कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

मनाङ जाने पुरानो बाटो

उबेला मनाङदेखि काठमाडौं पुग्न आठ दिन लाग्थ्यो । पिठ्युँमा भारी, थोरै सामल बोकेर ‘धर्म कमाउन’ काठमाडौं पस्थे मनाङवासी । बाटो पुगेपछि काठमाडौं टाढाको तीर्थ रहेन । तर, मनाङ पूरै बदलियो । एउटा बाटोले बदलेको मनाङको कथा :
सुरेश किरण

जहाँसुकै होस्, सामान्यतया बाटो खुलेपछि त्यसले अरू धेरैथोक खोलिदिन्छ । तर, बाटोले सबै विषय खुल्ने मात्र होइन, खुलिरहेका धेरै कुरा बन्द पनि गरिदिँदो रहेछ । सायद बाटो भन्नु नै यही हो । हामीलाई बाटोको राजनीति राम्रै थाहा छ, बाटोको अर्थनीति पनि बुझेका छौँ । सायद बाटोको संस्कृतिचाहिँ बिर्सेका छौँ ।

मनाङ जाने पुरानो बाटो

प्रसंग ७३ वर्षे सोनाम ग्याल्जेन लामाबाट सुरु गरौं, जो काठमाडौंबाट मनाङ जाने एउटै मात्र बाटोमा पर्ने दानाक्यूमा बस्छन् । दानाक्यूको खास अर्थ ‘ताना क्युँ’ हो । गुरुङ भाषामा यसको अर्थ हुन्छ– घाँस उम्रेको फाँट । अहिले दानाक्यूमा फाँट त देख्न सकिन्छ, तर घाँस भने पाउन सकिन्न । किनभने दानाक्यू अहिले बदलिइसकेको छ । दानाक्यूमा यो बदलाव ल्याउने माध्यम पनि उही हो, मनाङ जिल्लाको एक्लो बाटो !

ग्याल्जेनले जीवनमा कहिल्यै सोचेका समेत थिएनन्, ‘नेपाल’ बाट मनाङ जोड्ने कुनै बाटो पनि यो युगमा बन्नेछ । बाटो बन्ने कुरो त उनले पनि धेरै अघिदेखि सुन्दै आएका थिए । लागेको थियो, यहाँ पनि बाटो त बन्छ होला, तर हिँड्ने अवसरचाहिँ मुस्किलले पनातिले पाउँलान् कि ! तर, नसोचेको भइदियो । डुम्रेबाट लमजुङको बेसीसहर बाटो खुल्यो । त्यसको दुई दशक जति पछि बेसीसहरबाट मनाङी सदरमुकाम चामे हुँदै मनाङ भ्यालीसम्मै बाटो पुग्यो । मनाङमा गाडी गुड्ने एक मात्र बाटो यही हो । बाटोको अवस्था हेर्ने हो भने त्यसलाई बाटो त भन्न सकिन्छ होला, तर सडक भन्नचाहिँ नमिल्ला । तथापि मनाङका लागि भने यो जिल्लाकै ‘लाइफ लाइन’ हो । यो बाटो आएपछि चाहने हो भने अहिले एकै दिनमा काठमाडौं–मनाङ आउ–जाउ गर्न सकिन्छ ।


ग्याल्जेन सम्झन्छन्, आफू २० वर्ष छँदाको युवावय । २० वर्षे उमेरमा उनी पहिलो पटक काठमाडौं आएका थिए । त्यतिबेला मनाङ मात्रै होइन, लमजुङमा समेत कुनै बाटो बनिसकेको थिएन । मनाङदेखि काठमाडौं पुग्न करिब आठ दिन लाग्थ्यो । उनी आठ दिन हिँडेर काठमाडौं आइपुगेका थिए । काठमाडौं आउन दानाक्यूबाट पहिले तारुघाट पुग्नुपर्‍यो । त्यसपछि त्यो पनि नाघेर आरुघाट पुग्नुपर्‍यो । आरुघाटबाट तीन दिन हिँडेपछि रसुवाको त्रिशूली बजार । त्रिशूली बजारदेखि काठमाडौंसम्म मालवाहक ट्रकहरू आउ–जाउ गरिरहेका हुन्थे । खाली सिट मिलेछ भने त्यही ट्रकमा बसेर काठमाडौं पुगिन्थ्यो ।

हुन त मनाङबाट काठमाडौं पुग्ने एउटा अर्को बाटो पनि थियो । मनाङबाट हिँडेर पोखरा पुग्ने । अनि पोखराबाट विमान चढेर काठमाडौं झर्ने । ग्याल्जेनचाहिँ त्रिशूलीको बाटो हुँदै काठमाडौं पुगेका थिए । त्यसरी जाँदा उनको पिठ्युँमा एउटा भारी पनि थियो, जसमा राखिएको थियो खाना पकाउने भाँडो र केही खानेकुरा । मनाङेहरू काठमाडौं पुगे पनि त्यहाँ उनीहरूको कुनै काम भने थिएन । ग्याल्जेन मूलतः ‘धर्म कमाउन’ काठमाडौं आएका थिए । मनाङवासीहरू काठमाडौंको स्वयम्भू र बौद्धनाथको दर्शन गर्न पाए जीवनै सार्थक भएको मान्छन् । त्यतिबेलाको स्वयम्भू र बौद्धनाथ नै मनाङवासीको मक्का र मदिना थियो ।


काठमाडौं पुग्न हप्तौं हिँड्नपर्थ्यो, तर बाटोमा पसल कहीं भेटिँदैनथ्यो । एक–दुई ठाउँमा पसल भेटिइहाले पनि त्यहाँ चियाबाहेक अर्थोक पाइँदैनथ्यो । बाटोमा आफैं पकाउँदै, खाँदै हिँड्नुपर्थ्यो । ग्याल्जेनलाई सम्झना भएसम्म उनी काठमाडौं आउँदा यहाँ एक कप चिया गिलासको १० पैसा थियो । अरू सामानको भाउ थाहा भएन किनभने काठमाडौंमा किनेर खानुपर्ने कुरै थिएन । धर्मशालामा बस्ने, आफैं पकाएर खाने । १५ दिन जति यसरी नै काठमाडौं बसेपछि त्यही बाटो भएर फर्कने । यसरी सम्पन्न हुन्थ्यो काठमाडौं–तीर्थयात्रा ।

तर, बाटो पुगेपछि काठमाडौंको यस्तो यात्रा पूरै कथामा बदलियो । त्यो २०६९ सालको कुरा हो । चामेमा पहिलो जिप आइपुगेको थियो । पूरै गाउँ उल्टेर गाडी पूजा गरेको थियो । ग्याल्जेन सम्झन्छन्– ओहो, मनाङमा गाडी ! मलाई त सपना देखिरहेजस्तो लागेको थियो ।


मनाङ पुग्ने यो बाटो त्यति लामो पनि होइन । लमजुङको बेसीसहरदेखि मनाङको सदरमुकाम चामेसम्म जम्मा ९६ किलोमिटर । त्यहाँबाट मनाङ भ्यालीसम्म ३० किलोमिटर । त्यसलाई बाटो पनि के भन्नु, ढुंगाको चाङ मिलाएर राखिएको ट्र्याक भन्नुपर्ला । अंग्रेजीमा ‘अफरोड’ भनेरै लेखिएको छ । पूरा कच्ची नै छ । बाटो बनेको दस वर्षभन्दा बढी भइसक्यो, अहिलेसम्म ‘पाकेको’ छैन । तर, कच्ची सडकमै बेसीसहरदेखि चामेसम्म फोर ह्विलर बोलेरो चल्छ, प्रतिव्यक्ति रु. २५०० भाडा । बोलेरो चलाउने चालक जम्मै २२–२३ वर्ष उमेर समूहकै मात्र छन् । बाटो यस्तो छ कि उनीहरू त्यहाँ सीपले भन्दा पनि आँटले गाडी चलाउँछन् । घरमा बालबच्चा भएका चालकहरू त्यस्तो आँट गर्न सक्लान्जस्तो लाग्दैन । मर्स्याङ्दी किनारैकिनार खोलिएको यो बाटोमा कति गाडीको पाता खुस्किन्छ, कतिको स्टेरिङ भाँचिन्छ त्यो अब सामान्य भइसक्यो । गाडी बिग्रियो कि बेसीसहरमा फोन गरेर मिस्त्री बोलाउनुपर्छ । बाटोमा कति ठाउँ यस्ता खण्डहरू आउँछन्, जहाँ गाडी चलिरहन्छ, तर यात्रुको श्वास रोकिएलाझैं हुन्छ ।

नेपालमा पहाड उक्लिने बाटो छ, तराई झर्ने बाटो पनि छ । तर, यात्रुलाई हिमालपारिको गन्तव्य पुर्‍याउने बाटो भने यही एउटा मात्रै छ । नेपालमा मनाङ र मुस्ताङलाई हिमालपारिको देश भनिन्छ । मनाङको यो बाटोले हिमाली भूभाग उक्लिँदै यात्रुलाई ३५०० मिटरको उचाइसम्म पुर्‍याइदिन्छ ।

यो बाटो बनाउन बेस्कन दुःख झेलिएको थियो । बाटो खोल्न डोजर चाहिन्छ । तर, डोजर लैजाने बाटो थिएन । त्यसैले डोजर हेलिकप्टरले उठाएर त्यहाँ पुर्‍याइएको थियो । पहाड फुटाउन जिलेटिन नपाएर निकै वर्ष काम रोकियो । आखिर नेपाली सेना नै मैदानमा उत्रेर निर्माण पूरा गर्नुपर्‍यो । यो बाटो बनाउँदा तीन सैनिक जवानलगायत नौ सर्वसाधारणसमेत गरी १२ जनाको ज्यान गएको रहेछ । बाटो निर्माणमा ज्यान गुमाएका मान्छेहरूको नाम त्यही बाटोको एउटा ढुंगामा टाँसिएको छ शिलापत्र बनाएर ।


मनाङ पुग्ने यो बाटो खोलिएसँगै जिल्लामा पर्यटन व्यवसायको बाँधै खोलेजस्तो भयो । बेसीसहरको बाटो नखुलिन्जेल पर्यटकहरू डुम्रेदेखि हिँडेरै मनाङ जान्थे । त्यो करिब एक महिनाको प्याकेज हुन्थ्यो । बेसीसहरसम्म बाटो पुगेपछि मनाङ यात्राको मुख्य नाका नै बेसीसहर हुन थाल्यो । पर्यटकहरू बेसीसहरसम्म गाडीमा जाने र त्यहाँबाट मनाङसम्म पैदलयात्रामा निस्कने गर्थे । अहिले मनाङसम्मै गाडी पुग्ने भएकोले एक साताको प्याकेज बनाएर पर्यटकहरू आउन थालेका छन् । यसले मनाङलाई पूरै पर्यटकीय जिल्ला बनाइदिएको छ । होटलहरू प्रशस्त खुल्न थालेका छन् । अहिले मनाङवासीको मुख्य व्यवसाय नै होटल भइसकेको छ । यहाँको सबैजसो घरमा अहिले होटल सञ्चालनमा छ । मनाङकै स्थानीय होटल व्यवसायी छिरिङ गुरुङका अनुसार, अहिले मनाङमा होटल नभएको घर १० प्रतिशत जति मात्रै होला । छिरिङ आफैं पनि पहिले काठमाडौंको रणमुक्तेश्वरस्थित आरबी कम्प्लेक्समा गार्मेन्ट पसल चलाउँथे । मनाङमा पर्यटनको बाढी पसेपछि उनी काठमाडौंको पसल बेचेर आफ्नै जन्मथलोमा होटल चलाउन आएका थिए ।

गुरुङ समुदायको बाहुल्य भएको यो ठाउँमा गुरुङबाहेक अन्य समुदायले जग्गा किनबेच गर्न पाउँदैनन् । त्यसैले होटल सञ्चालकहरू जम्मै गुरुङ नै छन् । यहाँ हुने कुनै पनि निकायको निर्वाचनमा जित्ने पनि गुरुङ नै हुन्छन्, हार्ने पनि गुरुङ नै । गुरुङ समुदायको एकल पकड भएकाले जिल्लाको कला, संस्कृति र रहनसहनले अझै आफ्नो मौलिकता कायम गरिरहेको देखिन्छ । तथापि पर्यटन व्यवसायले स्थानीय मौलिकपनमाथि गर्ने स्वाभाविक प्रहारबाट भने मनाङ पनि क्रमशः प्रभावित हुँदै जान थालेको छ । पर्यटक धेरै आउन थालेकाले उनीहरू गुरुङ खाना होइन मनाङका गुरुङहरू नै पर्यटकको खाना खान थालिसकेका छन् । गाडी चल्न थालेपछि अहिले मनाङमा ती जम्मै परिकार पाइन थालेका छन्, जो काठमाडौंको गल्ली गल्लीका भट्टी पसलहरूमा पाइन्छ । मनाङमा सर्वाधिक पाइने जन्तु त चौरी हो । तर, अर्डर गर्‍यो भने यहाँ राँगाको छोय्ला पनि पाइन्छ । कोक, फान्टा, चाउचाउ, चिप्सजस्ता जंक फुड मनाङका जम्मै रेस्टुरेन्टमा पाइन्छ । जम्मै खानेकुरा काठमाडौंबाट आउने भएपछि मनाङका रैथाने परिकारहरू मनाङबाटै हराउन थालेका छन् । अहिले मनाङमा कृषि गर्ने मान्छे पाउन गाह्रो भइसकेको छ । खेत भएका मानिसहरू पनि खेतमा काम गराउन गोरखाबाट कामदार झिकाउँछन् ।


मनाङको खास उत्पादन स्याउ, आलु, फापर आदि हो । आलु बालीका लागि गोडमेल हातैले गर्नुपर्ने हुन्छ । किनभने माटोमा ढुंगा धेरै हुने भएकाले ट्याक्टरले खेत खन्न मिल्दैन । त्यसमाथि फलेको आलु बजारतिर पठाउने हो भने पनि ढुवानी भाडाले प्रतिस्पर्धा गर्न सक्दैन । मनाङदेखि बेसीसहरसम्म पुर्‍याउन गाडीमा प्रतिकिलो आलुको रु. १५ भाडा दिनुपर्छ । काठमाडौं ल्याउन अर्को रु. ५ थप्नुपर्छ । किलोको २० रुपैयाँ त भाडा नै लाग्ने भयो । अनि बेच्ने कतिमा ?

फापर पनि यहाँको मुख्य बाली हो । त्यसैले बेच्ने हो भने बाहिरै लैजानुपर्छ । त्यसले पनि भाडाका कारण प्रतिस्पर्धा गर्न सक्दैन । कृषिका सवालमा मनाङमा एउटा अनौठो चलन रहेछ । यहाँका स्थानियले बुद्ध धर्म मान्छन्, त्यसैले बालीमा कीरा लागे पनि औषधि छरेर मार्ने चलन रहेनछ । आफ्नो बालीमा लागेको कीरा मार्नुलाई पनि यहाँ हिंसा मानिँदोरहेछ । त्यसैले पोहोर साल कीरा लागेर सबैको फापर बिग्रेको थियो । त्यति हुँदा पनि कीरा मार्ने औषधि भने कसैले छर्केन ।

महिलाहरूको समूह बनाएर कृषि उत्पादनमा लागिरहेकी स्थानीय महिला स्वयंसेविका मेङ्खु गुरुङका अनुसार, बालीमा कसैले औषधि राख्न लागेको थाहा पाए ठूलाहरूले रोकिहाल्छन् । उनका अनुसार, मनाङको फापर घरेलु प्रयोगका लागि मात्रै हो । कसैलाई अलि बढी फापर चाहिए ऊ मनाङकै फापर किनेर खान सक्दैन । त्योभन्दा बरु काठमाडौंदेखि गाडीमा आएको फापर नै सस्तो हुन्छ ।

मनाङ स्याउ उत्पादनको लागि बरु सबैभन्दा उपयुक्त ठाउँ हो, देशकै सबैभन्दा सानो जिल्ला भए पनि देशको सबैभन्दा ठूलो स्याउ फार्म भने यहीं छ । मनाङको भ्राताङमा खोलिएको ‘फार्म हाउस’ नेपालकै सबैभन्दा ठूलो स्याउ उत्पादन गर्ने कम्पनी हो । यो फार्म हाउसले वार्षिक चार लाख किलो स्याउ उत्पादन गर्छ । फार्म हाउस ठूलो त छँदैछ, यहाँ घुम्न पनि ४०० रुपैयाँको टिकट काट्नुपर्छ । बाटो आएपछि यहाँको स्याउ बजार पुर्‍याउन सजिलो भएको छ ।

मनाङ हिमाली क्षेत्र भएकाले यहाँ सामान बोकाउन पहिलेपहिले झोपा (चौंरी) प्रयोग हुन्थ्यो । बीचमा खच्चडको प्रयोग हुन थालेपछि चौंरी हरायो । चौंरीभन्दा खच्चड सस्तो पर्ने र पाल्न पनि सजिलो हुने भएकाले भारी बोकाउन खच्चड प्रयोग थालिएको थियो । बाटो खुलेर गाडी चल्न थालेपछि खच्चडको प्रयोग पनि बन्द भयो । पहिले पहिले बाटो हिँड्दा खच्चडको घाँटीमा झुन्ड्याइएको घन्टी टिन्टिन् टिन्टिन् बजिरहेको सुन्न पाइन्थ्यो । अहिले त्यस्तो आवाज आकलझुकल मात्रै सुन्न पाइन्छ ।

दानाक्यूका सोनाम ग्याल्जेनसँग पनि आठ वटा घोडा थियो । ट्रेकिङमा जाने पर्यटकलाई घोडा चढाउनुपर्थ्यो । गाडी आएपछि घोडाहरू ‘बेरोजगार’ भए । ग्याल्जेनले आफ्नै भाइहरूलाई प्रतिघोडा १५/१६ हजारमा बेचे । अलि हिँड्न सक्ने घोडाको मूल्य अहिले २ देखि ३ लाख रुपैयाँसम्म पर्छ ।

मान्छेले चौंरी र खच्चड पाल्न बन्द गरेपछि खर्कहरूमा बनाइएका ठूल्ठूला गोठहरू पनि अहिले बेकाम भएका छन् । अहिले मनाङको मुख्य गाउँभन्दा अलि पर पाखो खर्कमा बनाइएका त्यस्ता पचासौं गोठ अलपत्र फालिएका भेटिन्छन् । पहिले पहिले साउन, भदौतिर बाली पाकेका बेला बस्तुभाउले बाली खाइदेला भनेर तिनीलाई खर्कतिरको गोठमा राख्ने गरिन्थ्यो । अहिले मनाङमा न चौंरी, खच्चडजस्ता बस्तु छन्, न तिनीहरूबाट बचाउनुपर्ने खेतै छ । धेरै वर्षदेखि प्रयोग नगरी त्यागिएका खर्कहरू हेर्दै उराठलाग्दा छन् । हिमालको सुनसान भिरालोमा ती गोठहरू बनाउन कति मिहिनेत र समय लाग्यो होला । तर, त्याग्न एक निमेष पनि लागेन ।

मनाङ दुर्गम हिमाली जिल्ला हो, स्थानीयवासी लगायत पर्यटकलाई आउ–जाउमा सहज होस् भनेर यहाँ एउटा विमानस्थल पनि बनाइएको थियो । मनाङको हुम्दे भन्नेमा बनाइएको उक्त विमानस्थलको नामै हुम्दे विमानस्थल राखिएको थियो । मनाङमा बाटो आएपछि चौरी र खच्चडको प्रयोग मात्र होइन, यो विमानस्थलको प्रयोगसमेत बन्द छ ।

विसं २०३७ फागुनदेखि सञ्चालनमा आएको यो विमानस्थल २०६९ साल अर्थात् यो बाटो आरम्भ भएको वर्षदेखि नै बन्द भएको छ । ३३५३ मिटरको उचाइमा बनाइएको यो विमानस्थल नेपालको सबैभन्दा उच्चस्थानमा रहेको विमानस्थल हो, विश्वकै उच्चस्थानमा रहेका विमानस्थलमध्ये पनि एक मानिएको छ यसलाई । सगरमाथाको फेदमा बनाइएको लुक्ला विमानस्थलको उचाइ २८४५ मिटर मात्रै हो । यो कीर्तिमानी हुम्दे विमानस्थलमा पहिले दैनिक एक उडान हुने गर्थ्यो । पछि त्यो घटेर साताको एक उडान हुन थाल्यो । अहिले त्यो पनि बन्द भएकाले दुई जना सुरक्षाकर्मी राखेर विमानस्थलमा ताला लगाइएको छ । विमानस्थलको टावरमा राखिएको मौसम जाँच्ने मेसिनले भने अझै काम गरिरहेकै छ । अहिले विमानस्थलको काम त्यो मेसिन प्रयोग गरी मनाङको मौसम ‘फोरकास्ट’ गर्नुमै सीमित छ ।

व्यवसायी छिरिङ भन्छन्, ‘एयरपोर्ट भएर के गर्नु । एक त मुख्य गाउँभन्दा निकै टाढा छ । अर्को, मौसमले गर्दा उडान कहिल्यै निश्चित हुँदैन । मानिसलाई विमान पर्खिरहनुभन्दा गाडीमा हुइँकिनु नै सजिलो भएको छ ।’ गाडी गुड्ने एउटा बाटोले विमान उड्ने एयरपोर्टै बन्द गरायो । के यो बाटोको शक्ति होइन ?

हिउँदे याममा मनाङमा बस्न सकिँदैन । पूरै क्षेत्र हिउँले ढाकेर भयंकरै चिसो हुन्छ । चिसो बढेपछि मनाङवासीहरू तल झर्न थाल्छन् । अहिले अंग्रेजी संवत्को नयाँ वर्षसम्मै पर्यटक आउने भएकाले ‘न्यु इएर’ सम्म मनाङीहरू उतै बस्छन् । त्यसलगत्तै होटलहरू बन्द हुन्छन् र तलतिर झर्न थाल्छन् । पहिलेपहिले त मनाङबाट झरेर उनीहरू बस्ने हुम्देतिरै हो । अझै तल झरे लमजुङको बेसीसहरसम्म हो, तर बाटो खुलेपछि उनीहरू सिधै काठमाडौं झर्न थालेका छन् ।

हिउँदमा अधिकांश मनाङवासी अहिले ‘तल झर्ने’ भनेकै काठमाडौं हो । आजभोलि काठमाडौंमा लगभग सबै मनाङीको घर छ । जसको घर छैन उसले कोठा भाडामा लिएको छन् । हिउँदभरी उनीहरू काठमाडौं आएर बस्छन् । मनाङीहरू धर्ममा कति आस्थावान् हुन्छन् भने काठमाडौं रहुन्जेल कहिले स्वयम्भू, कहिले बौद्ध त कहिले नमोबुद्ध पुगेर पूजापाठ गरिरहेका हुन्छन् । पूजापाठ गर्दागर्दै उनीहरूको हिउँद बित्छ । जाडो घटेपछि एक–एक गरी फेरि मनाङतिरै फर्किन्छन् । एउटा बाटोले उनीहरूको रहनसहनमा ल्याइदिएको परिवर्तन हो यो ।

बाटो खुलेसँगै पर्यटक बढ्न थालेपछि बाटो छेउछाउमा साना–साना बस्तीहरू पनि बढ्न थालेको छ । पूर्व–पश्चिम राजमार्ग बनेपछि तराईका विभिन्न स्थानमा नयाँनयाँ नगरहरू बनेका थिए, ठीक त्यसैगरी मनाङको यो सानो बाटोले पनि ठाउँ ठाउँमा नयाँनयाँ बस्तीहरू बनाइदिएको छ । जस्तो बाटोले नछोएको ठाउँमा बस्ने स्थानीयहरू हुम्दे आए । भ्राकाका स्थानीयवासी भुम्जे आए । बाटोकै बीचमा पिसाङ थपियो । कुनै बेला जंगल भएका ठाउँहरू पनि अहिले पर्यटक बस्ने होटल र रेस्टुरेन्टले भरिन थालेका छन् ।

निःसन्देह मनाङ नेपालकै सुन्दर र रमणीय पर्यटन गन्तव्य हो । पर्यटकहरू मनाङ घुम्दा पैदलै तिलिचो ताल जान्छन् र उतैबाट थोराङ ला हुँदै मुस्ताङ जान्छन् । मुस्ताङ पुगेपछि त्यहाँबाट गाडी चढेर पोखरा पुग्छन् । यति घुमेपछि अन्नपूर्ण ट्रेकमा पर्ने यो क्षेत्रको गन्तव्य समाप्त हुन्छ । सिजनका बेला दैनिक औसत सय जना पर्यटक मनाङ पुगेका हुन्छन् ।

मनाङमा विभिन्न गाउँ छन् । प्रमुखचाहिँ मनाङ गाउँ हो । अहिले गाडी मनाङ गाउँसम्म पुग्छ । तर, गाउँभित्र गाडी छिर्न दिँइदैन । त्यसपछिको यात्रा पैदलै गर्नुपर्छ । तर, बाटो आएपछि मनाङ गाउँमा पर्यटक बढे पनि स्थानीयवासी घट्दै गएका छन् । पहिले हप्तौं लगाएर पुग्नुपर्ने ठाउँ अहिले एकै दिनमा पुग्न सकिने भएकाले मनाङवासीहरू मनाङ छोड्दै कोही काठमाडौं, कोही पोखरा त कोही विदेश ‘सेटल’ हुँदै छन् ।

वास्तवमा मनाङमा विकास ल्याउन बाटो खोलिएको थियो । तर, मनाङवासीले बाटोलाई विकास ल्याउन होइन, आफू बाहिर जान बढी प्रयोग गरे । मनाङवासी बाहिर जानुको अर्थ हो– बिस्तारै मनाङ आफैँ बाहिरिनु । बाटोको सही उपयोग हुन सकेन भने त्यही बाटो हुँदै मनाङमा अरू नगर पस्ने खतरा प्रबल हुन्छ । बाटो मनाङ पुग्न हो, मनाङ स्वयम्लाई बाहिर पुर्‍याउन होइन ।

प्रकाशित : असार ९, २०८० ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?