कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९
किताब

एउटा बिरालोको आत्मालाप

‘म किट्टी बिरालोले’ किट्टीको व्यक्तिगत जीवन, उसको आश्रय–घर, समाज र देशकै कथा सुनाएको छ
कुमारी लामा

मानिस–जनावर सम्बन्धको बेगिन्ती पोया फुकाउनु जोकसैको वशको विषय होइन । त्यस्ता सम्बन्ध एकातिर संवेदनाको वकालत हुनसक्छ भने अर्कोतिर मानव दम्भको प्रकटीकरण । लैनसिंह बाङ्देलको ‘लंगडाको साथी’ ले उजागर गरेको कुकुर र एक अपाङ्ग पात्रको सम्बन्धको गहिराइ अथवा जर्ज अर्वेलको ‘सुटिङ एन एलिफेन्ट’ मा देखाइएको एक हाकिमको दम्भको पराकाष्टामाझ हजारौंको नजारा बनेको हात्तीको दर्दनाक मृत्यु–दुवै मानिस र जनावरबीचको सम्बन्धकै पाटाहरू हुन् ।

एउटा बिरालोको आत्मालाप

यस धर्तीमाथि आफ्नै मात्र दाबी गर्ने मानिस सधैं अरूलाई अधीनमै राख्ने प्रयत्न गर्छ । त्यसमा सहोदर सहयात्रीदेखि पशुजगत र प्रकृति सबै परेका छन् । यो बेमेलीय अन्तरसम्बन्धमा शक्तिको चलखेल प्रस्टै देखिन्छ । शक्ति, फगत एक शब्द या अमूर्त अभिव्यक्तिमा सीमित रहन्छ त्यतिन्जेल जुनबेलासम्म त्यो प्रयोगमा आउँदैन । त्यसैले माइकल फुको शक्तिको अस्तित्वलाई प्रयोग (एक्सन) सँग जोड्छन् । ‘प्रयोगसँग मात्र शक्तिको अस्तित्व हुन्छ’ भन्ने फुकोको भनाइ मानव समाजलाई नियाल्दा छर्लंग

हुन्छ । तथापि यसको प्रयोग र प्रभुत्व मानवेतर जीवमा पनि उत्तिकै देखिन्छ । ठूलो कुकुरको टोले दादागिरीदेखि घरको पुरा टिप्न बेगिएको कागलाई लखेट्न आतुर घरपालित साना कुकुरसम्म आ–आफ्नो रवाफ र शक्तिको प्रदर्शनी गर्छन् । ज्यादातर पशुजगत्मा भने शक्तिको प्रयोग जीवन चक्रीय नियम पालनाको खातिर भएको देखिन्छ । एकअर्कामा आश्रित जीवहरूको एक विशाल चक्र जो छ प्रकृतिमा, त्यसअलावा कमजोरलाई हेप्ने चलन पनि प्राकृतिप्रदत्त गुण हो । सडकहुँदी बरालिइहिँड्ने भुस्या कुकुरमध्ये पनि घच्चीकाले लुते च्याँसेलाई लघारेको दृश्य वालछ्याल देखिन्छ जताततै ।

मानिस र घरपालित जनावरको सम्बन्धलाई मसिनो गरी केलाउने कार्य संवेदनशील व्यक्ति या उनीहरूसँग ज्यादा घुलमिल हुनेहरूले गर्छन् । यस मामलामा लेखकहरू निकै अघि देखिन्छन् । त्यसैको परिणामस्वरूप जुगजुगान्तर मानिसको अनुस्मृतिमा रहने कृतिहरूको सृजना भएको छ । विश्व साहित्य (नेपाली साहित्यसहित) मा मानव–जनावर सम्बन्धलाई विभिन्न किसिमले प्रस्तुत गरिएको छ । जस्तो लेभ तोल्सतोयको कथा ‘यार्डस्टिक’ ले वेवास्तामा परेको टाटे घोडा यार्डस्टिकको जीवनी र दृष्टिकोण प्रस्तुत गर्छ । यस कथाले मानव–समाज, मानव–स्वभाव, सगोत्रीको खिसीट्युरीयुक्त व्यवहार, माया, अनि एक्लोपनको फेहरिस्ता अनावरण गर्छ । शक्तिशाली मानिसको असंवेदनशीलता र जनावरको संवेदना, भावनात्मकता र जीवन जगत् चिन्तनको नयाँपन अभिव्यक्त छ यस कथामा । जन्मजातै शरीरमा लिइआएको थोप्लाथोप्लीका कारण ऊ कसैको प्राथमिकतामा नपर्ने बेकाम्मे साबित हुनपुग्छ र एकदिन खसी पारिन्छ । तत्पश्चात् सगोत्रीहरूकै अवहेलना र तिरस्कारपूर्ण व्यवहारका कारण साह्रै मर्माहत र एक्लो हुन्छ । तोल्सतोयले उद्घाटन गरेको यार्डस्टिकको पीडित मनोभावले जो कसैको मन मस्तिष्क कम्पित पार्छ । केही समययता नेपाली साहित्यमा जनावरको विषयमा लेखिएका किताब छापिइरहेका छन् । सञ्जीव उप्रेतीको ‘हंस’, खगेन्द्र लामिछानेको ‘फुर्के’ यसैका उदाहरण हुन् । हालै सुकन्या वाइबाको संस्मरणात्मक कृति ‘म किट्टी बिरालो’ प्रकाशित भएको छ, जसले बिरालो–दृष्टिबाट मानिस र जनावरबीचको स्नेहिल, गाढा सम्बन्ध अनावरण गरेको छ । यस संस्मरणले किट्टीको बाल्यकालदेखि जीवनको अन्तिम अवस्थासम्मको वृत्तान्त समेट्नुका साथै उसले आश्रय पाएको घरको प्रत्येक सदस्यको जीवनको केही अंश पनि उतारेको छ ।

मानवसमाज जातीय, लैंगिक, वर्गीयजस्ता अनेकन् विभेदी जालोमा बेस्सरी जकडिएको सर्वविदितै छ । पशुजगत्मा भने यसखाले विभेद देखिन्न, तथापि पोथी बिरालो भने प्रजनन क्षमताका कारण हेलामा पर्ने गर्छन् । छाउरी भएकै कारण किट्टी जन्मेको घरबाट नवघरमा पठाइन्छे । आफू जन्मघरबाट परित्यक्त हुनुलाई उसले यसरी बुझ्छे, ‘तर छाउरी बिरालोलाई बच्चा जन्माउने भनेर कसैले मन पराउँदैनन्, कसैले लाँदैनन् । ती दिदीले कसैले पनि नलैजाने म छाउरी बिरालोलाई यस घरमा ल्याइछन्’ (पृ. ११) । त्यसपछि सुरु हुन्छ उसको त्यस परिवारसँगको गजबको सम्बन्ध । माम (बजु) देखि, पापा–आमा, उनीहरूका साना नानीहरू साथै परिवारका अन्य सदस्यसँगको उसको नाता बिस्तारै झ्याङ्गिँदै जान्छ । मामले सुनाउने अनेक कथा र त्यस परिवारकी विदुषी दिदी (पारिजात) र लामाजी (निर्मल लामा) को प्रसंग उसलाई अति रोचक लाग्छ । किट्टीले विदुषी दिदीको शारीरिक अशक्ततादेखि लामाजीको भूमिगत जीवनको विषयमा पनि मामबाटै थाहा पाउँछे । त्यस घरका सदस्यहरू जनावरप्रेमी भएकाले त्यहाँ आश्रय पाएका कुकुर, बिरालोको सूची लामै छ— किज्जी, कल्टु, मुस्या, आक्रोश, खुकुमणि, काली, ज्वाइँ कुकुर, भलाद्मी कुकुर, किस्ने आदि । कुकुरको नामकरणमा भने विदुषी दिदी सबैभन्दा अगाडि हुन्छिन् । किस्ने उनको सबैभन्दा प्यारो कुकुर । मामकी सातवर्षे नातिनी पनि बिरालोसँग खुब नजिक छिन् । उनैले किट्टीको छोरीहरूको नाम राख्छिन्— तुलसी र

सेती । यस पुस्तकले किट्टीको जन्म, त्यस घरमा प्रवेशदेखि, हुर्काइ, रजस्वला, दुई बेत नानी जन्माएको समय हुँदै जीवनको अन्तिम अवस्थासम्मको वृत्तान्त प्रस्तुत गरेको छ । यस संस्मरणले एकातिर किट्टीको जीवनी भनेको छ भने समानान्तर रूपमा त्यस परिवारको कथा, देशको सामाजिक–रजानीतिक अवस्था र मानिसको जनावरप्रतिको दृष्टिकोण पनि उजागर गरेको छ ।

मानवकेन्द्रित सामाजिक नियम, कानुनभित्र जनावरको अस्तित्वको सवाल प्रायः गौण रहन्छ । बौद्धिक र सर्वश्रेष्ठ प्राणी भएको दाबीसहित मानिसले पृथ्वीेलगायत यस ब्रह्माण्डको एकछत्र भोगचलन गर्ने मात्रै नभई प्रकृति, पर्यावरण र अन्य जीवजन्तुमाथि अधिक दोहन गरिरहेको छ । यस ब्रह्माण्डमा ‘हरेक चीज एकअर्कासँग जोडिएको छ’ भन्ने व्यारी कमनरको सरल, तर अत्यन्त गम्भीर भनाइलाई मनन गर्नुको साटो मानिस दिनानुदिन प्रकृति र अन्य जीवप्रति असंवेदनशील बनिरहेको छ । परिणामस्वरूप मानवअस्तित्वलाई नै सङ्कटमा पार्न सक्ने कोरोनाजस्तो भाइरसको उत्पत्ति र नवस्वरूपहरू फैलिने क्रम जारी छ । मानिसको मालिक प्रवृत्ति, हैकमवादी शैली र प्रभुत्वको अघिल्तिर घरपालित जनावरहरू भने सदा निम्छरो नै ठहरिन्छन् । बोल्ने भाषा नभए पनि घरपतिप्रतिको व्यवहारले उनीहरूको अनुभूति र भावनालाई प्रस्ट पार्छ । तालिमप्राप्त कुकुर, चरा, बाँदरदेखि हात्ती लगायतलाई मानिसले मनोरञ्जनका निम्ति प्रयोग गर्ने गर्छन्, जो निनीहरूको प्राकृतिक अधिकारको हननकै एक स्वरूप हो । किट्टीले मान्छेको हेपाहा व्यवहारदेखि, निर्दयी र स्वार्थी प्रवृत्ति पनि भोगेकी छ ।

कोभिड–१९ को सङ्क्रमण बढेसँगै उसले जहीँतहीँबाट चिसोपना महसुस गरेकी छ— ‘कौसीतिर पुरानो सामान राख्ने ठाउँमा जाऊँ, कालीले भुकेर आउनै दिँदैन । तलतिर जाऊँ, मभन्दा ठूली र बलियो अर्को ढाडी माउ बिरालोले खेद्याखेद्यै गर्छ । कोठामा जाऊँ, पापाले कठालोमा समातेर ‘जा, बाहिर जा’ भनेर निकालिहाल्छन्’

(पृ.५५) । पशु संसारमा ठूलोले सानोलाई खेदो गर्ने त छँदै छ तथापि मानिसले झैं आफ्नो फाइदा र अनुकूलताका लागि प्रयोग गर्ने र प्रतिकूल अवस्थामा बेवास्ता गर्ने निकृष्ट व्यवहार भने त्यता हुँदैन । हरेक कोणबाट मानिस आफ्नो स्वार्थ र आफूलाई केन्द्रमा राखेर व्यवहार गर्ने प्राणी हो, जसका कारण अन्य जीवजन्तु दोहनमा पर्छन् । यस पुस्तकमा किट्टीले अनेकन् सन्दर्भ र प्रसंगसहित मानिस र जनावरबीचको सम्बन्धसाथै त्यस परिवारको माम (बजू), विदुषी दिदी र लामाजीको व्यक्तित्वको अनेकन् पाटा उजागर गरेको छ ।

सुकन्या वाइबाको ‘म किट्टी बिरालोले’ किट्टीको व्यक्तिगत जीवनदेखि उसले आश्रय पाएको घर, समाज र देशकै कथा समेटेको छ । मानिस र घरपालित जनावरबीचको आत्मीय र भावनात्मक सम्बन्धका अनेक पक्षबारे चिन्तन गरिएको यस पुस्तकमा ०३६ सालको सोरोफेरोमा भूमिगत अवस्थामा रहेका लामाजीले लुकीभागी हिँड्नुपर्ने अवस्था, शारीरिक रूपमा अशक्त विदुषी दिदीमाथिको राज्यको लगातारको निगरानीदेखि कोरोना महाव्याधिकालीन समयको त्रासदीपूर्ण भोगाइसम्म एउटा बिरालोको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ ।

प्रकाशित : असार ३०, २०८० ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?