१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सत्यसँग साक्षात्कार

यी निबन्धमा समयचेत छ, स्वको अनुभूति छ । र, जीवनदृष्टि छ ।
श्रीश भण्डारी

मानव चेतना रहस्यै रहस्यको पुञ्ज हो, जहाँ सूक्ष्मतम समयमा अधिकमत सम्भावना अनुभूत हुन सक्छन् । अनुभूति त जुनसुकै जीवको पनि हुन सक्छ– सुखात्मक वा दुःखात्मक, लौकिक वा अलौकिक, प्रत्यक्ष वा परोक्ष । तैपनि मान्छे आफ्नो भोगाइलाई मात्रै संसार ठान्छ । आफ्नै अनुभूतिलाई नै सर्वस्व मान्छ । लोक–व्यवहारमा हामी जेलाई अनुभूति भनिरहेका छौं त्यो अनुभूति नभएर अनुभव मात्रै पनि हुन सक्छ । किनभने ती प्रायः पञ्चेन्द्रियका बाह्य–वृत्तिको कारोबारमा मात्रै सीमित हुन्छन् ।

सत्यसँग साक्षात्कार

खास अनुभूति तब सुरु हुन्छ जब छैटौं इन्द्रिय जागृत हुन्छ । अनुभवबाट अनुभूतिको तहमा पुग्न अन्तःप्रज्ञा चाहिन्छ जुन सबैमा समान हुँदैन । मन, बुद्धि र विवेकलाई निर्देश गर्ने प्रत्येकको चेतनास्तर अलग हुने भएकैले एउटै घटना पनि प्रत्येकलाई भिन्न लाग्छ ।

उपनिषद् भन्छ– जो दोषरहित, सर्वव्यापी र शाश्वत छ, त्यो कवि हो, मनीषी हो । यस्तो कवि बन्नु त परै, बन्ने प्रयत्न पनि कमैले मात्र गर्छ सक्छन् । तिनै थोरैमध्येकी हुन्– रञ्जना निरौला, जसले आफ्ना सवा दर्जन निबन्धको संग्रह ‘अनुभूतिको अवतरण’ मा आत्मानुभूतिमार्फत् सत्यसँग साक्षात्कारको प्रयत्न गरेकी छन् । उनी भन्छिन्, ‘मलाई लाग्छ, हामी प्रसून हुन्छौं र सुन्दरता छरिन्छ धर्तीमा । हामी सर्जक बन्छौं र नयाँ विश्व कोरिन्छ, विश्वमा । हामी सिर्जना गर्छौं र सृष्टि चल्छ, नियममा । हामी पोखिन्छौं र हरियो बन्छिन् धर्ती । हामी फुल्छौं र पूर्णता मिल्छ सौन्दर्यमा ।’

निबन्धका प्रवर्तक मोन्तेन आत्मपरक निबन्धकार थिए जो अनुभूतिलाई अहंभावबाट अदूषित राख्थे । उनी निबन्धमा बिनाआडम्बर सहज र साधारण तरिकाले रूपायित हुन चाहन्थे । नेपाली साहित्यमा प्रखर कवि लक्ष्मीप्रसाद देबकोटा नै निबन्धका पनि अग्रणी हुन् जो मोन्तेनकै शैली र सिलसिलामा जोडिन आइपुगे । उनको बुझाइमा निबन्ध ‘रौंचिरा दर्शन, पाण्डित्य प्रदर्शनको ठ्यासफू, चस्मादार अध्यापकको व्याख्यान वा वेदान्त–वमन’ होइन बरु ‘मनको जालीले जगत्मा लहडी माछा मार्ने कला’ हो ।

हृदयको अन्तरकुन्तरबाट स्वफूर्त जागृत हुने भावना, कल्पना, सौन्दर्य, हर्ष, विषाद, विस्मय, प्रेम, करुणा, असन्तोष विद्रोह र रहस्य आदिको कलात्मक प्रस्फुरण हो । रञ्जनाका निबन्ध पनि यस्तै निजात्मक अभिव्यञ्जना हुन्, जहाँ उनले आफूलाई समयले दिएका उपहार र घाउ दुवैलाई सम्झने र सम्हाल्ने प्रयत्न गरेकी छन् ।

देवकोटा निबन्धलाई एउटा धूर्त बदमास ठिटोसँग तुलना गर्छन् जो सडकमा हिँड्दा कहिले ढुंगा हान्छ । कतै कतै आनन्दले फुलेर हेर्छ, तर घोरिँदैन । रञ्जना पारिजातलाई सम्झने क्रममा जीवनलाई उसरी नै अराजकतासँग तुलना गर्छिन्– ‘प्रेम, संगति र आदर्शका कुराले मात्र आनन्द दिन्छ भन्ने छैन । अराजक र विसंगत हुनुमा जो मजा हुन्छ नि, त्यस्तो रमाइलो अरू कुरामा नपाइन सक्छ ।’

रञ्जनाका निबन्धमा जीवनका विभिन्न घटना–परिवेशले दिएका मनस्तात्विक समग्रताहरूको साझा सजावट छ । तिनमा अनुराग, आर्तनाद, करुणा, स्नेह र वात्सल्यजस्ता कोमल भावनाहरूको सौम्य–प्रगल्भता मात्र छैन, ‘दिनदिनै काठका बासकमा निस्प्राण समृद्धिका सपनाहरू फर्किइरहेको’ मुलुकको विद्रूप चित्र पनि छ । पितृसत्ताप्रति विद्रोह छ । कोभिडमा कैद समयको टुक्रा छ । फेसबुकप्रति अतिमोह छ । काशी यात्राले दिलाएको श्मसान वैराग्य छ । ‘दुखिरहेकालाई अझै चिमोट्ने संस्कार’ प्रति आक्रोश छ । ‘मानवीय हुनुको पनि प्रमाण खोज्ने’ परम्पराप्रति विस्तृष्णा छ जुन पुरुषको हकमा लागू हुँदैन । ‘विभेदको धर्मशास्त्रभन्दा भौतिकता नै उत्तम’ भएको ठहर छ ।

यी सबैभन्दा पनि महत्त्वपूर्ण रञ्जनाका निबन्धमा समयचेत छ । स्वको अनुभूति छ । र, जीवनदृष्टि छ । प्रत्येक निबन्धमा फरक समयका फरकफरक मनोदशा छन् । हामी प्रायः आफूलाई अरूजस्तो बनाउन खोजेर आफ्नै अस्तित्व–हत्या गरिरहेका हुन्छौं । यस्तो प्रवृत्तिबाट साहित्य पनि पृथक् छैन । रञ्जना कम्तीमा त्यो बाटामा छैनन् । शाब्दिक ज्ञान र अनुभुक्त ज्ञानमा अभेद्य अन्तर छ । उनका कुनै निबन्धमा सधैं सम्झिरहूँझैं लाग्ने कुमारी स्वप्न छन् त कुनैमा भर्खरै श्रीमान्को दाहसंस्कार गरेकी पत्नीको अनुभुक्त मनोदशा छ । अनि कुनैमा पितृत्व र मातृत्वको दोहोरो जिम्मेवारी एक्लै पूरा गरिरहेकी आमाको अनुभूति छ ।

अनुभूति जीवनको अनिवार्य तत्त्व हो । अनुभूति छैन, जीवन छैन । सीमित दायराभित्र हल्लिइरहने फन पार्कको घोडालाई नै जीवन मान्ने हो भने कुरै बेग्लै । होइन भने सत्यसँगको साक्षात्कार भन्नु नै आत्मानुभूति न हो । रञ्जनाले आफूलाई समयले दिएका चोट र चक्माहरूबाट जे सिकिन् त्यसैलाई निबन्धको बान्की दिएकी छन् । कतिपय निबन्धमा उनका आफ्नै कविताहरूको निदिध्यासन पनि छ ।

साहित्य स्वान्त सुखाय मात्र नभई पाठकका लागि बौद्धिक खुराक पनि हो भने निबन्धमा भावानुभूतिको उत्कर्ष मात्र होइन, वस्तुनिष्ठ विवरण पनि अपेक्षित हुन्छ । यस दृष्टिले रञ्जनाका केही निबन्धमा सामान्य प्रश्न गर्ने ठाउँ छन् ।

पारिजातले अमर कृति ‘शिरीषको फूल’ मा काठमाडौंका सडक र घर–पर्खाल छेउछाउका शिरीषका नीला–नीला फूलको वर्णन मात्र गरेकी छैनन् उपन्यासको केन्द्रीय कथ्य र सिंगो जीवन दर्शन नै यसैलाई बनाएकी छन् ।

‘हरेक वर्ष काठमाडौंलाई नीलिमा पार्दै फुलेर मुस्कुराउने’ अनि ‘काठमाडौंका घर आँगन र बाटोलाई शोभा दिने’ फूल आयुर्वेद, पुराण वा संस्कृत साहित्यमा बताइएको र नेपालीले मौलिक रूपमा चिन्दै आएको खास शिरीष होइन, बरु ब्राजिलबाट फैलिएर संसारभर पुगेको ज्याकारान्डा हो भन्ने धेरैलाई पत्तै छैन । सायद रञ्जनालाई

पनि ! काठमाडौंमा शिरीष नपाइने होइन, पाइन्छन् । नफुल्ने होइन, फुल्छन् । सेतो, हल्का पहेंलो, हल्का रातो, बैजनी वा फिका नीलो पनि हुन्छन् । जुनै रंगका भए पनि शिरीषका फूल रेसमी धर्से हुन्छन् र यी तिनै फूल होइनन्, जुन पारिजातको उपन्यास हुँदै रञ्जनाको निबन्धसम्म आइपुगेका छन् । यद्यपि, वानस्पतिक–व्यतिरेक नखुट्टिएकै कारण न ‘शिरीषको फूल’ को विशद–जीवन–दृष्टि कमजोर भएको छ न त ‘शिरीषसँग शब्द–संवाद’ को भावभूमि नै ।

त्यस्तै अर्को एक निबन्धमा ‘काश्यां मरणं मुक्तिः’ हुनुपर्नेमा ‘काश्यां मरणान्नमुक्तिः’ भनिएकाले उल्टो अर्थ दिइरहेको छ । त्यतै कतै ‘वेदान्तमा विशेष झुकाव भएकाले गंगास्नान प्रथम प्राथमिकतामा पर्‍यो’ भनिएको छ, जसको संगति स्वाभाविक लाग्दैन ।

सशक्त निबन्ध विविध भावना र विशृंखल विचारहरूको शृंखलाबद्ध अभिव्यक्ति हो, जहाँ मानवीय चेतनाले निसंकोच उच्चतम उडान भरिरहेको हुन्छ । अन्तर्मनका भाव–तरंगहरूले अभिव्यक्तिका सारा सीमा छिचोलेर अलौकिक नृत्य गरिरहेका हुन्छन् । त्यहाँ शब्दहरूको अर्थ खोजिँदैन, ती स्वतः अनुभूत हुन्छन् । भावहरू केवल व्यक्तिँदैनन्, पाठकको हृदयमा उद्वेलित हुन्छन् । त्यस्तो निबन्ध उच्च काव्यात्मक हुन्छ । निबन्ध पढ्दै छु कि लामो गद्य कविता भनेर पाठक झन्डै झुक्किन्छन् । त्यसैले त भन्ने गरिन्छ– ‘गद्यं कवीनां निकषं वदन्ति ।’ यस्तो अपेक्षा हरेक निबन्धकारबाट पूरा नहुन पनि सक्छ ।

रञ्जनाको लेखनीमा सूर्योदय पूर्वको त्यो लालिमा देख्न सकिन्छ । जुनसुकै युग र परिवेशका भए पनि मान्छे जिल्लिने कारण सधैं उही र उस्तै छन् । कुरुक्षेत्रमा अन्यमनस्क र किंकर्तव्यविमूढ अर्जुन नचाहँदा नचाहँदै युद्धमा होमिनुपर्नाको कारण थाहा नपाएर तीनछक छन् । कलियुगकी काव्य–साधिका रञ्जनाको चेतले दुरुस्तै भनिरहेछ– ‘हामी नियतिले बनाएको बाटामा पल्सिँदै पिल्सिँदै मन नलागी नलागी रिसाउँदै, रुँदै हिँड्नुपर्ने, नहिँडी सुख छैन ।’

त्यसो भन्दैमा जीवन चिन्ता गरेर जिउन होइन, सक्दो रम्न/रमाउन हो । मृत्यु नै आएछ भने पनि त्यो मान्छेले धर्तीमा पाएका उत्कृष्टमध्येको उपहार हुनेछ, जसले हामीलाई सिसिफ–जिन्दगीको त्रासदीबाट छुटकारा दिन्छ । रञ्जना भन्छिन्– ‘मृत्युसँग डराउनेले जीवनको आनन्द लिन सक्दैन ।’

त्यसो भए मृत्यु नै समाधान हो ? होइन, त्यो अर्थहीन–अराजकतामा अल्पविराम मात्रै हो । समाधान त मोक्ष हो, जुन ज्ञानबिना सम्भव छैन । ज्ञानभन्दा पवित्र त यहाँ केही हुनै सक्दैन । तर, जहाँ स्वयं चेतना छैन, अभुनूति छैन, त्यहाँ किताबी वा प्रविधिज्ञानको मात्र अर्थ छैन । आँखै नभएकालाई चस्मा भए के, नभए के ? रञ्जनाको प्रश्नमै उत्तर छ– ‘आफूलाई सुन्दर नदेखी त संसार कसरी सुन्दर देखिनु ?’

यस्तै युगद्रष्टाहरूले जीवनका अव्यवस्था दूर गरून् । जीवहरूको दुःख हरून् । पाखण्डहरूदेखि हामी सबैलाई रक्षा गरून् ।

प्रकाशित : जेष्ठ २७, २०८० १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?