१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

एक विद्रोही रूखको मिथक

से र मान्छेको सम्बन्ध सधैं एकैनास रहेन । तर, किन त्यसैमाथि अडिइरहन्थे मेरा आँखा ?
कुन्साङ

प्रत्येक दिन मेरा जोर आँखा एउटा रूखमा टक्क अडिन्थे– घरबाट निस्कँदा, घरभित्र पस्दा । कहिले रूखको टुप्पोमा घाम अड्किएको हुन्थ्यो त कहिले जून । कहिले रूखको नाङ्गो हाँगा–हाँगामा ठक्कर खाँदै भुइँतिर झरिरहेको हुन्थ्यो– हिउँ । कहिले रूखमाथि बसेर चराहरू चिरबिराइरहेका हुन्थे । कहिले हरिया पातहरू लहराउँदै हावाको लयमा नाचिरहेको हुन्थ्यो– त्यो रूख ।

एक विद्रोही रूखको मिथक

म खायाङमा (थाडा) बसेर रूखलाई हेरिराख्थें । रूखले पनि एकटक मलाई नै हेरिरहेजस्तो लाग्थ्यो । कहिलेकाहीँ सोच्थें– त्यो रूख एउटा चुम्बक हो, म फलाम हुँ । चुम्बकले फलाम तानेजस्तो मेरो ध्यान तानिरहन्थ्यो रूखले । किन तान्थ्यो रूखले मेरो ध्यान ? किन रूखमा टक्क अडिन्थे मेरा आँखा ?

गाउँमा जस्तापाता छाउने चलन भित्रिएपछि नयाँ घरहरू पनि भत्काइए । र, ती घरमा टल्किए जस्तापाता । हिउँदमा हिउँ फाल्नु नपर्ने, बर्खामा नचुहिने ! सायद त्यसैले गाउँमा जस्तापाताको चलन बढ््न थालेको थियो । नयाँ घरहरू फेरि नयाँ बनिन थालेपछि रूखहरू सकिँदै गए । जंगल नांगिँदै गयो । तर, एउटा त्यही रूख थियो, जो गाउँको नजिकै भएर पनि कसैले काटेको थिएन । जंगल नांगिँदै गएका बेला त्यो रूख झांगिँदै गएको देख्दा मलाई खुसीले छोप्थ्यो । अचम्म पनि लाग्थ्यो । मनैमन सोच्थें, किन त्यो एउटा मात्रै रूखचाहिँ नकाटिएको होला ? त्यो रूखवरिपरिका साना–साना अन्य रूख पनि दाउराका लागि काटिएको थियो । तर, त्यही एउटा रूख थियो, जसको सुकेको हाँगा पनि कसैले भाँचेका थिएनन् ।

खायाङमा बसेर रूख हेरिरहँदा मलाई छुट्टै आनन्द आउँथ्यो । जस्तापाता छाएपछि खायाङ हराएको थियो । पहिले हिमालतिर विशेषगरी तीन तलाको घर बनाइन्थ्यो । सबैभन्दा माथिल्लो तला तेङ्ला अर्थात् स्वर्गलोक, जहाँ पूजाकोठा हुन्थ्यो । खायाङलाई अन्न, घाँस सुकाउन, हिउँदमा घाम ताप्दै गफ गर्न प्रयोग गरिन्थ्यो । टाढिएका आफ्नाहरूको बाटो पनि खायाङबाटै हेरिन्थ्यो । पारचनबीचको तला मनुष्य लोक र तल्लो तलालाई योग लु अर्थात् नागको बासस्थान मानिन्थ्यो । तर, जस्तापाता छाएपछि तेङ्ला हरायो, खायाङ हरायो ।

खायाङ हराएपछि रूखसँग देखभेट पनि कम हुन थाल्यो । एक दिन रूख हेर्न बाटामा निस्किएकी थिएँ । त्यो दिन रूख एक्लो थिएन । सधैं एक्लो देखिने रूखवरिपरि सानो भीड जम्मा भएको थियो । रूखछेवै आगो पनि बालिएको थियो । बेलाबेला रूख धूवाँको मुस्लोहरूमा हराइजान्थ्यो । यत्तिका वर्ष एक्लै, सुनसान रूखवरिपरि चहलपहल बढेको देख्दा अनौठो लाग्यो ।

त्यो अर्कै दिन थियो । टाढाबाट हेर्दा लाग्थ्यो, रूखमुनि नाटक मञ्चन भइरहेको छ । एक्लो रूख व्यस्त थियो– नाटक हेर्न । एक जना बन्चरो बोकेर रूख काट्न अघि बढ्थ्यो, अर्कोले बन्चरो बोकेको मान्छेलाई रोक्थ्यो । बन्चरो बोकेको मान्छे भुइँमा बसेजस्तो गर्थ्यो र केहीबेरपछि फेरि जुरुक्क उठेर बन्चरो हान्न जान्थ्यो, फेरि अर्को मान्छे रोक्न आइहाल्थ्यो । यो प्रक्रिया निकैबेर चलिरह्यो । र, त्यहाँ मान्छेहरू भुइँमा बसेर के–के गर्न थाले कुन्नि । त्यसपछि मैले त्यतातिर हेर्न छाडिदिएँ । लाग्यो, आखिर यो रूख पनि त काटिने नै भयो ।

बाटो बन्न थालेपछि कत्ति रूखहरू काटिए, त्यसको हिसाबै छैन । पहिले जंगलै–जंगल छिचोलेर हिँड्ने ती बाटाहरूमा अचेल छहारी खोज्दै हिँड्नुपर्छ । छहारी खोज्दै हिँड्दा म त्यो रूख सम्झिन्थें । उसै शीतल भएको महसुस गर्थें ।

हेर्न मन लागे पनि केही दिन त्यो रूख भएतिर हेरिनँ । तर, एक दिन झुक्किएर मेरा आँखा त्यता गए । अचम्म ! त्यो रूख जस्ताको त्यस्तै थियो । एउटा हाँगा पनि काटिएजस्तो देखिएन । एक्लो रूख उसैगरी एक्लै उभिएको थियो– पहिलेजस्तै ।

...

एक दिन आमा, माइजू र दुई फुपूहरूसँग स्याउला काट्न जंगल गएका थियौं । गाउँ नजिकको बाक्लो जंगल पातलिँदै गएपछि एक भारी स्याउलाका लागि पनि धेरै टाढा पुग्नुपरेको थियो । स्याउला खोज्दै जाँदा माइजूले त्यही रूखको कुरा निकाल्नुभयो, ‘केही वर्षपहिलेसम्म यो जंगल बाक्लो थियो । स्याउला त नजिकै जत्ति पनि पाइन्थ्यो । अहिले जंगल हेर त, झरेर सकिनै लागेको कपालजस्तो देखिएको छ । सबै रूखहरू से जस्तै लानलोकन (विद्रोही) भइदिए सायद मान्छेहरू रूख काट्न डराउँथे कि ?’

त्यो रूख नकाटिनुको कारण त बल्ल बुझें । माइजूले थपिन्, ‘से ले छहारी दिन्छ । राम्रो पनि देखिन्छ । तर, आफूलाई असर पुर्‍याउनेलाई उसले छोड्दैन । काट्ने, कोतार्ने, जरा खन्नेसँग से रिसाउँछ । से रिसायो भने शरीर सुन्निन्छ, घाउ आउँछ । से ले आफ्नो सुरक्षा आफैं गर्छ । से विद्रोही रूख पो हो त । से रिसाएपछि माफी नमाग्दासम्म मान्छे सन्चो हुँदैन । केही समयपहिले एक जना मामासँग से रिसाएको थियो । उनको जीउभरि घाउ आएको थियो । मनाउन जाँदा म पनि सँगै गएकी थिएँ । मामाले फापरको पुरी पकाएर सेलाई चढाएको थियो । सेसँग माफी माग्दा फापरको पुरी चढाउनुपर्छ ।’

माइजूसँग से का अनेक कथा थिए– ‘एक जना बन्चरो बोकेर रूख काट्न खोज्छ । बिरामीले सेलाई काट्न दिँदैन, छेक्छ । छेक्दा सेलाई ‘मामा’ सम्बोधन गर्नुपर्छ । आफ्नो मामालाई नकाटिदिन अनेकौं अनुरोध गर्छ । रुन्छ, कराउँछ । बन्चरो बोकेको मान्छे मानेपछि फापरको पुरी सुरुमा से लाई चढाइन्छ । त्यसपछि त्यहाँ भएका मान्छेहरू पुरी खाएर फर्किन्छन् ।’

सायद त्यो दिन पनि रिसाएको से लाई एउटा मान्छेले मनाइरहेको थियो । अनौठो रूखलाई फकाउने तरिका अनौठो थियो ।

लोककथाअनुसार, धेरै वर्षपहिले एउटा ठूलो जग्गाबीच सेको ठूलो रूख थियो । त्यो जग्गामा फापर लगाउँदा एकदमै सप्रिन्थ्यो । एक दिन से को छहारीमा बसेर सप्रेको फापरबाली हेर्दै बूढो किसानलाई लोभ जागेछ– यो रूख काटे जग्गा ठूलो हुनेछ, फापर अझै बढी फल्नेछ । त्यही लोभले किसानले भान्जालाई भनेर छहारी दिने रूख काट्न लगाएछ । त्यस दिनदेखि से रिसाउन थाल्यो । बूढो किसानको जीउभरि घाउ, फोका उठेको थियो । निकै औषधिमुलो गर्दा पनि सन्चो भएको थिएन । मर्ने बेला किसानलाई फापरको जग्गा हेरेर मर्न मन थियो । फापर हेर्न पुगेका किसानको घाउ हेर्दै ठुटो सेले भनेछ, ‘तिमीहरू काम गर्दा पानी परेको बेला म ओत दिन्थें, घाम लागेका बेला छहारी दिएकै थिएँ । अलिकति फापरको लोभमा मलाई काटिस् ! अबदेखि तिमीहरूले मलाई यत्तिकै काट्न पाउनेछैनौ ।’ त्यसपछि बूढो किसानले फापरको पुरी चढाएर रिसाएको सेलाई मनाएको थियो । त्यही दिनदेखि सेलाई मनाउनुपर्दा फापरको पुरी चढाउन थालियो ।

गाउँ नजिकको त्यो एक्लो रूख नकाटिनुको कारण रहेछ– रूखको विद्रोही रूप । मलाई रमाइलो लाग्यो, कल्पना गर्न थालें– अरू रूखहरू पनि सेजस्तै विद्रोही भइदिए जंगल कस्तो हुन्थ्यो होला ? मान्छेहरू कसरी लड्दा हुन रूखहरूसँग ? यतिबेला झरेर सकिनै लागेको कपालजस्तै भएको जंगलको स्वरूप कस्तो हुन्थ्यो होला ?

एपीले सुनाउने तामे (कथा) हरूमा ढुङ्गाहरू मान्छेजस्तै जन्मिन्थे, हुर्किन्थे । रूखहरू पनि बोल्थे । अझ रमाइलो कुरा त रूख हिँडेर कताकता पुग्थ्यो । मलाई त्यो एक्लो रूख नै एपीको तामेको रूखजस्तो लाग्नथाल्यो ।

रूख, विद्रोह र मान्छे

आगोमा खाना पकाउँदै गर्दा सोच्छु, रूख नभएको भए के हुन्थ्यो ! फेरि आफैंलाई भन्छु, रूख नभएको भए आगो हुँदैनथ्यो । आगो नै नभएपछि हिमालतिरको जनजीवन सम्भव हुँदैनथ्यो । उहिले–उहिले मान्छेहरू बिरामी हुँदा औषधि खोज्न जंगल पस्थे । घुँडा, हात दुखेको ठाउँमा सल्लाको खोटा लगाउने चलन अझै छ ।

प्लास्टिक आउनुपहिले हिमालतिर भोजपत्रको प्रयोग व्यापक हुन्थ्यो । कोसेली ल्याउँदा, लैजाँदा भोजपत्रमा बेर्ने चलन थियो । खर्कमा घिउ जम्मा गर्दा भोजपत्रमै राखिन्थ्यो । खर्कबाट गाउँमा घिउ पठाउँदा अहिले पनि भोजपत्रमै बेरेर पठाउने चलन छँदै छ । घरहरू पनि भोजपत्रले छाइन्थ्यो ।

भोजपत्रसँग मेरो पनि रमाइलो याद जोडिएको छ । २०७० सालमा एसएलसीपछि म खर्क गएको थिएँ । खर्क जाँदा मसँग एउटा कापी र कलम थियो । जेठ लागिसक्दा पनि जाडो उस्तै थियो । सुकेका मुढाहरू बटुलेर राति सुत्दा बस्तुभाउका लागि आगो बालेर सुत्थ्यौं । राति आगोछेउ सुतेको गाई बिहान उठ्दा मेरो छेउमा हुन्थ्यो । आगो निभ्दै जाँदा जाडो छल्न धुपीको ढोका भत्काएर गाई भित्र पस्थ्यो सायद ।

एक बिहान म उठ्दा गाई मेरो छेउमा थियो । तर, भित्तामा कोचेर राखेको कापी त्यहाँ थिएन । लेख्दै गरेको मेरो प्रेम–पत्र पनि गाईले खाइदियो । त्यसपछि भोजपत्रमा प्रेम–पत्र लेखेको सम्झना मस्तिष्कमा आइरहन्छ ।

खैर, रूख र मान्छेको सम्बन्ध सधैं एकनास रहेन । पहिले सीमित मात्रामा प्रयोग हुन्थ्यो रूख । अहिले प्रकृतिमाथि मान्छेले धावा बोल्न थाले । वनजंगलको प्रयोग होइन ऊ शोषणमै उत्रियो । जंगल नांगिँदै गएपछि बढिरहेको तापक्रम अझै कतिसम्म पुग्ला ? मेरै गाउँमा पहिलेजस्तो हिउँ पर्न छाडेको पनि केही वर्ष भइसक्यो । सायद बढ्दो तामक्रमकै असर हुन सक्छ । अहिले हुम्लातिर रोग लागेर सयौं झोपा, झुमाहरू मरिसके, कत्ति बिरामी छन् । केही दिनपहिले आमाले भन्नुभयो, ‘औषधि नपाएर, छटपटाएर मरिरहेको बस्तुभाउ देख्दा मन दुख्छ । तर, के गर्नु मान्छेलाई राम्रोसँग औषधि नपाउने ठाउँमा बस्तुभाउका लागि औषधि कहाँबाट ल्याउनु ?’

प्रतिफलको हिसाबै नगरी प्रकृतिमा गरिएको मनोमानीले प्राकृतिक सन्तुलन खलबलिन थाल्यो । दिगो विकासलाई जोड नदिई गरिएको जथाभावी विकासले बाढी, पहिरो निम्त्यायो । प्रकृतिमाथि मानव समाजको धावा कहालीलाग्दो छ । सोच्नुस् त– सेजस्तै अरू रूख पनि साँच्चै विद्रोहमा उत्रिए भने के होला ? अझ सिंगो प्रकृतिले नै विद्रोह गर्न थाले कस्तो होला ?

प्रकाशित : असार २, २०८० १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?