कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३
संस्कृति

एक डाक्टर, एक झाँक्री

अनिल बुढामगर

यो झाँक्री गाउँको कथा हो । साउने संक्रान्तिका बेला प्रत्येक वर्ष गाउँभरिका झँक्रीहरू भेला हुन्छन् र यहाँ ठूलो मेला लाग्छ । मगरहरूमा एउटा विश्वास कायमै छ– हजुरबा, आमा, बुबा अर्थात् परिवारमा कोही झाँक्री छ भने देहान्तपछि उसको झाँक्री विद्याले छोरा–नातिमा पुनर्जन्म लिन्छ । रुकुमपूर्वको लुकुम गाउँमा लाग्ने झाँक्री मेलाका पात्र र यसको मिथकलाई एकैछिन पछ्याऊँ ।

एक डाक्टर, एक झाँक्री

संस्कृतिविद् जगमान गुरुङ भन्छन्, ‘देवी–देउताको धामसँग सम्बन्धित व्यक्तिलाई धामी भनिन्छ र झाँक आउने व्यक्तिलाई झाँक्री ।’ मगर गाउँहरूमा जन्म, विवाहको लगन हेर्नुपर्दा वा ग्रहदशा फाल्नुपर्दा जैसी आवश्यक हुन्छ । दुःख वा बिमार हुँदा झाँक्री, मालङ्ग्या र धिम्यानीहरूले उपचार गर्छन् । त्यसैले मगर समुदायमा जैसीहरूलाई ‘ज्योतिष’ र झाँक्रीहरूलाई ‘डाक्टर’ मान्ने चलन छ । अनिल बुढामगर पेसाले डाक्टर हुन् । तर, अहिले रुकुमपूर्वको तकसेरा पुगेर झाँक्रीमा बदलिएका छन् । डाक्टरी पेसासँगै उनी झाँक्री–गुरु रामजित बुढामगरका सहयोगी बनेर गाउँलेको उपचार पनि गर्छन् ।

एकदिन गाउँमा हल्ला चल्यो– अस्पतालमा बिरामीको उपचार गरिरहेका डाक्टर अनिल झाँक्री भए !

र, डढेलोसरि फैलिएको यो खबर सत्य थियो । अनिललाई झाँक्री बनाउने गुरु रामजितका अनुसार, झाँक्री दुई किसिमका हुन्छन्– पुस्तान्तरण र भुइँफुट्टा । भुइँफुट्टाको अर्थ हो– जन्मजात झाँक्री । तर, डा. अनिल थिए– पुस्तान्तरण झाँक्री ।

मगर समुदायमा वनझाँक्री, देवी–देउराली, सिमे–भूमे, हिमाल र तालहरूमा बस्ने बराह देउतालाई पूजा गरिन्छ । झाँक्रीहरू मृत आफन्तसँग सजिलै संवाद गर्न सक्छन् भन्ने विश्वास पनि गरिन्छ । ढ्याङ्ग्रो र झाँक्री पहिरनमा काँपिरहेका अनिलले शान्त भएपछि भने, ‘अरू कसैले पनि नदेखेको, स्पर्श नगरेको देउता मेरो शरीरमा आउँदा म के हुन्छु मैलाई थाहा हुँदैन ।’

अनिलले लगाएको झाँक्री–पहिरनमा थिए– खादी, चौबन्दी, फेटा, शिरमा कालिजका प्वाँख । चिउँडोको दाह्री छोपिनेगरी लगाइएको थियो– चेम्ना (चाँदीका गहना) र अनेकैँं रङका झुम्का । उनको शरीरमा थियो– तँमा, फलामका साना–ठूला घण्टी र विभिन्न जनावरका छालाहरू । घाँटीमा बडेमान सर्पका हड्डी, समुद्रको कौडा र रुद्राक्षका मालाहरू । हातमा थिए– काठलाई कलात्मक तरिकाले बनाइएको बल्था र गजा । अनि गोरुको छालाबाट निर्मित ढ्यांग्रो बोकेर बेहोसीमै नाचिरहेका थिए– डाक्टर अनिल ।

एउटा झाँक्री–मिथ

रम्मा पुरनचन भुइँफुट्टा झाँक्री थिए । कहाँबाट आएको ? उनी भन्थे रे, ‘पुथा हिमाल ।’

राजदरबारको उपचारमा खट्थे । उनका दुई श्रीमती थिए । बिहेपछि उनको तन्त्रमन्त्रले बाटो मोड्यो । त्यसपछि ‘बोक्सी’ उत्पत्ति भए । तीमध्ये एक त राजाकै कान्छी श्रीमती । यो कुरा उनले बाहिर ल्याएपछि रम्मालाई दरबार निकालाको योजना बन्यो । तर, राजाको आदेश नआउँदै उनले बोक्सी रानीलाई बिरामी बनाएर आफू तल्लो मानोवामा लुक्न गए ।

खोजतलास गर्दा पनि रम्मा भेटिएनन् । रम्माका दुई श्रीमतीहरूलाई दरबार लगियो ।

रम्मा तल्लो मानोवामा फलाम, तामाका भाँडाकुँडा बनाएर बसेको थाहा पाए, राजाले । राजाका दूत तल्लो मानोवा पुगे ।

‘पूर्व दिशा, पश्चिम दिशा र पुथा हिमालतिर गयो होला’ भन्दै रम्माले राजाका दूतहरूलाई अलमल्याए । दूतहरू पुथा हिमाल पुग्न असान मसानहरूले बाटो छेके भने पूर्वपश्चिम जाँदा देउराली देवताहरूले । रम्माको शिरमा कालिजको प्वाँख, आँखामा अंगारको गाजल, नाकमा सरिस्यार्घाको सुवा (झाँक्रीहरूको कार्यमा प्रयोग हुने रूखको पात) र झाँक्रीको सुरुवालको डाम देखे । दूतहरूले सोधे, ‘झाँक्री होइन ?’

उनले छल गर्न भने, ‘म त टिकु कामी हो । हिउँमा आँखा बिग्रेला भनेर गाजल लाउँछु, जाडो छेक्न सुरुवाल ।’

दूतहरूले जुक्ति निकाले । जंगलबाट सरिस्यार्घा र तीतेपाते लिएर रम्माको आरनमा हाले । आरनमा बलिरहेको आगोको धूवाँले रम्मा झाँक्री काँप्न थाले ।

झाँक्री नै भएको प्रमाणित भएपछि रम्मालाई दूतहरूले दरबार पुर्‍याए । रानी निको भइन् । बोक्सी रानीले पुनः जाल बिछ्याउन थालिन् ।

रम्माले शक्ति बढाउन नौ रात, नौ दिन सातानाम पसेर (सुतेर) देवताहरूसँग समय बिताइरहेका बेला रानीले उनीसहित उनको परिवारलाई छल गरिन्, खोलाछेउमा लगेर जलाइन् ।

झाँक्रीको बँदेल देवता आएर पानीले आगो निभाए । रम्माको हड्डीलाई चोखो ठाउँमा गाडे । केही समयपछि रम्माले छोरीको शरीरमा जन्म लिए । ‘पगिल पुँ’ नामक झँकर्‍याल्नीको मृत्युपछि उनका सन्तानहरूमा पुनर्जन्म लिए । यसरी नै पुस्तान्तरण भएर झाँक्री फैलिए ।

यो कथा पुराना झाँक्रीहरूले सुनाउँछन् ।

प्रकाशित : असार ३०, २०८० ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?