर माग्नेहरू आउँछन् । कोमल मन छ । बेवास्ता गर्न मन लाग्दैन । जसो गरे पनि पैसा त गयो गयो ।

कतै पार्कमा गएर दुःख–सुखबारे घोत्लिऊँ भन्यो, पार्क छिर्नै शुल्क लाग्छ । सार्वजनिक शौचालय जाऊँ भन्यो– पैसा लाग्छ । पिसाबको ५, दिसाको १० । यसो सहरतिर बरालिन जाऊँ, गाडीको भाडा तिर्नैपर्छ । जन्मेदेखि मृत्युसम्म हामी पैसैपैसाले घेरिएका छौँ । पैसा मान्छेको छैटौं अंग भइसकेको छ । यो अंग छैन त शरीर छैन । जीवन छैन ।

विश्वव्यापी आर्थिक मन्दी सबैको छलफलको विषय बनेको छ, तर यसले मानिसको दैनिकी र मानसिकतामा ल्याएको परिवर्तनबारे खासै कुराकानी भएको छैन । अहिले हरेक मान्छे चिडचिडे भएको छ, निराश भएको छ, रिसाहा भएको छ । कारण सोध्दा भन्छ, ‘पैसा छैन, ऋण छ, छोराछोरीको भविष्यको चिन्ता छ । आफ्नै भविष्यको चिन्ता छ ।’

बेला–बेला ‘तनाव लिनु हुन्न के’ भनेर सम्झाउन आउने मान्छेसँग झनक्क हुन्छु । पैसाको अभाव र आर्थिक मन्दीको चपेटामा यहाँ हरेक वर्ग परेका छन् । समाजमा उनीहरूको सोच्ने शक्ति र जिउने तरिका समेत बदलिएको छ । चीनका प्राध्यापकहरूले २०२० मा गरेको एक अध्ययनअनुसार, दक्षिण एसियाका मानिसहरूमा सन् २००८ देखि विभिन्न मनोवैज्ञानिक समस्याहरू देखा पर्न थालेका थिए । बढ्दै गएका ती समस्याहरू कोभिड– १९ महामारीपछि झनै बढी देखियो । विश्वभर गरिएका अधिकांश अध्ययनले सामाजिक–आर्थिक स्थितिलाई मानसिक स्वास्थ्यसँग सम्बन्धित भएको पाएका छन् । अमेरिकामा भएको एक अध्ययनले मानिसमा चिन्ता, तनाव र व्यवहारमा नकारात्मक परिवर्तन आउने विभिन्न कारणमध्ये खस्किँदो आर्थिक अवस्था प्रमुख रहेको निष्कर्ष निकालेको छ । न्युजिल्यान्डको एक अध्ययनले पनि सम्पत्ति, पैसा र रोजगारमा हुने असमानताले मनोवैज्ञानिक संकट उत्पन्न गराउँछ भन्ने रिपोर्ट सार्वजनिक गरेको छ । त्यसैले पनि विकासशील मुलुकको तुलनामा गरिब र विकासोन्मुख देशमा मानसिक स्वास्थ्य अवस्था बिग्रिँदै गएका लेख र समाचार आइरहन्छन् । दक्षिण एसियाली र गरिब अफ्रिकी देशका नागरिकलाई आफ्नो बिग्रँदो आर्थिक अवस्थाबारे त थाहा छ, तर त्यसको प्रभावले तिनीहरू थाहै नपाई गहिरो अवसाद र चिन्तामा बाँचिरहेका छन् ।

अध्ययनहरूका अनुसार, ऋणको बोझमा गँजिएका मानिसहरूमा डिप्रेसनको उच्च जोखिम हुन्छ । उनीहरूले पटक–पटक आत्महत्याबारे सोच्ने सम्भावना दोब्बर हुन्छ । साहुसँग लिएको ऋण तिर्नै नसकेर, बैंकको ऋण तिर्न नसकेर लामो समय अवशादबाट गुज्रिएकाहरूले आत्महत्याको बाटो रोजेको पनि हामीसामु प्रशस्त उदाहरण छन् ।

आर्थिक मन्दीले बालबालिका र युवाहरूमा मानसिक स्वास्थ्यमा गम्भीर र दीर्घकालीन प्रभाव पार्न सक्छ । विशेषगरी यदि उनीहरू आर्थिक कठिनाइ वा आमाबाबुको बेरोजगारीको परिणामस्वरूप परिवारभित्र तनावको सामना गरिरहेका छन् भने उनीहरूमा यो समस्या झन् बढ्दै जान्छ ।

बालबालिकाले सबैभन्दा धेरै समय बिताउने विद्यालयमा समेत पैसाकै कारण विद्यार्थीमाथि भेदभाव हुने गर्छ । पैसा तिर्‍यो त पिकनिक जान पायो, फिल्ड भिजिट जान पायो, परीक्षा दिन पायो, एडमिट कार्ड पायो । पैसा तिरिएको छैन भने परीक्षाको समयमा ती बालबालिकालाई यसरी पर उभ्याइन्छ कि मानौं ती बालबालिका अपराधी हुन् । विद्यालयमा बारम्बार बच्चाको आत्मविश्वासको धज्जिया उडाइन्छ ।

...

यो वैश्ययुगमा पैसा नै परम शक्ति हो । पैसा नै मनोबल हो । पैसामा के बिक्दैन ? मान्छे बिक्छ, मान्छेको नैतिकता बिक्छ, चरित्र बिक्छ, बोली बिक्छ, कथा बिक्छ, समाचार बिक्छ । मानवता मानौं संसारबाट रित्तिँदै गएको छ । पलपल बिकिरहेको छ । पैसाले हामीलाई यसरी किन नियन्त्रण गरिरहेको छ ?

केही साथीहरूलाई सोधेको थिएँ, ‘तपाईंका लागि पैसा के हो ?’

एक जनाले आफूलाइ महाकवि देवकोटाझैं ठानेर भने, ‘हातका मैला ।’

अर्काले भने, ‘जीवन सहजसँग ज्युने आधार ।’

तेस्रो जवाफ आयो, ‘पैसाले आत्मविश्वास बढाउँछ ।’

अनि एउटा अर्को जवाफ आयो, ‘पैसा नभए बाँच्नै गाह्रो छ ।’

४ वर्षअघि बनारसको हरीशचन्द्र घाट पुगेकी थिएँ । बिहान साढे ९ बजेको थियो । घाटका एक कर्मचारीले चिच्याउँदै भने, ‘अरे ! अभी इस का पेमेन्ट नही हुवा है । पहेले ४ नम्बरवाला लाइन पे लगाओ ।’

एउटा मृतक शरीर भुइँमा लडिरहेको थियो ।

मान्छेहरू भन्छन्, ‘मरेपछि पैसा के काम ?’ काम हुन्छ डियर । गोजीमा पैसै नभई मरियो भने त बेवारिसे भइन्छ । घाटमा जल्न पनि पैसा चाहिन्छ । नपत्याए पशुपति गएर हेर्नू ! कहिलेकाहीं यसो सोची बस्छु, स्वर्गमा बास पाउन पर्चा काट्नुपर्छ होला कि नाइँ ? नर्कमा जानेहरूले जरिवाना तिर्नुपर्छ होला कि नाइँ ? कात्रोमा गोजी सिलाउनुपर्छ होला कि नाइँ ?

पुँजीवादले निम्त्याएको उपभोग संस्कारले संसारलाई यसरी आफ्नो अधीनमा जकडेको छ कि त्यसको बखान गरीसाध्य छैन । मानिसको स्तर उसले किन्ने सामान, जोडेको सम्पत्ति र भौतिक वस्तुले निर्क्योर्ल हुन्छ । यो आसक्तिको कुनै अन्त्य छैन । जति किने पनि पुग्दैन । जति जोडे पनि पुग्दैन ।

र, हामी थाहा पाएरै पनि यसको जालोमा फसिसकेका छौँ । हुन पनि हो । रत्नपार्कमा बदाम खाँदै रुनुभन्दा हिमालयन जाभामा म्याकबुक चलाउँदै रुनु जाती । कोचाकोच गाडीमा भेडाबाख्राझैं कोच्चिएर जीवनबारे सोच्नुभन्दा आफ्नै कारभित्र जीवनका असफलतामाथि घोत्लिनु जाती । न्युरोडमा पाइने डुप्लिकेट डेल र एचपीका ल्यापटपमा पैसाबारे आर्टिकल लेख्नुभन्दा म्याकबुकमै लेख्नु जाती ।

एक्लै फेवातालमा सेल्फी खिचेर इन्स्टामा राख्नुभन्दा ब्यांककका समुद्री तटमा एक्लै बस्नुपरोस् ।

...

मानिसलाई पैसाले धेरै कुरा दिन्छ, तर सँगसँगै धेरै कुरा खोस्छ पनि । मान्छेलाई भावनात्मक रूपमा नै टाढा बनाउँदो रहेछ । पैसाको अभावमा हाँसो पनि नउठ्ने रहेछ, चिडचिडे हुने रहेछ । पैसाकै कारण हामीले दाजुभाइको सम्बन्धमा दरार आएको देखेकै छौं, साथीभाइ बिच्किएकै छन्, प्रेमी–प्रेमिका बिछोडिइरहेका छन् । थोरैतिनो पैसा कमाउने आसमा परिवारबाट टाढा गएर अञ्जान देशमा पसिना बगाउने लाखौं छन् ।

समय निकै बलवान् छ । समयले सबै कुरा सिकाउँछ । मान्छे समयको दास हो । समयअनुसार मान्छे चल्नुपर्छ ।

होइन । गलत ।

समयभन्दा बलवान पैसा हो । पैसाले सबै कुरा सिकाउँछ । मान्छे पैसाको दास हो । पैसाले यो बह्माण्डमा राज गरेको छ ।

पैसा कसैका लागि शक्ति हो, सत्ता हो, मनोबल, आत्मबल, आत्मरति वा खुसी हो । कसैका लागि यसको अभाव अपराध, तनाव, अवशाद हो । समयको सुरुवातदेखि नै पैसा हाम्रो सामूहिक विवेकसँग जोडिएको छ । लाग्छ– पैसा नै द्वन्द्व र युद्धको प्रमुख स्रोत हो, कारण पनि हो ।

कतै पैसा नै ईश्वर त होइन ? नत्र कागजको त्यो टुक्राले कसरी यो संसार चलाइरहेको छ ?

प्रकाशित : श्रावण ६, २०८० ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x