२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८
मातृत्व

आमा बन्नुको मझधारमा

डेलिभरी रुमको आफ्नै कथा हुँदोरैछ । पीडाले अखप हुँदा पनि कोठाभित्र सर्र आँखा डुलाएँ । एक पटक जोडले बल लगाएँ, घम्साघम्सीपछि एउटा सुमधुर चिच्याहट मेरो कानमा पर्‍यो– च्याहाँ...।
सविता आचार्य

तपाईं किन आउनुभएको ?’
‘...भर्ना हुन ।’
‘एक छिन बाहिरै बस्नुस् है, तपाईंलाई बोलाउनुहुन्छ... ।’

आमा बन्नुको मझधारमा

‘हस्,’ नर्सिङ स्टेसनअघि खाली बेडमा टुक्रुक्क बसेँ । रातभरको फल्स लेबर पेनले मलाई गाह्रो भइरहेको थियो । कतिबेला कता टुसुक्क बसिहालौंजस्तो भएको थियो ! घरी नर्सिङ स्टेसनतिर हेर्थें, घरी एड्मिसन रुमतिर । फेरि, कतिबेला बाहिर निस्किने ढोका देखिने ठाउँसम्म पुग्थेँ । निरीह आँखासहित बाहिर बसेका

श्रीमान्‌लाई भित्रैबाट हेर्थें । उनलाई भित्र आउने अनुमति थिएन । कुनै पनि पुरुष भित्र आउन पाउँदैनथे, सिवाय त्यहाँका डाक्टर ।

धेरै बेर यताउता गरिराखेँ । जीवनको मीठो छटपटाइमा थिएँ म । दार्शनिकले भनेका थिए नि– प्लेजर इन पेन ! हो त्यस्तै । कतिखेरबाट पेन इन प्लेजर पनि हुनेवाला थियो । बस् पर्खंदै थिएँ !

छटपटी बढ्दो थियो । ढोकाबाट चियाएरै हल्का चिच्याएँ, ‘मलाई एकै छिन बाहिर बस्न भन्नुभएको थियो, तर अहिलेसम्म पनि बोलाउनुभएन, कति समय लाग्छ होला अझै ?’

अग्लो कद, सलक्क शरीर र गोरी डाक्टरले छिटोछिटो ओठ चलाइन्, ‘तपाईंलाई कसले बाहिर जान भन्यो ? भर्ना हुन आएको मान्छे यत्तिकै भर्ना हुन्छ ? हामीले यहाँ चेक गर्नुपरेन... !’ अरे कस्तो धारिलो वाणी । झिजो लागेको थियो मलाई । जवाफ त फर्काउनैपर्‍यो ।

‘एकछिन बाहिर बस्नुस् बोलाउँछौं भनेर अघि भन्या होइन ?’

‘बस्नुस् भन्दैमा बसेको बस्यै गर्ने हो ?,’ ए म त बसेको बसेइ भएँछु । खित्रिक्क हाँसे आफैंभित्र ।

धारिली डाक्टर त्यहीँ थिइन् । रुखो बाण फ्याँकिन् । बोली छुराजस्तै तिखो थियो, संसारमा सबैभन्दा कुन कुरा नमीठो र तीतो हुन्छ, हो त्यस्तै ।

‘बिरामीसँग कसरी कुरा गर्नुपर्छ भन्ने सामान्य हस्पिटालिटी सिकाउँदैन ? यही हो बोल्ने तरिका ?,’ मलाई असह्य भयो । म पनि के कम !

उनी झन् जोस्सिएर एकाएक पड्किन थालिन्, ‘दिनभरि हामीले कस्ताकस्ता मान्छेलाई झेल्नुपर्छ, हामी मान्छे होइन ? हामीलाई रिस उठ्दैन ? तपाईं पनि मलाई रिस नउठाउनुस् । त्यो बेडमा गएर देब्रेपट्टि लुगा माथि सार्नुस् ।’ यसो सोचेँ । सरकारी अस्पताल यस्तै त हो ।

थोरै शीतल भएँ । धारिली डाक्टर फतफताइरहिन् । मलाई यताउता पल्टिन भनिन् । उनले भनेजस्तै पल्टिएँ । पाठेघरको मुख खुलेको छ कि छैन, जाँचिन् । र भनिन्, ‘एउटा घर खुलेको छ । तपाईं अर्को बेडमा गएर पल्टिनुस् ।’

उनीसँग सवालजवाफ गर्न ममा शक्ति थिएन । तर्क त तातो हाँडीमा मुरली मकैझैं मनमनै पटपटाइरहेका थिए । रातभरिको भमिट अनि त्यो फल्स लेबर पेन ! ओहो ! म गलेकी थिएँ । शक्तिको नाममा सास फेर्ने शक्ति मात्रै थियो होला । उनले भनेबमोजिम अर्को बेडमा गएर पल्टिएँ । पेटभित्र गुडुली परेर संसारमा आउन ठिक्क परी बसेकी मेरो धड्कनको धड्कन ठीक छ कि छैन भनेर कार्डियोटोकोग्राफी गरिँदो रैछ । त्यही बेला सिनियर लाग्ने डाक्टर आए ।

उनले मेरो पेटमा मेसिन लगाउँदै भने, ‘बाबा एक छिन समय लाग्छ, आनन्दले पल्टिराख्नु है !’ अरे ! यस्तो मीठो त आमाले मात्रै बोल्नुहुन्थ्यो । तर, मेरो अगाडि डाक्टर बोले ।

उनले अघि मसँग रिसले फतफताउने डाक्टर बोलेको देखेका रैछन् । भने, ‘खासमा उनको स्वभाव त्यस्तै छ, बोल्ने शैली नै त्यस्तै हो, नराम्रो नमान्नू है... कोही मान्छे त्यस्तै त हुन्छन् । हुन त तपाईंले पनि केही नभनेको भए हुन्थ्यो... ।’

‘पेसेन्टसँग त्यसरी नै बोल्ने होला त ?,’ कसैले मलाई गाली गरेपछि आमालाई कुरा लगाएझैं भएँ म ती सिनियर डाक्टरसँग ।

‘हैन नि हुन त, तर कसैको स्वभाव त्यस्तै हुन्छ, ’ डाक्टरले त्यसो भन्दा आमाले कानमा फुसफुसाएझैं लाग्यो– संसारमा सबै मान्छे असल हुँदैनन् नानी... ।

‘हस्पिटल आएर डाक्टर भेटेपछि आधा रोग निको हुन्छ, तपाईंलाई के भयो भन्दै एक पटक छुँदा मात्रै आराम मिल्छ । जस्तै, यही हस्पिटलका डाक्टर पवनलाई देख्दा मात्रै पनि म ठीक हुन्छु... ।’

‘यस्तै हो बाबा माफ गरिदिनू उसलाई... ।’

कसैले चित्त दुखाए माफ गरिदे नानी भन्नुहुन्थ्यो आमा पनि ।

डाक्टरले मलाई मेरो पेटभित्रको धड्कनको धड्कन तलमाथि गरेको देखाए । त्यो देखेपछि म उज्यालिएँ । सबैथोक बिर्सिएँ ।

म त्यहाँबाट निस्केर गएँ । भर्नाको प्रक्रिया सकियो । तर, बेड अभाव थियो । मैले पाएको बेड नर्सिङ स्टेसन अघिकै ह्वाङ्गै बाहिरै थियो । मान्छेको ओहोरदोहोर हुने ठाउँ, त्यसमाथि भर्खर काम थालेकादेखि पढ्दै गरेका बतिलाबतिली नर्सहरूको च्याउँच्याउँ । दिक्कलाग्दो !

अनि त्यहाँबाट बेलाबेला श्रीमान्लाई एकाध झल्को हेर्छु भन्दा पनि देख्न नमिल्ने । मलाई त्यहाँ बस्नै मन लागेन । हामी माथिल्लो तल्लामा रहेको क्याबिनमा सर्‍यौं । अलि महँगो थियो । सुबिस्ता पनि । बेलाबेला नर्सहरू आएर बच्चाको धड्कन नाप्दै सोध्थे, ‘कस्तो छ तपाईंलाई ?’ तर, पनि मलाई केही खड्किरहेको थियो । मेरो लागि मेरो अभिभावकजस्तै, भनौं, बाजस्तै लाग्ने डाक्टर पवनको अभाव खड्किरहेको थियो । उनी कोभिड लागेकोले बिदामा थिए । तर, बारम्बार फोनमा कुरा भने भइरहेको थियो । एकपटक फोनमा भनेँ, ‘अरू कसैलाई विश्वास गर्न सकिनँ पवन सर ।’

‘त्यसो नभन सबिता, म त्यहीँ छु भन्ने सम्झ...,’ मलाई सान्त्वना दिए । अलि आराम मिल्यो । आँखा चिम्म गरेँ, बा आउनुभो, ‘नआत्ती है नानी...’ भन्नुभो, झुलुक्क मनमा आएर । अनि खै कता जानुभो । पर्सिपल्टको साँझ एक डाक्टर आएर फरर बोलिन्, ‘भोलिका लागि बच्चा जन्माउने प्लान गरौँ...भोलि बुधबार बिहान १० बजे व्यथा लगाउने दबाई दिन्छौं । त्यसले व्यथा सुरु नभए साँझ चार बजे अर्को डोज दिन्छौं । अनि त्यसले पनि भएन भने बिहीबार तपाईंको शल्यक्रियामार्फत बच्चा निकाल्छौं... ।’ डाक्टर अलप हुनुअघि फनक्क टाउको फन्काएर भनिन्, आँखा झिम्क्याउँदै, ‘नआत्तिनू है । कुल भएर बस्नू । केही हुँदैन ।’ अरे... म ट्वाँवाला खुसी भएँ । यो अस्पतालमा कति थरीका डाक्टर !

बुधबार दस बजे म लेबर रुममा गएँ । त्यहाँ मजस्ता धेरै महिला थिए । कोही व्यथा लागेर अया आथ्थु गरेका, कोही भने दुई डोज औषधि दिँदा पनि व्यथा नै लागेन भन्दै थिए ।

औषधिका लागि म एउटा खाली बेडमा पल्टिएकी थिएँ । त्यहीबेला आइन् त्यही रुखो बोलीकी डाक्टर । उनलाई देख्नेबित्तिकै रिस उठेको थियो । तर, सम्हालिएँ । फतफताइन् । चुपचाप सुनेँ । भनेको गरेँ । मभित्र सानो बच्चा उछलकुद गर्दै थियो । त्यो रुखो डाक्टरसामु मभित्रको अर्को आज्ञाकारी बच्चा ल्याएकी थिएँ । अनि, ‘हस्’ भावमा मुन्टो चलाइदिन थालेँ ।

म आमा हुनुको मझधारमा थिएँ । अस्पतालका ती दृश्य हाम्रो समाजका साक्षात ऐना थिए । ऐनाले झूट बोल्दैन ।

बिहान राखेको औषधिले मलाई कुनै प्रभाव पारेन । साँझ चार बजे थप औषधि राखेपछि म फेरि आफ्नै कोठामा फर्किएँ, श्रीमान्ले बिस्तारै तातेतातेको भावमा डोर्‍याउँदै लगे । डरले, कुतूहलले, उच्छ्वासले, खै के–के भाव एकसाथ थिए अनुहारमा, भावहरूको घम्साघम्सी । हामी नबोली हिँड्यौं । दुखाइ सुरु भएको थिएन । दुखाइ पनि कुरेर बस्नुपर्ने कति मीठो कुराइ होला ! म बसेको क्याबिन थियो– दुइटा बेड भएको । शल्यक्रिया गरेर बच्चा जन्माएको आमा र बच्चालाई कोठामा ल्याइपुर्‍याइयो । आमा अर्धबेहोसजस्तै थिइन् । उनी बरबराइरहेकी थिइन्, ‘छोरी जन्म्यो भन्दा बुवाले के भन्नुहोला ? बुवा त रिसाउनुहुन्छ, मैले कसरी बुवाको अगाडि मुख देखाउने होला ?’ उनको बर्बराहटमा यति सुनेँ मैले । असाध्यै उदास भएँ । उनीसँगैको कोही एक जना महिला सान्त्वना दिँदै थिइन् ।

‘अब जे भयो भयो, बुवाको पीर नगर, म सम्झाउँला ।’ म यता आफैंसँग फतफताउन थालेँ, ‘मान्छे तीन दिन व्यथा लागेर बच्चा जन्माउन नसकेर अपरेसन गरेर अर्ध चेत अवस्थामा छ । तैपनि उसलाई छोरी जन्म्यो भन्ने कुरामा त्यति धेरै चिन्ता... ।’

हस्पिटलका सबै दृश्य हाम्रो समाजको साक्षात ऐना थियो । ऐनाले झूटो बोल्दैन । मनमा अनेक तर्कना आए । आँखा चिम्लिएँ । अचानक आमा आउनुभो– नआत्ती है नानी । बलियो भएस्... । आँखा खोलेँ । आमा बिलाइसक्नुभएको थियो । आमालाई नै सम्झेर घरी बलियो हुँदै थिएँ । घरी असाध्यै कमजोर । आमा हुनुको मझधारको समयमा थिएँ । राति सवा आठ बजेतिर मलाई अर्कै दुख्न थाल्यो । लाग्यो, अब व्यथा सुरु भयो । म डराएर आँखा चिम्म गरेँ । आमा फेरि सुलुत्त आएर मुसुमुसु हाँस्नुभो, आमाका रसिला आँखाले बोले– ‘नआत्ती है नानी, बलियो भएस्... ।’

मलाई असह्य पीडा सुरु भइसकेको थियो । तर, सकेसम्म सम्हालिन खोजेँ । कहाँ सक्नु !

ह्वीलचियरमा राखेर मलाई तल लेबर रुममा लगियो ।

असह्य पीडामा थिएँ । डर, खुसी, आश्चर्य, असह्य पीडाचेत ! सबैको घडा भरिएर मेरो मन हुँडलिएको थियो । पीडाले चिच्याउँदा आँखा टम्म हुन्थे । आमा देखिनुहुन्थ्यो कताकता । फेरि चुप लाग्ने कोसिस गर्थें । एकपटक खोइ त्यस्तै बेला आमा कानमा फुसफुसाउनुभो, ‘ धेरै चिच्याउँदा बल गर्ने ताकत सकिन्छ...नआत्तिएस् नानी... ।’

आँखा चिम्म गर्दा आउने र खोल्दा जाने । के भएको थियो कुन्नि ! सायद मेरो अन्तरमनले आमालाई खोजिरहेको थियो ।

आमाले ‘चिच्याउनु हुन्न’ भनेकाले म चुइँक्क आवाज ननिकाल्ने पक्षमा थिएँ ।

दुखाइलाई पनि एउटा सुन्दर क्षण बनाउनु थियो मलाई । तर, बेलाबेला मृत्युले हात फैलाएझैं लाग्थ्यो, पीडाको असह्यता पार हुँदा ।

सयौंचोटि लाग्यो होला– म त मोर्नी भएँ... ।

छेउमा बसेकी उमा दिदीलाई बेस्सरी समाउँथेँ । चिर्थोथेँ । दिदी मलाई सान्त्वना दिनुहुन्थ्यो, ‘अब एक्कै छिन हो नआत्तिऊ ।’ बेलाबेला आमा त आई नै रहनुभएको थियो ।मलाई अनुमान त थियो यो दुखाइ कति लामो हुन सक्ला । धेरैपटक दुखेर सासै रोकिएलाझैं हुन्थ्यो । आमालाई सम्झिन्थेँ । पीडा कम भएझैं मान्थेँ ।

बाहिर आउन हतारिएको नयाँ मान्छे सम्झिन्थेँ । उसैले पनि हिम्मत दिएजस्तो लाग्थ्यो !

घरी इन्टर्न डाक्टर, घरी नर्सहरू आउँथे । बेलाबेला हात हाल्छन् र दुई, तीन, चार घर खुलेको कुरा सुनाउँछन् । यसो पेटमा हात राख्छु बच्चा माथि नै अर्रो भएर बसेको जस्तो लाग्थ्यो ।

कुनै हालतमा अपरेसन नगरी प्राकृतिक तरिकाले जन्माउने हो मैले भनेर कस्सिएको मान्छे म । उनीहरूको कुराले आत्तिएकी थिएँ । एक जना आएर भनिन्, ‘पानी फोका फुटायौं । अब बल गर्नुस् । धेरैबेर लाग्दैनजस्तो छ, बच्चा घुमिसक्यो ।’ ‘धेरैबेर लाग्दैन’ भनेको सुन्दा थोरै बौरिएँ कि ! अब मलाई डेलिभरी रुममा लैजान ह्वीलचियर तयार भयो ।

ओहो ! एक्कासि मुटु नै बाहिर निस्केलाजस्तो डर लाग्यो । अलि पाकी उमेरकी नर्स आएर नम्र भइन्, ‘भित्रसम्म हिँड्न सक्छ्यौ भने हिँडेर जाम् । तिमीलाई सजिलो हुन्छ ।’

त्यो ‘सजिलो हुन्छ’ भन्ने शब्द मात्रैले म तङ्ग्रिएँ । भनेँ, ‘म हिँड्छु ।’ कति जब्बर हुन् यिनी । अर्को नर्स फुसफुसाएको सुनेँ । खिस्स हाँस्न मन थियो, तर सकिनँ ।

डेलिभरी रुमको आफ्नै कथा हुँदो रैछ । पीडाले अखप हुँदा पनि कोठाभित्र सर्र आँखा डुलाएँ । अग्लो, तर सानो आकारको कुर्सीजस्तो एउटा ठाउँ थियो । ‘तिमी’ भन्ने मीठो बोली भएकी आमाझैं लाग्ने नर्सले मलाई त्यहाँ चढाइन् । कुन पोजिसनमा बस्ने, कसरी बल गर्ने भन्ने पनि सिकाइन् । मैले त्यही गरेँ । पीडा अखप थियो । एकपटक बल लगाएँ अनि घम्साघम्सीपछि एउटा सुमधुर चिच्याहट मेरो कानमा पर्‍यो– च्याहाँ... ।

आवाजसँगै म निस्लोट भएँ । तर, आवाज भने सुनिरहेकी थिएँ । यो अनौठो कनेक्सन अहिले सम्झँदा पनि बुझ्न सक्दिनँ । बच्चाको ‘च्याहाँ’ सुनेपछि जादुको छडीजस्तै दुखाइ ठप्प भयो । अरे यो के भयो ? कसैले मेरो छातीमा बच्चा राखिदियो । ‘ल च्याप्प समाऊ बच्चा,’ आवाज आएको थियो । बच्चा समाउँदा मलाई एक किसिमको डर लाग्यो । थाहा छैन त्यो कस्तो डर थियो । ‘ल हेर्नुस् त तपाईंको छोरा हो कि छोरी’, निस्लोट आँखा खोल्न खोजेँ । आँखा त खुल्दै खुलेन ! जबरजस्ती आँखा च्यात्न खोजेँ । त्यो पनि सकिनँ ।

बरबराएँ, ‘मैले आँखा हेर्न सकिनँ... ।’

आवाज आयो, ‘तपाईंको छोरी भएको छ ।’ बिस्तारै टाउको हल्लाएँ र मुस्कुराएँ । ‘धन्यवाद’ भन्न सकिनँ सायद, खुसीले ओठ थर्थराएका थिए ।

एकै छिनमा आँखा बिस्तारै खुले । यताउता हेरेँ । सानो एउटा बक्स जस्तोमा मेरी छोरी, मैले भर्खरै जन्माएकी छोरी मुखभरि फिँज निकालेर यताउता हेर्दै थिइन् । मैले उनलाई एकटकले हेरिरहेँ ।

प्रकाशित : वैशाख २३, २०८० ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?