कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कुइनेटो

५३ वर्षपछि थबाङमा नचाउरु

५३ वर्षपछि ब्युँतिएको रोल्पा थबाङको नचाउरुको नक्सा हो यो । यसअघिको नाम्कझैं नचाउरु सकुशल छ कि छैन ? जे होला, भोलि थाहा होला । तर, नचाउरुजस्ता धेरै रैथाने नाच पुनर्जीवनको पर्खाइमा छन् ।
नवीन विभास

गाउँले जमघट भएको थबाङका अन्तिम बुढामगरको खलामा दौरी, मादल, पैजन र झ्याली गुर्कुच्ची गर्दै तन्नेरी हुल पुगेको छ । खलामा पाइला नटेक्दै तिनीहरू चौदिशा भाक्छन्, सिमेभूमे स्मरण गर्छन् । खलामा गोलो घेरा बनाउँदै गुरुको पाउ ढोग्छन् । राम्चेघुम्चेमाझ खासखुस सुरु हुन्छ, ‘गुरुमान चाला ।’ राम्चेघुम्चे अर्थात् दर्शक ।

५३ वर्षपछि थबाङमा नचाउरु

तन्नेरीले गुथेका सेता पगरी हुँदै चिउँडोसम्म टमक्क बाँधेको थिस्नी चाँदी सिक्काले छपक्क छोपेको छ । सिक्कैले छोपेको छ, ठाउँठाउँमा हातले बुट्टा भरेको मखमलको खयो (चौबन्दी चोलो) को छाती र पिठ्युँनेर पनि । खयो र बे (घाँगर) भेटिएको दोभानमा वाफो (पटुका) ले कसक्क कसेको छ, जसमा दापसहितको यामान खुकुरी तेर्सिएको छ । महँगो कुटेमोरालाई खुकुरीले विस्थापित गरिसकेको छ । तन्नेरीले लबेदा र झुम्का पनि लगाएका छन् । तिनका दायाँ हात कम्मरमा र बायाँ हात माथिमाथि पुग्छन् । बायाँ हातका औंलाले पिलिकपिलिक बत्ती बाल्छन् । झ्यालीको छ्याइछ्याइले याऽमान मादलको गला घाँसेपछि तिनका गोडाका पैजनले धुन भर्छन्, ‘छेर्लाङछेर्लाङ ।’

‘एकसरो सक ख्याने’ चालामा तिनका दुवै हात माथिमाथि पुग्छन्, फनफन फन्का मार्छन् । मादल घन्कन्छ, ‘छ्याउने घिनाउ, छ्याउने घिनाउ छ्याउ ।’ त्यसपछि नाच्छन्— दोहोरो सक ख्याने, एकसरो पल्ने, दोहोरो पल्ने । भालाले घोचेजसरी नाच्छन्— घुमीघुमी घुंचिन्या चाला ।

दयाधन पुन खलामा प्रकट हुन्छन् । नचाउरुलाई दान टक्र्याउँछन् । गुर्बा कर्मजी बुढामगर, दयाजी रोकामगरहरूले मादल, दौरी, झ्याली धुनमार्फत ‘मुन्दरी रैसिने’ चाला देखाउँछन् ।

नाचिरहेका एघार जनामा अगुवा जुगी संघर्ष बुढामगर, जनवाद रोकामगर पनि छन् । कम्तीमा नौजना हुनैपर्ने नचाउरुमा रौली र बाँठा एकेक जना छन् । राइँला अगुवा जोरमन रोकामगर, ङाता सिङारु अच्युत घर्तीमगर र सन्तोष रोकामगर बाँठा हुन् । अगाउरे, पछाउरे, लौरी र सिङारुको छेउमा जुगी छन् । अगाउरेको पछिपछि हिँड्ने मेन बाट्रे जुगी संघर्ष बुढामगर । रौली रोलमा, प्रज्ज्वल बुढामगर र कान्छा पछाउरे रोल निभाइरहेछन् स्टोप झाँक्रीमगरले ।


नचाउरु नाच्ने थबाङी तन्नेरी बीस वर्ष वरपरका छन् । बिजुली बत्तीको आँखाले नचाउरु हेरिरहेका वृद्धवृद्धा ‘हो कि होइन’ को दोभानमा मुखामुख गरिरहेका छन् । माया मारेको मानिस टुकुटुकु हिँड्दै आँखैअगाडि उभिएजस्तो लागेर घरी ‘झ्याङ्जे’ त घरी ‘सेउरे’ पो आयो कि भनेर चनाखिएका पनि छन् । झ्याङ्जे भनेको मरेको मानिस बाँचेर फर्कनु हो । सेउरे भनेको मरेको मानिस ।

‘ङै त वय जासिन्या’ चाला नाच्छन् । नाच्दानाच्दै बी–बीचमा बगाले आवाज निक्लन्छ, ‘हऽऽऽ।’ नाचकै बीचमा बाँठालाई रौलीले मार्छन् । जोगाउन जोहार्नी गाउँछन् । जुगीले भैरम गाउँछन् । मानिसको सिर्जना उब्जना किस्सा सुनाउँछन् । शास्त्र हाल्छन् । व्यङ्ग्यात्मक पाराले दिनभरको समीक्षा गर्छन् । जस्तो कि, इतिहास पनि जोडेर फलानो ठाउँमा के भयो ? त्यहाँ के रहेछ ? आदि ।

माछा पौडेजसरी नाच्छन्, ‘ङाः रैः सिने’ चाला । नाच्छन् ‘भरे जैने’ चाला । स्थान साटासाट गर्दै ‘बत्ती तन्दे तोः सिने’ चाला । थोरै झुकेर दायाँ हात निधारनेर लगेर दर्शन गर्दै नाच्छन्, ‘ढो याने’ चाला ।


बीचबीचमा नचाउरु बिसाउँछन् । थकाइ मार्छन् । हात जोड्दै राम्चेघुम्चेको पनि मान राख्छन् । यो हो रातको नचाउरु । ‘पूरा नाच नाच्न चार–पाँच घण्टा लाग्छ,’ कर्मजी बुढामगर, दयाजी रोकामगर, कर्मजित बुढामगर, कर्मधन घर्तीमगरहरूका गुरु हुनुका अनुभवको बगाले स्वर सुनिन्छ, ‘बीचबीचमा बिसाउँदै नाच्दाखेरि नचाउरु नाच्न दिनभर लाग्छ । रातभर लाग्छ ।’

त्रिपन्न वर्षअघिसम्म (२०२३ सम्म) मंसिरमा रोल्पा थबाङबाट नाच्दै नचारुहरू रुकुमका गुनाम, लुकुम, तकसेरा, हुकाम, मैकोट पुग्थे । कोल, गर्खान, महत, धर्मराशाला हुँदै दुई महिनापछि थबाङ फर्कन्थे । नाच्दै, गाउँदै फर्कंदा कतिले बिहे गरेका हुन्थे त कतिले सम्धिनी लगाएका । अहिले ? नाच्न माघे संक्रान्ति, चैते र बर्खे दसैं अनि तिहार पर्खन्छन् ।

नचाउरु नाच्ने थबाङी तन्नेरी बीस वर्ष वरपरका छन् । बिजुली बत्तीको आँखाले नचाउरु हेरिरहेका वृद्धवृद्धा ‘हो कि होइन’ को दोभानमा मुखामुख गरिरहेका छन् ।

अचम्म लाग्यो होला, दुई महिनासम्म कम्ता हो त ? रोल्पा–रुकुमतिर भन्छन्, कुनै बेला मगर समुदायका मानिस सात दिन सात रातसम्म पनि गाउँथे रे । नाच्थे रे । गाउँदागाउँदै रात ढल्थ्यो रे, गीतमै दिन ढल्थ्यो रे । निश्चित तिथिमितिमा त्यसरी गाए र नाचेको सम्झनाले नै तिनले वर्ष दिन धानेथे । सायद फेरिँदो अर्थराजनीति समाजसँग तालमेल नमिल्दाखेरि गाउँघरमा किस्सा बनेछ, ‘खाई छिज्या मगर, लाई छिज्या ठाकुर, तिरी छिज्या क्षेत्री ।’ अर्थात्– खाएर सकिएको मगर, लगाएर सकिएको ठकुरी र तिरेर सकिएको क्षेत्री ।

दिनमा नाच्दा नचाउरु नाचका कलाकारले घुँडामुनिसम्मको हापपेन्टजस्तो चरना लगाउँछन् । हातमा ढाल, तरवाली, खुँदा र भुजेली लिएर नाच्छन् । जलौटी, झुम्का लगाएका तिनले गुरमान राखेपछि खिल्नी चाला, डुलाउटे चालापछि खुर्कुम्भ चाला नाच्छन्, जुन चालामा जिम्नास्टिक हान्छन् । तरबारमा उभिएर गुर्गुजी बजाउँछन् । उँधोमुन्टे भएर हातगोडाले पछिल्तिर हिँड्छन् । नाच्दानाच्दै कराते, टेकान्डोजस्तै खेल प्रदर्शन गर्छन् । कुम्ला सिरने चालामा महिला आउँछन् । तिनले कुम्ला सारिदिन्छन् । बझौटे चालामा राम्चेघुम्चेका मान राख्छन् ।

‘२०७६ सालमा तीन महिनासम्म सिकेर नचाउरु ब्युँतायौँ,’ नचाउरु ब्युँताउने मगरात मौलिक कला संस्कृति संरक्षण मञ्च, थबाङका पहलकर्ता अमिट मगर भन्छन्, ‘५३ वर्षपछि ।’


एउटा रैथाने नाच ५३ वर्षपछि ब्युँतिएको छ । कुन सञ्जीवनी बुटीले ब्युँतिएको हो ? एक, ‘जनयुद्ध’ सकिएपछि थबाङमा मानिसका आउजाउ ह्वात्तै बढ्यो । ती कति विदेशी थिए त कति स्वदेशी । अनुसन्धान, दृश्यावलोकन जे गर्न आए पनि तिनले थबाङको रहनसहन, भाषा, साहित्य, कला, संस्कृतिप्रति गहिरो चासो राखे । तिनले यति सोधे कि, थबाङी युवामा पनि रैथाने ज्ञान, कला, संस्कृतिप्रति चासो र चिन्ता चुलियो ।

दुई, थबाङमा कहिलीकसो कराते, बक्सिङ खेल्थे । देखेर बूढापाका भन्थे, ‘नचाउरु नाच्दा यस्ता घुस्सा र लौरा कति हानिम् कति ।’ महिनौं लगाएर सिकेका बड्डाहरूका चिन्ता थियो, ‘हामीसँगै नचाउरु पनि मर्ने भयो ।’ नभन्दै एक दिन त सेर्जाहरू आफूसँगै जलजलामा हात हल्लाइरहेको नचाउरु सम्झेर हलाक् भए, जो नचाउरु नाचेका थोरै बचेका थिए, कति सत्तरी पुग्न हतारिएका त कति नब्बे भेट्न । जोस र शरीर सकुशल कति बचे त ? औंलामा गने– दयाजी रोकामगर, लक्ष्मण घर्तीमगर, हीरालाल रोकामगर, कर्मजित बुढामगर, सुनप्रसाद घर्तीमगर र कर्मधन घर्तीमगर मात्र !

नचाउरु ब्युँताए कसो होला ? मन्थन गरे । तिनले ‘जनयुद्धकाल’ मा हराएको नाम्क (कतै बलपूजा, कतै भूमे पनि भन्छन्) शान्ति प्रक्रियापछि ब्युँताएको ‘नजिर’ सम्झिए । ब्युँताएको नाम्क थबाङमा सकुशल थियो । किन हरायो त, नचाउरु ? पृष्ठभूमिमा के थिए ?

एक, थबाङमा स्कुल, कालापार, भारतीय–बेलायती लाहुरे चलन चर्क्यो । नाच्न सक्ने युवा त कालापार गए । स्कुल गए । लाहुरे भए । को नाच्नु नचाउरु ?


दुई, २०४६ पछि थबाङ, मशाल, एकताकेन्द्र र माओवादी हुँदै, माओवादी भाषामा, ‘ग्रामीण वर्गसंघर्ष’ मा भाग लियो । १० वर्ष लामो ‘जनयुद्ध’ मा थबाङ नै माओवादी ‘मक्का’ बन्यो । थबाङले सुत्दा पनि उठ्दा पनि ‘क्रान्ति’ जप्यो ।

तीन, नचाउरु नाच्न नृत्यकला र खेलाडी गुण हुनुका साथै युवा त हुनैपर्‍यो । ज्याभलिन फाल्ने, लौरा हान्ने, तरबार धारमा हिँड्ने, उँधोमुन्टो भएर उल्टो हिँड्ने कराते र टेकान्डोजस्तो खेल कला जान्नैपर्‍यो ।

चार, तन्त्रमन्त्रका ज्ञान पनि चाहियो ।

पाँच, नचाउरुका लागि बाजा, लुगा र हतियार महँगा छन् । भाङ्ङु रेसा (गाँजा) लुगा विस्थापित गर्ने बजारिया कारखाने लुगा महँगा भए । अमिटका अनुसार, रात र दिनको नाचमा लगाउने पोसाक तयार पार्न झन्डै ३५ हजार पर्छ । आवश्यक हतियार र पोसाक गरी प्रतिव्यक्ति झन्डै ५५ हजार । खयो र चरनामा हातले बुट्टा भरेको हुन्छ ।

आवरणमा जे उल्लेख भए, नचाउरु जटिलताको जग भने अर्थराजनीति थियो । समाज ‘आधुनिक’, ‘सभ्य’ हुन थालेपछि संरचना जटिल भए । नेपालमा दलाल पुँजीवाद पस्यो । आदिवासी जीवनपद्धति बिथोलिँदा तिनका खेल, नाच र काम ‘छुटभिन्न’ भए । जब कि काम नै नाच, खेल बनेथे । सबका सबले पुँजीपतिका दैलो ढकढक्याउन थालेपछि आदिवासी जीवनपद्धतिसँग जोडिएका गीत, नाच र खेल स्वतः हराए । हुन पनि भुइँमान्छेका नाच, खेल हुँदैनन्, ती त सधैं काममै घोटिरहेका हुन्छन् । जबकि कुनै बेला खेल, नाच, गीत काम थिए । इतिहास हराएपछि तिनका खेल, नाच पनि हराउने नै भए । जस्तो ः लिगलिगमा मुक्खे छान्न घलेदौड, खेल हुन्थ्यो । द्रव्य शाहले छल गरी लिगलिग हडपे, खेल खत्तम । भन्नुहोला, घले दौड जारी छ त । अहिले जारी खेलमा आदिवासी सांस्कृतिक पाटो जोडिन्न, मात्र पुरस्कार अर्थात् नगद–नारन जोडिन्छ । जस्तो : कति लाख पुरस्कार ? हराभरा जमिन जति प्लटिङ गरी हाते रुमाल बनाएपछि रोपाइँ गीत र नाच पनि हराएजस्तै त हो । त्यही हो, नचाउरु ‘नियति’ पनि । बेलायत, भारतजस्ता विदेशीका लाहुरे बन्नुपर्ने, रोजीरोटीका लागि कालापार जानुपर्ने, कहिले पृथ्वीनारायण शाहको त कहिले पुष्पकमल दाहालको सिंहासन दिलाउन लड्नु–मर्नुपर्ने भएपछि कसरी हुन्छ, नचाउरु नजर ?


‘आफूलाई स्वस्थ राख्न पूर्वज नचाउरु नाचे होलान्,’ नचाउरु नेतृत्व गर्दै जुगी भूमिका निभाइरहेका संघर्ष बुढामगर लख काट्छन्, ‘नचाउरु सिक्न र नाच्न गाह्रो त गाह्रै रहेछ ।’ संघर्षहरूले जसरी थबाङको छिमेकी गाउँ रुकुम (पूर्व) भूमेको क्याङ्सीमा नचाउरु ब्युँतिएको छ । ‘तकसेरातिर पनि नचाउरु थियो भन्ने सुनिन्छ,’ नचाउरु अध्ययन गरेका स्थानीय माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक उदय घर्तीमगर भन्छन्, ‘नाचमा लौरा, तरबार, ढाल, खुकुरी आदि हतियार छन् । सिकारी, वारियर भएर नै नाचमा हतियार आए कि ? अध्ययनको खाँचो छ ।’ त्यसबेला आदिवासीका नियमित सेना हुने कुरा भएन । भइपरिआए सबै लड्थे । चाहे बाह्य दुस्मनसित होस्, चाहे जङ्गली जनावरसँग । नचाउरुमा देखाइने मार्सल आर्टका खेल त्यसैका प्रमाण थिए । पञ्चायतको उत्तरार्द्धसम्म पनि मारीखोला शिरका मगर गाउँ नै एक महिनासम्म लौराले लड्ने लडाइँ सिक्न ओखरा पस्थे (हेर्नुस्, सात सय लिगलिगका सीमारेखा, ३० वैशाख, २०८०) । नचाउरुमा माछा खेलेको, घोचाले हानेको अभिनय उनै सम्झना न हुन् । सिकारपछि कृषि र पशुपालन युगमा आएपछिका दिनचर्या पनि त नचाउरुमा छन् ।

रुसका जी. प्लेखानोभ ‘अन्अड्रेस्ड लेटर्स, आर्ट एन्ड सोसल लाइफ’ को ‘थर्ड लेटर’ मा उनले नचाउरुजस्तै रेड इन्डियनको बफेलो डान्स, स्किमोले सिल सिकार, ब्राजिलियन आदिवासीका खेल, नाच उदाहरण दिएका छन् । पहिले काम र त्यसपछि खेल–नाच आए भन्दै उनी नाचलाई ‘कम्बाइन्ड विथ वर्क’ भन्छन् । आदिवासीका ती नाच र खेल त तिनले गरेका कामका प्रतिविम्ब हुन्, तिनले गरेका कामका सम्झनामा सुसाएका (पृ.८०) ।


लाग्ला, नचाउरु ब्युँतेर के इतिहास उल्टने हो र ? बागिना अर्थात् बाजा, गीत, नाचको जगेर्ना भनेको हाम्रो इतिहासको जगेर्ना हो । धिमेसँग हामी नेवारको पहिचान जोडिएको छैन ? नचाउरुमा भाला रोपेको, माछा खेलेको त मगरले कुनै जमाना सिकार गरेर जीवनयापन गरेको प्रमाण होइन ? जस्तो, कोरियाली लोकगीत आरिराङले डुङ्गा खियाउँदै सामान बेच्न जाँदाको ऐतिहासिक व्यापारिक जीवन झल्काइरहेको छैन ? खेल र नाचमा पहिचानको इतिहास लुकेको हुँदैन ? जब आदिवासी जनजाति पहिचानको खोजीमा इतिहास ब्युँतिन्छ तब त्यसका खेल पनि ब्युँतिन्छन्, होइन र ?


५३ वर्षपछि एउटा इतिहास ब्युँतिएको छ, अर्थात् मगरको एउटा खेल नचाउरु ब्युँतिएको छ । इतिहास भनेको शासकहरूले देखाउने खेल मात्र होइन रहेछ, यो त्यतिबेला चाल पाइने रहेछ, जतिबेला शासितहरू आफ्ना खेल देखाउन थाल्दा रहेछन् ।

प्रकाशित : असार ३०, २०८० ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?